प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ७/८ pp. १४-२०
  • ज्यानमारा आँधीबेहरीबाट उद्धार!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ज्यानमारा आँधीबेहरीबाट उद्धार!
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मिचले होण्डुरसमा आक्रमण गर्छ
  • एल साल्भाडोरले मिचको क्रोधको स्वाद पाउँछ
  • मिचद्वारा निकारागुवा पनि प्रभावित
  • ग्वाटेमालामा विध्वंश
  • मिच साम्य भएपछिको अवस्था
  • राहत कार्यले यहोवाको महिमा गर्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • एकताबद्ध भ्रातृत्व डग्मगाएन
    ब्यूँझनुहोस्‌!—२००१
  • सन्‌ २०२३ मा राहतकार्य—“हामीले यहोवाको माया अनुभव गऱ्‍यौँ”
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • मोजाम्बिकको बाढी—मसीहीहरूले कसरी पीडितहरूलाई राहत दिए
    ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ७/८ pp. १४-२०

ज्यानमारा आँधीबेहरीबाट उद्धार!

गत वर्ष मिच तुफानको कारण भएको क्षतिबारे संसारभरि शीर्षसमाचारहरूमा रिपोर्ट गरियो। तर यहोवाका साक्षीहरूले यस ज्यानमारा तुफानबाट पीडित व्यक्‍तिहरूलाई राहत पुऱ्‍याउन गरेका साहसिक प्रयासहरूबारे कमैले रिपोर्ट गरेका छन्‌। साँचो मसीहीधर्म र भातृत्वप्रेम कसरी कठिन से कठिन परिस्थितिमा पनि विजय हुनसक्छ भनी निम्न रिपोर्टले सविवरण प्रस्तुत गर्छ।

अक्टोबर २२, १९९८ का दिन दक्षिणपश्‍चिम क्यारेबियनका पानीहरूबाट यस ज्यानमाराको सुरुआत भयो। यो उष्ण कटिबन्धीय अवदावको रूपमा सुरु भयो। तर २४ घण्टाभित्रै यसले उष्ण कटिबन्धीय तुफानको रूप लिइसकेको थियो। यस तुफानलाई मिच भन्‍ने नाउँ दिइयो र पछि पछिसम्म पनि यो नाउँ लिनेबित्तिकै डर तथा त्रास उत्पन्‍न हुनेछ। यस तुफानले झन्‌ झनै भयानक रूप लिंदै उत्तरतर्फ लाग्यो। अक्टोबर २६ सम्ममा यो तुफान वर्ग ५ मा परिसकेको थियो। हावाको वेग २९० किलोमिटर प्रति घण्टा थियो र पछि प्रति घण्टा ३२० किलोमिटर सम्म भयो।

सुरुमा त मिचले जमैका र केम्यान टापुलाई प्रभावित गर्नेजस्तो देखिएको थियो। तर ज्यानमारा पश्‍चिम दिशातिर मोड्यो र सोझै मध्य अमेरिकाको तट बेलिजतिर लाग्यो। तर आक्रमण गर्नुको सट्टा मिचले होण्डुरसको उत्तरी तटमा भयानक फन्को माऱ्‍यो। अनि अक्समात्‌ यो ज्यानमारा फेरि अघि लम्क्यो। अक्टोबर ३० मा मिचले होण्डुरसमा आक्रमण गऱ्‍यो र थुप्रैको ज्यान जानुका साथै निकै क्षति भयो।

मिचले होण्डुरसमा आक्रमण गर्छ

मिच होण्डुरस पुग्नेबित्तिकै घनघोर वर्षा भयो। टेगुसिगाल्पामा बसोबास गर्ने एक पूर्ण-समय प्रचारक भिक्टर अबेलर त्यो घटनालाई सम्झँदै यसो भन्छन्‌: “अक्टोबर ३१, शनिबारका दिन राति एक बजेतिर ठूलो स्वरले मेघ गर्जेको हामीले सुन्यौ। एउटा सानो खोल्सामा भयंकर ठूलो भल बगिरहेको थियो! छालले दुइटा घर र त्यसमा बस्ने मानिसहरू चिच्याउँदै कराउँदै गरेको अवस्थामा बगाएर लग्यो।” शहरको अर्को भागमा साक्षीहरूसित अध्ययन गरिरहेका ८ जना व्यक्‍तिलगायत ३२ जना मानिसहरू पहिरोमा मरे। तथापि, बप्तिस्माप्राप्त साक्षीहरू कोही पनि मरेनन्‌।

होण्डुरसका अधिकारीहरूले उद्धार स्थलहरू स्थापना गरेर चाँडै संकट टार्न जुटे। साथै थुप्रै देशका अन्तरराष्ट्रिय उद्धार टोलीहरू अघि सरे। त्यस्तै गरी यहोवाका साक्षीहरू पनि बाइबलका निम्न शब्दहरू मनमा राख्दै उद्धार कार्यमा पूर्णतया लाग्न थाले। “सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) अतः आपत्‌कालीन उद्धार समितिहरू खडा गरियो। समुद्री तटका शहरहरूमा परिस्थिति एकदमै नाजुक छ भन्‍ने कुरा बुझेर साक्षीहरूले आफ्नो कार्यमा अझै तीव्रता ल्याए।

एडगार्डो अकोस्टा नाउँ गरेका साक्षी भन्छन्‌: “अक्टोबर ३१ शनिबारका दिन हामीले एउटा सानो जहाज लियौं र बाढी प्रभावित क्षेत्रमा गयौं। हामीले दुई जना भाइहरूकोa त उद्धार गर्नसक्यौं तर सबै भाइहरूलाई मदत गर्ने हो भने ठूलो जहाज चाहिने थियो। त्यसैले हामीले ठूलो जहाजको प्रबन्ध मिलायौं र आइतबार बिहान सबेरै दोस्रो यात्रा सुरु गऱ्‍यौं। अन्ततः हामीले केही छिमेकीहरूका साथै मण्डलीका सबै गरेर जम्माजम्मी १८९ मानिसहरूको उद्धार गऱ्‍यौं।”

जुवान आलबार्डोले ला हुन्टा नजिकै उद्धार कार्यमा मदत गरे। तिनी भन्छन्‌: “हामीले मानिसहरू ‘गुहार! गुहार!’ भन्दै कराइरहेको सुन्यौं। मैले यस्तो भयावह अनुभव अहिलेसम्म गरेको थिइनँ। भाइहरू त्यहाँबाट उम्कनसक्ने कुनै उपाय नै थिएन। थुप्रै त छतमाथि बसिरहेका थिए।” बचेकाहरूमध्ये एक जना, मारिया बोनिया भन्छिन्‌: “हामी वरपर पानी समुद्रजस्तै थियो। हामी सबै रोइरहेका थियौं।” तर उद्धार कार्य सफल भयो। जीवितहरूमध्ये अर्को एक जना उमबर्टो आलबार्डो भन्छन्‌: “भाइहरूले हाम्रो उद्धार मात्र गरेको होइनन्‌ तर हामीलाई बस्ने ठाउँ, भोजन तथा लत्ताकपडा पनि दिए।” उमबर्टो अझ भन्छन्‌: “हाम्रो उद्धार कार्य हेरिरहेका एक जना मानिसले उनीहरूको चर्चको कसैले मदत नगरेको, यहोवाका साक्षीहरूले मात्र मदत गरेको बताए। यहोवाका साक्षीहरूको धर्म नै साँचो हो भनी अब तिनी विश्‍वस्त भएका छन्‌!”

ला लिमा भन्‍ने शहरमा साक्षीहरूको एउटा समूह घरभित्र फसेका थिए। तिनीहरू वरपर पानीको सतह बढेकोले छतमा प्वाल पारेर माथि चढे। गाबी नाउँ गरेकी साक्षी बताउँछिन्‌: “केही दिनलाई पुग्ने हामीसित खाना थियो। ती सबै सकेपछि एक जना भाइ आफ्नो ज्यान जोखिममा हालेर पानीमा तैरेर नरिवल टिप्न गए। आफ्नो दुःख बिर्सन हामीले राज्य गीतहरू गायौं।” सेवकाई सेवक जुवान भन्छन्‌: “हामीले बाँच्ने आशा मारिसकेका थियौं। त्यसैले हामीले बाइबल पत्रिका प्रहरीधरहरा पढ्‌ने निर्णय गऱ्‍यौं। सँगै अध्ययन गर्ने यही नै अन्तिम मौका हुनेछ भन्‍ने सोच्दै हामी सबै रुन थाल्यौं। अध्ययनले हामीलाई धैर्य धारण गर्न मदत गऱ्‍यो।” उद्धार टोलीले उद्धार नगरुञ्जेल तिनीहरू आठ दिनसम्म त्यसरी नै बसे।

बाढीबाट बचे तापनि थुप्रैले तीता वास्तविकताको सामना गर्नुपऱ्‍यो। लिलियन नाउँ गरेकी साक्षी यसो भन्छिन्‌: “आफ्ना व्यक्‍तिगत मालतालहरू जस्तै लत्ताकपडा, फर्निचर तथा तस्बिरहरू सबै गुमाउनुपर्दा चित्त दुख्छ। मेरो घर माटो तथा फोहरको डुंगुर र सर्पहरूले समेत भरेको देख्दा अत्यन्तै दिक्क लाग्यो!” यस अवसरमा पुनः एक चोटि मसीही भातृत्व मूल्यवान्‌ साबित भयो। लिलियन भन्छिन्‌: “भाइहरू मदत गर्न आइपुगे। बेग्लै धर्म मान्‍ने मेरो पतिले सोध्नुभयो, ‘हामीले तिनीहरूलाई कसरी पैसा तिर्ने?’ एउटी बहिनीले यस्तो जवाफ दिइन्‌, ‘म पनि त बहिनी नै हुँ। तपाईंले मलाई पैसा दिनु पर्दैन!’ ”

एल साल्भाडोरले मिचको क्रोधको स्वाद पाउँछ

मिच तुफान पश्‍चिमतिर एल साल्भाडोरमा लाग्दा वेग अलि कम भयो। तर यससित अझ थुप्रैको ज्यान लिने शक्‍ति थियो। त्यस बखत एल साल्भाडोरका यहोवाका साक्षीहरू “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशनको तयारीमा व्यस्त थिए। चालीस हजारभन्दा बढी उपस्थित हुने आशा गरिएको थियो। मिचको उग्र रूप देखिन थालेपछि सबै भाइहरू अधिवेशनमा उपस्थित हुने सम्भावना कम हुँदै गयो। नदीहरूमा पानी बढ्‌दै गयो र छेउछाउका बालीनाली, घर तथा राजमार्ग सबै बगाएर लग्यो। जंगल फँडानी गरिएका पहाडहरूमा ठूलठूला पहिरोहरू जान थाले।

चेलाङगारा शहरस्थित यहोवाका साक्षीहरूको मण्डलीमा नेल्सन फ्लोरेस अध्यक्ष थिए। शनिबार अक्टोबर ३१ को दिन बिहान उठेर नदीपारी यसो हेर्दा कुनै समय चेलाङगारा भएको ठाउँमा केही पनि देखेनन्‌! पाँच सय घर स्वात्तै बगाएर लगेको थियो! आफ्ना आध्यात्मिक भाइहरूको ज्यानको मायाले गर्दा आफ्नो ज्यानको मतलब नराखी नेल्सन त्यो उर्लेको पानीमा डुबुल्की मारे। नेल्सन भन्छन्‌, “पारी पुग्दा मैले उठेर आफू कहाँ पुगेछु भनेर यताउता हेरें। घरघर प्रचारकार्य गर्ने सन्दर्भमा दिनदिनै ओहरदोहर हुने यो ठाउँमा अहिले त तिनेको जस्तो एउटै ठाउँ थिएन!

त्यस रात चेलाङगारामा झन्डै १५० व्यक्‍तिहरूले ज्यान गुमाए। त्यसमा यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहेकामानिसहरू पनि थिए। तथापि, बप्तिस्माप्राप्त कोही पनि साक्षीहरू मरेनन्‌।

तुरुन्तै उद्धारकार्य सुरु भयो। यस कार्य संयोजन गर्न मदत गरेका आरेस्टेडस एस्ट्राडा भन्छन्‌: “हामीलाई चेलाङगारा जाने अनुमति थिएन। पानीको सतह अझै बढ्‌दै थियो! मानिसहरू गुहार गुहार भनी कराउँदै गरेको तर उद्धारकर्मीहरूले आफ्नै ज्यानको खतरा भएकोले मानिसहरूको उद्धार नगरी फर्केको दृश्‍य अझै झलझली सम्झन्छु।” तर केही समयपछि सबै भाइहरूलाई सुरक्षित साथ उद्धार गरियो। राज्यभवनहरू शरण स्थान भए। यसबाहेक थुप्रै साक्षीहरू अस्पताल, स्कूल तथा अन्य स्थानहरूमा भएकोले को कहाँ कहाँ छन्‌ भनी बुझ्न ठाउँ ठाउँमा अरू साक्षीहरू खटाइए। स्थानीय मण्डलीहरूले तुरुन्तै आवश्‍यक सरसामानहरू जुटाए।

तर सरसामानहरू राहत केन्द्रमा पुऱ्‍याउनु सधैं सजिलो थिएन। कोरिन्टो नाउँ गरेको शहरका भाइहरूले आफ्नै बारीका उब्जनीहरू ओसारिरहेका थिए तर पहिरोको कारण बाटैमा रोकिए। के गरे त अनि? तिनीहरूले माटोलाई छेउछाउमा पन्छाउँदै बाटो बनाए! सुरुमा त अन्य व्यक्‍तिहरूले शंकालु दृष्टिकोणले हेरे। तर समयमा तिनीहरू पनि मदत गर्न आए। कोरिन्टोका भाइहरू हिलाम्मे भएर आफ्नो गन्तव्यस्थान पुगे र केही योगदान गर्न पाएकोमा तिनीहरू खुसी भए।

वाच टावर सोसाइटीको शाखा कार्यालय पनि राहत सामग्रीहरू जम्मा गर्ने केन्द्र थियो। सरसमानहरू पुऱ्‍याउन मदत गर्ने त्यहाँका एक कर्मचारी, हेलबर्टो यसो भन्छन्‌: “बयान गरी नसक्नु छ! यति धेरै गाडीहरू आए कि स्वयंसेवकहरूले पार्किङ गर्ने ठाउँमा र शाखा कार्यालयअघिको इलाकामा गाडीहरू पार्क गर्ने ठाउँ देखाउन मानिसहरू खटाउनुपऱ्‍यो।” झन्डै २५ टन लत्ताकपडा र १० टन खाना चन्दा दिइयो। लत्ताकपडा छुट्टयाउन र ढुवानी गर्न १५ जना स्वयंसेवकहरूलाई पूरा एक हप्ता लाग्यो।

