मङ्गलबार, सेप्टेम्बर १६
परमेश्वरका पवित्र जन तपाईँ नै हुनुहुन्छ भनेर हामीले विश्वास गरेका र थाह पाएका छौँ।—युह. ६:६९.
जस्तोसुकै चुनौती आइपरे तापनि प्रेषित पत्रुस वफादार थिए। तिनले कहिलेकाहीँ गल्ती गरे तापनि येसुको पछि लाग्न भने छोडेनन्। जस्तै: एकचोटि येसुले भन्नुभएको कुरा चेलाहरूले बुझ्न सकेनन्। थुप्रै चेलाले उहाँको कुराको अर्थ बुझ्ने कोसिस गरेनन् बरु उहाँको पछि लाग्न छोडे। तर पत्रुस भने वफादार रहे। (युह. ६:६८) येसुसित मात्र “अनन्त जीवनका वचनहरू” छन् भनेर तिनलाई थाह थियो। येसुलाई पत्रुस र अन्य प्रेषितहरूले त्याग्नेछन् भनेर उहाँलाई थाह थियो। तैपनि उहाँले पत्रुस फर्कनेछन् र वफादार भई सेवा गरिरहनेछन् भन्ने कुरामा आफू विश्वस्त भएको कुरा व्यक्त गर्नुभयो। (लुका २२:३१, ३२) “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ” भनेर येसुले बुझ्नुभएको थियो। (मर्कु. १४:३८) त्यसैले आफूलाई चिन्न इन्कार गरे तापनि उहाँले तिनलाई त्याग्नुभएन। फेरि जीवित हुनुभएपछि येसु सम्भवतः पत्रुस एक्लै भएको बेला तिनीकहाँ देखा पर्नुभयो। (मर्कु. १६:७; लुका २४:३४; १ कोरि. १५:५) एकदमै निराश भएका पत्रुस कत्ति प्रोत्साहित भए होलान्! w२३.०९ पृ. २२ अनु. ९-१०
बुधबार, सेप्टेम्बर १७
आनन्दित हुन् तिनीहरू, जसका कुकर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन्।—रोमी ४:७.
परमेश्वरमाथि विश्वास राख्नेहरूको पापलाई उहाँले ढाक्नुहुन्छ अर्थात् क्षमा गर्नुहुन्छ। उहाँ तिनीहरूलाई पूर्णतया क्षमा दिनुहुन्छ र तिनीहरूको पापको लेखा राख्नुहुन्न। (भज. ३२:१, २) यहोवा त्यस्ता व्यक्तिहरूलाई तिनीहरूको विश्वासको आधारमा खोटरहित र धर्मी ठहराउनुहुन्छ। अब्राहाम, दाउद र अरू वफादार उपासकहरू धर्मी ठहरिए तापनि त्रुटिपूर्ण र पापी नै थिए। तर तिनीहरूको विश्वासले गर्दा परमेश्वरको उपासना नगर्ने मानिसहरूको तुलनामा तिनीहरूलाई परमेश्वरले खोटरहित व्यक्तिको रूपमा हेर्नुभयो। (एफि. २:१२) रोमीहरूलाई लेखेको पत्रमा प्रेषित पावलले परमेश्वरको मित्र बन्न विश्वास हुनै पर्छ भनेर बताए। अब्राहाम र दाउद परमेश्वरमा विश्वास गर्ने भएकोले उहाँको मित्र बन्न सके। हामी पनि परमेश्वरमाथि विश्वास गरेर उहाँको मित्र बन्न सक्छौँ। w२३.१२ पृ. ३ अनु. ६-७
बिहीबार, सेप्टेम्बर १८
परमेश्वरलाई सधैँ प्रशंसाको बलिदान अर्थात् ओठको फल चढाऔँ। परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।—हिब्रू १३:१५.
आज सबै ख्रिष्टियनले परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन आफ्नो समय, शक्ति र स्रोतसाधन प्रयोग गर्ने अनमोल सुअवसर पाएका छन्। यहोवालाई आफ्नो तर्फबाट सबैभन्दा उत्तम सेवा चढाएर हामी उहाँको उपासना गर्ने सुअवसरको कदर गरेको देखाउन सक्छौँ। प्रेषित पावलले हिब्रूहरूलाई लेखेको पत्रको अन्ततिर हामीले बेवास्ता गर्नै नहुने उपासनाका विभिन्न पक्षबारे बताए। (हिब्रू १०:२२-२५) जस्तै: प्रार्थनामार्फत परमेश्वरसामु जानु, आफ्नो आशाबारे जनसमक्ष घोषणा गर्नु, मण्डलीको रूपमा एकसाथ भेला हुनु र “दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन् बढी” एकअर्कालाई प्रोत्साहन दिइरहनु। प्रकाशको किताबको अन्ततिर यहोवाका स्वर्गदूतले यसो भने: “परमेश्वरको उपासना गर!” (प्रका. १९:१०; २२:९) ती स्वर्गदूतले यो साँच्चै महत्त्वपूर्ण कुरा हो भनेर जोड दिन यो कुरा दुई चोटि भने। यहोवाको महान् आध्यात्मिक मन्दिरबारे सिकेको यो गहिरो सत्य र हाम्रा महान् परमेश्वरको उपासना गर्ने सुअवसरको मोल गरिरहौँ! w२३.१० पृ. २९ अनु. १७-१८