प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ८/८ पृ. २७-३०
  • उखु—सबैभन्दा अग्लो घाँस

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उखु—सबैभन्दा अग्लो घाँस
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उखु क्षेत्रको भ्रमण
  • यसको उत्पत्ति तथा खेती
  • कटनी गर्नुअघि आगो लगाउने?
  • मिलमा
  • खरायो र पाहा—एउटा महादेशका आक्रमणकारीहरू
    ब्यूँझनुहोस्‌!—२००५
  • घाँस किन हरियो हुन्छ—फोटोसिन्थेसिस प्रक्रियालाई नियालेर हेर्दा
    ब्यूँझनुहोस्‌!—१९९७
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२०००
g00 ८/८ पृ. २७-३०

उखु—सबैभन्दा अग्लो घाँस

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

चिनी छैन भने के गर्ने होला? चिनीविना संसार चल्दैन भन्‍नु त अचाक्ली बढाइचढाइ गरेजस्तो होला तर थुप्रैको भोजनमा आमूल परिवर्तन भने गर्नु पर्नेछ। हो, अहिले संसारका प्रायजसो भागमा दिनहुँको भोजनमा चिनी प्रयोग हुन्छ र यसले गर्दा चिनी उत्पादन एउटा विश्‍वव्यापी उद्योग भएको छ।

क्युबादेखि भारत र ब्राजिलदेखि अफ्रिकाका लाखौं मानिसहरू उखु खेती र त्यसको कटनी गर्छन्‌। भनौं भने, एकताक चिनी उत्पादन नै संसारको सबैभन्दा ठूलो र अत्यधिक पैसा कमाउने उद्योग थियो। उखुले जति अरू कुनै पनि बोटले संसारलाई यस्तो मोड दिएको छैन भन्‍न सकिन्छ।

के तपाईं यो अचम्मको बोटबारे अझ बढी जान्‍न चाहनुहुन्छ? चाहनुहुन्छ भने, आउनुहोस्‌ हामीसँगै अस्ट्रेलियाको क्वीन्सल्याण्ड इलाका भ्रमण गर्न जाऔं। यो इलाकामा त्यति धेरै उखु उत्पादन नहुने भए तापनि प्रभावकारी खेती र प्रशोधन विधिले गर्दा संसारको प्रमुख निर्यातकर्ता भएको छ।

उखु क्षेत्रको भ्रमण

गर्मी र ओसिलो मौसम छ। पाकेको उखुका लाँक्राहरू लहलहाइरहेको खेतमा उष्ण कटिबन्धीय इलाकामा लाग्ने टन्टलापुर घाम लागिरहेको छ। उखु काट्‌ने ठूलो मेशिन बिस्तारै खेतमा लगाइन्छ र यो मेशिन गहुँ खेतालाजस्तै देखिन्छ अनि यसले काटेको उखु छेउमा गुडिरहेको ट्रेलरमा जम्मा गरिन्छ। यसरी टुक्रा गरिएको डाँठबाट रस निस्कन थाल्छ अनि गुलियो, ओसिलो गन्ध आउँछ। यो अचम्मको घाँसबाट निस्कने रस थुप्रै प्रक्रियापछि तपाईंले प्रयोग गर्नुहुने चिनीमा परिणत हुन्छ।

केही समय अघिसम्म यहाँ अस्ट्रेलियामा उखु हातैले काटिन्थ्यो र थुप्रै देशमा अझै पनि हातैले काटिन्छ। यो दृश्‍य कल्पना गर्नुहोस्‌। खेतालाहरू हातैले उखु काट्‌दैछन्‌। खलखली पसिना बगाउँदै खेतालाहरू पंक्‍तिमा उभिएर उखु काट्‌दैछन्‌। सैन्य कार्यजस्तै कुनै गल्ती नगरी खेतालाहरू एउटा हातले उखुको कुयेर उठाउँदै अर्को हातले छेउमा बिसाउँछन्‌। छ्याक्क! छ्याक्क! आवाज निस्कन्छ। खेतालाहरू धारिलो चुप्पीले तेज रफ्तारमा उखुको लाँक्रा काट्‌छन्‌ र सानो ठूटा मात्र बाँकी छोड्‌छन्‌। यसलाई छेउमा चट्ट मिलाएर राखिसकेपछि फेरि यसरी नै अरू पनि काट्‌छन्‌। संसारभरि यो अवस्था बिस्तार बिस्तारै परिवर्तन हुँदैछ किनभने थुप्रै देशमा मेशिनको प्रयोग हुन थालिसकेको छ।