मिचद्वारा निकारागुवा पनि प्रभावित

निकारागुवाको सीमा इलाकामा मिच आइपुग्दा त्यहाँ पनि भीषण वर्षा भयो। हजारौं घरहरू नाश भए र राजमार्गहरू बगाइए। पोसोल्टेगा शहर नजिकै पहिरोमा पूरा गाउँ पुरिए र त्यहाँका झन्डै २,००० मानिसहरू खतम भए।

निकारागुवाका साक्षीहरूले यस दुःखद्‌ घटनाबारे सुनेपछि बृहत्‌ उद्धार कार्यको प्रबन्ध मिलाए। स्वयंसेवकहरूलाई कठिन तथा डरलाग्दो परिस्थितिमा भाइहरूको उद्धार गर्न पठाइयो। साक्षीहरूको दुई टोली, एउटा (पोसोल्टेगाको दक्षिणतिर पर्ने शहर) लियोन र अर्को चिचिगाल्पाबाट (उत्तरतिर पर्ने शहर) भारी पोकाहरू बोकेर पोसोल्टेगातिर लागे। उद्धार कार्यकर्ताहरूले त्यहाँ जान असम्भव नै छ भने तर भाइहरू जान कटिबद्ध थिए।

सोमबार नोभेम्बर २ का दिन बिहान सबेरै लियोनका भाइहरूले ट्रक भरी सामान भरे र जहाँसम्म पुल थियो, त्यहाँसम्म गए। ट्रकबाट सामान निकालेपछि साइकलमा जाने भाइहरूको दुई टोली बनाए। एउटा टोली पोलोल्टेगा र अर्को बाढीग्रस्त शहर टेलेका जाने थियो। भाइहरूले आफ्नो यात्रा थाल्नुअघि प्रार्थना गरे। एक जना उद्धारक भन्छन्‌, “प्रार्थनापछि हामीले निकै नै बलियो महसुस गऱ्‍यौं।” तिनीहरूलाई त्यो आवश्‍यक पनि थियो। तिनीहरू ठूलठूला खाल्टाहरू हुँदो जानुपर्थ्यो र अझ कहिलेकाहीं त माटोमा घिस्रेर जानुपर्थ्यो भने कहिले साइकल काँधमा बोकेर लग्नुपर्थ्यो। ढलेका रूखहरूले पनि अक्सर बाटोमा अवरोध खडा गर्थ्यो। अनि तिनीहरूले पानीमा तैरिरहेको लासका थुप्रोहरूको भयावह दृश्‍य पनि हेर्नुपर्थ्यो।

अचम्मको कुरा, लियोन र चिचिगाल्पाबाट साइकलमा आएकाहरू सबै पोसोल्टेगा झन्डै एउटै समयमा आइपुगे। उद्धार टोलीका एक सदस्य नेरो लोपेज भन्छन्‌: “मेरो साइकलका टायरहरू खिइसकेको थियो। त्यसले एक दुई किलोमिटर मात्र काम दिन्छ भन्ठानेको थिएँ।” तर साइकलले जसोतसो काम दियो। फर्किंदा मात्र ती दुइटै टायर पंचट भए। जे होस्‌, त्यहाँ पुग्ने पहिलो उद्धारकर्मीहरू हाम्रा भाइहरू नै थिए। स्थानीय मसीही भाइबहिनीहरूको तिनीहरूलाई भेट्‌न आउँदा कत्ति खुसी भए होलान्‌! एक बहिनीले भनिन्‌: “म यहोवा र हाम्रा भाइहरूप्रति अत्यन्तै कृतज्ञ छु किनभने उहाँहरूले हामीलाई मदत र समर्थन दिनुभएको छ। हाम्रा भाइहरू मदत गर्न त्यति चाँडो आइपुग्ला भनेर मैले सोचेकै थिइनँ।”

बाढीग्रस्त इलाकाहरूमा पठाइएका थुप्रै साइकल टोलीहरूमध्ये यो पहिलो थियो र प्रभावित क्षेत्रमा पुग्ने पहिलो व्यक्‍तिहरू प्रायजसो हाम्रा भाइहरू नै हुन्थे। लाराग्ना भन्‍ने शहरमा १६ जना भाइहरूको साइकल टोली आइपुगे! तिनीहरूको प्रयास देखेर स्थानीय भाइहरूको आँखाभरि आँसु भयो। कहिलेकाहीं साइकल चढ्‌नेहरूले आफ्नो ढाडमा २० किलोको भारी बोक्नुपर्थ्यो। दुई जना भाइहरूले एल ग्वाएबोको शहरमा १०० किलो भारी बोकेर गए! यशैया ४०:२९ मा लिपिबद्ध बाइबल पद “[यहोवाले] दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्‍तिहीनको शक्‍ति बढ़ाइदिनुहुन्छ” भन्‍ने शब्दहरू मनन गर्दै साइकलमा आफूले सक्ने जति भारी बोकेर गएका एक जना भाइले सान्त्वना प्राप्त गरे।

टोनाला शहरका साक्षीहरूले तिनीहरूको खानेकुरा सकिनै लागेको खबर सन्देशवाहक मार्फत जिम्मेवार भाइहरूलाई पठाए। सन्देशवाहक खबर लिएर जाँदा खानेकुराहरू पठाइसकेको थाह पाउँदा तिनी तीन छक परे! अनि तिनी घर पुग्दा खानेकुराहरू घर पुगिसकेका थिए। चिनानडेगा वरपर बाढीग्रस्त इलाकामा उद्धार सामग्रीहरू पुऱ्‍याउन मदत गर्ने मार्लन चाभेरिया भन्छन्‌: “एउटा शहरमा ४४ वटा साक्षी परिवारहरू थियो। तथापि, ८० भन्दा बढी परिवारहरूले लाभ उठाए किनभने भाइहरूले तिनीहरूसित खाना बाँडे।”

ती उद्धार कार्यहरू पदाधिकारीहरूले पनि याद गरे। वामब्लान शहरका नगरपिताले साक्षीहरूलाई यसो लेखे: “हामीले पनि केही मदत पाउन सक्छौं कि भनेर तपाईंहरूलाई यो पत्र लेखेका हौं। . . . तपाईंहरूले आफ्ना भाइहरूलाई मदत गरिरहनुभएको हामीले देखेका छौं। तपाईंहरूले हामीलाई पनि केही मदत गर्न सक्नुहुन्छ कि भनी हामी जान्‍न चाहन्छौं।” यहोवाका साक्षीहरूले जवाफमा खाना, औषधी र लत्ताकपडा पठाइदिए।

ग्वाटेमालामा विध्वंश

होण्डुरस र एल साल्भाडोरमा मिचको हंगामा सकिनेबित्तिकै ग्वाटेमालामा आक्रमण गऱ्‍यो। ग्वाटेमाला शहरको दक्षिणमा बस्ने साक्षी सारा अगस्तिन उर्लंदो नदीको आवाजले ब्यूँझिन्‌। तिनी बस्ने सानो उपत्यका पानीले टन्‍न भरियो। अरू बेला अक्सर तिनी आफ्ना छिमेकीहरूको ढोकामा बाइबल सत्य बाँड्‌न जान्थिन्‌। अब भने तिनीहरूलाई उठाउन हतारहतार सबैको घरघर गइन्‌! पछि पहिरोले तिनका थुप्रै छिमेकीहरूको घर पुऱ्‍यो। पछि साबेलले खन्दै साराले बाँचेकाहरूलाई मदत गर्न थाले। पुरिएका सात जना स-साना बच्चाहरूलाई तिनले माटोमुनिबाट निकालिन्‌। तिनी पेशाले सुँडिनी भएकोले ती बच्चाहरूमध्ये एउटालाई त उसैले जन्मिंदा हेरेकी थिइन्‌। दुःखको कुरा, मर्नेहरूमध्ये भिल्मा नाउँ गरेकी एक किशोरी पनि थिइन्‌। साराले हालै तिनलाई बाइबल साहित्य दिएकी थिइन्‌।

मिचको गतिमा धेरै कमी आए तापनि अविरल वर्षाको कारण बाली, पुल तथा घरहरूमा निकै नोक्सान पुऱ्‍यायो। ग्वाटेमालास्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा ठूलो मात्रामा राहत सामग्रीहरू पठाइयो र त्यसमध्ये केही होण्डुरसका भाइहरूलाई पठाउने निर्णय गरियो। थुप्रै पुलहरू भत्किएको र विमानस्थल पनि जलमग्न भएकोले ती सामानहरू जलमार्गद्वारा पठाउनुपऱ्‍यो। शाखा कार्यालयका फ्रेडे ब्रुन भन्छन्‌: “हामीले फाइबरग्लासद्वारा बनिएको आठ मिटर लामो जहाज भाडामा लियौं र झन्डै एक टन औषधी तथा लत्ताकपडा लिएर यात्रा थाल्यौं। त्यो उर्लंदो समुद्रमा डरलाग्दो यात्रा गरेर निथ्रुक्क भिज्दै हामी बल्लतल्ल ओमावा बन्दरगाह पुग्यौं।”

मिच साम्य भएपछिको अवस्था

दक्षिणपूर्वी मेक्सिकोतिर मिचसाम्य हुने छाँटकाँट देखियो। तर जीवित रहन अन्तिम एक चोटि प्रयास गरेजस्तै मिच उत्तरपूर्वतिर लाग्यो र सं.रा.अ.-को दक्षिण फ्लोरिडामा आइपुग्यो। तर मिचले केही गर्न सकेन। यो आन्द्र महासागरतिर लाग्यो र चाँडै क्षीण हुन थाल्यो। नोभेम्बर ५ सम्ममा सबै उष्ण कटिबन्धीय तुफानहरूको चेताउनी रद्द गरियो।

