प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ३/८ पृ. २२-२३
  • अचम्मको नीम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अचम्मको नीम
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रूखको रूपमा यसको भूमिका
  • कीराहरूले यसलाई पटक्कै मन पराउँदैनन्‌
  • “गाउँको औषधालय”
  • मृत्युको “चुम्बन” विरुद्ध लड्‌ने
    ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ३/८ पृ. २२-२३

अचम्मको नीम

नाइजेरियाका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

भारतका मानिसहरू नीमको रूखलाई “गाउँको औषधालय” भन्‍ने गर्छन्‌। यस देशका मानिसहरूले नीमले दुखाइ, ज्वरो र संक्रमण निको पार्छ भन्‍ने विश्‍वास गरेको शताब्दीऔं भइसक्यो। नीमले रगत शुद्ध पार्नसक्छ भन्‍ने विश्‍वासमा थुप्रै हिन्दूहरूले हरेक वर्षको सुरुआतमा नीमको पात खाने गर्छन्‌। नीमको डाँठले मानिसहरू दाँत माझ्छन्‌, छालाको विकार भएमा नीमको पातको झोल दल्छन्‌ र तागतको निम्ति नीमको चिया पिउँछन्‌।

हालैका वर्षहरूमा वैज्ञानिकहरूले नीमप्रति निकै चासो देखाउन थालेका छन्‌। तथापि, नीम—विश्‍वव्यापी समस्याहरू समाधान गर्ने रूख (अंग्रेजी) नामक वैज्ञानिक रिपोर्टले यस्तो चेताउनी दिन्छ: “सम्भाव्यताहरू अपार देखिए तापनि नीमबारे कुनै पनि कुरा अझै यकिन गरेर भन्‍न सकिएको छैन। यो बोट र यसको क्षमता थाह पाउन उत्सुक वैज्ञानिकहरूले अहिले पत्ता लगाएका प्रमाणहरू सबै ठोस होइनन्‌ भनी स्वीकारेका छन्‌।” यद्यपि, त्यस रिपोर्टले यसो पनि भन्छ: “दुई दशकदेखि गरिएको अनुसन्धानबाट धेरैलाई थाह नभएको यो बोट थुप्रै क्षेत्रहरूमा फाइदाजनक हुनुका साथै यसबाट गरिब र धनी दुवै राष्ट्रहरूले निकै लाभ उठाउनसक्ने तथ्य प्रकाशमा आएको छ। अत्यन्तै प्रबुद्ध अनुसन्धानकर्ताहरूले समेत ‘नीमलाई अचम्मको बोट भन्‍न सकिन्छ’ भन्‍न थालेका छन्‌।”

रूखको रूपमा यसको भूमिका

गर्मी भेगमा पाइने यस नीम महोगनी जातको रूख हो। यसको उचाइ ३० मिटरसम्म हुन्छ र घेरा चाहिं २.५ मिटरभन्दा बढी पनि हुनसक्छ। यो सदाबहार रूख भएकोले सधैं छहरा प्रदान गर्छ। यो चाँडै हुर्कन्छ, त्यति हेरचाह पनि गर्नु पर्दैन र माटो मलिलो नभए पनि सप्रन्छ।

यस शताब्दीको सुरुतिर पश्‍चिम अफ्रिकामा यस बोट छहरा दिन र दक्षिणतिर सहारा मरुभूमिको फैलावट रोक्न ल्याइएको थियो। वनरक्षकहरूले यो रूख फिजी, मोरिसियस, साउदी अरेबिया, मध्य र दक्षिण अमेरिका तथा करेबियन टापूहरूमा पनि रोपेका छन्‌। संयुक्‍त राज्यमा परीक्षणको रूपमा एरिजोना, क्यालिफोर्निया र फ्लोरिडाजस्ता दक्षिणी भागहरूमा यी रूखहरू रोपिएका छन्‌।

नीमको बोटले गर्मी हावापानीमा वर्षभरि छहारी दिनुबाहेक यसलाई इन्धनको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यस अतिरिक्‍त यसको काठमा धमिरा नलाग्ने भएकोले निमार्ण र सिकर्मी कामको लागि पनि काम लाग्छ। अतः रूखको रूपमा मात्र यसको फाइदा हेर्ने हो भने पनि नीम अत्यन्तै उपयोगी छ। तर त्यो त यसको एउटा पक्ष मात्र हो।

कीराहरूले यसलाई पटक्कै मन पराउँदैनन्‌

हानिकारक कीराहरूलाई नीमको पात पटक्कै मन नपर्ने कुरा थाह भएको हुँदा भारतका मानिसहरूले पलंग, किताब, फोहरको ढ्‌वाङ, दराज आदिमा पहिलेदेखि नै नीमको पात राख्ने गर्थे। सन्‌ १९५९ मा सुडानमा भयंकर सलह महामारीको बेला करोडौं करोड सलहहरूले नीमबाहेक अरू सबै रूखका पातहरू स्वाहा पारेका देखेपछि जर्मनका कीटवैज्ञानिक र तिनका विद्यार्थीहरू नीमको अनुसन्धान गर्न लागे।

त्यस समयदेखि वैज्ञानिकहरूले नीमको जटिल रासायनिक मिश्रण २०० भन्दा बढी कीराहरूका साथै विभिन्‍न प्रकारका सुलसुले, नेमाटोड, ढुसी, किटाणु तथा अन्य जीवाणुहरू विरुद्धसमेत प्रभावकारी भएको पत्ता लगाएका छन्‌। एउटा परीक्षणमा अनुसन्धानकर्ताहरूले डिब्बामा भटमासको पात र जापानी गोब्रे कीराहरू राखे। प्रत्येक पातको आधा भागमा नीमबाट निकालेका तत्त्वहरू छर्किएको थियो। ती गोब्रे कीराहरूले पातको आधा भाग सखाप पारे तर नीमबाट निकालेका तत्त्वहरू छर्किएको बाँकी भाग छुँदै छोएनन्‌। वास्तवमा, तिनीहरू बरु भोकभोकै मरे तर त्यो छर्केको भागको एक टुक्रा पनि खाएनन्‌।

यस्तो परीक्षणबाट सस्तो, अहानिकारक र केही खास कृत्रिम कीटनाशकहरूको विकल्प उत्पादन गर्नसक्ने सम्भाव्यता देखिन्छ। उदाहरणका लागि, नीकारागुआका किसानहरूले नीमको बियाँको धूलो पानीमा मिसाउँछन्‌। जस्तै, एक लिटर पानीमा ८० ग्राम नीमको बियाँको धूलो मिसाउँछन्‌। त्यो बियाँको धूलोलाई तिनीहरूले १२ घण्टा भिजाउँछन्‌ र छोक्राहरू चाल्छन्‌ अनि त्यो पानी बालीमा छर्किन्छन्‌।

नीमबाट तयार पारिएको कीटनाशकले कीरालाई तुरुन्तै मार्दैन। नीमबाट बनाइएका कीटनाशकले कीराको जीवन प्रक्रियामा नै गडबडी गर्छ जसले गर्दा अन्ततः किराले खान, सन्तानोत्पादन गर्न वा जीवनचक्रको लागि आवश्‍यक परिवर्तनहरू गर्न सक्दैन। नीमबाट तयार पारिएका यी कीटनाशकहरू कीरा मार्न प्रभावशाली भए तापनि चराचुरुंगी, उष्ण रक्‍तधारी जनावर वा मानिसहरूलाई भने पटक्कै हानि पुऱ्‍याउँदैन जस्तो देखिन्छ।

“गाउँको औषधालय”

अनि यसबाट मानिसलाई अरू फाइदा पनि हुन्छ। यसको बीउ तथा पातहरूमा यस्तो मिश्रणहरू छन्‌ जसले रोगनाशक, कीटाणु तथा ढुसी प्रतिरोधकको काम गर्छ। सुनिने, उच्च रक्‍तचाप र घाउको निम्ति पनि नीम उपयोगी भएको सुझाउहरू दिइन्छ। नीमबाट बनाइएका औषधीहरू मधुमेह र औलो विरुद्ध पनि काम लाग्ने बताइएको छ। अन्य सम्भावित फाइदाहरू यसप्रकार छन्‌:

कीटनाशक। नीममा भएको एउटा तत्त्व सालानीनले टोक्ने कीराहरूलाई छेउ पर्नै दिंदैन। झींगा र लामखुट्टेको टोकाइबाट बच्न बनाइएका नीमको तेल त बजारमा उपलब्ध पनि भइसक्यो।

दाँतको सफाइ। भारतका लाखौं मानिसहरू प्रत्येक बिहान नीमको डाँठ चपाएर नरम बनाउँछन्‌ अनि त्यसैले दाँत र गीजा सफा गर्छन्‌। डाँठमा एन्टिसेप्टिक तत्त्वहरू हुने हुँदा यो लाभकारी भएको अनुसन्धानबाट पत्ता लागेको छ।

गर्भ निरोधक गुन। नीमको तेल प्रभावकारी शुक्राणु नाशक हो र यो विभिन्‍न परीक्षणहरू गरिने जनावरहरूको जन्मदर घटाउन प्रभावशाली प्रमाणित भएको छ। बाँदरहरूमा गरिएको परीक्षणबाट नीमका तत्त्वहरूबाट पुरुषहरूका निम्ति गर्भ निरोधक चक्की पनि बनाउन सकिने सम्भावना देखिएको छ।

स्पष्टतः नीम एउटा साधारण रूख होइन। यस रूखबारे अझै सब कुरा थाह पाउन बाँकी नै छ तर यसबाट धेरै कुरा आशा गर्न सकिने देखिन्छ। जस्तै, अझ बढी प्रभावकारी कीटनाशक औषधी बनाउन, सुस्वस्थ हुन, जंगल पुनः हराभरा बनाउन र सायद जनसंख्या वृद्धिमा नियन्त्रण गर्न पनि उपयोगी हुनसक्छ। त्यसैकारण त मानिसहरूले नीमलाई “मानिसजातिको निम्ति परमेश्‍वरको वरदान” भन्‍नु कुनै अचम्मको कुरा होइन!

[पृष्ठ २३-मा भएको चित्र]

नीमको रूख, इनसेटमा नीमको पात

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने