सृष्टिकर्ताले तपाईंको जीवन अर्थपूर्ण बनाउन सक्नुहुन्छ
“तिनीहरूले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँले हुकूम गर्नुभयो, र ती सृष्टि भए।”—भजन १४८:५.
१, २. (क) हामीले कस्तो प्रश्न विचार गर्नुपर्ने हो? (ख) यशैयाको प्रश्नमा कसरी सृष्टि विथोलित छ?
“के तँलाई थाह छैन?” यो प्रश्न केही सिकाउनलाई सोधिएको हो कि जस्तो लाग्नसक्छ। त्यसैले, थुप्रैले प्रत्युत्तरमा ‘के थाह छैन?’ भन्न सक्छन्। तर यो गम्भीर प्रश्न हो। अनि बाइबल पुस्तक यशैयाको ४० औं अध्यायको पृष्ठभूमिमा हामी उक्त प्रश्नको जवाफ पाउनसक्छौं। उक्त प्रश्न पुरातन समयका यशैया नामक हिब्रूले लेखेका हुन्। अतः यो पुरानो प्रश्न हो। यद्यपि, यो प्रश्न नयाँ पनि हो अनि यो तपाईंको जीवनको सारसित सम्बन्धित छ।
२ यशैया ४०:२८ को प्रश्न असाध्यै महत्त्वपूर्ण भएकोले त्यसतर्फ ध्यानाकर्षण गर्नु आवश्यक छ: “के तँलाई थाह छैन? के तैंले सुनेको छैनस्? परमप्रभु सनातनका परमेश्वर, उहाँ सारा पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।” अतः “तँलाई थाह छैन?” भन्ने प्रश्न पृथ्वीका सृष्टिकर्ताबारे थियो। अनि प्रसंगअनुसार कुरा पृथ्वीको सृष्टिसम्म मात्र सीमित थिएन। यशैयाले दुई पद अगाडि ताराहरूबारे यस्तो लेखे: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर . . . बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्तिको बड़प्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।”
३. तपाईंले सृष्टिकर्ताबारे धेरथोर थाहा पाउनुभएको भए तापनि किन अझ बढी जान्न चाहनुपर्छ?
३ हो, “के तँलाई थाह छैन?” भन्ने प्रश्न ब्रह्माण्डको सृष्टिकर्ताबारे हो। यहोवा परमेश्वर “सारा पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ” भनेर सायद तपाईंलाई थाहा होला। उहाँको व्यक्तित्व र तौरतरिकाहरूबारे पनि तपाईंलाई धेरथोर थाहा होला। तर तपाईंले सृष्टिकर्ता हुनुहुन्छ भनेर शंका गर्ने अनि उहाँ कस्तो हुनुहुन्छ भनेर राम्ररी नजान्ने पुरुष तथा स्त्री भेट्नुभयो भने नि? त्यस्तो व्यक्ति भेट्दा छक्क पर्नुपर्ने कुनै कारण छैन किनकि त्यस्ता करोडौं मानिसहरू छन् जसले सृष्टिकर्ताबारे केही थाहा पाएका छैनन् वा छन् भने पनि सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्वासै गर्दैनन्।—भजन १४:१; ५३:१.
४. (क) अहिले सृष्टिकर्ताबारे छलफल गर्नु किन उपयुक्त छ? (ख) विज्ञानसित कस्ता प्रश्नका जवाफहरू छैनन्?
४ पढेलेखेका मानिसहरू ब्रह्माण्ड र जीवनको सुरुआतसम्बन्धी प्रश्नहरूको जवाफ विज्ञानले दिन्छ (वा पछि पत्ता लगाउनेछ) भन्ठान्छन्। जीवनको सुरुआत नामक पुस्तकका (मूल फ्रान्सेली शीर्षक: ओ अरिजिन ड ला भी) लेखकद्वय आज्यन र लने यस्तो टिप्पणी गर्छन्: “एक्काइसौं शताब्दीको सँघारमा आइपुग्दा पनि जीवनको सुरुआतसम्बन्धी विवाद टुंगिएको छैन। यो विवाद समाधान गर्न असाध्यै गाह्रो छ। यसको लागि अन्तरिक्षको विशालतादेखि लिएर सानोभन्दा सानो कुराहरू जस्ता हरेक पक्षको अनुसन्धान गर्नु आवश्यक छ।” तैपनि, सोही पुस्तकको “प्रश्न अनुत्तरित नै छ” भन्ने अन्तिम अध्यायमा यसो भनिएको छ: “हामीले, पृथ्वीमा कसरी जीवन सुरुआत भयो? भन्ने प्रश्नको वैज्ञानिक जवाफहरू अनुसन्धान गरेका छौं। तर जीवनको सुरुआत किन भयो? र के जीवनको उद्देश्य छ? भन्ने प्रश्नहरूका जवाफ विज्ञानसित छैन। विज्ञानले त कुनै कुरा ‘कसरी’ भए भन्ने मात्र अनुसन्धान गर्छ। ‘कसरी’ र ‘किन’ दुई भिन्नाभिन्नै प्रश्नहरू हुन्। अनि जहाँसम्म ‘किन’ भन्ने प्रश्नको जवाफ छ, त्यो . . . दर्शन, धर्म अनि मुख्यतया हामी प्रत्येकले पाउनैपर्छ।”
जवाफ र अर्थ पत्ता लगाउने
५. खास गरी कस्ता प्रकारका मानिसहरूले सृष्टिकर्ताबारे अझ बढी सिकेर फाइदा उठाउनसक्छन्?
५ हो, हामी जीवनको सुरुआत किन भयो अनि विशेष गरी हामी यहाँ किन छौं भनेर थाहा पाउन चाहन्छौं। यसबाहेक, सृष्टिकर्ताको अस्तित्व नमान्ने अनि उहाँका तौरतरिकाहरू नजान्ने मानिसहरूप्रति हामीले चासो राख्नुपर्छ। अथवा परमेश्वरबारे बाइबलको भन्दा बेग्लै धारणा सिकाउने पृष्ठभूमिका मानिसहरूबारे सोच्नुपर्छ। लाखौं मानिसहरू पूर्वीय वा अन्य मुलुकमा हुर्केका छन् जहाँ हाम्रोजस्तै भावना र आकर्षक व्यक्तित्व भएको साँचो परमेश्वर हुनुहुन्छ भनेर विश्वास गरिंदैन। तिनीहरूलाई “परमेश्वर” अस्पष्ट शक्ति वा व्यक्तित्वविहीन कर्ता मात्र लाग्नसक्छ। तिनीहरूले ‘सृष्टिकर्ता’ वा उहाँका तौरतरिकाहरूबारे थाहा पाएका छैनन्। तिनीहरू तथा तिनीहरू जस्तै अन्य करोडौं मानिसहरू सृष्टिकर्ताको अस्तित्वबारे विश्वस्त हुनसके अनन्त प्रत्याशाहरूलगायत अरू कत्ति प्रशस्त लाभ उठाउनसक्थे! तिनीहरूले अत्यन्तै दुर्लभ कुरा पाउनसक्थे। त्यो हो, जीवनको साँचो अर्थ, साँचो उद्देश्य र मनोशान्ति।
६. आज थुप्रै मानिसहरूको जीवन कसरी पल गाग्विन र तिनले कोरेका चित्रझैं छ?
६ जस्तै: फ्रान्सेली चित्रकार पल गाग्विन प्रमोदवनको जस्तो सन्तोषजनक जीवनको खोजीमा १८९१ मा फ्रेन्च पोलिनेशिया गए। तर विगतमा आफूले बिताएको विलासी जीवनशैलीले गर्दा तिनी स्वयम् र अरू रोगबिमारको सिकार भए। मृत्युको मुखैमा पुगेको महसुस हुनथाल्दा तिनले एउटा ठूलो क्यानभासमा चित्र कोरे। तिनले उक्त चित्रमा ‘जीवनलाई महान् रहस्यको रूपमा प्रस्तुत गरे।’ गाग्विनले त्यो चित्रलाई के नाउँ दिए, तपाईंलाई थाहा छ? तिनले त्यसको नाउँ यसप्रकार राखे: “हामी कहाँबाट आयौं? हामी को हौं? हामी कहाँ जाँदैछौं?” अरूले पनि यस्ता प्रश्नहरू सोधेको तपाईंले सुन्नुभएको होला। थुप्रैले यस्ता प्रश्नहरू सोध्छन्। तर चित्तबुझ्दो जवाफ नपाउँदा अनि जीवनको साँचो अर्थ नबुझ्दा कसलाई गुहार्ने? त्यतिखेर तिनीहरूलाई पशुप्राणी र आफ्नो जीवनमा खास भिन्नता रहेनछ भन्ने लाग्ला।—२ पत्रुस २:१२.a
७, ८. विज्ञानले गरेका अनुसन्धानहरू किन अपूरा छन्?
७ अतः भौतिकशास्त्रका प्राध्यापक फ्रिम्यान डाइसनले यस्तो टिप्पणी गर्नुको कारण तपाईं बुझ्न सक्नुहुन्छ: “अय्यूबले गरेका प्रश्नहरू आफैले सोध्दा थुप्रै सम्माननीय मानिसहरूको विचार प्रकट गरिरहेको हुन्छु। हामी किन दुःखकष्ट भोग्छौं? यो संसारमा किन यत्तिको अन्याय छ? पीडा अनि दुःखको उद्देश्य के हो?” (अय्यूब ३:२०, २१; १०:२, १८; २१:७) माथि उल्लेख गरिएझैं थुप्रै मानिसहरू यी प्रश्नहरूको जवाफ परमेश्वरले नभई विज्ञानले देला भन्ने आशा गर्छन्। जीवविज्ञानी, समुद्रविज्ञानी तथा अरू थुप्रैले हाम्रो पृथ्वी तथा यहाँका प्राणीहरूबारे निकै जानकारी पत्ता लगाएका छन्। अर्कोतिर, खगोलशास्त्री तथा भौतिकशास्त्रीहरूले हाम्रो सौर्यमण्डल, तारा अनि टाढाटाढाका आकाशगंगाहरूबारे समेत धेरै थाहा पाइसकेका छन्। (उत्पत्ति ११:६ तुलना गर्नुहोस्।) यी तथ्यहरूले कुन तार्किक निष्कर्षमा पुऱ्याउँछ?
८ केही वैज्ञानिकहरू ब्रह्माण्डमा परमेश्वरको “मन” वा उहाँको “हस्तकला” प्रकट भएको कुरा गर्छन्। तर तिनीहरूले बुझ्नुपर्ने मुख्य कुरा नबुझिरहेका हुन् कि? साइन्स पत्रिका यसो भन्छ: “ब्रह्माण्डविज्ञानले परमेश्वरको ‘मन’ वा ‘हस्तकला’ प्रकट गर्छ भनी अनुसन्धानकर्ताहरूले भन्नुको मतलब वास्तवमा ब्रह्माण्डको न्यून पक्ष अर्थात् भौतिक संरचना ईश्वरीय स्रोतबाटै हुनगएको हो भन्ने संकेत गर्नु हो।” भौतिकशास्त्री तथा नोबेल-पुरस्कार विजेता स्टिभन वाइनवर्गले यसो लेखे: “यो ब्रह्माण्डबारे जति धेरै बुझ्न थाल्छौं, त्यति नै यसको उद्देश्य छ भनेर बुझ्न गाह्रो हुन थाल्छ।”
९. कुन प्रमाणले हामी तथा अन्य मानिसहरूलाई सृष्टिकर्ताबारे सिक्न मदत गर्नसक्छ?
९ तथपि, तपाईं ब्रह्माण्डबारे गहन अध्ययन गर्ने लाखौं मानिसहरूमध्ये एक हुनुहोला। अनि जीवनको साँचो अर्थ सृष्टिकर्तालाई चिन्नुसित सम्बन्धित छ भनेर बुझ्नुभएको पनि होला। प्रेरित पावलले के लेखे, सम्झनुहोस् त: “हामीले परमेश्वर चिनेका छैनौं भनी मानिसहरूले भन्न सक्दैनन्। उहाँले सृष्टि गर्नुभएका कुराहरूद्वारा उहाँ कस्तो हुनुहुन्छ भनेर संसारको सुरुदेखि नै मानिसहरूले जान्नसक्थे। उहाँले सृष्टि गर्नुभएका कुराहरूले उहाँको शक्ति सदा सर्वदा रहिरहन्छ अनि उहाँ परमेश्वर हुनुहुन्छ भनी देखाउँछ। (रोमी १:२०, पवित्र बाइबल, न्यू लाइफ भर्सन) हो, मानिसहरूलाई सृष्टिकर्ताको अस्तित्व स्वीकार्ने तथा उहाँसित सम्बन्धित कुराहरूको अर्थ बुझ्ने मदत दिन हामी हाम्रो संसार र हामी आफ्नैबारे जानकारीहरू प्रस्तुत गर्न सक्छौं। तीन पक्षलाई ध्यान दिनुहोस्: हाम्रो ब्रह्माण्ड, जीवनको सुरुआत र हाम्रा बौद्धिक क्षमताहरू।
विश्वास गर्ने कारणहरू
१०. हामीले किन ‘सुरुआतबारे’ विचार गर्नुपर्ने हो? (उत्पत्ति १:१; भजन १११:१०)
१० ब्रह्माण्डको उत्पत्ति कसरी भयो? अन्तरिक्ष टेलिस्कोप तथा अन्तरिक्ष अन्वेषणसम्बन्धी रिपोर्टहरूबाट तपाईंले थाहा पाउनुभएको होला कि प्रायजसो वैज्ञानिकहरू हाम्रो ब्रह्माण्डको सुरुआत थियो भन्ने कुरामा मानिलिन्छन्। ब्रह्माण्डको सुरुआत छ अनि यो अझै विस्तार भइरहेको छ। यसको अर्थ के हो? खगोलशास्त्री सर बर्नाड लोभेलको कुरालाई ध्यान दिनुहोस्: “कुनै समय ब्रह्माण्ड अपरिमित आकार र घनत्वको एउटा सिंगो वस्तु थियो भने त्यसअघि के थियो त भन्ने प्रश्न सोध्न हामी बाध्य हुनेछौं . . . हामीले सुरुआतसम्बन्धी प्रश्नको जवाफ दिनुपर्नेछ।”
११. (क) ब्रह्माण्ड कति विशाल छ? (ख) ब्रह्माण्डमा ठ्याक्क मिलेका कुराहरूले के बताउँछन्?
११ हाम्रो पृथ्वीलगायत ब्रह्माण्डको संरचनाले सबै कुरा सुव्यवस्थित अनि सुसंगत छ भनी देखाउँछ। उदाहरणका लागि, सूर्य तथा अन्य ताराहरूको दुइटा उल्लेखनीय गुण, चिरकालीन कुशलता र स्थायित्व हो। हालै गरिएको अनुमानअनुसार खुला आकाशमा ५० अरबदेखि (५०,००,००,००,०००) १२५ अरबसम्म तारापुञ्जहरू छन्। अनि आकाशगंगामा अरबौं अरब ताराहरू छन्। यसो विचार गर्नुहोस् त, मोटरगाडी तेल र हावाबीचको जटिल तालमेलद्वारा चल्छ भनेर हामीलाई थाहा छ। तपाईंको मोटरगाडी छ भने राम्ररी चल्नको निम्ति तपाईं मिस्त्रीलाई पैसा दिएर इन्जिनहरू दुरुस्त राख्नुहुन्छ। जाबो गाडीको इन्जिन त दुरुस्त हुनुपर्छ भने कुशलतापूर्वक “बल्ने” सूर्यमा झन् कत्ति सही सन्तुलन हुनुपर्ला? स्पष्टतः प्रमुख शक्तिहरू ठिक्क मिलाइएका छन् जसले गर्दा पृथ्वीमा जीवन धान्न सम्भव भएको छ। के यो आफै हुन गएको हो? पुरातन समयका अय्यूबलाई यो प्रश्न सोधिएको थियो: “आकाशको शासन गर्ने नियमहरूलाई के तैंले घोषणा गरेको होस्? अथवा पृथ्वीको प्राकृतिक नियमहरूलाई तैंले ठहराएको होस्?” (अय्यूब ३८:३३) यो कुनै मानिसले गरेको होइन। त्यसोभए कसरी ठ्याक्क मिल्न गयो त?
१२. सृष्टि पछाडि शक्तिशाली बुद्धिमान् व्यक्ति हुनुहुन्छ भनेर विचार गर्नु किन अव्यवहारिक होइन?
१२ अदृश्य वस्तु अथवा व्यक्तिले गरेको हो कि? यस प्रश्नलाई आधुनिक विज्ञानको दृष्टिकोणबाट विचार गर्नुहोस्। प्रायजसो खगोलशास्त्रीहरू ब्ल्याक होल भनिने शक्तिशाली आकाशीय पिण्डहरू छन् भनी अहिले मानी लिन्छन्। यसलाई आँखाले देखिंदैन तैपनि विशेषज्ञहरू त्यसको अस्तित्व छ भनेर विश्वस्त छन्। त्यस्तै गरी, बाइबलले अर्को संसारमा हाम्रो आँखाले नदेख्ने शक्तिशाली आत्मिक प्राणीहरू छन् भनी बताउँछ। यदि यस्ता शक्तिशाली तथा अदृश्य प्राणीहरू छन् भने ब्रह्माण्डभरि देखिने सन्तुलन शक्तिशाली बुद्धिमान् व्यक्तिको काम हो भनी स्वीकार्नु तार्किक होइन र?—नहेम्याह ९:६.
१३, १४. (क) विज्ञानले जीवनको सुरुआतबारे वास्तवमा के स्वीकारेको छ? (ख) पृथ्वीमा जीवनको अस्तित्वले कुन कुरा बताउँछ?
१३ मानिसहरूलाई सृष्टिकर्ताको अस्तित्व स्वीकार्न मदत गर्ने दोस्रो प्रमाण जीवनको सुरुआतसित सम्बन्धित छ। लुइ पास्चरले परीक्षण गरेदेखि जीवनको उत्पत्ति त्यतिकै अचानक हुनसक्दैन भन्ने तथ्य सर्वमान्य भइसकेको छ। त्यसोभए, कसरी जीवनको सुरुआत भयो त? आदिम वायुमण्डललाई निरन्तर चट्याङले प्रहार गर्दा समुद्रमा बिस्तारै जीवनको सुरुआत भयो भनी वैज्ञानिकहरूले १९५० को दशकमा प्रमाणित गर्न खोजे। तथापि, हालैका प्रमाणहरूले देखाएअनुसार पृथ्वीमा त्यसरी जीवनको सुरुआत हुनु असम्भव छ किनभने त्यस्तो वायुमण्डल वास्तवमा थिंदैथिएन। तसर्थ, केही वैज्ञानिकहरू त्रुटिरहित स्पष्टीकरण खोजिरहेकाछन्। तर कतै तिनीहरूले मुख्य कुरा नबुझिरहेका हुन् कि?
१४ दशकौंसम्म ब्रह्माण्ड र जीवनबारे अध्ययन गरेपछि बेलाइती वैज्ञानिक सर फ्रेड होइलले यस्तो टिप्पणी गरे: “प्राकृतिक शक्तिहरूले गर्दा अनायास जीवनको सुरुआत भयो भन्ने कमजोर सम्भाव्यतालाई स्वीकार्नुको साटो कसैको बौद्धिक कार्यद्वारा पृथ्वीमा जीवनको सुरुआत भयो भन्नु उचित देखिन्छ।” हो, जीवनका आश्चर्यजनक कुराहरूबारे जति बढी सिक्छौं उति नै जीवन कुनै बौद्धिक स्रोतको उपज हो भन्नु तार्किक देखिन्छ।—अय्यूब ३३:४; भजन ८:३, ४; ३६:९; प्रेरित १७:२८.
१५. तपाईं अनुपम हुनुहुन्छ भनेर किन भन्न सकिन्छ?
१५ तसर्थ, पहिलो तर्क ब्रह्माण्डबारे हो भने दोस्रो तर्क पृथ्वीमा जीवनको सुरुआतबारे हो। अब तेस्रो तर्कमा ध्यान दिनुहोस्। त्यो हो, हाम्रो अद्भुत संरचना। थुप्रै तरिकामा हरेक मानिस अद्भुत छ। अतः तपाईं पनि अद्भुत ढंगमा बनिनुभएको छ। कसरी? मस्तिष्कलाई शक्तिशाली कम्प्युटरसित तुलना गरिएको सायद तपाईंले सुन्नुभएको होला। तथापि, हालै पत्ता लागेका कुराहरूले यो तुलना वास्तवमा एकदमै नसुहाउँदो छ भनी देखाउँछ। म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीका एक वैज्ञानिकले यसो भने: “वर्तमान समयका कम्प्युटरहरू चार वर्षको बच्चाले हेर्ने, बोल्ने, चलहल गर्ने कुरामा वा सुद्धिबुद्धिको तुलनामा एक छेउ पनि पुग्न सकेका छैनन्। . . . सबैभन्दा शक्तिशाली सुपरकम्प्युटरको जानकारी प्रशोधन गर्ने क्षमता चिप्लेकीराको स्नायुप्रणाली बराबरको मात्र छ भनी अनुमान गरिएको छ, जुन [तपाईंको] मस्तिष्कभित्रको सुपरकम्प्युटरको अत्यन्तै सूक्ष्म अंश मात्रै हो।”
१६. भाषा बोल्नसक्ने तपाईंको क्षमताले के देखाउँछ?
१६ तपाईंको मस्तिष्कले गर्दा पाउनुभएको एउटा क्षमता भाषा हो। केही मानिसहरू दुइटा, तीनटा वा त्यो भन्दा बढी भाषाहरू बोल्छन्। वास्तवमा, एउटा मात्र भाषा बोल्न सक्नु पनि अद्भुत कुरा हो। (यशैया ३६:११; प्रेरित २१:३७-४०) प्राध्यापकद्वय आर. एस. र डि. एच. फाऊट्सले यो प्रश्न गरे: “के भाषाद्वारा कुराकानी गर्नसक्ने प्राणी . . . मानिस मात्रै हो? . . . सबै उच्च प्राणीहरू . . . हावभाव, गन्ध, आवाज र गीत तथा माहुरी नाचद्वारा समेत एकअर्कासित कुराकानी गर्छन्। यद्यपि, मानिसबाहेक अरू जनावरहरूको भाषामा व्यवस्थित व्याकरण पाइँदैन। अनि जनावरहरूको दिमागले दृश्य कल्पनाहरू गर्न नसक्नु पनि अचम्मैको कुरा हो। हद से हद, तिनीहरूले अस्पष्ट चित्र मात्र कोर्नसक्छन्।” हो, दिमाग प्रयोग गरेर भाषा बोल्ने अनि कल्पनाशक्तिद्वारा अर्थपूर्ण चित्रहरू कोर्नसक्ने प्राणी मानिसजाति मात्रै हो।—यशैया ८:१; ३०:८; लूका १:३ तुलना गर्नुहोस्।
१७. जनावर र मानिसले ऐना हेर्नुमा के भिन्नता छ?
१७ यसबाहेक, तपाईं आफूलाई चिन्नुहुन्छ; आफ्नो विषयमा सचेत हुनुहुन्छ। (हितोपदेश १४:१०) के तपाईंले चरा, कुकुर, बिरालो वा अरू कुनै जनावरले ऐनामा हेरेर ठुङ्न खोजेको, घुरेको वा झम्टन खोजेको देख्नुभएको छ? तिनीहरू आफ्नो छायाँ चिन्दैनन् र त्यसलाई अर्कै जनावर भन्ठान्छन्। यसको विपरीत, तपाईं ऐना हेर्दा त्यो प्रतिरूप आफ्नै हो भनेर चिन्नुहुन्छ। (याकूब १:२३, २४) सायद तपाईं आफ्नो रूप हेर्नुहुन्छ वा केही वर्षपछि कस्तो हुनेछु होला भनी सोच्नुहुन्छ। जनावरहरूले त्यसो गर्दैनन्। हो, तपाईंको मस्तिष्कले गर्दा तपाईं अनुपम हुनुहुन्छ। यसको श्रेय कसलाई जान्छ? तपाईंको मस्तिष्क परमेश्वरले बनाउनुभएको होइन भने त्यो कहाँबाट कसरी बन्यो होला?
१८. कस्ता बौद्धिक क्षमताहरूले तपाईंलाई जनावरहरूभन्दा बेग्लै बनाएको छ?
१८ तपाईंको दिमागमा कला र संगीत बुझ्ने क्षमताका साथै आफ्नै नैतिक मूल्यमान्यताहरू पनि छन्। (प्रस्थान १५:२०; न्यायकर्त्ता ११:३४; १ राजा ६:१, २९-३५; मत्ती ११:१६, १७) जनावरहरूमा नभई किन तपाईंमा मात्र यो क्षमता भएको? जनावरहरूले आहारा खोज्ने, जोडी खोज्ने अथवा बस्ने ठाउँको जोरजाम गर्ने जस्ता आफ्ना तत्कालीन आवश्यकताहरू पूरा गर्नका लागि मात्र दिमाग चलाउँछन्। मानिसहरूले मात्र पछिसम्मको विचार गर्छन्। कसै कसैले त आफ्ना क्रियाकलापले वातावरण वा आफ्ना सन्तानमाथि कस्तो असर गर्नेछ भनेर समेत सोच्छन्। किन? किनभने मानिसहरूबारे उपदेशक ३:११ यसो भन्छ: “[सृष्टिकर्ताले] मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ।” (नयाँ संशोधित संस्करण) हो, अनन्तकाल वा अनन्त जीवनबारे कल्पना गर्नसक्ने तपाईंको क्षमता अचम्मको छ।
सृष्टिकर्ताले जीवन अर्थपूर्ण बनाऊन्
१९. मानिसहरूलाई सृष्टिकर्ताबारे विचार गर्ने मदत दिन तपाईं कुन तीन तर्क चलाउन सक्नुहुन्छ?
१९ अहिलेसम्म हामीले तीनवटा पक्षबारे मात्र छलफल गऱ्यौं: विशाल ब्रह्माण्डको सही सन्तुलन, पृथ्वीमा जीवनको सुरुआत र अनेकन् क्षमता भएको मानव मस्तिष्कको अकाट्य अनुपमता। यी तीनै पक्षहरूले के संकेत गर्छ? मानिसहरूलाई निष्कर्षमा पुग्ने मदत दिन तपाईं निम्न तर्क चलाउन सक्नुहुन्छ। तिनीहरूलाई सोध्नुहोस्: के ब्रह्माण्डको सुरुआत थियो? थियो भनेर धेरै जना सहमत हुनेछन्। फेरि सोध्नुहोस्: के त्यो सुरुआत आफै भयो वा कसै/केहीद्वारा भयो? कसै वा केहीद्वारा ब्रह्माण्डको सुरुआत भयो भनी धेरैले मानिलिन्छन्। तब अन्तिम प्रश्न सोध्नुहोस्: यो सुरुआत कुनै अनन्त कुराले भयो वा कोही अनन्त व्यक्तिद्वारा? यसरी सुस्पष्ट तथा तार्किक ढंगमा कुरा गर्दा थुप्रैले यो तथ्य बुझ्न सक्छन्: सृष्टिकर्ता हुनैपर्छ! सृष्टिकर्ता हुनुहुन्छ भने, के जीवनको अर्थ नहोला त?
२०, २१. जीवन अर्थपूर्ण बनाउन सृष्टिकर्तालाई चिन्नु किन अत्यावश्यक छ?
२० हाम्रो नैतिकता बोध तथा नैतिकता स्वयम् अनि हाम्रो अस्तित्व परमेश्वरसित जोडिएको छ। डा. रोलो मेले एक चोटि यस्तो लेखे: “जीवनको आधारभूत अर्थमा आधारित नैतिकता नै सबैभन्दा उत्तम नैतिकता हो। यस्तो नैतिकता कहाँ पाउन सकिन्छ? तिनी यसो भन्छन्: “यसको आधार परमेश्वरको स्वभाव हो। परमेश्वरका सिद्धान्तहरूमा सृष्टिको सुरुदेखि अन्तसम्मको जीवन आधारित छ।”
२१ तसर्थ, भजनरचयिताले सृष्टिकर्तालाई बिन्ती गर्दा किन नम्रता र बुद्धि झल्काए भनेर हामी बुझ्नसक्छौं: “तपाईंको मार्ग मलाई देखाउनुहोस्, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्। तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस्, र मलाई उद्धार गर्ने परमेश्वर हुनुहुन्छ।” (भजन २५:४, ५) भजनरचयिताले सृष्टिकर्तालाई जति राम्ररी चिने उति नै बढी तिनले जीवनको अर्थ, उद्देश्य र उहाँको डोऱ्याइ पाए। हामी प्रत्येकले पनि त्यस्तै अनुभव गर्नसक्छौं।—प्रस्थान ३३:१३.
२२. सृष्टिकर्ताको मार्ग जान्नुमा के विथोलित छ?
२२ सृष्टिकर्ताको “मार्ग” जान्नुमा उहाँ कस्तो हुनुहुन्छ भनेर अर्थात् उहाँको व्यक्तित्व र तौरतरिकाहरू अझ राम्ररी चिन्नु समावेश छ। तर सृष्टिकर्तामा अदृश्य र विस्मयकारी शक्ति भएकोले उहाँलाई हामी अझ राम्ररी कसरी चिन्नसक्छौं? यसपछिको लेखमा यसबारे छलफल गरिनेछ।
[फुटनोट]
a नाजी यातना शिविरको अनुभव उल्लेख गर्दै डा. भिक्टर इ. फ्र्यान्कले यसो भने: “मानिसले हरेक कुराको अर्थ खोजिरहेका हुन्छन् अनि त्यसले उसको जीवनमा ठूलो महत्त्व राख्छ।” त्यो कुरा उसलाई जनावरलाई जस्तो मूल्यहीन लाग्दैन। तिनी अझ यसो भन्छन्, दोस्रो विश्वयुद्धको दशकौंपछि फ्रान्समा लिइएको सर्वेक्षणअनुसार “बाँच्नको निम्ति ‘कुनै’ उद्देश्य हुनुपर्छ भनेर ८९ प्रतिशत मानिसहरूले मानी लिए।”
तपाईं के भन्नुहुन्छ?
◻ हामीले किन ब्रह्माण्डबारे वैज्ञानिक जानकारी मात्र थाहा पाएर हुँदैन?
◻ अरूलाई सृष्टिकर्ताबारे सो मदत दिन तपाईं के भन्न सक्नुहुन्छ?
◻ किन सृष्टिकर्तालाई चिन्नु जीवनको सन्तोषजनक अर्थ प्राप्त गर्ने कुञ्जी हो?
[पृष्ठ १८-मा भएको डायग्राम/चित्र]
तपाईं कुन निष्कर्षमा पुग्नुहुन्छ?
हाम्रो ब्रह्माण्डको
↓ ↓
सुरुआत सुरुआत
छैन छ
↓ ↓
सृष्टि भएको होइन सृष्टि भएको हो
↓ ↓
केही अनन्तद्वारा कोही अनन्तद्वारा
[पृष्ठ १५-मा भएको चित्र]
सृष्टिको विशालता र तालमेलले थुप्रैलाई सृष्टिकर्ताबारे सोच्न बाध्य बनाउँछ
[स्रोत]
पृष्ठ १५ र १८: Jeff Hester (Arizona State University) and NASA