प्रस्थान
५ त्यसपछि मोसा र हारुन फारोकहाँ गएर यसो भने: “इस्राएलका परमेश्वर यहोवा भन्नुहुन्छ, ‘मेरो प्रजालाई जान देऊ र तिनीहरूले निर्जनभूमिमा चाड मनाएर मेरो उपासना गरून्।’” २ तर फारोले भने: “को हो त्यो यहोवा,+ जसको कुरा मानेर म इस्राएलीहरूलाई जान दिऊँ?+ म यहोवालाई चिन्दै चिन्दिनँ। तिमीहरू जेसुकै भन, म इस्राएलीहरूलाई जान दिन्नँ।”+ ३ तर तिनीहरूले भने: “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नुभएको छ। हाम्रा परमेश्वर यहोवाको निम्ति बलि चढाउन हामी तीन दिन यात्रा गरेर निर्जनभूमिमा जान चाहन्छौँ। त्यसैले कृपया हामीलाई जान दिनुहोस्+ नत्र उहाँले हामीमाथि महामारी ल्याउनुहुनेछ वा हामीलाई तरबारले मार्नुहुनेछ।” ४ तब मिश्रका राजाले भने: “ए मोसा र हारुन, तिमीहरू यी मानिसहरूको काममा किन बाधा पुऱ्याउन खोज्छौ? तिमीहरू आ-आफ्नो काममा लाग!”+ ५ फारोले अझै भने: “हेर, यहाँ कति धेरै मानिस काम गरिरहेका छन्! के तिमीहरू यी सबै मानिसले काम छोडेर तिमीहरूको पछिपछि लागेको चाहन्छौ?”
६ त्यही दिन फारोले कामको जिम्मा लिएका ठेकेदारहरू र तिनीहरूले खटाएका नाइकेहरूलाई यस्तो हुकुम गरे: ७ “अबदेखि तिमीहरूले इस्राएलीहरूलाई इँटा बनाउनको लागि पराल नदिनू।+ तिनीहरू आफै गएर पराल बटुलेर ल्याऊन्। ८ तर तिनीहरूले पहिला जति वटा इँटा बनाउँथे, त्यति वटा नै बनाउन लगाउनू। त्यो सङ्ख्या नघटाउनू किनभने तिनीहरू अल्छी भएका छन्। त्यसैले तिनीहरू यसो भन्दै कराइरहेका छन्: ‘हामीलाई जान दिनुहोस्, हाम्रा परमेश्वरको निम्ति हामी बलि चढाउन चाहन्छौँ!’ ९ तिनीहरूलाई काममा अझ दलाउनू; तिनीहरूले एकछिन पनि फुर्सद नपाऊन्। तब तिनीहरूले यस्ता झूटा कुराहरूमा ध्यान दिनेछैनन्।”
१० त्यसैले ठेकेदारहरू+ र तिनीहरूले खटाएका नाइकेहरू गएर इस्राएलीहरूलाई भने: “फारोको यस्तो हुकुम छ, ‘अबदेखि म तिमीहरूलाई पराल दिन्नँ। ११ तिमीहरू आफैले जहाँबाट भए पनि पराल खोजेर ल्याउनू तर तिमीहरूको काम भने अलिकता पनि घटाइनेछैन।’” १२ तब इस्राएलीहरू पराल खोज्न मिश्रभरि छरिए। १३ अनि ठेकेदारहरूले तिनीहरूलाई यसरी दबाब दिइरहे: “पहिला पराल पाउँदा एक दिनमा जति काम सिद्ध्याउँथ्यौ, अहिले पनि त्यति नै सिद्ध्याउनुपर्छ।” १४ ती ठेकेदारहरूले खटाएका नाइकेहरू, जो इस्राएली थिए तिनीहरूले पनि पिटाइ खाए।+ ठेकेदारहरूले ती नाइकेहरूलाई भने: “तिमीहरूले पहिले जति वटा इँटा बनाउँथ्यौ अहिले खै बनाएको? आज मात्र होइन, हिजो पनि त्यस्तै गऱ्यौ।”
१५ त्यसैले इस्राएलीहरूका नाइकेहरू फारोकहाँ गएर यस्तो गुनासो गरे: “आफ्ना दासहरूसित हजुर किन यस्तो कठोर व्यवहार गर्नुहुन्छ? १६ ठेकेदारहरू हामीलाई पराल दिँदैनन् अनि उल्टै यसो भन्छन्: ‘इँटा बनाऊ!’ कसुर त हजुरकै मानिसहरूको हो; हामीले विनाकारण पिटाइ खाइरहेका छौँ।” १७ तर फारोले भने: “तिमीहरू अल्छी छौ, अल्छी!+ त्यसैले तिमीहरू ‘हामीलाई जान दिनुहोस्, हामी यहोवाको निम्ति बलि चढाउन चाहन्छौँ’ भन्छौ।+ १८ खुरुक्क गएर काम गर! तिमीहरूले पराल पाउँदैनौ तर तोकिएको जति इँटा तिमीहरूले बनाउनै पर्छ।”
१९ “तोकिएको जति इँटा बनाउनै पर्छ, त्यसबाट एउटा पनि घटाउन पाइँदैन” भन्ने हुकुम सुनेपछि इस्राएलीहरूका नाइकेहरूलाई ठूलो समस्या पऱ्यो। २० फारोसित कुरा गरेर निस्कँदा तिनीहरूले मोसा र हारुनलाई भेटे। मोसा र हारुन तिनीहरूलाई नै पर्खिरहेका थिए। २१ भेट्नेबित्तिकै तिनीहरूले भने: “यहोवा परमेश्वरले तपाईँहरूलाई दण्ड देऊन् किनभने तपाईँहरूले गर्दा फारो र उनका चाकरहरू हामीलाई देखिसहँदैनन्। अनि हामीलाई मार्न तपाईँहरूले तिनीहरूको हातमा तरबार राखिदिनुभयो।”+ २२ तब मोसाले यहोवा परमेश्वरलाई पुकारे: “हे यहोवा, तपाईँ आफ्नो प्रजामाथि किन दुःखमाथि दुःख थपिदिनुहुन्छ? तपाईँले मलाई किन यहाँ पठाउनुभयो? २३ तपाईँको नाम लिएर म जुन दिनदेखि फारोकहाँ गएँ,+ त्यही दिनदेखि उनले तपाईँको प्रजालाई झनै सताउन थालेका छन्।+ अनि तपाईँले आफ्नो प्रजाको दुःख हटाउनुभएको छैन।”+