यर्मिया
२८ अनि त्यसै वर्ष यहुदाका राजा सिदकियाहको+ शासनको सुरुमा अर्थात् चौथो वर्षको पाँचौँ महिनामा गिबोनमा+ बस्ने अज्जुरका छोरा भविष्यवक्ता हानन्याहले मलाई यहोवाको भवनमा पुजारीहरू र सबै मानिससामु भने: २ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु।+ ३ बेबिलोनका राजा नबुकद्नेजरले यहाँ यहोवाको भवनबाट ओसारेर बेबिलोन पुऱ्याएका सबै सरसामान म दुई वर्षभित्रै फर्काएर ल्याउनेछु।’”+ ४ “‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु अनि यहोयाकिमका+ छोरा यहुदाका राजा येकोनियालाई+ र बेबिलोनमा कैदी बनाएर लगिएका यहुदाका सबैलाई+ यहीँ फर्काएर ल्याउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।”
५ तब यहोवाको भवनमा उभिरहेका पुजारीहरू र सबै मानिससामु भविष्यवक्ता यर्मियाले भविष्यवक्ता हानन्याहसित कुरा गर्न थाले। ६ भविष्यवक्ता यर्मियाले यसो भने: “आमिन!* यहोवाले त्यसै गरून्! यहोवाले तपाईँको बोली सत्य साबित गरिदेऊन्! आफ्नो भवनका सबै सरसामान अनि कैदमा लगिएका सबैलाई बेबिलोनबाट यहाँ फर्काएर यहोवाले तपाईँको भविष्यवाणी पूरा गरून्! ७ तर बिन्ती! मैले तपाईँलाई सुनाउन लागेको यो सन्देश सुन्नुहोस्। यही सन्देश म अरू सबैलाई पनि सुनाउँदै छु। ८ तपाईँ र मभन्दा वर्षौँअघिका भविष्यवक्ताहरूले पनि युद्ध, विपत्ति अनि महामारीले* विभिन्न देश तथा शक्तिशाली राज्यहरूलाई सताउनेछ भनेर भविष्यवाणी गरेका थिए। ९ तर कुनै भविष्यवक्ताले शान्ति छाउनेछ भनेर भविष्यवाणी गऱ्यो र साँच्चै शान्ति छायो भने मात्र उसलाई यहोवाले नै पठाउनुभएको हो भनेर सबैले थाह पाउँछन्।”
१० यो कुरा सुन्नेबित्तिकै भविष्यवक्ता हानन्याहले भविष्यवक्ता यर्मियाको गर्दनबाट जुवा झिके र त्यसलाई भाँचिदिए।+ ११ अनि सबैसामु हानन्याहले भने: “यहोवा यसो भन्नुहुन्छ, ‘यसरी नै म सबै राष्ट्रको गर्दनमा परेको बेबिलोनका राजा नबुकद्नेजरको जुवा दुई वर्षभित्र भाँचिदिनेछु।’”+ तब यर्मिया त्यहाँबाट आफ्नो बाटो लागे।
१२ भविष्यवक्ता हानन्याहले भविष्यवक्ता यर्मियाको गर्दनको जुवा भाँचेपछि यर्मियाकहाँ यहोवाको यो वचन आयो: १३ “गएर हानन्याहलाई भन, ‘यहोवा यसो भन्नुहुन्छ: “तिमीले काठको जुवा भाँच्यौ,+ त्यसैले अब तिमीले फलामको जुवा बनाउनुपर्नेछ।” १४ किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “यी राष्ट्रहरूले बेबिलोनका राजा नबुकद्नेजरको सेवा गरून् भनेर म यिनीहरूको गर्दनमा फलामको जुवा राखिदिनेछु। अनि यिनीहरूले बेबिलोनका राजाको सेवा गर्नै पर्नेछ।+ म जङ्गली जनावरहरूसमेत तिनको हातमा सुम्पिदिनेछु।”’”+
१५ त्यसपछि भविष्यवक्ता यर्मियाले भविष्यवक्ता हानन्याहलाई+ यसो भने: “बिन्ती हानन्याह! मेरो कुरा सुन्नुहोस्। यहोवाले तपाईँलाई पठाउनुभएको होइन, तैपनि तपाईँ मानिसहरूलाई झूटो कुरा सुनाएर भ्रममा पार्दै हुनुहुन्छ।+ १६ त्यसैकारण यहोवा यसो भन्नुहुन्छ, ‘हेर, म तिम्रो ज्यान लिनेछु। मानिसहरूलाई यहोवाको विरोध गर्न सुऱ्याएकोले तिमी वर्षदिनभित्रै मर्नेछौ।’”+
१७ अनि भविष्यवक्ता हानन्याह त्यही वर्षको सातौँ महिनामा मरे।