इजकिएल
२३ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, एउटी आमाकी दुइटी छोरी थिए।+ ३ तिनीहरू मिश्रमा वेश्या भए।+ तरुनी छँदै तिनीहरू वेश्यावृत्तिमा लागे। तिनीहरूका स्तन माडिए र तिनीहरूको कुमारी अवस्थाका स्तन मुसारिए। ४ दिदीचाहिँको नाम ओहोलाह* थियो र बहिनीचाहिँको नाम ओहोलिबाह* थियो। तिनीहरू मेरा भए र तिनीहरूले छोराछोरी जन्माए। ओहोलाह सामरिया हो+ र ओहोलिबाह यरुसलेम हो।
५ “मेरी हुँदाहुँदै पनि ओहोलाहले वेश्यावृत्ति गर्न थाली।+ आफ्नो कामवासना पूरा गर्न त्यो आफ्ना कामुक प्रेमी,+ आफ्ना छिमेकी अस्सेरियालीहरूकहाँ+ जान थाली। तिनीहरू त्यसको प्रेममा पागल भएका थिए। ६ त्यसका प्रेमीहरू निलो पोसाक लगाएका अस्सेरियाका राज्यपालहरू अनि उप-शासकहरू थिए। तिनीहरू सबै जना घोडामा सवार भएर हिँड्ने सुन्दर नौजवान थिए। ७ त्यसले अस्सेरियालीहरूका एक-से-एक सुन्दर छोराहरूसित वेश्यागमन गर्न थाली। आफू जोप्रति आसक्त भएकी थिई, तिनीहरूका घिनलाग्दा मूर्तिहरूद्वारा* पनि त्यसले आफूलाई बिटुलो पारी।+ ८ त्यो तरुनी छँदा तिनीहरू त्यससित सुतेका थिए। तिनीहरूले त्यो कुमारी छँदै त्यसका स्तन मुसारेका थिए र ज्यादै कामुक भएर त्यससित सम्भोग गरेका थिए।+ त्यसैले मिश्रबाट फर्केपछि पनि त्यसले वेश्यावृत्ति गर्न छोडिन। ९ त्यसैकारण जसको प्रेममा फसेर त्यो पागल अनि कामुक भएकी थिई, तिनै अस्सेरियालीहरूको+ हातमा मैले त्यसलाई सुम्पिदिएँ। १० तिनीहरूले त्यसको लाज उदाङ्ग पारे+ र त्यसका छोराछोरीलाई पक्रे।+ अनि त्यसलाई* तरबारले मारे। त्यो आइमाईहरूमाझ कुख्यात भई। तिनीहरूले त्यसलाई दण्ड दिए।
११ “दिदीको बेहोरा देखेर त्यसकी बहिनी ओहोलिबाह झनै कामुक भई र दिदीचाहिँले भन्दा झन् धेरै वेश्यावृत्ति गर्न थाली।+ १२ त्यो कामुक हुँदै आफ्ना छिमेकी अस्सेरियालीहरूका छोराहरूकहाँ जान थाली।+ तिनीहरू निलो पोसाक लगाएका अस्सेरियाका राज्यपालहरू अनि उप-शासकहरू थिए। तिनीहरू सबै जना घोडामा सवार भएर हिँड्ने सुन्दर नौजवान थिए। १३ त्यसले पनि आफूलाई बिटुलो पारी। आखिर ती दिदीबहिनी एउटै बाटोमा लागे।+ १४ तर बहिनीचाहिँले झन्झनै वेश्यावृत्ति गर्न थाली। त्यसले भित्तामा पुरुषहरूको अर्थात् कल्दियालीहरूको मूर्ति खोपिएको देखी। त्यसमा सिन्दूरे रङ्ग पोतिएको थियो। १५ कम्मरमा बाँधेको पेटी र शिरमा गुथेको पगरीको लामो फुर्कोले गर्दा ती मूर्तिहरू कल्दियामा जन्मिएका बेबिलोनी योद्धाहरूका मूर्तिजस्तै देखिन्थे। १६ ती मूर्तिहरू देख्नेबित्तिकै त्यो कामुक भई र तिनीहरूसित सम्बन्ध राख्न आतुर भई। त्यसले आफ्ना दूतहरूमार्फत कल्दियामा खबर पठाई।+ १७ त्यसैले बेबिलोनका छोराहरू त्यसकहाँ आउन थाले र त्यससित सुतेर* त्यसलाई बिटुलो पारे। तर बिटुलो भएपछि त्यसलाई तिनीहरूदेखि घिन लाग्यो र त्यो तिनीहरूसित टाढिई।
१८ “त्यसले पनि निर्लज्ज भएर वेश्यावृत्ति गरेकीले र आफ्नो लाज उदाङ्ग पारेकीले+ म घिनाउँदै त्योदेखि टाढिएँ, जसरी त्यसकी दिदीदेखि म टाढिएको थिएँ।+ १९ तरुनी छँदा मिश्रमा गरेको वेश्यावृत्ति सम्झँदै+ त्यसले झन् धेरै वेश्यावृत्ति गर्न थाली।+ २० गधाका र घोडाका जस्तै लिङ्ग भएका पुरुषहरूका रखौटीहरूजस्तै त्यो पनि आफ्ना प्रेमीहरूप्रति आसक्त भई। २१ तैँले आफू सानो छँदा मिश्रमा गरेको छाडा कामको लालसा गर्न थालिस्।+ त्यतिखेर तँ कुमारी छँदा तेरा स्तन तिनीहरूले मुसारेका थिए।+
२२ “त्यसैकारण हे ओहोलिबाह, ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तैँले घिन मान्दै पर पन्छाएका तेरा प्रेमीहरूलाई म सुऱ्याउँछु+ र तिनीहरूलाई चारैतिरबाट तेरो विरुद्धमा ल्याउँछु+— २३ बेबिलोनीहरूका छोराहरू+ र कल्दियाका सबै पुरुष;+ पेकोदका,+ सोअका र कोअका पुरुषहरू अनि अस्सेरियाका सबै छोरा। हो, तिनीहरू सबै नै घोडामा सवार सुन्दर नौजवान हुन्; तिनीहरू राज्यपालहरू अनि उप-शासकहरू, योद्धाहरू र रोजिएकाहरू हुन्। २४ तिनीहरू युद्धका रथहरू चढेर तँलाई हमला गर्न आउनेछन् र तैँले रथको गडगडाहट सुन्नेछेस्। साना* र ठूला ढाल बोकेका र टोप लगाएका सिपाहीहरू तँविरुद्ध आउनेछन्। तिनीहरूले तँलाई चारैतिरबाट घेर्नेछन्। तँविरुद्ध फैसला सुनाउने र तँलाई उचित दण्ड दिने अधिकार पनि म तिनीहरूलाई दिनेछु।+ २५ मेरो क्रोध तँमाथि दन्कनेछ। तिनीहरूले क्रोधित हुँदै तँलाई बेहाल बनाउनेछन्, तेरो नाक-कान काट्नेछन् अनि बाँकी रहेकाहरूलाई तरबारले मार्नेछन्। तिनीहरूले तेरा छोराछोरीलाई कैद गरेर लैजानेछन् र बाँकी रहेकाहरूलाई जलाउनेछन्।+ २६ तिनीहरूले तँलाई निर्वस्त्र पार्नेछन्+ र तेरा सुन्दर गरगहना लुट्नेछन्।+ २७ मिश्रमा सुरु भएको तेरो छाडा काम र तेरो वेश्यावृत्तिको+ म अन्त गरिदिनेछु।+ तैँले तिनीहरूलाई हेर्न छोड्नेछेस् र मिश्रलाई बिर्सनेछेस्।’
२८ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘जसलाई तँ घृणा गर्थिस्, जससित घिनाएर तैँले मुख फर्काएकी थिइस्, अब म तिनीहरूकै हातमा तँलाई सुम्पनेछु।+ २९ तिनीहरूले तँलाई घृणा गर्नेछन्, तेरो मेहनतको कमाइ लुट्नेछन्+ अनि तँलाई नाङ्गो पार्नेछन्। तेरो अवैध सम्बन्ध, तेरो छाडा आचरण र तेरो वेश्यावृत्तिको पर्दाफास हुनेछ।+ ३० तैँले यी सब भोग्नुपर्नेछ किनकि तैँले जातिजातिका मानिसहरूलाई वेश्याले जस्तै पछ्याइस्+ र तिनीहरूका घिनलाग्दा मूर्तिहरूद्वारा आफैलाई बिटुलो पारिस्।+ ३१ तँ आफ्नी दिदीकै बाटोमा लागिस्।+ त्यसैले म तेरी दिदीको कचौरा तेरो हातमा थमाइदिनेछु।’+
३२ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
‘तैँले तेरी दिदीले पिएको गहिरो र ठूलो कचौराबाट पिउनेछेस्;+
तँ खिसीको पात्र हुनेछेस् र तँलाई हाँसोमा उडाइनेछ किनकि यस्तै कुराले त्यो कचौरा भरिएको छ।+
३३ तैँले तेरी दिदी सामरियाको कचौराबाट पिउनेछेस्;
तँ मात्तिनेछेस् र शोकमा डुब्नेछेस्;
तँलाई देखेर मानिसहरू छक्क पर्नेछन् र तँ एक्लो अनि उजाड हुनेछेस्।
३४ तैँले माटोको त्यो कचौराबाट पिउनेछेस्, तैँले त्यसलाई सिनित्तै पार्नेछेस्+ र कचौराका टुक्राहरूसमेत चपाउनेछेस्;
शोकाकुल भएर आफ्ना स्तनहरू काट्नेछेस्;
“किनकि म आफैले यसो भनेको हुँ,” ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।’
३५ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तैँले मलाई चटक्कै बिर्सेकी छेस् र मलाई तिरस्कार गरेकी छेस्।+ त्यसैले आफ्नो छाडा आचरण र वेश्यावृत्तिको फल अब तैँले भोग्नुपर्नेछ।’”
३६ त्यसपछि यहोवाले मलाई सोध्नुभयो: “हे मानिसको छोरा, के तिमी ओहोलाह र ओहोलिबाहकहाँ+ गएर मेरो फैसला सुनाउँछौ? तिनीहरूलाई घिनलाग्दा कामहरूको दोषी ठहराउँछौ? ३७ तिनीहरूले व्यभिचार* गरेका छन्+ र तिनीहरूका हात रगतले लतपतिएको छ। तिनीहरूले आफ्ना प्रेमीहरूका घिनलाग्दा मूर्तिहरूसित व्यभिचार मात्र गरेका छैनन्, तिनीहरूले मेरो निम्ति जन्माएका छोराहरूलाई ती मूर्तिहरूसामु आगोमा बलि समेत चढाएका छन्।+ ३८ त्यति मात्र होइन, त्यस दिन तिनीहरूले मेरो मन्दिर र मेरो विश्रामदिनलाई बिटुलो पनि पारे। ३९ ती मूर्तिहरूसामु आफ्ना छोराहरूलाई काटेर बलि दिएपछि+ त्यही दिन तिनीहरू मेरो पवित्र स्थानमा* आए र त्यसलाई बिटुलो पारे।+ तिनीहरूले मेरै घरभित्र त्यसो गरे। ४० टाढा-टाढाका पुरुषहरूलाई बोलाउन तिनीहरूले सन्देशवाहक समेत पठाए।+ अनि ती पुरुषहरू बाटोमा आउँदै गर्दा तैँले नुहाइधुवाइ गरिस्, आँखामा गाजल लगाइस् र गरगहनाले आफूलाई झकिझकाउ पारिस्।+ ४१ अनि तँ शानदार शय्यामा ढल्किइस्।+ तेरो अघि एउटा टेबुल थियो+ र तैँले त्यसमा मेरो धूप बालिस्+ र मेरो तेल हालिस्।+ ४२ त्यहाँ मोजमस्ती गरिरहेका पुरुषहरूको हल्ला सुनियो। तिनीहरूमध्ये निर्जनभूमिबाट ल्याइएका जँड्याहाहरू पनि थिए। तिनीहरूले ती दिदीबहिनीलाई चुरा लगाइदिए र सुन्दर ताज पहिराइदिए।
४३ “बारम्बार व्यभिचार गरेर थाकेकी दिदीबारे मैले यसो भनेँ: ‘त्यसले वेश्यावृत्ति गर्न नछोड्ने भई।’ ४४ मानिस वेश्याकहाँ बारम्बार गएझैँ तिनीहरू त्यसकहाँ गइरहे। हो, तिनीहरू ती दुई छाडा दिदीबहिनी ओहोलाह र ओहोलिबाहकहाँ जान छोडेनन्। ४५ तर ती दिदीबहिनीले गरेको वेश्यावृत्ति+ र रक्तपातको+ लागि धर्मीहरूले तिनीहरूलाई उचित दण्ड दिनेछन्। किनकि तिनीहरू व्यभिचारिणीहरू हुन् र तिनीहरूको हात अरूको रगतले लतपतिएको छ।+
४६ “त्यसैकारण ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तिनीहरूको विरुद्धमा म सेना पठाउनेछु अनि तिनीहरूको दुर्गति देखेर मानिसहरूबीच आतङ्क मच्चिनेछ र तिनीहरूका सबै थोक लुटिनेछन्।+ ४७ तिनीहरूमाथि जाइलाग्ने सेनाले तिनीहरूमाथि ढुङ्गा बर्साउनेछ,+ तरबारले तिनीहरूलाई काट्नेछ, तिनीहरूका छोराछोरीलाई मार्नेछ+ र तिनीहरूको घरमा आगो लगाइदिनेछ।+ ४८ म त्यस देशमा तिनीहरूको छाडापनको अन्त गर्नेछु। देशका सबै स्त्रीले पाठ सिक्नेछन् र तिमीहरूको छाडा चालमा हिँड्नेछैनन्।+ ४९ तिमीहरूको छाडा आचरण र तिमीहरूले घिनलाग्दा मूर्तिहरूसित गरेको पापको फल त्यसले तिमीहरूलाई दिनेछ। तब तिमीहरूले म नै ब्रह्माण्डका मालिक यहोवा हुँ भनेर जान्नेछौ।’”+