फ्लोरिडाको झ्याउजंगल—निर्जन भूमिको दयनीय पुकार
यस अद्भुत उष्णकटिबन्धीय प्रमोदवनमा महान् सृष्टिकर्ताको उदेकलाग्दो हस्तकला हेर्न वर्षेनी करिबन दश लाख पर्यटकहरू ओइरिन्छन्। हुन त यहाँ कुनै छङछङ बग्ने खोल्साखोल्सी छैनन् नता यहाँ कहालीलाग्दा अग्लाअग्ला पर्वतहरू नै छन्। तस्बिरै खिचुँखिचुँजस्तो लाग्ने त्यस्ता कुनै विशाल झरनाहरू पनि छैनन्। न यहाँ यताउति डुलिरहेका बाह्रसिंगेजस्तो पशुहरूलाई पनि टाढैबाट हेर्न पाइन्छ नता खैरो रौं भएको बडेमानको भालु नै देख्न पाइन्छ। यो एभरग्लेडस नेशनल पार्क हो। यहाँ कुनै मनमोहक दृश्यहरूको आनन्द उठाउन त पाइँदैन तर यो पार्क यहाँको प्रचुर वनस्पतिको कारण स्थापना गरिएको विश्वको पहिलो राष्ट्रिय निकुञ्ज हो।
यहाँ केही भूभाग सिमसारले ढाकेको छ भने बाँकी भूभाग उष्ण दलदलले ढाकेको छ। यो जंगललाई “घाँसे नदी” भनिन्छ। त्यहाँ पाइने जीवजन्तुहरू जुगौंदेखि त्यहीं पाइन्थेजस्तो लाग्छ। पारिलो घाम मजाले तापिरहेको तीन मिटर लामो घरियाल आहार समाउन सकियोस् भनेर निकै सजग छ। रात परेपछि भने त्यस दलदलमा घरियालहरू गर्जेको आवाज गुञ्जिन्छ र तिनीहरूको प्रणय मिलन हुँदा जमीन हल्लन थाल्छ। लुगा धुने अटलजत्रो कछुवाहरू पनि आहार खोज्न घाँसहरू हुँदो खोस्रन थाल्छन्। चुलबुले पानीबिरालोको घर पनि यहीं नै छ। फ्लोरिडामा पाइने एकप्रकारको चितुवा शिकारको खोजीमा केहीबेरअघिसम्म यतै कतै भौंतारिरहेको थियो भनी यस मलिलो माटोमा परेको उसको पदचिह्नबाट थाह पाउन सकिन्छ। यी शिकारी चितुवाहरूबाट बच्न सेतो पुच्छर भएका मृगहरू सधैं सतर्क हुनुपर्छ नत्रता तिनीहरू एकैगाँस हुन के बेर। लोखर्केलाई तस्बिरहरूमा अक्सर खोलाको तीरमा भोजन पखालिरहेको देखाइन्छ। तिनीहरू पनि यहाँ एभरग्लेडसमा [झ्याउजंगलमा] प्रशस्त खानेकुरा पाउने भएकोले मस्तसित बसिरहेका हुन्छन्।
यो झ्याउजंगलमा यत्ति धेरै प्रकारका अन्य जीवहरू पनि पाइन्छन्, पर्यटकहरूले ती अक्सर हेर्नै भ्याउँदैनन्। पानीको सतहमाथि रहेको लिलीका पातहरू तथा कृत्रिम खोल्सोमा उम्रने जलकुरकुरेमा पात हो कि के हो हतपत ठम्याउनै नसकिने गरी विभिन्न जातका भ्यागुताहरू बसेका हुन्छन्। जलजातहरूमध्ये स्याउजस्तो चिप्लेकीरा अर्थात् अम्बाजत्रो शंखेकीरा पनि एक हो। चिप्लेकीराको चालमा तैरिने यी जलजातहरूमा माछाको जस्तो सास फेर्ने अंगहरूलगायत एउटा फोक्सो पनि हुन्छ। त्यसैकारण यिनीहरूले पानीमुनि र पानीबाहिर दुवै ठाउँमा सास फेर्नसक्छन्। त्यति गहिराइ नभएको पानीमा झिंगेमाछा, गँगटो तथा विभिन्न प्रकारमा माछाहरू तैरिरहेका हुन्छन्। त्यहाँ छ्यासछ्यास्ती सर्पहरू, कीराफट्यांग्राहरू र घस्रने जलजातहरू एकअर्काको शिकार गर्छन् वा कसै न कसैको शिकार हुन्छन्।
प्वाँखे चराचुरुंगीहरूमध्ये चम्चा सावरी, सावरी, हिउँजस्तो सेतो सावरीजस्ता मन लोभ्याउने पंक्षीहरू आकाशमा उडिरहेका हुन्छन् भने तिनीहरूका जोडी चाहिं उड्नुको साटो ओथारो बसिरहेका हुन्छन्। ती चित्ताकर्षक ठूला नीला बकुल्लाहरू आकाशमा यति वेगले उड्छन्, तपाईं ती गन्नसमेत भ्याउनुहुन्न र यो हत्तपत्त बिर्सन नसकिने क्षण हुन्छ। जलकुक्कुट, पानीचरो, प्याजी रंगको सारसजस्तो जलचरोसँगसँगै बाजहरू पनि आकाशमा उडिरहेका हुन्छन्। र यहाँ पाइने यो बाज अमेरिकाको राष्ट्रिय चरो हो।
त्यहाँ लामो घाँटी भएको जलकौवा र सुरिलो घाँटी भएको साँपचरो पनि हुन्छन्। सारसजस्तो यो साँपचरो पानीमा तैरिंदा नागबेली आकृतिको लामो घाँटी तन्काउने हुँदा यो चरोजस्तो देखिंदैन तर कुनै उभयचरजस्तो देखिन्छ। त्यसैले यसलाई साँपचरो पनि भनिन्छ। यी दुवै थरिका चुभुरचुभुर खाइरहने चराहरूले पनि यो झ्याउजंगलको त्यति गहिराइ नभएको पानीमा चारा खोज्न तँछाडमछाड गर्छन्। तिनीहरू भिजेपछि रवाफिलो ढंगमा पखेटा फैलाउँछन्, पुच्छर तन्काउँछन्; मानौं कसैले तस्बिरै खिच्न लागेझैं तिनीहरू विशेष मुद्रामा बस्छन्। तिनीहरूको प्वाँख पूरापूर सुकेपछि मात्र तिनीहरू फेरि उड्नसक्छन्।
चिच्याउँदै पर्यटकहरूलाई झसंग पार्ने कऱ्याङकुरुङलाई पनि नबिर्सौं। खैरो र सेतो टाटेपाटे यो ठूलो चरोले वेदनामा परेको मानिसले अलापविलाप गरेझैं आवाज निकाल्ने भएकोले यसलाई रुञ्चेचरो पनि भनिन्छ। दुर्लभ तथा लोप हुनैलागेको कौवाजत्रो शिकारी चरो एभरग्लेड चील देखेको क्षण पंक्षीविद्हरू बिर्संदैनन्। स्याउजस्तो चिप्लेकीरा यसको आहार हो र यो चरोको प्राण त्यही चिप्लेकीरामा निर्भर छ। एकटकसित माथि हेरिरहेका पर्यटकहरू बडेमानको अग्राखका रूखहरूमा बथानका बथान चराचुरुंगीहरू आ-आफ्नो गुँडमा फर्केको देखेर चकित हुनेछन्। चिल्ला पातहरू भएका ती रूखहरूभरि टन्न काई झुलेका छन्। अनि त्यस रूखमा बेरिएका कमलो लहराहरूमा फुलेका हरिया अनि राता फूलहरू र ती रंगीचंगी चराचुरुंगीहरू छ्यासमिस भएका छन्। यहाँ, पर्यटकहरूले त आफू कुन देशमा छन् र कुन महादेशमा, त्योसमेत बिर्सनसक्छन्। वाह! यहाँ एउटा बेग्लै संसार छ। प्रमोदवनको आभास दिने प्राकृतिले भरिभराउ एउटा सुन्दर संसार!
आम्मै! त्यहाँ त्यति गहिराइ नभएको पानीमा पनि सुनौलो करौंते झार पो उम्रेको रहेछ। यो पनि झ्याउजंगलको एउटा विशेषता हो। चमचम चम्किरहेको र टेबुलको सतहजस्तै समतल देखिने यो शान्त घाँसे नदीबाहेक अरू केही देखिंदैन। यो घाँसे नदी हरेक एक किलोमिटरमा चार सेन्टिमिटरभन्दा कम मात्रामा ढल्कँदै दक्षिणतिर बगेको छ। यो नदी सुस्तरी समुद्रतिर बहँदैछ। यो नदी झ्याउजंगलको जीवनरक्तसरह छ। यो नभए झ्याउजंगल पनि रहने थिएन।
भनौं भने, यस शताब्दीको सुरु सुरुमा मानिसले झ्याउजंगल फाँड्नु र त्यसलाई हानिनोक्सानी पुऱ्याउनुअघिसम्म यो घाँसे नदी पूर्वबाट पश्चिमतिर लगभग ५०० किलोमिटर र किस्सिमी नदीदेखि फ्लोरिडा तटसम्म फैलिएको थियो। तर औसत उँचाइ भएको पुरुषले यो नदी तऱ्यो भने उसको कुम पनि भिज्दैन। कम गहिराइ भएको पानीमा उम्रेका लामा लामा सुनौलो करौंते झारबीचबाट विशेष प्रकारको डुंगामा तेज रफ्तारले हुँइकँदाको अनुभव पर्यटकहरू बिर्सन सक्दैनन्। एक प्रकारका बासमाछाहरू तथा स्वच्छ र नुनिलो पानीमा पाइने माछाहरू मार्न बल्छीमाछाहरू आउँछन् र पुस्तौंदेखि यस्तै भएको छ।
निर्जन भूमिको दयनीय पुकार
यस शताब्दीको सुरुतिर फ्लोरिडाका राजनीतिज्ञ तथा व्यापार प्रवर्धकहरूले झ्याउजंगल अनावश्यक प्राणीहरू बस्ने दलदल मात्र भएको हुँदा घर-घडेरी खडा गर्न, शहरीकरण गर्न तथा खेतीपाती गर्न यसलाई हटाउनुपर्छ भन्ने विचार गरेका थिए। तिनीहरू “त्यहाँ बाँध बाँधौं, त्यसलाई सुकाऔं, त्यहाँ बग्ने पानीको बाटो बदलौं” भन्ने नाराबाजी लगाउन थाले। फ्लोरिडाको गभर्नर पदमा निर्वाचित हुनअघि सन् १९०५ मा एन. बि. ब्राउवर्डले त्यो “कीटाणुग्रस्त दलदललाई” पूर्णतया सुकाउने वाचा बाँधे।
ती प्रतिज्ञाहरू फोस्रो गफ थिएनन्। माटो खन्ने बडेमानका उपकरणहरू ल्याइए। सं.रा. सैन्य संगठनका इन्जिनियरहरूको निर्देशन तथा सुपरिवेक्षणमा ९० किलोमिटर लामो तथा ९ मिटर गहिरा नहरहरू खनिए जसले गर्दा १० लाख वर्ग मिटरभन्दा धेरै सिमभूमिको सर्वनाश भयो। ठूलठूला बाँधहरू खडा गरिए, पानीको बहाव रोकियो र पम्प स्टेशनहरू बनाइए। यसबाहेक झ्याउजंगलभरि अझ धेरै नहरहरू र पानीको बाटो बदलियो। झ्याउजंगलमा धेरैको प्राण धानिरहेको यो बहुमूल्य, जीवन दिने पानीको बाटो बदलेपछि खेतीयोग्य पारिएका खेत तथा आलीहरूमा पानी दिन थालियो। पश्चिमतिर तटवर्ती शहरहरू विस्तार गरिए। ठूलठूला आवासीय क्षेत्रहरू, राजमार्गहरू, व्यापार केन्द्रहरू तथा गोल्फ खेल्ने मैदानहरू निर्माण गर्न झ्याउजंगल अझै फाँडियो।
सन् १९४७ मा झ्याउजंगलको केही भूभागलाई राष्ट्रिय निकुञ्ज भनेर घोषणा त गरियो, तैपनि यहाँ त्यसलाई जीर्ण अवस्थामा पुऱ्याउने काम अर्थात् फोहर पानी थुपार्ने र त्यहाँको पानीको बाटो बदल्ने काम त तीव्र गतिमा भई नै रह्यो। करोडौं डलर खर्च गरेर झ्याउजंगलमा फोहर पानी थुपार्नु महाभूल थियो भनी वातावरणविद्हरू स्वीकार्छन्। झ्याउजंगलमा बहने पानीको बाटो बदल्दा त्यहाँ पाइने प्राणीहरूलाई नराम्रो असर पुग्ने थियो भनी कसै कसैले मात्र अनुमान गरेका थिए। अनि त्यहाँ हुनपुगेको हानिनोक्सानी वर्षौंपछि मात्र देखियो।
तथापि, सन् १९८० को दशकको बीचतिरसम्ममा वातावरणविद् तथा जीवशास्त्रीहरूले झ्याउजंगल मर्दैछ भनेर खतरामूलक चेताउनी दिइरहेका थिए। मानौं, त्यहाँका हरेक प्राणी गुनासो पोखिरहेका, मदतका लागि चिच्याइरहेकाजस्तो सुनिन्थ्यो। घरियालहरू बस्ने खाडलहरू खडेरीमा धमाधम सुक्न थालेका थिए। पानी परेर बाढी आउँदा तिनीहरूको गुँड र अण्डा स्वात्तै बगाउँथ्यो। अहिले तिनीहरूको संख्या धमाधम घटिरहेको छ। घरियालहरूले आफ्नै बच्चाहरू मारेर खाएको रिपोर्ट प्राप्त भएका छन्। एक समय यस क्षेत्रमा दशौं लाखभन्दा धेरै संख्यामा पाइने सारस, सावरी, बकुल्लाजस्ता गजबका पंक्षीहरू ९० प्रतिशतले घटेर अहिले केही हजार मात्र बाँकी छन्। साँझ आ-आफ्नो गुँडमा फर्कंदा आकाशलाई टम्मै ढाक्ने आकर्षक चम्चा सावरीहरू पनि एकदम घटेर औंलामा गन्नसकिने भएका छन्। सन् १९६० दशकदेखि यता त जंगली सावरीको संख्या पनि ६,००० बाट घटेर ५०० पुगेको छ। यसरी यो जंगली सावरी पनि लोप हुनै लागेको छ। फ्लोरिडा तटमा झिंगेमाछाका भुराहरू हुर्काउने ठाउँहरू पनि खतरामुक्त छैनन्। मेरुदण्ड हुने प्राणीहरू, जस्तै मृगदेखि लिएर कछुवाहरू पनि ७५ प्रतिशतदेखि ९५ प्रतिशतसम्म घटेको एक जीवशास्त्रीले बताए।
कृषि तथा मानव गतिविधिले गरेको प्रत्यक्ष अतिक्रमणबाहेक मल तथा कीटनाशक औषधीले पनि त्यहाँको माटो र पानीलाई बिस्तारै दूषित पारिरहेको छ। एउटा प्राणीले अर्को प्राणीलाई खाने अर्थात् भोजनचक्रमा पर्ने हरेक किसिमका जन्तुहरू जस्तै माछा, लोखर्के, घरियाल र कछुवामा समेत अत्यधिक मात्रामा पारो पाइयो। केही खास ठाउँका बासमाछा तथा झिंगेमाछाहरू माटोमा भएको पारोमा पूरापूर लुटपुटिएकोले ती समातिए भने पनि नखानू भन्ने सुझाउ मछुवाहरूलाई दिइएको छ। मानिसले गरेको अतिक्रमण र पारोको विष लागेर मात्र होइन, तर शिकारचोरहरूको कारण पनि चितुवाहरू मारिएका छन्। त्यसैकारण यो जन्तु पनि लोप हुनै लागेको छ। फ्लोरिडाभरि यिनीहरू ३० भन्दा थोरै अनि निकुञ्जमा त १० वटा जति मात्र छन् भन्ने अनुमान गरिएको छ। झ्याउजंगलमा मात्रै पाइने बोटबिरुवाहरू पनि लुप्त हुने अवस्थामा छन्।
