प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १०/८ पृ. १४-१८
  • ब्रासिलिया—नयाँ, अनुपम एवं उन्‍नतिशील

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ब्रासिलिया—नयाँ, अनुपम एवं उन्‍नतिशील
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विस्तारित योजना
  • प्रतिस्पर्धा अनि योजना
  • धूलोमा “हवाईजहाज”
  • क्यानभासदेखि कंक्रिटसम्म
  • प्रथम एवं एकमात्र
  • मनमोहक दृश्‍य
  • तपाईं त्यहाँ नहराउनुको कारण
  • बढ्‌दो विपद्‌हरू
  • “ब्राजिलको मुटु”?
  • “विविधताले भरिएको मुलुकको” नाटकीय इतिहास
    ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १०/८ पृ. १४-१८

ब्रासिलिया—नयाँ, अनुपम एवं उन्‍नतिशील

ब्राजिलका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

तपाईंले संसारको कुन भागमा आफ्नो देशको राजधानीको मौलिक योजना तयार पार्ने डिजाइनरलाई भेट्‌न सक्नुहुन्छ? राजधानीका प्रथम सरकारी भवनहरूको डिजाइन गर्ने र त्यसको निर्माणमा रेखदेख गर्ने वास्तुकारलाई तपाईं कहाँ भेट्‌न सक्नुहुन्छ? अनि संसारमा अन्य कुन चाहिं शहर त्यस्तो होला जहाँ तपाईंले ठोकुवा गरेर भन्‍न सक्नुहुन्छ कि ४० वर्ष नाघेका सबै मानिसहरू त्यस शहरमा जन्मेका होइनन्‌ भनेर? त्यो शहर हो, ब्राजिलको राजधानी अर्थात्‌ राम्ररी नियाल्न लायकको नयाँ, अनुपम शहर ब्रासिलिया।a

विस्तारित योजना

हवाईजहाजबाट साऊ पाऊलुदेखि ब्रासिलिया पुग्न लगभग डेढ घण्टा लाग्छ। आरामदायी बसबाट जाने हो भने झन्डै १२ घण्टा लाग्छ। मैले बसबाटै जान रोजें। यसो गर्दा त्यस शहरको इतिहासबारे पढ्‌न प्रशस्त समय पाएँ।

अठाह्रौं शताब्दीको अन्ततिर पुर्तगाली शासनको विरुद्ध पहिलो चोटि संगठित विद्रोह भएदेखि ब्राजिलमा नयाँ राजधानी खडा गर्ने इच्छा जागेको थियो। सन्‌ १८२२ मा ब्राजिल स्वतन्त्र हुना साथ त्यहाँका राजनीतिज्ञ झुजे बानीफस्यु डी अन्ड्राड ई सील्भले यो भावी राजधानीको नाउँ ब्रासिलिया राख्ने सुझाउ दिए। उक्‍त नाउँ १७ औं शताब्दीका मानचित्र बनाउनेहरूले सम्पूर्ण देशलाई चिनाउन प्रयोग गरिसकेका थिए।

सन्‌ १८९१ मा यस देशको नयाँ संविधानले मध्य उच्चभूमि फाँटबाट १४,००० वर्ग किलोमिटर घाँसे मैदान घेरा हाल्नुपर्छ भनेर उल्लेख गऱ्‍यो। समुद्रतटदेखि झन्डै १,००० किलोमिटर टाढा पर्ने त्यस मैदानमा नयाँ राजधानी निर्माण गरिनुपर्थ्यो। रियो डे जेनेरियोबाट राजधानी अझ भित्री भागमा सार्दा देशको ठूलो विकास हुनेछ भनेर राजनीतिज्ञहरूले तर्क गरे। यद्यपि, अर्को पचास वर्षसम्म त्यो कार्यान्वयन भएन। अन्ततः १९५५ मा ब्रासिलियाको विस्तारित योजना समाप्त भयो र क्रियाशील गतिविधिहरू सुरु हुनै लागेको थियो।

प्रतिस्पर्धा अनि योजना

राष्ट्रपति पदको लागि उम्मेदवार झुसेलीनु कुबीचेकले आफूले चुनाव जितेमा तिनको पाँच वर्षीय शासन अवधिभित्रै त्यो नयाँ राजधानी बनाएरै छाड्‌छु भनी वचन दिए। नभन्दै, अप्रिल १९५६ मा कुबीचेक त्यस पदमा निर्वाचित भए।

केही महिनाअघि सरकारले नयाँ राजधानीको रूपरेखा तयार पार्न ब्राजिलभरिको वास्तुकार, इन्जिनियर र शहर निर्माणको योजनाकारहरूका प्रतियोगिता बोलाएको थियो। केही महिनाभित्रै २६ उम्मेदवारहरूले आ-आफूले तयार पारेको नयाँ राजधानीको नमुनाहरू पठाएका थिए। मार्च १९५७ मा अन्तरराष्ट्रिय न्याय समितिले शहर निर्माणको योजनाकार लुसियु कोस्टा विजयी भएको घोषणा गऱ्‍यो।

कोस्टाको रूपरेखा र टिपोट अरूको भन्दा बेग्लै थियो। तिनले सम्पूर्ण शहरको रूपरेखा एक दुई पेज कागजमा कोरकार गरेर कागजको खाममा हालेर पठाएका थिए! तिनले समितिलाई खेस्रो रूपरेखाको निम्ति माफी माग्दै यसो लेखे: “यदि यो रूपरेखा स्वीकार्य भएन भने यसलाई हटाउन सजिलो हुनेछ। अनि मैले आफ्नो वा अरू कसैको समय बर्बाद गरिरहेको हुने छैन।” यद्यपि, समितिलाई तिनको योजना मन पऱ्‍यो र “स्पष्ट, प्रत्यक्ष र ठीक्कको सरल,” भन्यो। तिनले कस्तो योजना प्रस्तुत गरे अनि यो कसरी कंक्रिटको शहरमा परिवर्तन भयो?

धूलोमा “हवाईजहाज”

उक्‍त प्रश्‍नको जवाफ पाउने उत्तम तरिका मुसेयु भीभु डा मेमोरिया कान्डांगा (कान्डांगा स्मरणको जीवित संग्रहालय) घुम्नु हो। यो संग्रहालयलाई यस राजधानीको पहिलो अस्पतालमा राखिएको हुनाले वास्तवमा यो भवन ब्रासिलियाको कोक्रो नै हो। आज विगतको अस्पतालले ब्रासिलियाको जन्म र प्रारम्भिक अवस्थाहरूबारे बताए तापनि ब्रसिलियामा ४० वर्षअघि जन्मेका बच्चाहरूको जीवन यहीं नै सुरु भएको थियो। संग्रहालयको एक ठाउँमा यस्तो लेखिएको छ, यो “धूलो, क्यानभास र कंक्रिटको” कथा।

संग्रहालयकी कर्मचारी सदस्य लारेटी माशाडुले मलाई “धूलो” समयदेखि भ्रमण गराइन्‌। तिनी १९५७ सालमा लिइएको चित्रअघि टक्क अडिन्‌ जसमा दुइटा कच्ची सडकले घाँसे मैदान पार गर्दै सुनसान भूमिको मध्यभागमा चौबाटो बनाएको थियो। तिनी भन्छिन्‌, “यो तस्बिरले यस शहरको प्रथम निर्माणकार्यलाई देखाउँछ।” त्यसपछि, कोस्टाले कोरेको रूपरेखालाई हेर्दा शहर निर्माणका विशेषज्ञहरूले ती दुई सडकमध्ये एउटालाई कसरी घुमाएका रहेछन्‌ भनेर देख्छौं जसले गर्दा कान्डांगुसb भनिने कामदारहरूले पछि त्यसलाई चाप आकारमा ढाल्दा त्यो बुंगबुंग धूलो उड्‌ने ठाउँमा हवाईजहाजको आकार बन्यो।

