यन्त्रमानवद्वारा मंगलग्रहको अन्वेषण
मेरो परिवार र मैले उत्साहसाथ केप क्यानाभरल, फ्लोरिडाको रकेट छोड्ने मञ्चबाट मंगलग्रह पाथफाइन्डर अन्तरिक्षयान उडेको हेऱ्यौं। यस्तो सोच्यौं, ‘के यो मंगलग्रहमा राम्ररी अवतरण गर्नसक्ला? अब के के नयाँ कुराहरू पत्ता लाग्ने होलान्?’
पाथफाइन्डरको सफलताप्रति चिन्ता गर्नुको कारण के हो भने यसअघि पनि मंगलग्रहमा गएको दुइटा अन्तरिक्षयान मार्स अबजरभर र मार्स ९६ सफल हुन सकेनन्। यसबाहेक, पाथफाइन्डर कठिन तरिकामा उत्रिन लागेको थियो।
त्यस यान मंगलग्रहको वातावरणमा झन्डै प्रतिघण्टा २७,००० किलोमिटरको दूरीमा पस्न थाल्यो। प्यारासुट खोलेपछि गति कम गर्न र ९८ मिटरको उचाइमा तल झर्न थालेपछि अझ बिस्तारै झर्न अरू थुप्रै रकेटहरू फाल्न थाल्यो। त्यतिबेला अन्तरिक्षयानको निम्ति ग्याँसले भरिएको ठूला सुरक्षात्मक झोलाहरू दिइयो। जुलाई ४, १९९७ को दिन पाथफाइन्डर प्रतिघण्टा ६५ किलोमिटरको गतिमा मंगलग्रहको सतहमा उत्रियो।
पहिलो चोटि उत्रँदा अन्तरिक्षयान १५ मिटर माथि उड्यो। हावाले भरिएको बलजस्तै अर्को १५ चोटि जति उफ्रेपछि बल्ल अडियो। अनि हावाले भरिएका झोलाहरूबाट हावा फुस्कियो र खुम्चियो। आवश्यक भएमा आफैलाई सोझ्याउनसक्थ्यो तर पाथफाइन्डर सीधै उत्रियो। बल्ल यसका फूलका पत्तीजस्तै पाताहरू खुल्न थाले अनि त्यसभित्रको वैज्ञानिक उपकरण, रेडियो एन्टेना, सौर पट्टी र सोजोनर नाउँ गरेको यन्त्रमानव देखियो।
मंगलग्रहको अनुसन्धान
उत्रने बित्तिकै पाथफाइन्डरको क्यामराले वरिपरिको भूमि अवलोकन गऱ्यो। आरीस भालिस अथवा “मंगल उपत्यका” नजिकै फराकिलो ओबानो भूमि अर्थात् क्रुसा प्लानिट्या जसको अर्थ हो “सुनको मैदान,” त्यहाँ पाथफाइन्डरले चट्टाने, उबडखाबड पहाडहरू पत्ता लगायो र यो स्थान सोजोनरको अन्वेषणको लागि उपयुक्त थियो। यस कुशल फुच्चे ६५ सेन्टिमिटर लामो यन्त्रमानवले क्यामराको सहायतामा दृश्य अनुसन्धानहरू गर्नुपर्ने थियो र स्पेकटोमिटरद्वारा चट्टान तथा जमिनमा कति मात्रामा रासायनिक तत्त्वहरू पाइन्छन्, त्यो नाप्नु पर्नेथियो।
यस कार्यका जिम्मेवार वैज्ञानिक तथा इन्जिनियरहरूले सोजोनरद्वारा अन्वेषण सुरु गरे। पृथ्वी र मंगलग्रहबीच रेडियो संकेतहरू यात्रा गर्न धेरै मिनेट लाग्ने भएको हुँदा सञ्चालकहरूले सोजोनरलाई सीधै चलाउन सकेनन्। अतः मंगलग्रहको खतराहरूबाट बच्न सोजोनर आफ्नै योग्यतामा निर्भर थियो। बाटोका ढुंगाहरूको आकार र स्थान पत्ता लगाउन यसले लेजर किरणको प्रयोग गऱ्यो। अनि यसको कम्प्युटरले सानो चट्टान हो भने त्यसमा चढ्न अनि ठूलै ढिस्को हो भने अर्कै बाटो लिन निर्देशन दिन्थ्यो।
साहसिक कार्य र अन्वेषण
अखबार तथा पत्रपत्रिकाहरूले छापेका तस्बिरहरूको कारण थुप्रैले मंगलग्रहको सतहमा पाथफाइन्डरको तस्बिर हेर्न पाए। मंगलग्रहबाट नयाँ तस्बिरहरू आइपुग्दा पृथ्वीका मानिसहरू चलहल गर्ने सोजोनर देखेर दंग थिए, वरिपरि चट्टाने र पहाडी रंगहरूबाट छक्क परे र मंगलग्रहको आकाशमा बादलको रंग र सूर्यास्त देखेर मोहित भए। त्यस कार्यको पहिलो महिनामा पाथफाइन्डरको वेब पेजमा ५० करोडभन्दा बढी मानिसहरूले अन्तरिक्षयानको गतिविधिमा जिज्ञासा लागेर इन्टरनेट वेब पेज “खोलेको” पाइयो।
यस कार्यमा सम्मिलित वैज्ञानिकहरूको अनुमानभन्दा धेरै तथ्यांक पाथफाइन्डरले निकाल्यो। यो सबै कार्य ० डिग्री सेल्सियसदेखि कठांग्रिने -८० डिग्री सेल्सियस तापक्रममा गरिएको थियो। यस कार्यले के प्रकट गऱ्यो?
मंगलग्रहका चट्टान, माटो तथा हावामा पाइने धूलोबाट विभिन्न रासायनिक संरचनाहरू बनेको र मंगलग्रहमा भइरहेका थुप्रै भौगर्भिक प्रक्रियाहरू प्रकाशमा आयो। नजिकै थुप्रिएको बालुवाका स-साना ढिस्काहरूले हावा उत्तरबाट पूर्वतर्फ बहँदो रहेछ भनेर प्रमाणित गऱ्यो। आकाशमा बिहानीको बादलहरूमा पानीका कणले भरिएको पाइयो। बादल हराएर बिहानी हुँदा वातावरणमा मिहिन धूलो भएको कारण आकास रातो देखिन थाल्यो। समय समयमा हावाका लहरले अन्तरिक्षयानलाई पनि छोयो।
मंगलग्रह पाथफाइन्डरले हामीलाई साँच्चै पृथ्वीबाहेक अन्य ग्रहहरूको झलक दिएको छ। संयुक्त राज्य तथा जापानले आउँदो दशकभरि मंगलग्रहमा थप अन्तरिक्षयानहरू पठाउने योजना बनाएका छन्। अन्य वैज्ञानिक अनुसन्धानहरू गर्न मंगलग्रहमा मार्स ग्लोबल सर्भेएर नाउँ गरेको ग्रहहरू घुम्ने यन्त्र पुगिसकेका छन्। यन्त्रमानवमा जडित क्यामराद्वारा यस रातो ग्रहलाई परिक्रमा गर्दा हामी मंगलग्रहबारे अझ बढी कुराहरू थाह पाउनेछौं।—साभार।
[पृष्ठ २४-मा भएका चित्रहरू]
प्रस्थान
अवतरण
मंगलग्रहमा
[स्रोत]
सबै तस्बिरहरू: NASA/JPL