फूलहरू शुभेच्छा व्यक्त गर्न दिइन्छन्
कोलम्बियास्थित ब्यूँझनुहोस्! संवाददाताद्वारा
बटरकप फूलहरू देखेर मख्ख परेकी एउटी बच्ची आफ्नो सानो सानो हातले ती टिप्छिन् र आफ्नी आमालाई देखाउन दुरुरु दगुर्छिन्। पत्नीप्रति शुभेच्छा व्यक्त गर्न बाटो छेवैको पसलमा एक मायालु पति गुलाफको थुंगा छान्छन्। आमालाई खुशी पार्न कृतज्ञ छोरो टोलको बगैंचेलाई फोन गर्छन् र ताजा गोदावरी फूलहरू टिप्न लगाउँछन्। एउटी कुशल गृहिणी पनि सामान बोक्ने झोलामा सबैभन्दा माथि रंगीचंगी कार्नेशन फूलहरू राख्छिन्। ती फूलहरूले तिनको सुन्दर र चिटिक्क परेको घरको शोभा बढाउनेछन्।
फूलहरू देखेर जवान तथा वृद्ध सबैको मन रमाउँछ। फूलहरू दिनु “शुभेच्छा व्यक्त गर्ने” अत्युत्तम तरिका हो। एउटा स्पेनी उखान यसो भन्छ: “गुलाफ पाउँदा नरमाउने मानिस अरू थोक पाउँदा पनि रमाउँदैन।” (Quien no agradece una rosa, no agradecerá ninguna cosa.)
पहिलेको तुलनामा फूलको व्यापार ज्यादै फस्टाइरहेको छ। भनेकै ठाउँमा तुरुन्तै उडेर पुग्न सकिने यो युगमा बटुवाहरूले झट्टै देख्ने ठाउँहरू अर्थात् पसल, बजार र बाटो छेवैको पसलभन्दा निकै टाढा फूल खेती गरेर ल्याउन सकिएको छ। फूलको व्यापार “द्रुत गतिले फस्टाउँदैछ र छिटछिटो परिवर्तन हुँदैछ। दक्षिणी गोलार्द्धमा पनि अझ विशेषगरि कोलम्बियाबाट थरिथरिका फूलहरू ओइरिरहेका छन्। फूल निर्यात गर्ने राष्ट्रहरूको अग्रपंक्तिमा हल्याण्ड पछि दोस्रो स्थानमा कोलम्बिया छ” भन्दै टाइम समाचारपत्रिकाले उल्लेख गऱ्यो।
प्लास्टिकले छोपेको हरितगृह तथा कृत्रिम तालहरू
बितेको २५ वर्षदेखि फूल व्यापार गर्न थालेको कोलम्बिया फूल निर्यात गर्ने राष्ट्रहरूमा दोस्रो भए तापनि कार्नेशन फूल निर्यात गर्ने सन्दर्भमा भने यसलाई कसैले पनि उछिन्न सकेको छैन। सन् १९६४ मा सं.रा.अ., क्यालिफोर्नियास्थित विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीले वर्षभरि कुन कुन ठाउँ फूल खेती गर्न उपयुक्त छ, कम्प्युटरद्वारा अध्ययन गरे। तिनले भूमध्यरेखाको उत्तरतिर पर्ने र एन्डिज पर्वतभन्दा लगभग २,८०० किलोमिटर माथि बेंसीमा रहेको शहर बोगोटाको हावापानी तथा उचाइ अनुकूल पाए।
कोलम्बियाबाट निर्यात गरिने ९२ प्रतिशत फूलहरूको खेती सान्ता फे डे बोगोटाको अति हरियो घाँसेभूमिमा गरिन्छ। यस ठाउँमा जताततै कृत्रिम तालहरू र प्लास्टिकले छोपिएका हरितगृहहरू छन्। काठ तथा धातुको फ्रेम भएका यी हरितगृहभित्रको हावापानीलाई बडो ध्यान पुऱ्याएर वसन्त ऋतुको जस्तै पारिएको छ। फलतः यहाँ कार्नेशन, गोदावरी, गुलाफ, पेरूको कमललगायत अन्य थरिथरिका लाखौं फूलहरू लहलह सप्रन्छन् र केही समयपछि टिपेर उत्तर अमेरिका, युरोप र एसियामा ढुवानी गरिन्छन्।
यस घाँसेभूमिको तापक्रम बाह्रैकाल १८ देखि २० डिग्री सेल्सियसबीच कायम रहन्छ र यस्तो तापक्रम फूल खेती गर्न ज्यादै उपयुक्त छ। प्रशस्त वर्षा र मलिलो माटो हुनुबाहेक यहाँ सस्तोमा ज्यालादारी गर्नेहरू पनि छन्। रात परेपछि यहाँ असाध्यै चिसो बढ्छ र कहिलेकाहीं त तापक्रम घटेर -२ डिग्री सेल्सियससम्म पनि पुग्छ। त्यसैकारण चिसो भगाउन मकलमा आगो बालिन्छ, धेरै वाटका चीमहरू बालिन्छन् वा अलि अलि पानी छम्किइन्छ। यी बत्तीहरूले अँध्यारो भइसकेपछि पनि दिउँसो जत्तिकै उज्यालो दिने हुँदा केही खास प्रकारका फूलहरू जागै रहन्छन् र ती हलक्कै सप्रन्छन्।
पूर्वयोजना तथा तालिका बनाइयो
कोलम्बियामा १,२०,००० मानिसहरू कुनै न कुनै तरिकाले फूल व्यापारमा व्यस्त छन्। ती कामदारहरूमध्ये यहोवाका साक्षीहरू पनि धेरै छन्। र ती साक्षीहरू त्यहीं घाँसेभूमिभरि छरिएर बसेका छन्। बेनीतो कीन्ताना फाकातातीभा शहरस्थित एउटा मण्डलीका प्राचीन हुन् र तिनी एउटा नर्सरीको सुपरिवेक्षण गर्छन्। तिनी भन्छन्: “उपभोक्ताहरूको माग पूरा गर्न हामीले महिनौंदेखि राम्रो तालिका बनाएर त्यसैअनुरूप काम गर्नुपर्छ। कार्नेशन फूलको कलमी हल्याण्ड र इटालीजस्ता मुलुकहरूबाट ल्याइन्छ भने पोम्पोन फूलको कलमी फ्लोरिडाबाट ल्याइन्छ। आइमाईहरू होशियारीपूर्वक मुना छिमोल्छन् र ती न्यानो हरितगृहको आलीमा रोप्छन्। अनि ती मुनाहरूले जरो नगाडेसम्म हरितगृहभित्र कुइरोजस्तो देखिनेगरि स-साना थोपाहरूमा पानी छम्किइन्छ। रातमा दुइ घण्टा बत्ती दिनुलगायत २० देखि ३५ डिग्री सेल्सियसको तापक्रममा (६८ देखि ९५ डिग्री फरेन्हाइट) राख्दा पोम्पोनले १२ दिनपछि जरो गाड्छ। तर कार्नेशनले भने १५ देखि २५ डिग्री सेल्सियसको तापक्रममा (५९ देखि ७७ डिग्री फरेन्हाइट) २३ दिनपछि जरो गाड्छ र यसलाई राति बत्ती दिनु पर्दैन। त्यसपछि हामी ती बेर्नाहरूलाई अर्को हरितगृहको ब्याडमा सार्छौं र ढकमक्क फूल नफुलेसम्म त्यहाँ ती स-साना बोटहरूमा प्रशस्त लवण तथा पानी दिइन्छ र कीटनाशक औषधी पनि छरिन्छ। यसरी कार्नेशनमा छ महिना र पोम्पोनमा तीन महिनापछि फूल फुल्न थाल्छ।”
फूल फुल्ने मौसममा कामको मारामार
समय भएपछि फूलहरू टिपिन्छन्। पञ्जा लगाउन नरुचाए तापनि सफा हातले मजासित फूल टिप्न पनि आइमाईहरू नै खप्पीस छन्। कोपिलाहरू कत्ति फक्रिएका छन् अथवा तिनका हाँगाहरू कत्तिको सीधा छन् त्यसबाट फूलको गुणस्तर निर्धारण हुन्छ। र यो यन्त्रद्वारा अड्कल्न सकिंदैन।
फाकातातीभाकी जुडिथ कोरेदोर व्याख्या गर्छिन्: “आइमाईहरूसित धैर्यता हुन्छ र तिनीहरूको स्पर्श कोमल हुन्छ। यसबाहेक तिनीहरूले रफ्तारमा तर कुशलतासाथ काम गर्नसक्छन्।” जुडिथ अझै यसो भन्छिन्: “झिसमिसे उज्यालोमा हरितगृहभित्र छिर्दा घाँसेभूमि अक्सर हुस्सुले डम्म ढाकिएको हुन्छ। यसबाहेक कहिलेकाहीं त कठाङ्ग्रिने जाडो हुन्छ। धेरैजसो केटीहरू खास्टो ओढ्छन्। घाम चढेपछि न्यानो हुन्छ र कहिलेकाहीं तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्छ। यो काम गर्नु सजिलो छैन अझ विशेषगरि फूलको मौसममा छिटोछिटो र धेरै समय काम गर्नुपर्ने हुँदा झनै गाह्रो हुन्छ।”
रंगीचंगी तथा सुवासिलो सन्देश
फूल टिपिसकेपछि ती फूलहरूलाई प्रशस्त हावा खेल्ने तथा उज्यालो छिर्ने एउटा विशेष कोठामा लगिन्छ। यहाँ आइमाईहरू ती फूलहरू फक्रेको ढंग, डाँठहरूको सीधापन, मोटोपन र लम्बाइको आधारमा फूलहरू छुट्याउँछन्। त्यसपछि ती फूलहरू २५/२५ वटाको मुठ्ठा पारिन्छन् र सफा प्लास्टिकमा पोको पारिन्छन्। राम्रा राम्रा फूलहरू मात्र निर्यात गरिन्छन्।
कार्नेशन, प्रति बाकस २४ गुच्छा भनी नर्सरीको नाउँ छापिएको एउटा विशेष प्रकारको गत्ताको बाकसमा लोग्नेमानिसहरू ती फूलहरू प्याक गर्छन्। बेनीतोका भाइ आलेझान्द्रो कीन्ताना फूल पोको पार्ने काम गर्छन्। तिनी भन्छन्: “फूलहरू सबैभन्दा छिटो नाश हुने बाली भएकोले छिटो छिटो काम गर्नुपर्छ। हाम्रो कम्पनीमा बाकसभित्रको तातो हावा तान्ने दुइटा पम्प छन्। ती पम्पहरूले एकै चोटिमा ११२ वटा बाकसहरूबाट तातो हावा निकाल्छन् र दुइ घण्टासम्म चिसो हावा छिराउँछन्। यसरी फूलहरूलाई शून्य डिग्रीको तापक्रमभन्दा केही मात्र न्यानो अवस्थामा राखिन्छ। त्यसपछि बाकसका प्वालहरू थुनिन्छन् र विमानस्थलमा नपुऱ्याइएसम्म ती फूलहरू चिसो ठाउँमा थन्क्याइन्छन्।”
बोगोटाको एल दोराडो अन्तरराष्ट्रिय विमानस्थलमा ती फूलहरू निर्यात निरीक्षण कक्षमा लगेर जाँचिन्छन् र त्यसपछि ती सामानहरू समुद्रपार वितरणका लागि ठूलो जेट प्लेनमा ढुवानी नहोउञ्जेल केही घण्टाका लागि चिसो ठाउँमा थन्क्याइन्छन्। केही दिनमै यी फूलहरू घर-घरमा, कार्यालयमा, बिरामीको कोठामा वा अन्त कतै ढकमक्क फक्रन थाल्छन्। र ती ठाउँहरूमा यी रंगीचंगी फूलहरूले शुभेच्छा व्यक्त गरेको सुवासिलो सन्देश फैलाउँछन्।
साँच्चै शुभेच्छा व्यक्त गर्नुहुने एक जना
पृथ्वीको जुनसुकै ठाउँमा गए पनि हामी मन आनन्द पार्ने फूलहरू पाउँछौं। पहाडका टुप्पाहरूदेखि हिउँ परेका ठाउँ अनि हिमनदीमा, जंगल, भञ्ज्याङमा, खोल्सा वा नदीको किनारामा, समुद्री तटमा र सुख्खा मरुभूमिमा समेत फूल फुल्छन्। मानिसहरू अस्तित्वमा आउनुभन्दा निकै पहिलेदेखि नै फूलहरू थिए। ‘फूल फुल्ने बोटहरू सम्पूर्ण जनावर तथा मानिसहरूको जीवन धान्ने आधार हुन्। ती भएनन् भने जनावरलगायत मानिसहरू अस्तित्वविहीन हुनेथिए’ भनी वनस्पतिविद्हरू ठोकुवा गर्छन्।
त्यसैकारण अन्तरदृष्टि पाएरै राजा सुलेमानले यस्तो घोषणा गरे: ‘परमेश्वरले सबै थोक त्यसको समयानुकुल बनाउनुभएको छ।’ (उपदेशक ३:११) यसमा परमेश्वरले उपहारस्वरूप दिनुभएको थरिथरिका शानदार फूलहरू पनि छन्। परापूर्वकालदेखि यी फूलहरूले जवान तथा वृद्ध सबैको मन प्रसन्न पारेको छ। हो, वास्तवमा परमेश्वर हाम्रो साँचो शुभचिन्तक हुनुहुन्छ!
[पृष्ठ १७-मा भएको पेटी]
फूललाई निकै दिनसम्म टिकाउन
• फूलदानीमा फूल राख्नुभन्दा पहिले त्यसलाई पानीमा डुबाएरै छेड्के पारेर काट्नुहोस्। टुप्पोमा परेका पानीले गर्दा डाँठभित्र हावा छिर्न पाउँदैन र यसरी फूलले पछि पानी र पोषण तत्त्व सोस्न पाउँदैन।
• कोलम्बियाका कृषकको भनाइ उद्धृत गर्दै गेओमून्दो पत्रिका एक चक्की एस्प्रिन, एक चम्चा चिनी अथवा अलिकता कोला पानीमा राख्ने सुझाउ दिन्छ। त्यसो गर्दा फूलहरू धेरै दिनसम्म ताजै देखिन्छन्। दुइ तीन दिनमा पानी फेर्नुहोस्। तर पानी कोठाको तापक्रम जत्तिकै हुनुपर्छ। यद्यपि, कोपिला छिटो फक्रेको चाहनुहुन्छ भने मन तातो पानी हाले हुन्छ।
• फूलहरू अलि ओइलाउन लागेका छन् भने डाँठहरूलाई दश मिनेटजति तातो पानीमा डुबाएर फूलका पत्रहरूमा चिसो पानी छम्कनुहोस्। ताप, बतास चल्ने ठाउँ र सीधै घाम पर्ने ठाउँबाट फूललाई परै राख्नुहोस्।