बिहीबार, सेप्टेम्बर १८
परमेश्वरलाई सधैँ प्रशंसाको बलिदान अर्थात् ओठको फल चढाऔँ। परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।—हिब्रू १३:१५.
आज सबै ख्रिष्टियनले परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन आफ्नो समय, शक्ति र स्रोतसाधन प्रयोग गर्ने अनमोल सुअवसर पाएका छन्। यहोवालाई आफ्नो तर्फबाट सबैभन्दा उत्तम सेवा चढाएर हामी उहाँको उपासना गर्ने सुअवसरको कदर गरेको देखाउन सक्छौँ। प्रेषित पावलले हिब्रूहरूलाई लेखेको पत्रको अन्ततिर हामीले बेवास्ता गर्नै नहुने उपासनाका विभिन्न पक्षबारे बताए। (हिब्रू १०:२२-२५) जस्तै: प्रार्थनामार्फत परमेश्वरसामु जानु, आफ्नो आशाबारे जनसमक्ष घोषणा गर्नु, मण्डलीको रूपमा एकसाथ भेला हुनु र “दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन् बढी” एकअर्कालाई प्रोत्साहन दिइरहनु। प्रकाशको किताबको अन्ततिर यहोवाका स्वर्गदूतले यसो भने: “परमेश्वरको उपासना गर!” (प्रका. १९:१०; २२:९) ती स्वर्गदूतले यो साँच्चै महत्त्वपूर्ण कुरा हो भनेर जोड दिन यो कुरा दुई चोटि भने। यहोवाको महान् आध्यात्मिक मन्दिरबारे सिकेको यो गहिरो सत्य र हाम्रा महान् परमेश्वरको उपासना गर्ने सुअवसरको मोल गरिरहौँ! w२३.१० पृ. २९ अनु. १७-१८
शुक्रबार, सेप्टेम्बर १९
हामी आपसमा प्रेम गरिरहौँ।—१ युह. ४:७.
हामी सबै जना ‘आपसमा प्रेम गरिरहन’ चाहन्छौँ। तर हामीले येसुको यस चेतावनीलाई पनि मनमा राख्नुपर्छ: “धेरै जनाको प्रेम सेलाएर जानेछ।” (मत्ति २४:१२) यहाँ येसुले आफ्ना अधिकांश चेलाबीचको प्रेम सेलाएर जानेछ भन्न खोजिरहनुभएको थिएन। तर यस संसारको स्वार्थी मनोभावको प्रभावमा नपर्न हामी सचेत रहनुपर्छ। यस कुरालाई मनमा राख्दै एउटा महत्त्वपूर्ण प्रश्न विचार गरौँ: भाइबहिनीप्रतिको हाम्रो प्रेम बलियो छ कि छैन भनेर थाह पाउने के कुनै तरिका छ? अरूप्रतिको हाम्रो प्रेम कत्तिको बलियो छ भनेर थाह पाउने एउटा तरिका कुनै परिस्थितिमा हामी कस्तो प्रतिक्रिया देखाउँछौँ भनेर जाँच्नु हो। (२ कोरि. ८:८) त्यस्तै एउटा परिस्थितिबारे प्रेषित पत्रुसले बताएका छन्। तिनले यसो भने: “सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर किनकि प्रेमले असङ्ख्य पापहरू ढाक्छ।” (१ पत्रु. ४:८) अरूले गल्ती गर्दा वा हाम्रो चित्त दुखाउँदा हाम्रो प्रेमको जाँच हुन सक्छ। w२३.११ पृ. १० अनु. १२-१३
शनिबार, सेप्टेम्बर २०
तिमीहरू आपसमा प्रेम गर।—युह. १३:३४.
यदि हामी मण्डलीमा कसैलाई माया गर्छौँ र कसैलाई गर्दैनौँ भने प्रेम देखाउने सन्दर्भमा येसुको सल्लाह पालन गरिरहेका हुँदैनौँ। हुनत हामी येसुजस्तै मण्डलीमा कसैसित अरूसित भन्दा नजिक महसुस गर्छौँ होला। (युह. १३:२३; २०:२) तर प्रेषित पत्रुसले हामीलाई मण्डलीका सबै भाइबहिनीलाई आफ्नै परिवारलाई जस्तै “भ्रातृस्नेह” देखाउन सम्झाएका छन्। (१ पत्रु. २:१७) पत्रुसले हामीलाई “एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर” भनेर सल्लाह दिए। (१ पत्रु. १:२२) यहाँ चलाइएको “प्रगाढ प्रेम” भन्ने अभिव्यक्तिले कसैलाई प्रेम देखाउन गाह्रो लाग्दा पनि आफैलाई तन्काउनु वा तिनलाई प्रेम देखाउन कडा मेहनत गर्नु भन्ने अर्थ दिन्छ। उदाहरणको लागि, कुनै भाइ वा बहिनीले हाम्रो चित्त दुखाउँदा हाम्रो स्वाभाविक झुकाव ‘जस्तालाई त्यस्तै’ गर्ने हुन सक्छ। तर त्यस्तो व्यवहारले परमेश्वरलाई खुसी बनाउँदैन भनेर पत्रुसले येसुबाट सिके। (युह. १८:१०, ११) पत्रुसले यस्तो लेखे: “खराबीको बदला खराबी नगर; अपमानको बदला अपमान नगर। त्यसको उल्टो आशिष् देओ।” (१ पत्रु. ३:९) तपाईँमा प्रगाढ प्रेम छ भने तपाईँ दयालु र विचारशील हुन उत्प्रेरित हुनुहुनेछ। w२३.०९ पृ. २८-२९ अनु. ९-११