किन थुप्रैले रगत लिन अस्वीकार गर्दैछन्
उल्लेखनीय भनिएको निर्णयमा ओन्टारियो अदालतले क्यानेडियाली रेडक्रसलाई रक्तक्षेपण गरेका दुई बिरामीहरू एच आइ भी-द्वारा संक्रमित भएकोमा दोषी ठहऱ्यायो। यी दुवै बिरामीलाई एउटै रक्तदाताको दूषित रगत दिइएको थियो। “बिरामीलाई संक्रमित रगत दिनेजस्तो विध्वशंकारी घटना भएपछि तुरुन्तै कारबाही गर्नुपर्छ” भनी न्यायाधीश स्टिफेन बोर्निसले बताए।
सन् १९८० को दशकमा झन्डै १,२०० क्यानेडियालीहरू एच आइ भी र थप १२,००० जना हेपाटाइटिस सि-बाट संक्रमित भए। यी सबैको कारण दूषित रगत तथा यसका उत्पादनहरू थियो। संक्रमित हुनेहरूको संख्यामा वृद्धि आउन नदिन रक्तदाताहरूलाई अझ होसियारीपूर्वक जाँच्न थालिएको छ। तर सबै दाताहरू आफ्नो यौन आचरणबारे सत्य कुरा बताउँदैनन्। उदाहरणका लागि, संयुक्त राज्यमा गरिएको सर्वेक्षणमा ५० जना दाताहरूमध्ये एक जनाले समलैंगिक गतिविधि वा वेश्यासित यौनसम्बन्ध राखेको जस्ता खतरनाक कुराहरू लुकाएको थाह लाग्यो।
त्यसमाथि पनि रगत जाँच्दा सबै परीक्षण राम्रोसित गरिन्छ भन्ने छैन। न्यु साइन्टिस्ट पत्रिकाअनुसार “एच आइ भी-बाट संक्रमित भएर तीन हप्तापछि रक्तदान गर्दा पनि जीवाणु देखिंदैन। त्यस्तैगरि हेपाटाइटिस सि-बाट संक्रमण भएको दुई महिना पछिसम्म पनि जीवाणु देखिंदैन।”
क्यानाडामा हालका वर्षहरूमा रक्तदान गर्ने तथा रक्तक्षेपण गर्न चाहनेहरूका संख्या निकै घटेको छ। स्तम्भ लेखक पल स्राट्स लेख्छन्: “रक्तदान गर्न चाहनेहरूको कमी र रक्तदान गर्न असक्षमहरूका वृद्धि भइरहेको बेला यहोवाका साक्षीहरूले रगतका विकल्पहरूको अनुसन्धानमा अग्र भूमिका खेलिरहेकोमा तिनीहरू धन्यवादका पात्र छन्।”
द टरोन्टो स्टार-को रिपार्टअनुसार एउटा चाखलाग्दो कुरा के छ भने, हालैको वर्षमा झन्डै ४० जना मानिसहरू “रक्तक्षेपण गर्न नचाहेकोले आफू यहोवाको साक्षी हुँ भन्ने गलत दाबी गर्दै क्यानेडियाली अस्पतालहरूमा भर्ना भए।” झन्डै ९० प्रतिशत क्यानेडियालीहरूले रगत लिनुको सट्टा अन्य केही विकल्प चाहेको सर्वेक्षणले प्रकाश पाऱ्यो। अतः रगत प्रयोग नगर्ने अब एउटा धार्मिक विवाद मात्र रहेन।