उपदेशक
६ संसारमा* मैले अर्को एउटा दुःखलाग्दो कुरा पनि देखेँ र थुप्रै मानिसको अवस्था त्यस्तै थियो: २ मानिसले चाहेजति सबै कुरा पाओस् भनेर साँचो परमेश्वरले उसलाई प्रशस्त धनसम्पत्ति र मानसम्मान दिनुहुन्छ तर त्यसबाट आनन्दित हुने क्षमता भने दिनुहुन्न। बरु परदेशीलाई उसको सम्पत्तिमा रमाउन दिनुहुन्छ। यो पनि व्यर्थ र साह्रै दुःखलाग्दो कुरा हो। ३ यदि कुनै मानिस दीर्घायु भयो र उसका १०० जना छोराछोरी पनि भए तर मर्नुअघि जीवनमा उसले आफूसित भएको उत्तम कुराहरूबाट आनन्द उपभोग गरेन भने त्यस्तो मानिसभन्दा त बरु जन्मँदै मरेको शिशु असल हो।+ ४ त्यो शिशुको जन्म व्यर्थ भयो र ऊसँगसँगै उसको नाम अन्धकारमै बिलायो। ५ हुनत उसले घामको उज्यालो कहिल्यै देख्न पाएन र केही पनि जान्ने-बुझ्ने मौका पाएन तैपनि त्यो दीर्घायु मानिसको भन्दा उसको अवस्था अझ असल हो।+ ६ हुन पनि कोही १ हजार वर्ष बाँच्यो वा २ हजार वर्षसम्मै बाँच्यो तर उसले जीवनको आनन्द उठाएन भने के फाइदा भयो र? आखिर सबै मानिस जाने ठाउँ एउटै होइन र?+
७ मानिसले पेट भर्नकै लागि भएभरको मेहनत गर्छ+ तैपनि उसको मन कहिल्यै भरिँदैन। ८ मूर्ख मानिस र बुद्धिमान् मानिसबीच केही भिन्नता छैन।+ गरिब मानिसले गरिबीमै आफ्नो जीवन धान्न जानेर पनि उसलाई केही फाइदा हुँदैन। ९ पाउन नसक्ने कुराको पछि लाग्नुभन्दा आफ्नो अगाडि जे छ, त्यसैमा सन्तुष्ट हुनु बेस हो। किनकि यो पनि व्यर्थ हो, केवल बतासलाई खेदेजस्तो।
१० जे-जति कुरा अस्तित्वमा छन्, ती सबैको नाम राखिसकिएको छ। मानिसको स्वभाव कस्तो हुन्छ, त्यो पनि स्पष्टै भइसकेको छ। मानिसभन्दा शक्तिशाली जो हुनुहुन्छ, उहाँसामु उसले आफूलाई निर्दोष साबित गर्न सक्दैन। ११ मानिसले जति धेरै बोल्छ, उसको कुरा त्यति नै व्यर्थ हुन्छ। त्यसबाट उसलाई केही फाइदा हुँदैन। १२ मानिसको जीवन त बिलाएर जाने छायाजस्तै छ।+ यो छोटो* जीवनमा मानिसले गर्न सक्ने सबैभन्दा उत्तम कुरा के हो भनेर कसले भन्न सक्छ? ऊ मरिसकेपछि संसारमा* के हुन्छ भनेर उसलाई कसले पो बताउन सक्छ र?