शान्तिस्थापक कि युद्धपिपासुहरू?
“मसीहीले युद्धमा भाग लिनुहुँदैन।” यो अभिव्यक्तिले प्राचीन मसीहीहरू युद्धलाई कुन दृष्टिले हेर्थे खुलस्त पारेको छ भनेर वर्ल्ड काउन्सिल अफ चर्चेसद्वारा (डब्ल्युसीसी) प्रकाशित पत्रिका इकोस्-मा तोको र मालुसे मपुलवाना भन्छन्। उनीहरू अझै भन्छन्, पछि “मसीही चर्चहरूले राजनैतिक समूहसँग मित्रता गाँस्न थालेपछि मात्र युद्धको अनिवार्यतालाई समर्थन गरेका हुन्।” नतिजा के भयो त? युगानुयुगदेखि युद्धहरूमा मसीहीजगत्ले जनाएको समर्थन यति स्पष्ट भए कि दोस्रो विश्वयुद्धपश्चात् तीमध्ये जापानका दी युनाइटेड चर्च अफ क्राइष्टले दोस्रो विश्वयुद्धको लागि आफू जिम्मेवार भएको कुरा स्वीकारिएको औपचारिक घोषणापत्रसमेत तयार गर्न आवश्यक सम्झ्यो।
त्यो युद्धको ५० वर्षपश्चात् आज पनि मसीहीजगत्को युद्धप्रतिको झुकाउमा कुनै हेरफेर आएको छैन। चर्च अफ इंग्ल्याण्डमा कार्यरत डा. रजर विलीयमसन यसरी भन्छन्, “हामी मसीहीको हैसियतमा युद्धका विवादहरूमा भाग लिनु हुँदैन भनेर दृढ अनि विश्वस्त भएर भन्छौं र येशूप्रति प्रेम हुनुपर्छ भनेर भन्नु मात्र पर्याप्त छैन।” यद्यपि, डब्ल्यूसीसीले सन् १९४८ मा घोषणा गऱ्यो कि “युद्ध, झगडा मिलाउनको निम्ति लडिन्छ भन्ने कुरा हाम्रो प्रभु येशू ख्रीष्टको शिक्षा र उदाहरणसँग मेल खाँदैन।” विलीयमसन टिपोट गर्छन्, मसीहीजगत्का चर्चहरूले हठधर्म, असहिष्णुता, मानव स्वतन्त्रतामाथि प्रतिबन्ध र झगडा चर्काउने जस्ता कामहरूमा सहयोग गरिरहेका छन्। उनी यस विषयलाई यसरी टुंग्याउछन्, “धर्मले . . . झगडा मिलाउने होइन बरु अझ मच्चाउने काम गरिरहेको छ।”
युद्धको कारण टुक्रिएको पहिलेको युगोस्लाभियालाई यसको राम्रो नमुनाको रूपमा लिनसकिन्छ। त्यस देशमा वर्षौंदेखि अन्याय र अत्याचार चलिरहेको भए तापनि चर्चहरू आपसमा एकजुट भई त्यसको विरोधमा बोल्न सकेका छैनन्। किन? किनभने साइबेरिया र क्रोएसियाका पादरीहरू माझ मसीही बन्धन छ होला भन्ठान्छन् तर तिनीहरू पनि आफ्नो राष्ट्रको राजनीतिज्ञहरू जस्तै विभक्त छन् भनेर डा. विलीयमसन टिप्पणी गर्छ। त्यहाँ मात्र होइन, प्राय सबै मुलुकहरूमा मसीहीजगत्का पादरीहरू चाहे क्याथोलिक, कट्टरपन्थी वा प्रोटेस्टेन्ट नै किन नहोउन् तिनीहरू शान्तिस्थापक होइनन् तर आफ्नो पक्षलाई मात्र समर्थन गर्ने युद्धका पादरीहरू भएका छन्। हाल, डब्ल्यूसीसीको सदस्यतामा ३०० भन्दा बढी चर्चहरू भए तापनि चर्चहरूमा “शान्ति स्थापनासम्बन्धी चर्चले बसालेको सानो उदाहरण पाउनसमेत गाह्रो हुनु अनौठो कुरो हो।”
हो, साँच्चै गाह्रो छ। खाली मेल-मिलापको कुरा मात्र गरिरहने तर सोहीअनुसार नचल्ने डब्ल्यूसीसीको सदस्य चर्चहरू जस्तो नभई अर्को छुट्टै धर्म छ। यसले विभिन्न धर्महरूबाट आएका सदस्यहरूलाई मेल-मिलाप गराउन सफल भएको छ अनि उनीहरूलाई पनि साँचो मसीही बनाउन मदत गरिरहेका छन्। आज परमेश्वरप्रतिको प्रेम र अरू मानिसहरूसँग “मेल-मिलाप राख्ने,” भावनाले प्रेरित भई २३३ मुलुकहरूका ५८ लाखभन्दा बढी यहोवाका साक्षीहरू उत्तरी आयरल्याण्ड, एसिया, पूर्व युगोस्लाभिया, मध्यपूर्व, रूवाण्डा तथा ल्याटिन अमेरिकामा भइरहेका युद्धहरूमा भाग लिन अस्वीकार गर्छन्। (हिब्रू १२:१४; मत्ती २२:३६-३८) बरु, उनीहरूले ‘आफ्नो तरवार पिटेर हलोको फाली बनाउदै र कहिल्यै लड़ाइँ गर्न’ नसिकेर बाइबलको भविष्यवाणी पूरा गरिरहेका छन्।—मीका ४:३
[पृष्ठ ३१-मा भएको चित्र]
अफ्रिकामा केही यहोवाका साक्षीहरू उनीहरूको तटस्थताको कारण नराम्रो किसिमले पिटिए वा सरणार्थीसमेत हुनपुगे