प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १२/८ पृ. १८-१९
  • टागुआ फल—के यसले हात्तीलाई बचाउनसक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • टागुआ फल—के यसले हात्तीलाई बचाउनसक्छ?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • असाधारण खजूरको रूख
  • किन हात्तीको मित्र
  • टागुआको बहु प्रयोजन
  • हात्तीको सुँड
    सृष्टि या संयोग
  • तेल-खजूर—बहुउद्देश्‍यीय रूख
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १२/८ पृ. १८-१९

टागुआ फल—के यसले हात्तीलाई बचाउनसक्छ?

इक्वेडरका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

तिनीहरूको मित्रता अचम्मको छ। एउटाको वजन केही ग्राम मात्र छ भने अर्कोको वजन टनमा तौलिइन्छ। एउटा बोट हो भने अर्को जनावर। तिनीहरू भिन्‍नाभिन्‍नै महादेशमा पाइन्छन्‌। यद्यपि, दक्षिण अमेरिकामा पाइने त्यो सानो टागुआ फलले अजङगको हात्तीहरूको अनियन्त्रित हत्या हुनदेखि बचाउनसक्छ। वास्तवमा यो टागुआ फल के हो र यो कसरी हात्तीको मित्र हुन पुग्यो?

असाधारण खजूरको रूख

टागुआ फल एक प्रकारको खजूरको रूखको बीउ हो र यो खास गरी दक्षिण अमेरिकाको उत्तरी भागमा पाइन्छ। यी बिस्तारै बढ्‌ने रूखका सुन्दर पातहरू जमिनको सतहबाट उम्रन्छन्‌। वर्षौंसम्म रूखको मूढा नै देखिंदैन। दुई मिटर अग्लो टागुआ बोट कम्तीमा पनि ३५ देखि ४० वर्ष पुरानो हुन्छ। पातको ठ्याक्क मुनि नै ठूलो रेसादार झुप्पा बढ्‌न थाल्छ। यस झुप्पाको वजन प्रायः १० किलोग्राम जति हुन्छ र यसको फल एकदमै कस्सिएको काठेफल जस्तो हुन्छ। हरेक फलमा साधारणतया चारदेखि नौवटा बीउ हुन्छ र यो झन्डै झन्डै कुखुराको अण्डा जत्रो हुन्छ। भर्खरै लागेको फलमा नरिवलको पानी जस्तै तिर्खा मेटाउने तरल पदार्थ हुन्छ। त्यसपछि त्यो तरल पदार्थ खान हुने गुलियो थलथलेमा परिणत हुन्छ। तेस्रो तथा अन्तिम चरणमा त्यो थलथले कडा सेतो पदार्थमा परिणत हुन्छ र यो ठ्याक्कै हात्तीको दाह्राजस्तो देखिन्छ।

किन हात्तीको मित्र

हात्तीको दाह्राको विकल्पको रूपमा टागुआ फल साँचो अर्थमा हात्तीको मित्र भन्‍न सकिन्छ। हात्तीको दाह्राको लागि गरिएका निर्मम सिकारको कारण अफ्रिकी हात्तीहरूको ज्यान खतरामा छ। तथापि, टागुआ फल एउटा राम्रो विकल्प हो किनभने यो हात्तीको दाह्राजस्तै देखिन्छ र एकदमै कडा हुन्छ, टल्काउन पालिस लगाउन सकिन्छ अनि रंग पनि सजिलै सोस्छ। यो टागुआ फल र हात्तीको दाह्राबीच धेरै समानता भएको हुँदा शिल्पकारहरूले अन्तरराष्ट्रिय जगत्‌मै प्रतिबन्धित हात्तीको दाह्रा प्रयोग गरेको होइन भनी प्रमाणित गर्न खैरो बोक्रा अलिकता सामानमा टाँस्ने गर्छन्‌।

यो फल हालै मात्र पत्ता लागेको होइन। सन्‌ १७५० तिरै दक्षिण अमेरिकी पादरी क्वान डे सान्ता कट्रुडिसले आफ्नो अभिलेखमा टागुआ फलबारे उल्लेख गरिसकेका थिए र स-साना मूर्तिहरू बनाउने “सिंगमरमरको गोलासित” तुलना गरेका थिए। सन्‌ १९०० को सुरुतिर टागुआको मुख्य स्रोत इक्वेडरले वर्षेनी हजारौं टन निर्यात गर्न थालिसकेको थियो र यो विशेष गरी टाँक बनाउन प्रयोग गरिन्थ्यो। दोस्रो विश्‍वयुद्धपछि नयाँ र सस्तो प्लास्टिक प्रयोग गर्न थालेपछि टागुआको व्यापार पनि झन्डै झन्डै खत्तम भयो। हालै १८ महिना भित्र १,६५० टन टागुआ फल इक्वेडरबाट जर्मनी, इटाली, जापान, संयुक्‍त राज्यलगायत अन्य १८ वटा देशहरूमा निर्यात भएबाट यस फल पुनः प्रयोग हुन थालेको प्रमाण पाइन्छ।a अहिले टागुआको प्रशोधन र प्रयोग कसरी गरिन्छ?

टागुआको बहु प्रयोजन

दानामा हुने पानीको मात्रा हेरेर गर्मीको घाममा एकदेखि तीन महिनासम्म सुकाइन्छ। त्यसपछि मेसिनद्वारा त्यसको बोक्रा छोडाइन्छ, साइजअनुसार अलग अलग छुट्ट्याइन्छ र टाँक बनाउन चक्का चक्का पारिन्छ। टागुआ फलबाट बनाइएको “हात्तीको दाह्रा”-का टाँकहरू संसारको एकदमै किम्मती लुगाहरूमा प्रयोग गरिन्छ। तथापि, टागुआ टाँक बनाउन मात्र प्रयोग गरिने होइन। टागुआबाट बनाउने थुप्रै सामानहरूमध्ये गरगहना, बुद्धिचालको गोटी, हावाको उतारचढावले बजाउने वाद्ययन्त्र, पियानो, छाताको बिंड आदि हुन्‌।

तर टागुआ खजूरको काम त्यति मात्र होइन! प्रशोधन गर्दा निस्केको मिहिन धूलो जनावरको खाना पोसिलो बनाउन प्रयोग गरिन्छ। कोइला बनाउन पनि प्रयोग गरिन्छ। खजूरका पातहरूबाट पानी नछिर्ने छत बनाइन्छ। यसबाहेक, यसको कटनी तथा प्रशोधनलगायत निर्यात कार्यले गर्दा थुप्रै मानिसहरूले रोजगारी पाएका छन्‌।

अनि सबैभन्दा महत्त्वपूर्ण त, यस टागुआ फलले अफ्रिकी हात्तीको संरक्षणमा ठूलो योगदान पुऱ्‍याउनसक्छ। त्यसकारण, तपाईंलाई हात्तीको दाह्रा चाहिएमा अफ्रिकाको जंगलसम्म जाने कष्ट नगर्नुहोस्‌। दक्षिण अमेरिकाको उष्ण कटिबन्धीय जंगलतिर हेर्नुहोस्‌, त्यहाँ हात्तीको दाह्रा रूखैमा फल्छ! हो, हात्तीको मित्र टागुआ फललाई नबिर्सनुहोस्‌।

[फुटनोट]

a जनवरी १, १९९४ देखि जून १५, १९९५ सम्म।

[पृष्ठ १८, १९-मा भएका चित्रहरू]

१. टागुआको बोट

२. टागुआका फलका झुप्पाहरू

३. टागुआको फल दुई फ्याक पार्दा देखिने बीउ

४. टागुआ फल सुकेपछि एकदमै कडा हुन्छ

५. टागुआको टाँक

६. किम्मती मोती जडिएको टागुआको गहना

७. टागुआबाट बनाइएको स-साना मूर्तिहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने