यर्मिया
३२ यहुदाका राजा सिदकियाहको शासनको १० औँ वर्षमा अर्थात् बेबिलोनका राजा नबुकद्नेजरको* शासनको १८ औँ वर्षमा यर्मियाकहाँ आएको यहोवाको वचन।+ २ त्यसबेला बेबिलोनका राजाको सेनाले यरुसलेमलाई घेरा हालेको थियो र भविष्यवक्ता यर्मियालाई यहुदाका राजाको महलमा भएको पहरेदार-चोकमा+ थुनेर राखिएको थियो। ३ किनकि यहुदाका राजा सिदकियाहले यर्मियालाई थुन्न लगाएका थिए।+ सिदकियाहले यर्मियालाई यसो भने, “तिमी किन यसो भनेर भविष्यवाणी गर्छौ? तिमी भन्छौ, ‘यहोवा भन्नुहुन्छ: “म यो सहर बेबिलोनका राजालाई सुम्पिदिनेछु र तिनले यसलाई कब्जा गर्नेछन्।+ ४ यहुदाका राजा सिदकियाह कल्दियालीहरूको हातबाट उम्कनेछैनन्। किनकि तिनी बेबिलोनका राजाको कैदमा अवश्य पर्नेछन् र बेबिलोनका राजाले तिनीसित आमनेसामने कुरा गर्नेछन्।”’+ ५ ‘बेबिलोनका राजाले सिदकियाहलाई लैजानेछन् र मैले तिनको बारेमा कुनै निर्णय नगरुन्जेल तिनलाई बेबिलोनमै राख्नेछन्,’ यहोवा घोषणा गर्नुहुन्छ। ‘तिमीले कल्दियालीहरूसित जति नै लडाइँ गरे पनि सफल हुनेछैनौ।’”+
६ यर्मियाले यसो भने: “यहोवाको यो वचन मकहाँ आयो, ७ ‘तिम्रो ठूलोबुबा* साल्लुमका छोरा हानमेल तिमीकहाँ आउनेछन् र यसो भन्नेछन्: “अनातोतमा+ भएको मेरो खेत किन्नुहोस् किनकि तपाईँ नै त्यसको पहिलो हकदार हुनुहुन्छ।”’”+
८ यहोवाले भन्नुभएझैँ मेरो ठूलोबुबाका छोरा हानमेल पहरेदार-चोकमा आएर मलाई भेटे र यस्तो आग्रह गरे: “बिन्यामिनको इलाकाको अनातोतमा भएको मेरो खेत किन्नुहोस् किनकि त्यो किन्ने अधिकार तपाईँसित छ।” तब यो सब यहोवाको वचनअनुसारै भएको हो भनेर मैले बुझेँ।
९ त्यसैले मेरो ठूलोबुबाका छोरा हानमेलबाट मैले अनातोतको खेत किनेँ। मैले तिनलाई सात शेकेल* र दस टुक्रा चाँदी जोखेर दिएँ।+ १० अनि मैले हामीबीच भएको कारोबारको एउटा कागज बनाएँ,+ त्यसमा लाहाछाप लगाएँ, साक्षीहरू भेला गरेँ+ र तिनीहरूसामु पैसा जोखेँ। ११ नियमकानुनअनुसारै लाहाछाप लगाइएको एउटा कागज र लाहाछाप नलगाइएको अर्को एउटा कागज मैले लिएँ। १२ अनि मेरो ठूलोबुबाका छोरा हानमेल, कागजमा सही गर्ने साक्षीहरू र पहरेदार-चोकमा+ बसिरहेका सबै यहुदीको अगाडि मैले त्यो कागज महसेयाहका नाति, नेरियाहका+ छोरा बारुकलाई दिएँ।+
१३ मैले सबैको अगाडि बारुकलाई यस्तो आदेश दिएँ: १४ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘लाहाछाप लगाइएको कागज र नलगाइएको कागज दुवै लेऊ र ती कागजहरू लामो समयसम्म सुरक्षित रहून् भनेर एउटा माटोको भाँडोमा राख।’ १५ किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘यो भूमिमा फेरि घर, खेतबारी र अङ्गुर बगानको किनबेच हुनेछ।’”+
१६ नेरियाहका छोरा बारुकलाई कागज दिएपछि मैले यहोवालाई यसो भनेर प्रार्थना गरेँ: १७ “हे ब्रह्माण्डका मालिक यहोवा! तपाईँले आफ्नो अपार शक्ति र बलियो पाखुराले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।+ तपाईँको लागि कुनै कुरा असम्भव छैन। १८ तपाईँ हजारौँ हजारलाई साँचो प्रेम* गर्नुहुन्छ। तर पितापुर्खाले गरेको गल्तीको सजाय तिनका छोराहरूलाई दिनुहुन्छ।+ हे साँचो परमेश्वर, महान् र शक्तिशाली परमेश्वर, जसको नाम सेनाहरूका यहोवा हो, १९ तपाईँका उद्देश्यहरू* र तपाईँका कार्यहरू कत्ति महान् छन्!+ मानिसको हरेक चाल तपाईँ नियाल्नुहुन्छ+ र तिनीहरूको चालअनुसार अनि तिनीहरूको कामअनुसारको फल तिनीहरूलाई दिनुहुन्छ।+ २० तपाईँले मिश्रमा आश्चर्यलाग्दा चिन्हहरू देखाउनुभयो र चमत्कारहरू गर्नुभयो। ती आजका दिनसम्म पनि मानिसहरूले बिर्सेका छैनन्। यसरी इस्राएलीहरूमाझ र सारा मानिसजातिमाझ तपाईँले आफ्नो नाम राख्नुभयो+ र त्यो आजसम्म पनि कायमै छ। २१ अनि तपाईँले आश्चर्यलाग्दा चिन्हहरू देखाएर, चमत्कारहरू गरेर, आफ्नो शक्ति प्रकट गरेर अनि भयानक कामहरू गरेर इस्राएलका आफ्ना मानिसहरूलाई मिश्रबाट छुटाउनुभयो।+
२२ “अनि तिनीहरूका पितापुर्खालाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको दूध र मह बग्ने+ यो देश तपाईँले तिनीहरूलाई दिनुभयो।+ २३ अनि तिनीहरू आएर यो देशलाई आफ्नो अधिकारमा लिए तर तिनीहरूले तपाईँको कुरा सुनेनन् र तपाईँका आज्ञाहरूलाई बेवास्ता गरे। तपाईँले आज्ञा गर्नुभएको कुनै पनि कुरा तिनीहरूले पालन गरेनन्। त्यसैले तपाईँले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभयो।+ २४ हेर्नुहोस्! शत्रुहरूले यो सहर कब्जा गर्नलाई घेरा-मचान* बनाएका छन्।+ अनि तरबार,+ अनिकाल र रुढीले* गर्दा+ यो सहर ती कल्दियालीहरूको हातमा परेरै छोड्नेछ, जो यस सहरविरुद्ध लडिरहेका छन्। तपाईँले भन्नुभएका सबै कुरा पूरा भएका छन्, ती तपाईँ आफैले देखिरहनुभएको छ। २५ हे ब्रह्माण्डका मालिक यहोवा, यो सहर कल्दियालीहरूको हातमा पर्ने निश्चित छ तर तपाईँ भने मलाई यसो भन्नुहुन्छ: ‘पैसा तिरेर आफ्नो लागि खेत किन र साक्षीहरू भेला गर।’”
२६ त्यसपछि यहोवा परमेश्वरको यो वचन यर्मियाकहाँ आयो: २७ “म सारा मानिसजातिको परमेश्वर यहोवा हुँ। के मेरो लागि कुनै कुरा असम्भव छ? २८ त्यसैले म यहोवा यसो भन्छु, ‘म अब यो सहर कल्दियालीहरूको र बेबिलोनका राजा नबुकद्नेजरको हातमा सुम्पिदिनेछु र तिनले यसलाई कब्जा गर्नेछन्।+ २९ अनि यस सहरविरुद्ध खडा भएका कल्दियालीहरू यहाँ आउनेछन् र सहरमा आगो लगाइदिनेछन्।+ अनि यहाँ भएका ती सबै घर खरानी हुनेछन्, जुन घरहरूका छतहरूमा मानिसहरूले बाआलका लागि बलि चढाएर अनि अरू देवताहरूका लागि मद्यभेटी चढाएर मलाई रिस उठाए।’+
३० “‘किनकि इस्राएल र यहुदाका मानिसहरूले युवावस्थादेखि नै मेरो नजरमा जे खराब छ, त्यही गरेका छन्।+ इस्राएलका मानिसहरू खराब काम गरेर मलाई रिस उठाइरहन्छन्,’ यहोवा घोषणा गर्नुहुन्छ। ३१ ‘यो सहर बनिएको दिनदेखि आजसम्मै यसका बासिन्दाहरूले मलाई रिस उठाउनुको अलावा अरू केही गरेका छैनन्।+ त्यसैले म यसलाई मेरो नजरबाट हटाइदिनेछु।+ ३२ इस्राएल र यहुदाका बासिन्दाहरूले गरेका सबै खराब कामको कारण म त्यसो गर्नेछु। तिनीहरू, तिनीहरूका राजाहरू,+ भारदारहरू,+ पुजारीहरू, भविष्यवक्ताहरू+ अनि यहुदा र यरुसलेमका बासिन्दाहरू सबैले मलाई रिस उठाएका छन्। ३३ तिनीहरूले निरन्तर मतिर आफ्नो पीठ फर्काए; आफ्नो अनुहार देखाउँदै देखाएनन्।+ मैले तिनीहरूलाई बारम्बार सिकाउने कोसिस गरेँ तर तिनीहरूमध्ये कसैले पनि मैले सिकाएझैँ गरेनन् र मेरो अनुशासन स्विकारेनन्।+ ३४ अनि मेरो नामले चिनिएको भवनमा घिनलाग्दा मूर्तिहरू ल्याएर तिनीहरूले त्यसलाई अपवित्र पारे।+ ३५ त्यतिमात्र होइन, तिनीहरूले “हिन्नोमको छोराको बेँसी”-मा*+ बाआलको निम्ति अग्ला थानहरू* बनाए र त्यहाँ मोलेकको निम्ति आफ्ना छोराछोरीलाई आगोमा बलि चढाए।+ त्यस्तो घिनलाग्दो काम गरेर यहुदालाई पाप गर्न लगाउने आज्ञा मैले दिएकै थिइनँ।+ त्यस्तो कुरा मेरो मनमा समेत आएको थिएन।’
३६ “त्यसकारण यो सहर, जसलाई बेबिलोनका राजाले तरबार, अनिकाल र रुढीले कब्जा गर्नेछन् भनेर तिमी घोषणा गर्दै छौ, यसबारे इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ३७ ‘यसका बासिन्दाहरूदेखि क्रोधित हुँदै मैले आफ्नो भयङ्कर रिसमा तिनीहरूलाई जुन-जुन ठाउँमा तितरबितर पारेको थिएँ,+ ती सबै ठाउँबाट म तिनीहरूलाई यस ठाउँमा जम्मा गर्नेछु र तिनीहरू ढुक्कसित यहाँ बस्नेछन्।+ ३८ म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।+ ३९ तिनीहरूले सधैँ मेरो डर मानून् अनि तिनीहरू र तिनीहरूका छोराछोरीको भलो होस् भनेर म तिनीहरूलाई एकै मनको बनाउनेछु+ र एउटै मार्गमा चल्न लगाउनेछु।+ ४० म तिनीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु:+ म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ।+ तिनीहरू मदेखि तर्केर नजाऊन् भनेर तिनीहरूको हृदयमा मप्रतिको डर राखिदिनेछु।+ ४१ तिनीहरूसित प्रसन्न हुँदै म तिनीहरूको भलाइ गर्नेछु+ अनि मेरो सारा हृदय र मेरो सारा शक्तिले तिनीहरूलाई यो भूमिमा स्थिर गराउनेछु।’”+
४२ “किनकि यहोवा यसो भन्नुहुन्छ, ‘जसरी मैले यी मानिसहरूमाथि यो सब विपत्ति ल्याएँ, त्यसैगरि मैले प्रतिज्ञा गरेका सबै असल कुरा पनि म तिनीहरूलाई दिनेछु।+ ४३ तिमीले “यो भूमि निर्जन हुनेछ, यहाँ कुनै मानिस वा पशु रहनेछैन, यो कल्दियालीहरूको हातमा सुम्पिइएको छ” भने तापनि यो भूमिमा मानिसहरूले फेरि खेतबारी किनबेच गर्नेछन्।’+
४४ “यहोवा घोषणा गर्नुहुन्छ, ‘बिन्यामिनको इलाका, यरुसलेम वरपरको इलाका, यहुदाका सहरहरू,+ पहाडी भेगका सहरहरू, बेँसीका सहरहरू+ र दक्षिणतिरका सहरहरूमा मानिसहरूले दाम तिरेर खेतबारी किन्नेछन्,+ साक्षीहरू भेला गर्नेछन् र किनबेच गरेको कागज बनाएर त्यसमा लाहाछाप लगाउनेछन् किनकि कैदमा परेका ती ठाउँहरूका मानिसहरूलाई म फर्काएर ल्याउनेछु।’”+