अनुपम पुनर्मिलन
बेलायतका ब्यूँझनुहोस्! संवाददाताद्वारा
ब्रूसले तिनी दुई वर्षको हुँदा आफ्नी आमा मेरीलाई अन्तिम पटक भेटे। त्यो साल थियो, सन् १९४५। मेरीको पारपाचुकेपछि ब्रूसको देखभाल गर्ने जिम्मेवारी कानुनन् तिनका बुबालाई दिइयो। मेरीले आफ्ना स्वाभाविक भावनाहरू दबाइन् र कुनै पारिवारिक खिचातानी नगरी ब्रूसका बुबा र तिनकी नयाँ पत्नीले नै ब्रूसलाई हुर्काउनु बेस हुनेछ भनी निधो गरिन्। पछि समय बित्दै जाँदा ब्रूससित तिनको कुनै सम्पर्क नै रहेन।
केही वर्षपछि मेरीले अर्को विवाह गरिन् र एउटा छोरा जन्माइन् तर तिनले ब्रूसलाई भने बिर्सन सकिनन्। तिनी कहाँ छन्? तिनी कस्तो अवस्थामा छन्?
सन् १९७६ मा ब्रूसका पिताको मृत्यु हुँदा मेरी अन्त्येष्टिमा उपस्थित भइन्। अहिले ३० वर्ष नाघिसकेका जवान ब्रूस तिनकी सौतेनी आमासँगै थिए। ब्रूसले आफ्नी सौतेनी आमालाई नै आफ्नो जन्म दिने आमा भन्ठानेको होला भन्ने विचार गर्दै मेरीले विशेषगरि यस्तो क्षणमा आफूलाई नचिनाउने निर्णय गरिन्। पिताले फेरि विवाह गरेपछि तिनलाई वास्ता नगरेको र ब्रूसलाई तिनको बज्यैले पालेको थाह पाएको भए सायद मेरीको प्रतिक्रिया अर्कै हुन्थ्यो होला।
यसैताक मेरीले यहोवाका साक्षी सुलाई भेटिन् र गृह बाइबल अध्ययन गर्न राजी भइन्। संयोगले त्यति नै बेला ब्रूस र तिनकी पत्नीले पनि सुको पति आलेनसित बाइबल अध्ययन गर्न थाले। तथापि, धेरै समय बित्न नपाउँदै स्वास्थ्य ठीक नभएको हुँदा मेरीले अध्ययन गर्न छाडिन् र अर्कै ठाउँमा बसाइँ सरिन्।
सन् १९९५ मा फेरि यहोवाका साक्षीहरूसित मेरीको भेट भयो। तिनले फेरि बाइबल अध्ययन गर्न थालिन् र चाँडचाँडै उन्नति गरिन्। बप्तिस्मा लिने समय आएपछि मेरीले ब्रूसबारे मसीही प्राचीनलाई बताइन्। त्यस प्राचीनले यताउता कुरा बुझे र ब्रूस अनि तिनको परिवार यहोवाको साक्षी मात्र नभई ब्रूस मेरी जन्मेकै शहरको एउटा मण्डलीमा प्राचीन पनि भएको पत्ता लाग्यो!
ब्रूसको मण्डलीका अरू प्राचीनहरू सशंकित थिए। तिनीहरूले ब्रूसलाई तिनको आमाले आउँदो विशेष सम्मेलन दिनमा बप्तिस्मा लिन लागेकी कुरा बताएपछि तिनले कस्तो प्रतिक्रिया देखाउलान्? आमा जीवितै छिन् भनेर समेत तिनलाई थाह छ कि छैन? तथापि, यी सबै कुराहरू थाह पाउने बित्तिकै ब्रूस आफ्नो परिवारको साथमा मेरीलाई भेट्न गए। “पहिला जे भयो, भयो, सच्चाइमा त भविष्यको पो ख्याल राख्नुपर्छ!” भन्ने सान्त्वनादायी शब्दहरू भन्दै ब्रूसले आफ्नी आमालाई अंकमाल गरे।
मार्च १९९६ मा ७८ वर्षीय मेरीले बेलायतमा यहोवाका साक्षीहरूको इस्ट पेनिन् सम्मेलन भवनमा बप्तिस्मा लिइन् र बप्तिस्मा दिने व्यक्ति अरू कोही नभई ब्रूस नै थिए। आफ्नी आमालाई मसीही बहिनीको रूपमा पाउँदा ब्रूस अत्यन्तै रोमाञ्चित भए!
[पृष्ठ २४-मा भएको चित्र]
ब्रूस आफ्नी आमासित