झ्याउजंगल अब फेरि पहिलेजस्तै हुन नसक्ने अवस्थामा पुगेको छ भनी केही अवलोकनकर्ताहरू तथा वातावरणविद्हरू भन्ठान्छन्। तथापि, सरकार, प्रशासनले तत्कालै केही ठोस कदम चालेमा र तत्कालै लगानी गरेमा झ्याउजंगललाई जोगाउन सकिने विश्वास सरकार र निकुञ्जका कर्मचारीहरूलगायत धेरैजसो वातावरणविद्हरूले व्यक्त गरेका छन्। एक कार्यकर्ताले यसो भने, “यस्तो ठूलो र जटिल झ्याउजंगल फेरि पहिलेजस्तै हुन नसक्ने अवस्थामा कहिले पुग्ला त्यो वास्तवमा कसैलाई पनि थाह छैन। शायद त्यो त्यस्तो अवस्थामा पुगिसकेको हुनसक्छ।” झ्याउजंगललाई शतप्रतिशत पहिलेकै अवस्थामा पुऱ्याउनसक्ने सम्भावना त्यति नभए तापनि आफू आशावादी भएको कुरा जीवशास्त्री जोन ओग्डेन स्वीकार्छन्। तिनले भने, “आशावादी हुनैपऱ्यो नि। नत्रता, निकुञ्जको एक कुनामा केही घरियालहरू हुनेछन् त अर्को कुनामा पंक्षीहरूका केही गुँडहरू मात्र। त्यसबाहेक बीचमा चाहिं एउटा चिटिक्क परेको संग्रहालय हुनेछ र त्यहाँ पराल कोचेको चितुवा ठड्याइनेछ। यसरी यो निकुञ्ज जैविक मरुभूमिमा परिणत हुन के बेर।”
फ्लोरिडाका कार्यकर्ता, जीवशास्त्री तथा वातावरणविद्हरूको राष्ट्रव्यापी चीत्कार वाशिङटनका प्रशासन र राजनीतिज्ञहरूलगायत संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उप-राष्ट्रपतिको कानमा समेत पुगेको छ। वर्षौंअघि सं.रा. सैन्य संगठनका इन्जिनियरहरूले बिगारेको काम सुधार्न अहिले उक्त संगठनका इन्जिनियरहरू नयाँ योजनाहरू बनाइरहेका छन्। तिनीहरू झ्याउजंगललाई सुकाउनु, त्यहाँ बाँध बाँध्नु र त्यहाँ बग्ने पानीको बाटो बदल्नुको साटो त्यस जंगल र त्यहाँका जीवजन्तुहरूलाई जोगाउने तर्खरमा छन्।
स्पष्ट छ, पानीलाई के गर्ने, त्यो सबैभन्दा जटिल विषय भएको छ। यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट-मा यस्तो लेखेको छ, “सफलताको आधार प्रशस्त सफा पानी हो। र यो कृषि तथा शहरी क्षेत्रहरूमा पानीको आपूर्ति घटाएमा मात्र गर्न सकिन्छ। मुख्यतया फ्लोरिडाको उखु बाली तथा तरकारी खेतीमा पानी दिने काम घटाउनु परेको छ।” एभरग्लेड निकुञ्जका सुपरिवेक्षक रबर्ट चान्ड्रलले यस्तो घोषणा गरे, “पानीलाई भाग लाउनु निकै गाह्रो हुनेछ। हामीले दिनसके जति दिइसक्यौं तर अब भने हामी दिनसक्दैनौं। अरूले पनि प्राकृतिक स्रोतको संरक्षणलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ।” झ्याउजंगलको अधिकांश भागमा कब्जा जमाएका उखु खेती गर्ने तथा किसानहरूले झ्याउजंगललाई पहिलेकै अवस्थामा पुऱ्याउनुपर्छ भन्नेहरूको घोर विरोध गर्नेछन् भन्ने डर छ। झ्याउजंगललाई नै खतरा हुनेगरि ती किसानहरूको बालीमा प्रशस्त पानी सिंचाइ गरिएको छ।
झ्याउजंगललाई पहिलेकै अवस्थामा पुऱ्याउनु इतिहासको सबैभन्दा साहसी र महंगो योजना हुनेछ। विश्व वन्यजन्तु कोषको झ्याउजंगल योजनाका सुपरिवेक्षकले भने, “संसारमा अहिलेसम्म कतै पनि नभएको वा नगरिएको धेरै खर्च, धेरै जमीनबारे हामी कुरा गरिरहेका छौं। प्राणी र तिनीहरू वरपरको वातावरण सन्तुलन गर्ने तर्खरमा छौं।” साइन्स पत्रिकाले यस्तो व्याख्या गऱ्यो, “१४,००० वर्ग किलोमिटरसम्म [५,४०० वर्ग माइलसम्म] फैलिएको सिमभूमि र कुलोहरूलगायत सम्पूर्ण फ्लोरिडा झ्याउजंगलको प्राणी र वातावरणलाई सन्तुलित गर्न आगामी १५/२० वर्षमा सं.रा. सैन्य संगठनका इन्जिनियरहरू, फ्लोरिडा सरकार र अन्य प्रशासनहरूले झ्याउजंगलमा जमेको फोहर पानी निकास गर्न र सफा पानी पठाउन सालाखाला २ अरब अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ।”
यसबाहेक योजनाअनुसार ओकीचोबी ताल नजीकै ४०,००० हेक्टर खेतीयोग्य जमीन किन्नुपर्ने र त्यसलाई दलदलमा परिणत गर्नु आवश्यक पर्नेछ। अनि उक्त दलदललाई बाँकी रहेका खेतहरूको दूषित पदार्थलाई छान्न प्रयोग गरिनेछ। यसरी झ्याउजंगललाई सफा गर्न रकम उठाउनु परेको हुँदा सरकारले प्रतिकिलो चिनीमा ७५ पैसा घटाउने गरेको पनि उप्रान्त नघटाउने योजनाको उखु खेती गर्नेहरूले घोर भर्त्सना गरिरहेका छन्। युएसए टुडे-को सम्पादकीयमा लेखिएको छ, “झ्याउजंगल नाश गर्नेहरू अर्थात् फ्लोरिडाको उखु खेती गर्नेहरू र चिनी कारखानाहरूले नै त्यसको पुनर्स्थापना गर्ने खर्च बेहोर्नु पर्छ।” फ्लोरिडामा उत्पादित प्रतिकिलो चिनीमा ७५ पैसा कर निर्धारण गर्दा प्रतिवर्ष ३.५ करोड अमेरिकी डलर जोगाउन सकिने अनुमान गरिएको छ।
संयुक्त राज्य अमेरिकाको अन्य ठाउँमा जस्तै यहाँ पनि किसान तथा उखु खेती गर्नेहरूलगायत जीवशास्त्री, वातावरणविद् तथा प्रकृति प्रेमीहरूबीचको यो द्वन्द्व चलिरहनेछ भन्ने अनुमान गरिएको छ। उप-राष्ट्रपति गोरले सहयोगको निम्ति सबैलाई आह्वान गरेका छन्। तिनले यसो भने, “एकसाथ मिलेर काम गर्दा हामी यो विभाजनको खाडल पुर्नसक्छौं, अनि वातावरण पक्कै पनि स्वस्थ हुन्छ र अर्थतन्त्र मजबूत हुन्छ। अहिल्यै काम सुरु गरिहाल्नुपर्छ। किनकि संसारमा अन्त कतै पनि झ्याउजंगल छैन।”
[पृष्ठ १३-मा भएको चित्र]
घरियाल गोही
[स्रोत]
USDA Forest Service
[पृष्ठ १४-मा भएको चित्र]
बाज
[पृष्ठ १५-मा भएको चित्र]
सावरी
[पृष्ठ १५-मा भएको चित्र]
गुँडमा बस्ने एक जोडी सुरिलो घाँटी भएको चरो वा साँपचरो
[पृष्ठ १६-मा भएको चित्र]
पौडी खेलिरहेका तीन लोखर्केहरू
[पृष्ठ १६-मा भएको चित्र]
सारस
[पृष्ठ १७-मा भएको चित्र]
ठूलो नीलो बकुल्ला
[पृष्ठ १७-मा भएको चित्र]
कऱ्याङकुरुङ, यसलाई रुञ्चेचरो पनि भनिन्छ
[पृष्ठ १७-मा भएको चित्र]
जलकौवाका चल्लाहरू