केही विशेषज्ञहरूअनुसार मिच “गत २०० वर्षमा पश्‍चिमी गोलार्द्धमा आएको सबैभन्दा घातक आँधीबेहरी हो!” मृत मानिसहरूको संख्या ११,००० भन्दा बढी पुगेको हुनसक्छ; हजारौं मानिसहरू अझै वेपत्ता छन्‌। तीस लाखभन्दा बढी मानिसहरू घरबारविहीन वा तिनीहरूको घर क्षतिग्रस्त भयो। होण्डुरसका राष्ट्रपति कार्लोस फ्लोरेस फाकुसीले यसरी विलाप गरे: “हामीले ५० वर्षमा बिस्तारै बिस्तारै गरेर बनाएको सबै स्वाहा भयो।”

थुप्रै यहोवाका साक्षीहरूले मिचको कारण आफ्ना घर गुमाए। दुःखको कुरा, थुप्रैले कुनै समय आफ्नो घर निर्माण गरेको जग्गाजमिन अब छैन! तैपनि, यहोवाका साक्षीहरूले थुप्रैको घर मर्मत गर्ने वा पुनर्निर्माण गर्ने कार्यमा सहयोग गरे।

मिच तुफानजस्ता भयानक विपत्ति हामी “डरलाग्दो समयमा” बाँचिरहेका छौं भन्‍ने दुःखदायी सम्झना हो। (२ तिमोथी ३:१-५) यस्ता विपत्तिहरूबाट साँचो सुरक्षा हामीले यस पृथ्वीमा परमेश्‍वरको राज्यको स्थापना भएपछि मात्र पाउनेछौं। (मत्ती ६:९, १०; प्रकाश २१:३, ४) तैपनि आफ्ना कोही पनि भाइहरूले मिचकै कारण ज्यान गुमाउन नपरेकोमा यहोवाका साक्षीहरू कृतज्ञ छन्‌।b उद्धारकहरूको कुरा सुन्दा तथा स्थानीय मण्डलीहरूको राम्रो व्यवस्थापनले गर्दा थुप्रै मानिसहरू खतराबाट बचे।

प्रभावित क्षेत्रका यहोवाका साक्षीहरूले विगत केही महिनादेखि पुनः आफ्नो आध्यात्मिक गतिविधिको तालिका कायम गर्न मेहेनत गरिरहेका छन्‌। उदाहरणका लागि, एल साल्भाडोरमा मिच शान्त भएको केही दिनपछि आयोजना गरिएको जिल्ला अधिवेशनमा उपस्थित हुन आँधीबेहरीबाट प्रभावित मानिसहरूलाई मदत गर्न प्रबन्ध मिलाइयो। यातायातको प्रबन्ध मिलाउन बसहरू भाडामा लिनुका साथै बस्ने ठाउँ पनि मिलाइयो। बिरामीहरू पनि उपस्थित हुनसकोस्‌ भनेर स्वास्थ्य सेवा पनि पुऱ्‍याइयो! अधिवेशन सफल भयो, आशा गरेभन्दा धेरै अर्थात्‌ ४६,८५५ जना उपस्थित भए। मिचको कारण आफ्नो घर, व्यापार दुवै गुमाएका साल्भाडोरका भाइ जोसे रिभेरा भन्छन्‌: “हामी यस विपत्तिको कारण भयभीत भएका थियौं। तर हाम्रा भाइहरूको आतिथ्य देखेर सम्मेलनबाट फर्कंदा हाम्रो मन परिवर्तन भयो।” रिपोर्टहरूअनुसार ती देशहरूमा यहोवाका साक्षीहरूको सभामा उपस्थिति निकै वृद्धि भएको छ। यो, बाहिरका मानिसहरूले हाम्रो उद्धारकार्यबाट प्रभावित भएको स्पष्ट प्रमाण हो।

तर सायद साक्षीहरू स्वयं नै सबैभन्दा बढी प्रभावित भएका छन्‌। बाढीबाट बचेका होण्डुरसका कार्लोस यसो भन्छन्‌, “मैले पहिले कहिल्यै यस्तो अनुभव गरेको थिइनँ। मैले व्यक्‍तिगत तवरमा आफ्ना भाइहरूको माया तथा स्नेह महसुस गरेको छु।” हो, मिच तुफानले पुऱ्‍याएको क्षति एक दिन विगतको कुरा हुनेछ। तर आफ्ना भाइहरूको मदतको निम्ति आफ्नो ज्यान र हातखुट्टाको माया नराखि मदत गरेका यहोवाका साक्षीहरूको सम्झना कहिल्यै बिर्सिनेछैन।

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूले साधरणतया एकअर्कोलाई “भाइ” र “बहिनी” भन्‍ने गर्छन्‌।

b आँधीबेहरीपछि संक्रामक रोगहरूको संख्यामा वृद्धि भयो। निकारागुआमा एक जना साक्षीको यसैको कारण मृत्यु भयो।

[पृष्ठ १९-मा भएको पेटी/चित्र]

छिमेकी राष्ट्रका साक्षीहरूले मदत गर्छन्‌

मौसमविद्‌हरूले मिच तुफान बेलिज पनि आउनेछ भनी बताएपछि त्यस राष्ट्र तम्तयार भयो। सरकारले तटिय इलाकाका सबै ठाउँबाट निस्कने घोषणा गरेपछि यहोवाका साक्षीहरू राजधानी बेलमोपान जुन झन्डै ८० किलोमिटर भित्र पर्छ वा समुद्रको सतहभन्दा उच्च अन्य शहरहरूमा जम्मा हुन थाले।

खुसीको कुरा बेलिजले मिचको क्रोध सामना गर्नु परेन। तर होण्डुरस, निकारागुवा र ग्वाटेमालाका भाइहरूको दुर्गति सुनेर बेलिजका भाइहरूले खाना, लत्ताकपडा, स्वच्छ पिउने पानी र पैसा चन्दास्वरूप दिए।

वास्तवमा छिमेकी राष्ट्रका भाइहरूले त्यस्तो प्रतिक्रिया देखाउनु सामान्य थियो। कोस्टा रिकाका भाइहरूले खाना, लत्ताकपडा, औषधीको चारवटा बडेमाका बट्टा पठाए। पानामाका भाइहरूले चन्दास्वरूप दिइएका सामग्रीहरू संकलन गर्न, छुट्याउन र पोका पार्न चारवटा केन्द्रहरू खोले। केही दिनभित्रै २०,००० किलोग्रामभन्दा बढी राहत सामग्रीहरू जम्मा गरियो। एक गैर साक्षीले यस्तो टिप्पणी गरे: “मैले सेनाहरू उद्धारकार्य व्यवस्थापनमा नम्बर एक हुन्‌ भन्ठानेको थिएँ। तर अहिले त त्यो स्थान यहोवाका साक्षीहरूले लिएको छ।” अहिले साक्षीहरूले यस मानिससित नियमित तवरमा बाइबल सच्चाइबारे कुरा गर्न थालेका छन्‌।

यातायात व्यापारमा संलग्न एक भाइले निकारागुवामा उद्धार सामग्रीहरू लग्न ट्रेलर तथा चालकको (गैरसाक्षी) प्रबन्ध मिलाए। पानामा र कोस्टा रिका दुवै देशका अधिकारीहरूले तिनीहरूको सीमाबाट जान कर मिनाहा गरिदिए। एउटा पेट्रोल पम्पले ट्रकलाई ओहोरदोहर गर्न पुग्ने तेल सित्तैमा भरिदिए! त्यस्तै गरी निकारागुवामा पनि भन्सार अधिकृतहरूले जाँच नगरी त्यसै जान दिए। तिनीहरूले भने, “यो यहोवाका साक्षीहरूको हो भने जाँच्नु पर्दैन। तिनीहरूले हामीलाई कहिल्यै कुनै समस्या दिएका छैनन्‌।”

तथापि, होण्डुरसमा बाटोबाट यात्रा गर्नु असम्भव थियो। तर होण्डुरस राजदूताबासमा काम गर्ने एक बहिनीले राजदूताबास मार्फत विमानद्वारा निश्‍शुल्क उद्धार सामग्रीहरू ढुवानी गर्ने प्रबन्ध मिलाए! यसरी १०,००० किलोग्राम भन्दा बढी सामग्रीहरू ढुवानी गरियो।

चाखलाग्दो कुरा, साक्षीहरूको उद्धार कार्यबाट केही गैरसाक्षीहरू धेरै प्रभावित भए। केही कम्पनीहरूले कार्डबोर्डका बट्टाहरू, टेप तथा प्लास्टिकका बट्टाहरू दिए। कसैले रकमहरू चन्दास्वरूप दिए भने कसैले भाउ घटाइदिए। होण्डुरसमा पठाउने सामानहरू ओसार्न २० जना साक्षीहरू आएको देख्दा पानामा विमानस्थलका कामदारहरू विशेष गरी प्रभावित भए। भोलिपल्ट बिहान, विमानस्थलका कोही कोही कामदारहरूले पनि केही मालतालहरू चन्दास्वरूप दिए।

[पृष्ठ २०-मा भएको पेटी]

मेक्सिकोमा पनि त्यस्तै उद्धारकार्य गरिन्छ

मेक्सिकोले मिच तुफानको कारण त्यति क्षति अनुभव गर्नु परेन। तर त्यस ज्यानमारा मध्य अमेरिकामा प्रवेश गर्नुअघि चियापास प्रान्तमा अविरल वर्षा भएको थियो। झन्डै ३५० समुदायहरू प्रभावित भएका थिए। कुनै कुनै शहर त स्वात्तै बगाएको थियो।

स्वाभाविकतः यस बाढीले त्यस इलाकाका यहोवाका साक्षीहरूलाई पनि धेरै कठिनाइमा पाऱ्‍यो। तथापि स्थानीय मण्डलीका प्राचीनहरूले तुरुन्तै कदम चाल्दा तुफानबाट त्यति प्रभावित हुन पाएन। उदाहरणका लागि, एउटा सानो समुदायमा प्राचीनहरू मण्डलीको प्रत्येक सदस्यकहाँ गएर अविरल वर्षा भइरहेमा राज्यभवनमा शरण लिन जानु भनी सम्झाए। त्यस समुदायमा राज्यभवन नै सबैभन्दा भरपर्दो ठाउँ थियो। झिसमिसे उज्यालोमा दुइटा बाढीग्रस्त नदीले शहरलाई घेऱ्‍यो। साक्षीहरू तथा केही छिमेकीहरू राज्यभवनको छतमा भागेर जाँदा बचे। एक जना साक्षीले पनि ज्यान गुमाउनु परेन।

मेक्सिकोमा १,००० जति साक्षीहरू सरकारी आवासगृहहरूमा जान विवश भए। झन्डै १५६ साक्षीहरूको घर पूर्णतया नाश भयो र २४ वटा चाहिं अलि अलि क्षति पुग्यो। यसबाहेक सातवटा राज्यभवनहरू पूर्णतया नाश भयो।

तसर्थ, यहोवाका साक्षीहरू तथा तिनीहरूको छिमेकीहरूलाई मदत गर्न छ वटा उद्धार समितिहरू व्यवस्थापन गरियो। खाना, लत्ताकपडा, ओढ्‌ने तथा अन्य सामग्रीहरू तुरुन्तै वितरण गरियो। तथापि, स्थानीय अधिकारीहरूलाई कसरी कुन हदसम्म उद्धारकार्य गरिएको छ भनी बताउँदा तिनीहरूले यसो भने: “सेनाले पनि यस्तो चाँडो गर्न सकेको छैन।”

लामो समयदेखि यहोवाका साक्षीहरू तिनीहरूको इमानदारिताको लागि प्रख्यात छन्‌ र अक्सर यसले तिनीहरूको फाइदा भएको छ। उदाहरणका लागि, एक समूह मानिसहरूले स्थानीय अधिकारीहरूसित मदत माग्दा तिनीहरूको समुदायमा कोही यहोवाका साक्षीहरू छन्‌ कि भनी सोधे। तिनीहरूले छ भनी उत्तर दिएपछि यसो भनियो: “त्यसोभए तिनीहरूमध्ये कसैलाई ल्याउ अनि उद्धार सामग्रीहरू तिनीहरूलाई बाँड्‌न लगाउने छौं!”

सम्पूर्ण परिस्थितिको सार एक स्थानीय मण्डलीका प्राचीनले राम्ररी लेखेका छन्‌: “यस विपत्तिको बावजूद भाइहरूले सकारात्मक मनोभाव राखेका छन्‌। आफ्नो ज्यान नै खतरामा राख्दै भाइहरू हाम्रो मदत गर्न खाना तथा बाइबल साहित्यहरू लिएर आए। यहोवालाई धन्यवाद दिने हामीसित थुप्रै कारणहरू छन्‌।”

[पृष्ठ १४-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

मेक्सिको

ग्वाटेमाला

बेलिज

एल साल्भाडोर

होण्डुरस

निकारागुवा

कोस्टा रिका

[पृष्ठ १५-मा भएको चित्र]

होण्डुरस

▪ ग्वासेरेक नदी

[पृष्ठ १६-मा भएको चित्र]

एलसाल्भाडोर

▪ चेलाङगाराको मुख्य बाटो

▪ जोसे लेमस तथा तिनका छोरीहरू बाँचे र राज्यभवनमा पनि कुनै क्षति भएन

▪ आफ्नो क्षतिग्रस्त घर अगाडि जोसे सान्तोस

[पृष्ठ १७-मा भएको चित्र]

निकारागुवा

▪ टेलिका पुग्ने पहिलो साइकल टोली

▪ एल गुयाबोका साक्षीहरूले खुसीसाथ खानाका पोकाहरू प्राप्त गरे

[पृष्ठ १८-मा भएको चित्र]

निकारागुवा

▪ स्वयंसेवकहरूले पुनर्निर्माण गरेका थुप्रै घरहरूमध्ये पहिलो

▪ स्थानीय मण्डलीका साक्षीहरूले खाना पोका पार्न मदत गरे

[पृष्ठ १८-मा भएको चित्र]

ग्वाटेमाला

▪ साराले माटोमा पुरिएका सात जना बच्चाहरूलाई निकाल्न मदत गरिन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने