प्रस्थान
१३ यहोवा परमेश्वरले मोसालाई यसो पनि भन्नुभयो: २ “इस्राएलीहरूका हरेक पहिलो सन्तान मेरो निम्ति छुट्ट्याऊ।* मानिस होस् वा जनावर, तिनीहरूको पहिलो सन्तान मेरै हुन्।”+
३ अनि मोसाले मानिसहरूलाई भने: “आजको दिन सधैँ सम्झिराख किनभने तिमीहरूको दासत्वको घर—मिश्रबाट आजकै दिन यहोवा परमेश्वरले तिमीहरूलाई आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+ तिमीहरूले खमिर* हालेको कुनै कुरा नखाओ। ४ अबिब* महिनाको यो दिन तिमीहरू यहाँबाट जाँदै छौ।+ ५ यहोवा परमेश्वरले तिमीहरूका पुर्खालाई कनानी, हित्ती, एमोरी, हिव्वी अनि यबुसीहरूको देशमा+ अर्थात् दूध र मह बग्ने देशमा+ लैजान्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो।+ त्यहाँ पुगेपछि तिमीहरूले हरेक वर्ष यही महिनामा यो चाड मनाउनू: ६ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू+ अनि सातौँ दिनमा चाहिँ यहोवा परमेश्वरको निम्ति चाड मनाउनू। ७ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+ ती सात दिनको दौडान तिमीहरूमाझ खमिर हालिएको कुनै पनि खानेकुरा नभेटियोस्।+ तिमीहरूको पूरै इलाकामा खमिरा पीठो* नभेटियोस्। ८ अनि त्यो दिन तिमीहरूले आफ्ना छोराहरूलाई भन्नू, ‘यहोवा परमेश्वरले हामीलाई मिश्रबाट छुटाउन जे गर्नुभयो, त्यसलाई सम्झन हामी यो चाड मनाउँछौँ।’+ ९ यस चाडले तिमीहरूलाई यहोवा परमेश्वरको पराक्रमी हातले मिश्रबाट छुटाएको दिनको सम्झना गराउनेछ। त्यसैले यो तिमीहरूको हातमा एउटा चिन्ह र निधारमा पट्टीसरह हुनेछ।+ अनि तिमीहरूले यहोवा परमेश्वरको आज्ञाबारे अरूलाई बताउन सक्नेछौ। १० तिमीहरूले हरेक वर्ष यही महिना यो चाड मनाउनू।+
११ “यहोवा परमेश्वरले तिमीहरूलाई दिन्छु भनी तिमीहरू र तिमीहरूका पुर्खासित प्रतिज्ञा गर्नुभएको कनानीहरूको देशमा जब तिमीहरूलाई पुऱ्याउनुहुन्छ,+ १२ तब तिमीहरूले आफ्नो र जनावरहरूको पहिलो सन्तानचाहिँ यहोवा परमेश्वरलाई अर्पण गर्नू। किनकि तिमीहरूको र जनावरहरूको पहिलो सन्तान यहोवा परमेश्वरकै हुन्।+ १३ पहिले जन्मेको गधालाई छुटाउन त्यसको सट्टा एउटा भेडा चढाउनू। तर त्यस गधालाई छुटाएनौ भने त्यसको घाँटी छिनालेर मार्नू। अनि हरेक पहिलो सन्तानलाई मोल तिरेर छुटाउनू।+
१४ “तिमीहरूका छोराहरूले ‘किन यस्तो गर्नुभएको?’ भनी सोधेमा यसो भन्नू, ‘किनभने यहोवा परमेश्वरले हामीलाई दासत्वको घर—मिश्रबाट आजकै दिन आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+ १५ फारोले कठोर भएर हामीलाई मिश्रबाट जान नदिँदा+ यहोवा परमेश्वरले त्यहाँका मानिसहरूको र जनावरहरूको पहिलो सन्तानजति सबैलाई मार्नुभयो।+ त्यसैले हामी वस्तुभाउको पहिलो सन्तान यहोवा परमेश्वरको लागि बलि चढाउँछौँ र मानिसहरूको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउँछौँ।’ १६ यहोवा परमेश्वरले हामीलाई आफ्नो पराक्रमी हातले मिश्रबाट छुटाएर ल्याउनुभएकोले यो चाड तिमीहरूको हातमा एउटा चिन्ह र निधारमा पट्टीसरह हुनेछ।”+
१७ फारोले मानिसहरूलाई जान दिएपछि परमेश्वरले तिनीहरूलाई पलिस्तियालीहरूको देश भएर जाने बाटो छोटो भए तापनि त्यस बाटोबाट लैजानुभएन। किनकि परमेश्वरले भन्नुभयो: “लडाइँ गर्नुपऱ्यो भने यी मानिसहरूले आफ्नो मन फेर्लान् र मिश्रतिरै फर्कलान्।” १८ त्यसैले परमेश्वरले तिनीहरूलाई लाल समुद्रनजिकैको निर्जनभूमि हुँदै लैजानुभयो।+ इस्राएलीहरू मिश्रबाट निस्कँदा सैन्य दलजस्तो गरी व्यवस्थित तरिकामा निस्के। १९ मोसाले युसुफका हड्डी पनि आफूसितै लगे किनकि युसुफले इस्राएलका सन्तानलाई शपथ खान लगाउँदै यसो भनेका थिए: “परमेश्वरले पक्कै तिमीहरूको पुकारा सुन्नुहुनेछ। तिमीहरू यहाँबाट जाँदा मेरा हड्डी पनि सँगै लैजानू।”+ २० सुक्कोथ छाडेपछि तिनीहरू निर्जनभूमिको छेउमा पर्ने एथाम पुगे र त्यहाँ पाल टाँगेर बसे।
२१ तिनीहरूलाई डोऱ्याउन यहोवा परमेश्वर अघिअघि जानुहुन्थ्यो; दिउँसो बादलको खामो भएर+ अनि राती आगोको खामो भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुहुन्थ्यो। यसरी तिनीहरू दिउँसो मात्र नभई राती पनि यात्रा गर्न सक्थे।+ २२ इस्राएलीहरूको माझबाट दिनमा बादलको खामो र रातमा आगोको खामो कहिल्यै हटेन।+