आइतबार, सेप्टेम्बर २१
‘स्त्रीहरूको आनीबानी सन्तुलित हुनुपर्छ अनि तिनीहरू सबै कुरामा विश्वासयोग्य हुनुपर्छ।’—१ तिमो. ३:११.
एउटा बच्चा हुर्केर कत्ति छिटो ठूलो हुन्छ; त्यो देख्दा हामीलाई अचम्म लाग्छ। त्यो बच्चा कसैले प्रयासै नगरी आफसेआफ हुर्केको जस्तो देखिन्छ। तर ख्रिष्टियन परिपक्वता भने आफसेआफ हासिल हुने कुरा होइन। (१ कोरि. १३:११; हिब्रू ६:१) त्यो लक्ष्य हासिल गर्न यहोवासितको सम्बन्ध बलियो हुनुपर्छ। साथै हामीलाई पवित्र शक्ति पनि चाहिन्छ। यसले यहोवालाई खुसी तुल्याउने गुणहरू विकास गर्न, उपयोगी सीपहरू सिक्न र भविष्यमा निर्वाह गर्नुपर्ने भूमिकाहरूको लागि तयार हुन मदत गर्नेछ। (हितो. १:५) यहोवाले पुरुष र स्त्री बनाउनुभयो। (उत्प. १:२७) पुरुष र स्त्रीको शारीरिक बनौट फरक हुन्छ। त्यति मात्र होइन, तिनीहरू अरू तरिकामा पनि फरक हुन्छन्। जस्तै: यहोवाले पुरुष र स्त्रीलाई फरक-फरक भूमिका दिनुभएको छ। त्यसैले ती भूमिकाहरू निर्वाह गर्न तिनीहरूलाई फरक-फरक गुण र सीप चाहिन्छ।—उत्प. २:१८. w२३.१२ पृ. १८ अनु. १-२
सोमबार, सेप्टेम्बर २२
‘सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई बुबा, छोराको नाममा बप्तिस्मा गराओ।’—मत्ति २८:१९.
के येसु अरू मानिसले यहोवा बुबाको नाम प्रयोग गरेको चाहनुहुन्थ्यो? पक्कै चाहनुहुन्थ्यो। त्यतिबेलाका केही धर्मगुरु परमेश्वरको नाम एकदमै पवित्र भएकोले यो नाम उच्चारणसमेत गर्नु हुँदैन भनेर विश्वास गर्थे। तर येसु त्यस्ता गैर-धर्मशास्त्रीय चलनहरूको प्रभावमा कहिल्यै पर्नुभएन। उहाँले आफ्नो बुबाको नामको सधैँ आदर गर्नुभयो। गेरासिनीहरूको इलाकामा प्रेतले सताएको मानिसलाई उहाँले निको पार्नुहुँदा के भयो, विचार गरौँ। त्यहाँका मानिसहरू यत्ति डराए कि तिनीहरूले येसुलाई आफ्नो इलाकाबाट गइहाल्न बिन्ती गरे। (मर्कु. ५:१६, १७) हुनत उहाँ त्यहाँबाट जानुभयो तर उहाँ त्यस इलाकाका मानिसहरूले परमेश्वरको नाम थाह पाएको चाहनुहुन्थ्यो। त्यसैले उहाँले त्यस मानिसलाई एउटा काम दिनुभयो। येसुले तिनको लागि के गर्नुभयो भनेर होइन बरु यहोवाले तिनको लागि के गर्नुभयो भनेर तिनले बताउनुपर्ने थियो। (मर्कु. ५:१९) आज पनि हामीले संसारभरि नै यहोवा बुबाको नामबारे मानिसहरूलाई बताएको येसु चाहनुहुन्छ। (मत्ति २४:१४; २८:२०) यसो गर्दा हामीले राजा येसुलाई खुसी बनाइरहेका हुन्छौँ। w२४.०२ पृ. १० अनु. १०
मङ्गलबार, सेप्टेम्बर २३
तिमीले . . . मेरो नामको खातिर धेरै कष्ट सहेका छौ।—प्रका. २:३.
अन्तको यस कठिन समयमा यहोवाको सङ्गठनको भाग हुन पाउनु साँच्चै आशिष्को कुरा हो! संसारको अवस्था दिनप्रतिदिन खस्कँदै गइरहेको छ। तर यहोवाले हामीलाई मदत दिन मायालु आध्यात्मिक परिवार दिनुभएको छ। (भज. १३३:१) अनि उहाँ हामीलाई पारिवारिक जीवन सुखी बनाउन पनि मदत गर्नुहुन्छ। (एफि. ५:३३–६:१) साथै हामीले चिन्ता-फिक्रीको सामना गर्न सकौँ र आनन्दित हुन सकौँ भनेर उहाँ हामीलाई बुद्धि पनि दिनुहुन्छ। यहोवाको सेवामा लागिरहन हामीले कडा मेहनत गर्नुपर्छ। किन? किनकि कहिलेकाहीँ अरूले गरेका वा भनेका कुराहरूले गर्दा हाम्रो चित्त दुख्न सक्छ। हामी आफ्नै गल्तीहरूले गर्दा पनि निराश हुन सक्छौँ, खासगरि एउटै गल्ती बारम्बार दोहोरिँदा। हामी निम्न अवस्थाहरूमा सहनशील भई यहोवाको सेवामा लागिरहनुपर्छ: (१) कुनै भाइबहिनीले हाम्रो चित्त दुखाउँदा, (२) जीवनसाथीसितको सम्बन्ध बिग्रँदा र (३) आफ्नै कमीकमजोरीले गर्दा निराश हुँदा। w२४.०३ पृ. १४ अनु. १-२