यो अनुपम आकार नै ब्रासिलियाको रूपरेखा बन्यो: चालक बस्ने भाग पूर्वतिर फर्केको र चाप आकारका पखेटाहरू उत्तर तथा दक्षिण दिशातिर फिंजिएको हवाईजहाज। तीन विभागीय सरकारी भवनहरू हवाईजहाजको चालक बस्ने भागमा छन्‌, शरीरमा व्यापारिक क्षेत्र र पखेटामा आवासीय इलाका छ।

क्यानभासदेखि कंक्रिटसम्म

संग्रहालयको “क्यानभास” र “कंक्रिट” भागहरूले त्यो निर्माणाधीन इलाकामा आउन ब्राजिलभरिका कामदारहरूले कसरी आफ्ना जायजेथाहरू बेचे भनेर बताउँछन्‌। अगस्त १९५७ मा यहाँ आइपुग्ने एक कामदार सम्झन्छन्‌, ‘मेरा पिताले ट्रक किनेर त्यसमा हामी सम्पूर्ण परिवारलाई अर्थात्‌ २० जना भन्दा बढी मानिसलाई हालेर १९ दिनमा यहाँ ल्याउनुभयो।’ अरू चाहिं बस वा बैलगाडा वा अरूको गाडीमा चढेर आए। जम्मा ६०,००० कामदारहरू आइपुगे।

यस शहरको उद्‌घाटन अप्रिल २१, १९६० मा गर्ने भएको हुनाले पालमा बस्ने ती निर्माण कामदारहरूको दललाई तुरुन्त झिकाउनुपऱ्‍यो। त्यसको अर्थ, इन्जिनियर, प्राविधिज्ञ र निर्माणकार्य गर्ने कामदारहरूले १,००० दिनभित्र एउटा महान्‌ कार्य अर्थात्‌ राजधानी शहर बनाउनुपर्थ्यो! यद्यपि, उद्‌घाटन दिनअघि नै तिनीहरूले त्यो काम सिध्याए। संसारको सबैभन्दा नयाँ राजधानी घाँसे मैदानको धूलोबीचबाट खडा भयो।

प्रथम एवं एकमात्र

ब्राजिलस्थित संयुक्‍त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनको (युनेस्को) कार्यालयले यस शहर र यसका निर्माणकर्ताहरूको अझै पनि प्रशंसा गर्छ। युनेस्कोकी सांस्कृतिक प्रतिनिधि डा. ब्रीआनी ई. बिका मलाई बताउँछिन्‌, “कोस्टाको शहर निर्माण योजना जति एक एक विवरण सबै अपनाएर तय गरिएको योजना अरू छँदै छैन होला। युनेस्कोको विश्‍व सम्पदा सूचीमा ब्रासिलियालाई संसारको २० औं शताब्दीको प्रथम र एकमात्र शहर भनेर सूचित गर्नुको एउटा कारण यो पनि हो।”c

त्यो सूचीमा ब्रासिलिया मात्र एउटा यस्तो शहर हो जुन अझै निर्माणाधीन अवस्थामै छ। यसले चुनौती खडा गर्छ भनी डा. बिका भन्छिन्‌, “शहरको रूप दिनप्रति दिन परिवर्तन हुँदै जाँदा हामी कसरी यसको मौलिक योजनालाई जोगाउनसक्छौं?” त्यतिबेला ९० वर्ष नाघिसके तापनि वास्तुकार लुसिया कोस्टाले अझै त्यस चुनौतीको सामना गरे। आफूले तयार पारेको रूपरेखा तलमाथि नगरून्‌ भनेर तिनले नयाँ निर्माणकार्यहरूमा ध्यान दिन्थे। उदाहरणका लागि, कोस्टाले ब्रासिलियामा शहरी रेलमार्ग बनाउने योजना थाह पाएपछि तिनले भूमिगत रेलमार्ग बनाउन जोड दिएका थिए।

मनमोहक दृश्‍य

अब शहर भ्रमण गरौं। त्यहाँ पहिलो चोटि पाइला टेक्ने व्यक्‍ति समेत त्यति धेरै अलमलिंदैन। त्यहाँ दुइटा मूल सडक छन्‌ र यी सडकहरूको दोबाटोमा बस बिसौनी छ। एउटा सडक पश्‍चिमबाट पूर्वतिर (“हवाईजहाजको” पुच्छरदेखि चालक बस्ने भागतिर) गएको छ र यहाँ होटेल, नाचघर, नदीकिनारा र पसलहरू छन्‌। अर्को सडक चाहिं उत्तरदेखि दक्षिणतिर (एक पखेटादेखि अर्को पखेटासम्म) गएको छ र यो आवासीय इलाका हो।

ब्रासिलिया अवलोकन गर्ने सबैभन्दा उत्तम ठाउँ २२४ मिटर अग्लो टेलिभिजन टावर हो जुन यो हवाईजहाजरूपी ब्रासिलियाका पखेटाहरूको ठीक पछाडि पर्ने शरीरमा अवस्थित छ। लिफ्टले तपाईंलाई निश्‍शुल्क भुइँदेखि ७५ मिटरमाथि पुऱ्‍याउँछ र प्लानो पीलोटु भनिने शहरको केन्द्रको मनोहर दृश्‍य देख्नुहुन्छ। आकाशसँगै जोडिएजस्तो देखिने फराकिलो र खुल्ला चौर देख्नुहुँदा तपाईं ब्रासिलियाको भव्यतामा मुग्ध हुनुहुन्छ। वास्तवमा, भूदृश्‍य डिजाइन गर्ने रोबर्टु बर्ली-मार्कले ब्रासिलियाको पार्क र चौर ओगट्‌ने विशाल भूमिको योजना कोरे। यति विशाल कि संसारको अरू कुनै पनि राजधानीका बासिन्दाले प्रति व्यक्‍ति आफ्नो भागमा त्यति धेरै हरियो ठाउँ पाउँदैन।

पूर्वतिर दुवैपट्टि सडक भएको फराकिलो घाँसे मैदान छ। अनि सडकको दुवैतिर १७ वटा एकै खाले भवनहरू छन्‌। यी चारकुने भवनहरू विभिन्‍न सरकारी विभागहरू हुन। यस घाँसे मैदानको अन्तमा ब्रासिलियाको परिचय चिह्न छ: ब्राजिल विधानमण्डल अर्थात्‌ राष्ट्रिय कांग्रेसको २८ तल्ले दुइटा भवनको फेदमा एउटा ठाडो र अर्को निहुराएर राखिएको एकै प्रकारका दुइटा गुम्बजहरू।

राष्ट्रिय कांग्रेस भवनको आकारले तपाईंलाई न्यु योर्कस्थित संयुक्‍त राष्ट्र संघको मुख्यालयको सम्झना दिलाउनसक्छ। त्यसो हुनुको कारण छ। सं.रा. भवनहरूको निर्माण योजना तयार पार्ने वास्तुकारहरूमध्ये एक जना ब्राजिलियन वास्तुकार ओस्कार नाइमेयेरले नै ब्रासिलियाको यो राष्ट्रिय कांग्रेस भवन र प्रायजसो अरू सबै सरकारी भवनहरूको डिजाइन गरेका थिए। तिनको सर्वोत्तम डिजाइनहरूमा विदेश मन्त्रालय (पालास्यु ईटामाराटी) र राष्ट्रिय कांग्रेसको दुइटा एकै प्रकारका भवनहरू नजिकै अवस्थित न्याय मन्त्रालय (पालास्यु डा झुस्टीसा) हुन्‌।

तपाईं त्यहाँ नहराउनुको कारण

तथापि, ब्रासिलिया वास्तुकलाले भरिभराउ पार्क मात्र होइन। यो हजारौं मानिसहरूका लागि सुव्यवस्थित घर पनि हो। शहरको आवासीय इलाकातिर जाँदा ब्रासिलियामा बसोबास गर्ने वकिल पाउलु भेटिए। तिनी भन्छन्‌, “अस्तव्यस्त शहरहरूबाट ब्रासिलिया बसाइँ सर्ने धेरैजसो मानिसहरूलाई यहाँको सुव्यवस्थाले यतै बसूँ बसूँ बनाएको छ।”

ब्रासिलियाका बासिन्दाहरू अपार्टमेन्ट भवनहरूमा बस्छन्‌। यस्ता भवनहरूको एक एक झुन्डलाई चोकको वरिपरि लहरै राखिएका छन्‌। अनि शहरको पखेटारूपी उत्तर र दक्षिण भागभरि यी झुन्डहरूका पंक्‍ति छन्‌। घरहरूको ठेगाना सजिलै पत्ता लगाउन सकिन्छ। उदाहरणका लागि, शहरको उत्तरी पखेटामा “एन-१०२-एल,” लेखिएको पाइन्छ अर्थात्‌ झुन्ड १०२, आवासीय भवन एल। अनि पखेटाको टुपोतिर जाँदा झुन्ड नम्बर क्रमानुसार हुन्छ (१०२ देखि ११६) भनेर सम्झनुभयो भने तपाईं अलमलिने कुरै आउँदैन।

व्यवस्थित र चुस्त बनाउन आवासीय भवनहरू छ तलेभन्दा अग्ला छैनन्‌। त्यसैले, चोकमा खेलिरहेको बच्चालाई आमाले अपार्टमेन्टको झ्यालबाट “मान्येल, भेन का!” (मान्येल, यहाँ आऊ!) भनेर एकै पल्ट बोलाए पुगिहाल्छ भनी सेन्होर कोस्टाले बताए।

बढ्‌दो विपद्‌हरू

ब्रासिलिया योजनाअनुसार बनाइएको शहर भनेर गर्व गरिए तापनि यसलाई निर्माण गर्ने कामदारहरूको त्यति ख्याल गरेन। यस राजधानीको उद्‌घाटनपछि कामदारहरू आ-आफ्नो सरसामान गुन्टा पारेर घर फर्कन्छन्‌ भनेर सोचिएको थियो। तर स्पष्टतया, अस्पताल, स्कूल वा जागिर नभएको आफ्नो इलाकामा फर्कन ती कामदारहरूलाई के मन लाग्थ्यो र! त्यसैले, तिनीहरू ब्रासिलियामै बस्न चाहे। तर बस्ने कहाँ?

तिनीहरू आफूले निर्माण गरेको अपार्टमेन्टमा महँगो बहाल तिरेर बस्न सक्दैनथे। त्यसैले तिनीहरू ब्रासिलियाको ग्रीन बेल्ट वरपरै बसोबास गर्न थाले। केही समय नबित्दै ब्रासिलियाभन्दा ठूलठूला थुप्रै शहरहरू बने। आज, ४,००,००० मानिसहरू मात्र त्यो योजनाअनुसार बनाएको शहरमा बस्छन्‌ र थुप्रै अपार्टमेन्टहरू खाली रहन्छन्‌। तर झन्डै २० लाख बासिन्दाहरू बिनायोजना बनाइएका नजिकैका शहरहरूमा बसोबास गर्छन्‌। यस शहरको योजनामा हरेक वर्गका मानिसहरूलाई राख्ने उद्देश्‍य भए तापनि फरक फरक आयस्रोतले गर्दा त्यहाँको जनसंख्यालाई पूर्णतया बेग्लाबेग्लै शहरहरूमा छुट्याएको छ।

फलतः तीव्र गतिमा भइरहेको जनसंख्या वृद्धि र जातीय विवादले अरू शहरमा जस्तै यहाँ पनि अपराध तथा अन्य सामाजिक एवं आर्थिक समस्याहरू उब्जाइरहेका छन्‌। यस्तो होला भनेर त पहिला सोचिएकै थिएन। भर्खर बामे सर्दै गरेको ब्राजिलको यो राजधानीले परिवर्तनको सँगसँगै विपद्‌ पनि भोग्दैछ। स्पष्ट छ, सुव्यवस्थित गल्लीहरू र नयाँ नयाँ वास्तुकलाले मात्र मानिसको हृदय र आचरण परिवर्तन गर्न सक्दैन।

“ब्राजिलको मुटु”?

ब्रासिलियाको मुख्य सडकसँगसँगै राखिएका विज्ञापन पाटीहरूले नव आगन्तुकहरूलाई तिनीहरू अब “ब्राजिलको मुटुभित्र” पस्नै लागेको स्मरण गराउँछन्‌। यो नारा केही अर्थमा सही छ: ब्रासिलिया यस देशको भूभागको केन्द्रमै नपरे तापनि यो अरू जम्मै मुख्य शहरहरूदेखि लगभग समान दूरीमा छ। यद्यपि, यो नारामा लुकेको गहन अर्थ के हो? के ब्रासिलियाले वास्तविक ब्राजिलको चित्रण गर्छ त? यस सन्दर्भमा बेग्लाबेग्लै धारणाहरू छन्‌। यसको चित्तबुझ्दो जवाफ पाउन त यस अनुपम शहरको भ्रमण नगरी हुँदैन। तैपनि, स्मरण रहोस्‌, तपाईं ब्रासिलियाबारे राम्ररी सोचविचार नगरि एउटा निष्कर्षमा पुग्नु ठीक हुने छैन। यहाँकी एक बासिन्दाले बताएझैं यस शहर आफैलाई बोल्न दिनुहोस्‌, “ब्राजील्य सेडुस ग्राडुआल्मेन्टा [अर्थात्‌ ब्रासिलियाले बिस्तारै लोभ्याउँछ]।”

[फुटनोटहरू]

a यस लेख तयार पारेको केही समयपश्‍चात्‌ योजनाकार लुसियु कोस्टाको जून १९९८ मा ९६ वर्षको उमेरमा मृत्यु भयो।

b (पहिला पहिला अफ्रिकीहरूले पुर्तगालीहरू बुझाउन प्रयोग गरेका) यो शब्द वास्तवमा एंगोलियाली शब्द हो जुन ब्रासिलियाका निर्माण कामदारहरूलाई बोलाउने स्नेही शब्द बन्यो।

c युनेस्कोले संग्रह गरेको यो सूचीमा “अनुपम प्राकृतिक वा सांस्कृतिक महत्त्व राख्ने” संसारभरिका ५५२ ठाउँ सूचीबद्ध गरिएको छ।

[पृष्ठ १५-मा भएको चित्र]

“धूलो, क्यानभास र कंक्रिटको” कथा

[स्रोत]

Arquivo Público do Distrito Federal

[पृष्ठ १५-मा भएको चित्र]

क्यान्डनगोसको लावालस्कर

[स्रोत]

Arquivo Público do Distrito Federal

[पृष्ठ १७-मा भएको चित्र]

ब्रासिलियाका मनोहर दृश्‍यहरू

१. मन्त्रालयहरू

२. संसदीय कार्यालय भवनहरू

३. सर्वोच्च अदालत

४. तीन शक्‍तिहरूको बजार

५. कार्यालय भवनहरू

[स्रोत]

Secretaria de Turismo, Brasília

[पृष्ठ १८-मा भएको चित्र]

संसारका राजधानीहरूमध्ये सबैभन्दा धेरै हरियाली भएको भूमि

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने