एक प्रहरी अघिकृतको क्षमायाचना
डिसेम्बर २२, १९९६, “ब्यूँझनुहोस्!”-को (अंग्रेजी) “परीक्षाहरूको सामना गर्न सुदृढ बनाइएको” लेखमा एडवर्ड माइकलेकले बताएको प्रहरी अधिकृत टम विल लेन थिए। कथामा माइकलेकले यस्तो बताएका थिए:
“वार्टन, टेक्सस, सं.रा.अ.-का प्रहरी अधिकृत रिसले चूर भए। चौथो चोटि मलाई झ्यालखाना हाल्दै तिनी यसो भनेर कराए: ‘तिमी किन नियम पालन गर्दैनौ?’
“ ‘यसो गर्नु मेरो अधिकारको कुरा हो,’ मैले आवेगमा जवाफ दिएँ। अनि त त्यस प्रहरी अधिकृत झनै रिसले चूर भए र मलाई ब्ल्याकज्याकले पिट्न थाले। अरू प्रहरीहरूले पनि मलाई तिनीहरूको बन्दूकको नालीले हान्न थाले।”
प्रहरी अधिकृत लेनसित १९६० दशकको सुरुतिर काम गरेकी मेरी पेरेजले हालै यसो लेखिन्: “तिनलाई म एक यहोवाको साक्षी हुँ भनी थाह थियो। एड माइकलेकलाई तिनले कसरी सताएका थिए भनी मलाई बताए। तिनी आफ्नो कार्यको लागि माफी माग्न चाहन्छन् भनी अरू साक्षीहरूलाई बताइदिनू भनेर तिनले मलाई आग्रह गरेका थिए। साक्षीहरू नियम पालन गर्ने असल मानिसहरू रहेछन् भनी तिनलाई थाह नभएको कुरा पनि बताए। तिनले साँचो हृदयले माफी मागिरहेका थिए।”
मेरीले अझै भनिन्: “त्यस प्रहरी अधिकृतको केही वर्षअघि मृत्यु भइसके तापनि आशा छ, यस पत्रले तिनको क्षमायाचना व्यक्त गर्नेछ।”
त्यसपछि तिनले आफू कसरी साक्षी भइन्, बताइन्: “भाइ माइकलेकले १९४० दशकको सुरुतिर सतावट भोगेका थिए। यसैकारण साक्षीहरू मेरो घरमा आउँदा तिनीहरूको कुरा सुन्ने मैले निधो गरेकी थिएँ। चाँडै हामीले बाइबल अध्ययन थाल्यौं। मेरो श्रीमान् र मैले १९४९ मा बप्तिस्मा लियौं।”
मसीही सिद्धान्तहरूका निम्ति अडान लिंदा अरू व्यक्तिहरूमा हुने प्रभावको यो एउटा नमुना मात्र हो। उदाहरणका लागि, प्रथम शताब्दीका पत्रुस तथा अन्य प्रेरितहरूले लिएको साहसपूर्ण अडानद्वारा कत्ति मानिसहरू प्रभावित भए?—प्रेरित ५:१७-२९.
[पृष्ठ ३१-मा भएको चित्र]
१९४० को दशकमा एड माइकलेक तथा मेरी पेरेज