अस्ट्रेलियाको उखु क्षेत्रको प्रायजसो भाग तटवर्ती इलाकामा पर्छ र यो प्रख्यात ग्रेट ब्यारियर रिफ सँगसँगै पर्छ र २,१०० किलोमिटर लामो छ। (“ग्रेट ब्यारियर रिफको भ्रमण” विषयक ब्यूँझनुहोस्‌!-को अंग्रेजी अंक, जून ८, १९९१ मा प्रकाशित लेख हेर्नुहोस्‌।) यहाँ वर्षभरि न्यानो, ओसिलो मौसम हुने हुँदा, उखुको खेती फस्टाउँछ। समुद्री तटनेर बसोबास गर्ने लगभग ६,५०० खेताला परिवार छन्‌ अनि टाढाबाट हेर्दा तिनीहरूको घर अंगुरको झुप्पाजस्तो देखिन्छ।

लामो यात्रापछि हामीले अलि पर, क्वीन्सल्याण्डको केन्द्रीय तटवर्ती इलाका, बुन्डाबर्गको चिनी शहर देख्यौं। एउटा सानो पहाडबाट ओरालो झर्दा हामीले अत्यन्तै रोमाञ्चकारी दृश्‍य देख्यौं—आँखाले भ्याउञ्जेल टाढासम्म उखुका लाँक्राहरू लहलहाइरहेका थिए! अनि कस्तो विविधता! उखुका लाँक्राहरू सबै पाकिसकेका छैनन्‌। त्यसैकारण, हरियो र सुनौला रंगको मनमोहक दृश्‍य बन्छ अनि यो साल खेती नलगाएको वा भर्खरै कटनी गरेका ठाउँहरू भने गाडा खैरो रङका छन्‌।

जुलाई, सबैभन्दा शीतल महिना हो र उखु कटनी गरेर पेल्ने समय भर्खरै सुरु भएको छ। यो क्रम डिसेम्बर महिनासम्म चलिरहनेछ किनभने सबै खेती एकै चोटि पाक्दैन। कटनी गरिसकेका उखुलाई अब के गरिन्छ भनी हेर्न उत्सुक हामीहरू चिनीको मिल हेर्न चाहन्छौं। तर त्यो हेर्नुअघि उखुबारे नै केही कुराहरू थाह पाउनु बेस होला भन्‍ने सुझाउ दिइयो। त्यसकारण हामी पहिले त्यो इलाकामा स्थापना गरिएको चिनी परीक्षण केन्द्रमा जाने निर्णय गऱ्‍यौं। यहाँ वैज्ञानिकहरूले नयाँ नयाँ प्रकारका उखु विकास गर्छन्‌ अनि उखु खेती र उत्पादन बढाउने अनुसन्धान गर्छन्‌।

यसको उत्पत्ति तथा खेती

चिनी अनुसन्धान केन्द्रमा कार्यरत मिलनसार खाद्य विशेषज्ञ हामीलाई उखु र यसको खेतीबारे बताउन पाएकोमा खुसी छन्‌। सुरुमा यो दक्षिणपूर्वी एसिया र न्यु गिनियाको रेन फरेस्टमा पाइन्थ्यो। उखु, घाँस जातमा पर्ने अग्लो घाँस हो र यो जातमा बगैंचे घाँस, अन्‍न, बाँस इत्यादि पर्छन्‌। यी सबै बोटहरूले फोटोसिन्थेसिसद्वारा पातमा चिनी उत्पादन गर्छन्‌। यद्यपि, ती बोटहरूभन्दा उखु भिन्‍नै हुनुको कारण हो, यसले निकै चिनी उत्पादन गर्छ र चिनीलाई गुलियो रसको रूपमा रेसेदार डाँठहरूमा सञ्चय गर्छ।

पुरातन भारतमा उखुको व्यापक खेती गरिन्थ्यो। सा.यु.पू. ३२७ मा महान्‌ सिकन्दरको आक्रमणकारी सैन्यटोलीका बुद्धिजीविहरूले भारतका स्थानीय बासिन्दाहरूले  “अचम्मको घाँस चपाउने गरेको अनि त्यसमा मौरीको सहायताविनै जम्मा भएको एक प्रकारको मह हुँदो रहेछ” भन्‍ने कुरा बताएका थिए। अनि १५ औं शताब्दीमा विश्‍व अन्वेषण र विकासको क्रम तीव्र हुँदै गएपछि उखु खेतीको विस्तार, डढेलोजस्तै फैलियो। अहिले, हजारौं किसिमका उखु पाइन्छन्‌ र सालाखाला ८० वटा देशले वर्षेनी जम्माजम्मी एक अरब टन चिनी उत्पादन गर्छन्‌।

संसारको प्रायजसो भागमा उखु खेती गर्नका लागि खेतालाहरूले निकै मेहनत गर्नुपर्छ। पाकेको उखुको लाँक्रा ४० सेन्टिमिटर लम्बाइमा काटिन्छ अनि १.५ मिटरको दूरीमा बनाइएका खाल्टाहरूमा राखिन्छ। हरेक कुयेरमा ८ देखि १२ वटा सम्म लाँक्राहरू हुन्छन्‌ र यो १२ देखि १६ महिनाभित्र पाक्छ। उखुको लाँक्रा पाकिसकेको खेतमा हिंड्‌दा आङ सिरिङ हुनसक्छ। उखुको लाँक्रा र यसको टुप्पोमा लाग्ने पातहरूसमेत गर्दा यसको उचाइ चार मिटरसम्म हुनसक्छ। यो स्यार्र स्यार्र आवाज, बतासको हो कि सर्प वा मुसाको? होस गर्नुस्‌ है, उता खुला मैदानतिर भाग्नुपर्ला!

उखुमा लाग्ने कीरा र रोगहरू लाग्न नदिन अनुसन्धान भइरहेको छ। सबै त होइन, तर कतिपय अनुसन्धान भने सफल भएका छन्‌। उदाहरणका लागि, उखुमा लाग्ने एक प्रकारको कीरा हटाउन १९३५ मा विशेषज्ञहरूले उत्तरी क्वीन्सल्याण्डमा, हवाइमा पाइने भ्यागुतो ल्याएका थिए। तर दुःखको कुरा, यी भ्यागुताहरूले उखुमा लाग्ने कीरा खानुको साटो अरू नै खाना रोजे। फलतः भ्यागुताहरूको बिगबिगी उत्तरपूर्वी अस्ट्रेलियाको लागि एउटा ठूलो समस्यै भएको छ।

कटनी गर्नुअघि आगो लगाउने?

रात ढल्कँदै गएपछि स्थानीय खेतालाहरूले पाकेको उखु खेतीमा आगो लगाएको दृश्‍य देखेर हामी दंग पऱ्‍यौं। केही सेकेन्डभित्रै सानो खेत ह्वारह्वारती दन्कियो र आगोका ज्वालाहरूले माथि आकास छुन खोजे। यसरी आगो लगाएर कटनी गर्न र मिलमा बाधा पुऱ्‍याउने अनावश्‍यक कुराहरू हटाइन्छ। तथापि, हालै भने त्यसरी आगो नलगाइकनै कटनी गर्ने चलन लोकप्रिय हुन थालेको छ। यो तरिकालाई हरियो उखु कटनी भनिन्छ। यसो गर्दा चिनीको उत्पादन बढ्‌नुका साथै झारपातहरू भुइँमै खस्छ र यसले जमिनलाई भासिनदेखि रोक्छ तथा झारपात उम्रन दिंदैन।

उखु उत्पादन हुने थुप्रै देशमा अझै पनि हातैले कटनी गरिने भए तापनि, थुप्रै देशले उखु काट्‌ने विशाल मेशिनहरू प्रयोग गर्न थालेका छन्‌। यी विशाल मेशिनहरू अग्ला उखुका बोटहरूमाथि चलाइन्छन्‌। यसले लाँक्राको टुप्पो काट्‌छ अनि अनावश्‍यक पातहरू फ्याँकेपछि स-सानो टुक्रा बनाएर प्रशोधन गर्नको लागि मिलमा पुऱ्‍याउँछ। उखु काट्‌ने मान्छेले कडा मेहनत गरेर प्रति दिन औसतन ५ टन काट्‌छ भने मेशिनले दिनहुँ सजिलैसित ३०० टनभन्दा बढी काट्‌न सक्छ। वर्षौं कटनी गरिसकेपछि मात्र चिनीको उत्पादन कम हुन थाल्छ अनि नयाँ बोट रोप्नुपर्ने हुन्छ।

उखुको लाँक्रा काटिसकेपछि ढिलासुस्ती गर्नु हुँदैन किनभने उखु काटिसकेपछि त्यसमा भएको रस छिट्टै बिग्रन्छ। यसलाई सकेसम्म चाँडै मिलमा पुऱ्‍याउन क्वीन्सल्याण्डको उखु क्षेत्रहरूमा ४,१०० किलोमिटर लामो ट्राम मार्गको सुविधा छ। यी मार्गहरूमा गुड्‌ने स-साना मालवाहक गाडीहरूमा टन्‍न उखु खाँदेर ग्रामीण इलाका हुँदो गइरहेको दृश्‍य रमणीय तथा टाढैबाट प्रस्ट देखिन्छ।

मिलमा

मिलको भ्रमण एउटा रमाइलो अनुभव हो। सबैभन्दा पहिले, टन्‍न उखुले भरिएका गाडीहरू देखिन्छन्‌। ठूलठूला मेशिनले उखु काट्‌दै अनि त्यसलाई रोलरले पेल्दै चिनीको रस निकालिन्छ। रस निकालेर बाँकी रहेको रेसा सुकाइन्छ अनि मिलको लागि चाहिने इन्धनको रूपमा प्रयोग गरिन्छ। अझ बाँकी रहेको खण्डमा कागज तथा निर्माण-सामग्री उत्पादकहरूलाई बिक्री गरिन्छ।

त्यसपछि, चिनीको रसमा हुने फोहर निकालिन्छ र शुद्ध झोल मात्र बाँकी रहन्छ। यसबाट निस्केका फोहर अर्थात्‌ लेदो, मलको रूपमा प्रयोग गरिन्छ। यसबाट निस्कने अर्को तत्त्व सखर हो र यो रम तथा अन्य रासायनिक पदार्थको कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ। उखुको विविधता अनि मिलको कार्यकुशलता साँच्चै प्रभावकारी छ।

यसरी शुद्ध पारिएको झोललाई त्यसमा भएको नचाहिने पानी निख्रने गरी उमालेर बाक्लो बनाइन्छ र यसमा चिनीका कणहरू राखिन्छ। यी कणहरू बढेर जत्रो हुनुपर्ने हो, नहोउञ्जेल त्यसैमा राखिन्छ। त्यसपछि, यसलाई मिश्रणबाट निकालेर सुकाइन्छ। यसबाट खैरो खस्रो चिनी बन्छ। यसलाई अझ शुद्ध पार्दै सेतो दाना बनाइन्छ र प्रायजसोको भोजनमा प्रयोग गरिने चिनी यही हो।

सायद, उखु क्षेत्रको मनमोहक तथा रोमाञ्चकारी भ्रमणपछि तपाईंको चिया वा कफी अब अझ अलि गुलियो हुन्छ होला। तर तपाईं मधुमेह रोगी हुनुहुन्छ भने, चिनीको सट्टा अरू केही प्रयोग गर्नुपर्ने हुनसक्छ।

निस्सन्देह, यस्तो विविधताले भरिएको र अद्‌भुत बोट सृजना गर्नुहुने र त्यसलाई प्रशस्त मात्रामा हुर्कन दिनुहुने व्यक्‍तिबाट प्रभावित भएका छौं। सबैभन्दा अग्लो घाँस, उखु साँच्चै अचम्मको छ!

[पृष्ठ २८-मा भएको पेटी]

चुकन्दर कि उखु?

दुइटा प्रमुख खाद्यान्‍नबाट चिनी उत्पादन हुन्छ। उखु, विशेष गरी उष्ण कटिबन्धीय इलाकामा खेती गरिन्छ अनि संसारमा उत्पादन हुने ६५ प्रतिशत चिनीको स्रोत यही हो। बाँकी ३५ प्रतिशत भने पूर्वी तथा पश्‍चिमी युरोप अनि उत्तर अमेरिकाजस्ता चिसो ठाउँमा उत्पादन हुने चुकन्दरबाट प्राप्त हुन्छ। यी दुवैबाट प्राप्त हुने चिनीबीच रासायनिक संरचनामा कुनै भिन्‍नता छैन।

[पृष्ठ २९-मा भएको चित्र]

कटनी गर्नुअघि उखुमा आगो लगाइँदै

[पृष्ठ २९-मा भएको चित्र]

मेशिनबाट उखु कटनी। ट्राक्टरले ट्रेलरलाई तान्दैछ

[पृष्ठ २७-मा भएको चित्रको स्रोत]

All pictures on pages 27-30: Queensland Sugar Corporation

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने