बिहीबार, सेप्टेम्बर २५
परमेश्वरले दयापूर्वक हाम्रा सबै अपराध क्षमा गर्नुभयो।—कल. २:१३.
हामीले आफ्नो पापको पश्चात्ताप गऱ्यौँ भने यहोवाले हामीलाई क्षमा दिने प्रतिज्ञा गर्नुभएको छ। (भज. ८६:५) त्यसैले आफ्नो पापको लागि मनैदेखि क्षमा माग्दा यहोवाको यस प्रतिज्ञामा भरोसा गरेको देखाइरहेका हुन्छौँ र उहाँले क्षमा दिनुभयो भनेर ढुक्क हुन सक्छौँ। यो कुरा मनमा राख्नुहोस्: यहोवा कठोर वा अव्यावहारिक हुनुहुन्न। उहाँ हाम्रो क्षमताले भ्याएजति गरेको चाहनुहुन्छ। हामीले उहाँको सेवामा सक्दो गर्दा उहाँ त्यसको कदर गर्नुहुन्छ। तनमनले यहोवाको सेवा गरेका बाइबल पात्रहरूबारे पनि विचार गर्नुहोस्। प्रेषित पावलबारे सोच्नुहोस्। तिनले वर्षौँसम्म जोसिलो भई साक्षीकार्यमा भाग लिए। तिनले सुसमाचार फैलाउन हजारौँ किलोमिटर यात्रा गरे र ठाउँ-ठाउँमा मण्डलीहरू स्थापना गरे। तर पछि तिनको परिस्थिति परिवर्तन भएकोले साक्षीकार्यमा पहिलाजति भाग लिन सकेनन्। त्यतिबेला के तिनले यहोवाको अनुमोदन गुमाए? गुमाएनन्। बरु तिनले सकेजति गरिरहे र यहोवाबाट आशिष् पाए। (प्रेषि. २८:३०, ३१) हामी पनि सधैँ एकैनासले यहोवाको सेवा गर्न सक्दैनौँ होला। तर उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँको सेवा गर्नुपछाडिको हाम्रो मनसाय हो। w२४.०३ पृ. २७ अनु. ७, ९
शुक्रबार, सेप्टेम्बर २६
बिहान झिसमिसेमै [येसु] . . . सुनसान ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्न थाल्नुभयो।—मर्कु. १:३५.
येसुका प्रार्थनाहरूबाट उहाँका चेलाहरूले सिक्न सक्थे। उहाँले सेवाको कामको अवधिभरि थुप्रै पटक प्रार्थना गर्नुभयो। उहाँ धेरैजसो व्यस्त हुनुहुन्थ्यो र उहाँको वरिपरि धेरै मानिस झुम्मिरहेका हुन्थे। त्यसैले उहाँले प्रार्थनाको लागि समय छुट्ट्याउनुभयो। (मर्कु. ६:३१, ४५, ४६) जस्तै: एकान्तमा प्रार्थना गर्न उहाँ बिहान झिसमिसेमै उठ्नुभयो। एकचोटि त उहाँले एउटा महत्त्वपूर्ण निर्णय गर्नुअघि पूरै रात प्रार्थना गर्नुभयो। (लुका ६:१२, १३) उहाँले आफ्नो मृत्युको अघिल्लो रात बारम्बार प्रार्थना गर्नुभयो किनभने उहाँ आफूले पाएको सबैभन्दा कठिन जिम्मेवारी पूरा गर्न कटिबद्ध हुनुहुन्थ्यो। (मत्ति २६:३९, ४२, ४४) जति नै व्यस्त भए पनि प्रार्थना गर्न समय निकाल्नुपर्छ भनेर येसुको उदाहरणबाट सिक्न सक्छौँ। येसुले जस्तै हामीले पनि प्रार्थनाको लागि निश्चित समय छुट्ट्याउनुपर्ने हुन सक्छ। त्यसको लागि बिहान सबेरै उठ्न सक्छौँ वा राती प्रार्थना गरेपछि मात्र सुत्न सक्छौँ। यसो गर्दा हामीले यस अमूल्य उपहारको मोल गरेको यहोवालाई देखाइरहेका हुन्छौँ। w२३.०५ पृ. ३ अनु. ४-५
शनिबार, सेप्टेम्बर २७
हामीलाई दिइएको पवित्र शक्तिद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा भरिएको छ।—रोमी ५:५.
यस पदमा परमेश्वरको प्रेम तिनीहरूको “हृदयमा भरिएको छ” भनेर बताइएको छ। एउटा बाइबल शब्दकोशमा परमेश्वरको प्रेमलाई “अविरल बगिरहेको पानीसित” तुलना गरिएको छ। यस तुलनाबाट अभिषिक्त जनप्रति यहोवाको प्रेम कत्ति अथाह छ भनेर देखिन्छ। ती बोलाइएका जनलाई पनि यो कुरा थाह छ र तिनीहरूको हृदय उहाँको प्रेमले भरिएको छ। (यहु. १) तिनीहरूको भावना प्रेषित युहन्नाले लेखेको यस कुराबाट बुझ्न सकिन्छ: “हेर, परमेश्वरका सन्तान कहलाइने सुअवसर दिएर बुबाले हामीलाई कत्ति धेरै प्रेम गर्नुभएको छ!” (१ युह. ३:१) के यहोवा अभिषिक्त जनलाई मात्र प्रेम गर्नुहुन्छ? होइन, उहाँ हामी सबैलाई प्रेम गर्नुहुन्छ। यहोवा हामी सबैलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण के हो? फिरौतीको बलिदान। यस्तो प्रेम आजसम्म कसैले देखाएको छैन।—युह. ३:१६; रोमी ५:८. w२४.०१ पृ. २८ अनु. ९-१०