सोमबार, सेप्टेम्बर १५
भाइहरू हो, यहोवा परमेश्वरको नाममा बोल्ने भविष्यवक्ताहरूले भोगेको कष्ट र उनीहरूले देखाएको धैर्यलाई नमुनाको रूपमा लेओ।—याकु. ५:१०.
बाइबलमा धीरज देखाएका अरू थुप्रै उदाहरण पाउँछौँ। तिनीहरूबारे अनुसन्धान गर्नुभए कसो होला? जस्तै: दाउदलाई सानै उमेरमा इस्राएलको भावी राजा अभिषेक गरिएको थियो। तर तिनले राज्याधिकार पाउन धेरै वर्ष पर्खनुपरेको थियो। सिमियोन र हन्नाले प्रतिज्ञा गरिएको मसीहलाई पर्खे अनि वफादार भई यहोवाको उपासना गरे। (लुका २:२५, ३६-३८) यस्ता विवरणहरू अध्ययन गर्दा यी प्रश्नहरूको जवाफ खोज्नुहोस्: ‘यी व्यक्तिलाई धीरज देखाउन केले मदत गरेको हुन सक्छ? धीरजी हुँदा तिनले कस्तो आशिष् पाए? म कसरी तिनको अनुकरण गर्न सक्छु?’ तपाईँ धीरज नदेखाएका व्यक्तिहरूबारे पढेर पनि लाभ उठाउन सक्नुहुन्छ। (१ समु. १३:८-१४) तिनीहरूबारे पढ्दा आफैलाई सोध्नुहोस्: ‘तिनीहरूले किन धीरज देखाउन सकेनन्? अधीर भएकोले तिनीहरूले कस्ता नतिजाहरू भोग्नुपऱ्यो?’ w२३.०८ पृ. २५ अनु. १५
मङ्गलबार, सेप्टेम्बर १६
परमेश्वरका पवित्र जन तपाईँ नै हुनुहुन्छ भनेर हामीले विश्वास गरेका र थाह पाएका छौँ।—युह. ६:६९.
जस्तोसुकै चुनौती आइपरे तापनि प्रेषित पत्रुस वफादार थिए। तिनले कहिलेकाहीँ गल्ती गरे तापनि येसुको पछि लाग्न भने छोडेनन्। जस्तै: एकचोटि येसुले भन्नुभएको कुरा चेलाहरूले बुझ्न सकेनन्। थुप्रै चेलाले उहाँको कुराको अर्थ बुझ्ने कोसिस गरेनन् बरु उहाँको पछि लाग्न छोडे। तर पत्रुस भने वफादार रहे। (युह. ६:६८) येसुसित मात्र “अनन्त जीवनका वचनहरू” छन् भनेर तिनलाई थाह थियो। येसुलाई पत्रुस र अन्य प्रेषितहरूले त्याग्नेछन् भनेर उहाँलाई थाह थियो। तैपनि उहाँले पत्रुस फर्कनेछन् र वफादार भई सेवा गरिरहनेछन् भन्ने कुरामा आफू विश्वस्त भएको कुरा व्यक्त गर्नुभयो। (लुका २२:३१, ३२) “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ” भनेर येसुले बुझ्नुभएको थियो। (मर्कु. १४:३८) त्यसैले आफूलाई चिन्न इन्कार गरे तापनि उहाँले तिनलाई त्याग्नुभएन। फेरि जीवित हुनुभएपछि येसु सम्भवतः पत्रुस एक्लै भएको बेला तिनीकहाँ देखा पर्नुभयो। (मर्कु. १६:७; लुका २४:३४; १ कोरि. १५:५) एकदमै निराश भएका पत्रुस कत्ति प्रोत्साहित भए होलान्! w२३.०९ पृ. २२ अनु. ९-१०
बुधबार, सेप्टेम्बर १७
आनन्दित हुन् तिनीहरू, जसका कुकर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन्।—रोमी ४:७.
परमेश्वरमाथि विश्वास राख्नेहरूको पापलाई उहाँले ढाक्नुहुन्छ अर्थात् क्षमा गर्नुहुन्छ। उहाँ तिनीहरूलाई पूर्णतया क्षमा दिनुहुन्छ र तिनीहरूको पापको लेखा राख्नुहुन्न। (भज. ३२:१, २) यहोवा त्यस्ता व्यक्तिहरूलाई तिनीहरूको विश्वासको आधारमा खोटरहित र धर्मी ठहराउनुहुन्छ। अब्राहाम, दाउद र अरू वफादार उपासकहरू धर्मी ठहरिए तापनि त्रुटिपूर्ण र पापी नै थिए। तर तिनीहरूको विश्वासले गर्दा परमेश्वरको उपासना नगर्ने मानिसहरूको तुलनामा तिनीहरूलाई परमेश्वरले खोटरहित व्यक्तिको रूपमा हेर्नुभयो। (एफि. २:१२) रोमीहरूलाई लेखेको पत्रमा प्रेषित पावलले परमेश्वरको मित्र बन्न विश्वास हुनै पर्छ भनेर बताए। अब्राहाम र दाउद परमेश्वरमा विश्वास गर्ने भएकोले उहाँको मित्र बन्न सके। हामी पनि परमेश्वरमाथि विश्वास गरेर उहाँको मित्र बन्न सक्छौँ। w२३.१२ पृ. ३ अनु. ६-७