यसैया
३१ मिश्रमा झरेर गुहार माग्नेहरूलाई धिक्कार छ,+
जो घोडाहरूमा भर पर्छन्,+
जो युद्धका रथहरूमा भरोसा गर्छन् किनकि ती अनगिन्ती छन्
अनि युद्धका घोडाहरूको* मुख ताक्छन् किनकि ती शक्तिशाली छन्।
तर इस्राएलका पवित्र परमेश्वरको बाटो हेर्दैनन्
र यहोवाको खोजी गर्दैनन्।
२ तर उहाँ बुद्धिमान् पनि हुनुहुन्छ, उहाँले तिनीहरूमाथि विपत्ति ल्याउनुहुनेछ।
उहाँले आफ्नो बोली फिर्ता लिनुहुनेछैन।
दुष्टको घरानामाथि उहाँ जाइलाग्नुहुनेछ
अनि कुकर्मीहरूलाई सघाउनेहरूविरुद्ध उहाँ खडा हुनुहुनेछ।+
३ मिश्रीहरू त केवल मानिस हुन्, तिनीहरू परमेश्वर होइनन्।
तिनीहरूका घोडाहरू हाड-मासुका हुन्, स्वर्गका जीव होइनन्।+
यहोवाले आफ्नो हात पसार्नुहुँदा
सहायता दिनेहरूले ठेस खानेछन्
अनि सहायता लिनेहरू लड्नेछन्।
तिनीहरू सबै सँगसँगै नाश हुनेछन्।
४ किनकि यहोवाले मलाई यसो भन्नुभएको छ:
“जसरी जवान र पट्ठो सिंहले गर्जँदै आफ्नो सिकारलाई जोगाउँछ
अनि गोठालाहरू हुलै बाँधेर आए पनि
तिनीहरूको होहल्ला सुनेर त्यो डराउँदैन
र तिनीहरूले तर्साउन खोजे पनि त्यो पटक्कै तर्सिँदैन,
त्यसैगरि सेनाहरूका यहोवा तल ओर्लनुहुनेछ
अनि सियोन डाँडाको निम्ति र त्यसको थुम्कोको निम्ति लड्नुहुनेछ।
५ सेनाहरूका यहोवा वेगसित हानिएर आउने पन्छीझैँ आउनुहुनेछ र यरुसलेमलाई जोगाउनुहुनेछ।+
उहाँले त्यसको रक्षा गर्नुहुनेछ र त्यसलाई बचाउनुहुनेछ।
त्यसको पक्षमा लडेर उहाँले त्यसको उद्धार गर्नुहुनेछ।”
६ “ए इस्राएलका मानिसहरू हो, तिमीहरूले जसको खुलेआम विद्रोह गरेका थियौ,+ उहाँतिर फर्क। ७ आफूले पुज्दै आएका सुन र चाँदीका देवताहरूलाई त्यो दिन तिमीहरू सबैले त्याग्नेछौ; ती व्यर्थका देवताहरूलाई, जसलाई आफ्नै हातले बनाएर तिमीहरूले पाप गरेका थियौ।
८ तब अस्सेरियालीहरू तरबारले काटिनेछन्, जुन तरबार मानिसको होइन;
तरबारले तिनीहरूलाई सखाप पार्नेछ तर मानिसको तरबारले त होइन।+
त्यो तरबार देखेर तिनीहरू भाग्नेछन्।
तिनीहरूका युवकहरूलाई काममा जोताइनेछ।
९ त्रासले गर्दा तिनीहरूको चट्टान बिलाएर जानेछ।
झन्डा ठड्याइएको देखेर तिनीहरूका राजकुमारहरू थरथर काँप्नेछन्,” यहोवा घोषणा गर्नुहुन्छ,
जसको ज्योति* सियोनमा छ र जसको आगोको भट्टी यरुसलेममा छ।