के परमेश्वर हुनुहुन्छ?—केही वैज्ञानिकहरूको जवाफ
मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीका भौतिकशास्त्र प्राध्यापक अर्लरिक जे. बेकरले परमेश्वरको अस्तित्वबारे टिप्पणी गर्दै यसो भने: “सृष्टिकर्ताबिना म कसरी अस्तित्वमा आएँ होला? मैले अहिलेसम्म चित्तबुझ्दो जवाफ पाएको छैन।”
के यसले तिनको वैज्ञानिक विचारधारालाई खण्डन गर्छ? उक्त प्राध्यापकले यस्तो विचारोद्दीपक जवाफ दिए, “तपाईंले ‘घडीको’ एउटा सुई कसरी घुम्छ भनेर थाह पाउनुभएपछि बाँकी सुई कसरी घुम्छ त्यो स्वतः सोच्नुहुन्छ। तर त्यसलाई वैज्ञानिक तर्क भन्न मिल्दैन। यसकारण, ब्रह्माण्डका विभिन्न ऋतुहरूको चक्र कसरी सञ्चालन हुन्छन् भन्ने प्रश्नको जवाफ भेट्टाउन त झनै गाह्रो हुन्छ।”
कसै कसैको विचार विपरीत केही प्रख्यात वैज्ञानिकहरूको विचारमा परमेश्वर अर्थात् ब्रह्माण्ड र मानिस सृष्टि गर्नुहुने महान् व्यक्तित्व हुनुहुन्छ।
यस सन्दर्भमा दुइटा उदाहरण विचार गर्नुहोस्। प्रिन्सटन विश्वविद्यालयका गणितका प्राध्यापक जोन इ. फोर्नेसलाई परमेश्वरको अस्तित्वबारे तिनको विचार सोध्दा यस्तो जवाफ दिए: “मेरो विचारमा परमेश्वर हुनुहुन्छ। अनि परमेश्वरले नै ब्रह्माण्डका कणहरूदेखि लिएर जीवित प्राणी अनि तारापुञ्जहरू बनाउनुभयो।”
येल विश्वविद्यालयका भौतिकशास्त्रका प्राध्यापक हेन्री मरगेन्युले प्राकृतिक नियम परमेश्वरले बनाउनुभएको भन्ने कुरामा आफू विश्वस्त भएको कुरा बताए। तिनले अझै यसो पनि भने: “परमेश्वरले शून्यबाट ब्रह्माण्डको सृष्टि गर्नुभयो र त्यतिबेला समयको पनि सुरुआत भयो।” त्यसपछि, तिनले जीवनको सुरुआतको रहस्य (अंग्रेजी) नामक पुस्तकमा तीन जना वैज्ञानिकहरूले जीवनको सुरुआत कसरी भयो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ नै सृष्टिकर्ता हुनुहुन्छ भन्ने हो भनेर बताएका छन् भनेर टिप्पणी गरे। यो कुरालाई समर्थन गर्दै खगोलविद् फ्रेड होएल यसो भन्छन्, अकस्मात् जीवनको सुरुआत भयो भनेर विश्वास गर्नु भनेको त बोइंग ७४७ हवाईजहाजका टुक्राटुक्रीहरू तेज तुफानमा खज्याङमज्याङ भएर ७४७ हवाईजहाज बन्यो भनेर विश्वास गर्नुसरह हो।
यी जवाफहरूमा बाइबल लेखक पावलका शब्दहरू पनि थप्न सकिन्छ: “[परमेश्वरको] अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ।”—रोमी १:२०.
हो, परमेश्वर हुनुहुन्छ! तर उहाँले यस संसारमा किन दुःखद् स्थिति रहिरहन दिनुभएको? पृथ्वीको लागि उहाँको के उद्देश्य छ? के हामी साँचो परमेश्वरलाई चिन्नसक्छौं?
[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]
“तपाईंले ‘घडीको’ एउटा सुई कसरी घुम्छ भनेर थाह पाउनुभएपछि बाँकी सुई कसरी घुम्छ त्यो स्वतः सोच्नुहुन्छ। तर . . . ब्रह्माण्डका विभिन्न ऋतुहरूको चक्र कसरी सञ्चालन हुन्छन् भन्ने प्रश्नको जवाफ भेट्टाउन त झनै गाह्रो हुन्छ।”