रूसको सुन्दर प्रायद्वीप कामचाट्का
रूसका ब्यूँझनुहोस्! लेखक
तीन सय वर्षअघिको कुरा हो, एसिया छिचोलेर पूर्वतिर लागिरहेका रूसी अन्वेषकहरू एउटा पहाडी प्रायद्वीपमा आइपुगे। अकोट्स समुद्र र बेरिङ समुद्रलाई छुट्याउने गरी दक्षिणतर्फको प्रशान्त महासागरतिर चोसो परेको यो प्रायद्वीप क्षेत्रफलको हिसाबले इटालीभन्दा अलिकता मात्र ठूलो छ। तर पनि प्रकृतिको गर्भमा लुकेर रहेको यस भूभागको सौन्दर्यबारे भने अधिकांश अनभिज्ञ नै छन्।
जाडो याममा कामचाट्काको भित्री भूभागभन्दा समुद्री किनार अलि बढी न्यानो हुन्छ। भित्री भूभागको कुनै-कुनै ठाउँमा २० फिटभन्दा बाक्लो र कहिलेकाहीं त ४० फिटसम्म बाक्लो हिउँ पर्छ! गर्मी महिनामा भने यस प्रायद्वीपलाई अक्सर समुद्री हुस्सुले डम्म ढाकेको हुन्छ अनि जोडसित हुरी चल्छ। यहाँ पानी पनि मनग्गे नै पर्छ। ज्वालामुखी विस्फोट हुँदा निस्केका पदार्थहरूले बनेको यहाँको माटोमा ससाना झाडीहरूदेखि लिएर मान्छे जत्तिकै अग्लो घाँस र विभिन्न प्रकारका सुन्दर जंगली फूलहरू निकै राम्ररी मौलाउँछन्। यहाँ पाइने जंगली गुलाफको फूल यत्ति सुन्दर हुन्छ कि यसलाई त्यस ठाउँको रानी नै भनिन्छ।
यस प्रायद्वीपको एक तिहाइ भाग भोजपत्रको रूखले ढाकिएको छ। जोडसित चल्ने हुरी र भारी हिमपातले गर्दा यी रूखका डाँठ र हाँगाहरू बाङ्गाटिङ्गा हुन्छन्। ढिलो बढ्ने र साह्रै दह्रा यी रूखहरू असाध्यै बलिया हुन्छन् अनि पहरा छेडेर भित्रसम्म जानसक्ने यसको जराले गर्दा टोपी नै झर्ला जस्तो भीरमा पनि तेर्सो परेर उम्रन सक्छन्! जून महिनामा यसको पालुवा पलाउँदा हिउँ पग्लेकै हुँदैन र अगस्त महिनामा पात पहेंलो हुन थालेपछि जाडो महिना सुरु हुन्छ।
ज्वालामुखी र तातो पानीको फोहोरा तथा कुण्ड
प्रशान्त महासागरमा बढी ज्वालामुखी विस्फोट हुने र भूकम्प जाने क्षेत्रहरूको एउटा गोलाकार घेरा छ। यसलाई ज्वालावृत्त (रिङ अफ फायर) भनेर चिनिन्छ। यही ज्वालावृत्तमा पर्ने कामचाट्कामा लगभग ३० वटा सक्रिय ज्वालामुखी छन्। “चट्ट मिलेको, सुन्दर शंकु” भएको क्ल्युचेफ्स्क्या ज्वालामुखीको उचाइ समुद्री सतहदेखि ४,७५० मिटर छ। युरोप र एसियाको सिमानामा रहेका सक्रिय ज्वालामुखीहरूमध्ये सबैभन्दा ठूलो यही नै हो। सन् १६९७ मा रूसी अन्वेषकहरूले पहिलो पटक कामचाट्कामा पाइला टेकेदेखि यता यस प्रायद्वीपमा ६०० भन्दा बढी ज्वालामुखी विस्फोट भइसकेका छन्।
सन् १९७५/७६ मा टोल्बाचिक क्षेत्रमा लामो चिरा पऱ्यो र त्यहाँबाट निस्केको ज्वालामुखीको लप्का २,५०० मिटरभन्दा माथिसम्म पुग्यो! विस्फोट हुँदा निस्केको ज्योति र बाक्लो खरानीले गर्दा दृश्य निकै भयावह देखिन्थ्यो। डेढ वर्षसम्म लगातार विस्फोट भएको ज्वालामुखीले चारवटा नयाँ शंकु अर्थात् सानो पहाड निर्माण गऱ्यो। ताल र नदीहरू लोप भए अनि पूरै जंगल सखाप भयो। वरपरको ठूलो भूभाग मरुभूमिमा परिणत भयो।
तर खुसीको कुरा नै भनौं, प्रायजसो विस्फोटनहरू मानवबस्तीदेखि टाढा भएका छन् र अत्यन्त थोरै व्यक्तिहरूको मात्र ज्यान गएको छ। तैपनि यो ठाउँ घुम्न जाँदा विशेष सावधानी अपनाउनुपर्छ। त्यसमा पनि किक्पिनेच ज्वालामुखीको फेदमा पर्ने भ्याली अफ डेथ (मृत्युको खोंच) भन्ने ठाउँमा जाँदै हुनुहुन्छ भने त झनै होसियार हुनुपर्छ। हावा नचलेको बेला र विशेष गरी हिउँ पग्लने बेला, ज्वालामुखीबाट निस्केको विषालु ग्याँस जम्मा भएर बस्छ। यसको कारण थुप्रै जंगली जनावरहरू मर्छन्। एक पटक यस उपत्यकामा दसवटा भालु र थुप्रै साना जनावरहरूको सिनो फेला परेको थियो।
त्यस ठाउँमा भएको एउटा ठूलो ज्वालामुखीको मुखलाई उजोन क्याल्डेरा भनिन्छ। यस क्याल्डेरामा भकभक उम्लिरहेको गिलो माटोका साथै रंगीबिरंगी लेउ भएको अनि तातो वाफ उडिरहेको तालहरू देख्न सकिन्छ। सन् १९४१ मा फेला परेको भ्याली अफ गिजर्स् (तातो पानीका फोहोराहरूको उपत्यका) पनि यही क्षेत्रमा पर्छ। कुनै-कुनै फोहोराले दुई/तीन मिनेटमा एक चोटि तातो पानी फ्याँक्छ भने कुनै-कुनैले दुई/चार दिनमा एक चोटि। पिट्रोपाभ्लोभ्स्क कामचाट्स्कीबाट लगभग १८० किलोमिटर उत्तरमा पर्ने यो अचम्मको ठाउँ हेर्न पर्यटकहरू हेलिकप्टर चढेर जान्छन्। तथापि, पर्यावरणीय सन्तुलन सजिलै खलबलिन सक्ने भएकोले यहाँ भ्रमण गर्ने पर्यटकहरूको संख्या कडाइका साथ नियन्त्रण गरिएको छ। यसका साथै कामचाट्काका छवटा इलाका विश्व सम्पदा सूचीमा परिसकेका छन्।
कामचाट्कामा असंख्य तातो पानीका कुण्डहरू पनि छन्। तीमध्ये अधिकांशको तापक्रम ३०-४० डिग्री सेल्सियस छ। यसमा डुबुल्की मार्न पाउँदा पर्यटकहरू दंग पर्छन् अनि लामो समयसम्म चल्ने जाडो मौसममा यी कुण्डहरूले केही मात्रामा भए पनि राहत दिन्छ। जमिनमुनिको ताप सदुपयोग गरेर विद्युत् पनि उत्पादन गरिएको छ। यस प्रविधिको उपयोग गरेर विद्युत् उत्पादन गर्ने रूसको पहिलो विद्युत् गृह यसै प्रायद्वीपमा स्थापना गरिएको थियो।
भालु, सालमोन र समुद्री चील
कामचाट्कामा अझै पनि १०,००० जति खैरो भालु पाइन्छन्। तिनीहरूको औसत तौल १५० देखि २०० किलोसम्म हुन्छ। पूरै उमेर बाँच्न पाउने हो भने त यसको तीन गुना बढी हुने थियो। आदिवासी इटल्मेनहरूको लोककथाहरूले बताएअनुसार उनीहरू भालुलाई निकै श्रद्धा गर्थे र उनीहरूबीच “दाजुभाइको” सम्बन्ध थियो। तर आधुनिक हातहतियारको आगमनसँगै यस्तो सम्बन्धमा पूर्णविराम लाग्यो। अहिले संरक्षणविद्हरू यो भालुको भविष्यप्रति चिन्तित छन्।
यो भालु लजालु स्वभावको हुन्छ र कमै मात्रामा बाहिर देखा पर्छ। तर जून महिनामा सालमोन माछाले अण्डा पार्ने बेला भने हुलका हुल भालुहरू नदी किनारमा देखा पर्छन्। त्यति बेला एउटा भालुले दुई दर्जनसम्म सालमोन माछा खान्छ! यो भालु किन यस्तो खन्चुवा भएको? जाडो महिनामा केही खानेकुरा नपाइने हुनाले यो भालु गुफाभित्र चुपचाप सुतेर शक्ति सञ्चय गर्छ। त्यसकारण यसले गर्मी महिनामै टन्न खाएर जाडो महिनाभरिको लागि पुग्ने गरी बोसो जम्मा गर्छ।
सालमोन भनेपछि समुद्री चील पनि हुरुक्कै हुन्छ। यसले आफ्नो पखेटा फैलाउँदा एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्मको लम्बाइ साढे दुई मिटरसम्म हुन्छ। प्रायजसो कालो रङमा पाइने यी चीलहरूको काँधमा एउटा सेतो टाटो हुन्छ अनि पुच्छरचाहिं सेतो रङको र बन्चरोको फलामे भागको आकारजस्तो हुन्छ। अहिले लगभग ५,००० को संख्यामा बाँकी रहेको यो चील दिन-दिनै घट्दैछ। यो चील विश्वमा अन्त कतै पाइँदैन तर कहिलेकाहीं अलास्काको अलुसन र प्रिब्लोफ टापुमा भने देखिएको छ। यो चराले वर्षौंसम्म एउटै गुँड प्रयोग गर्छ। बरु गुँड बिग्रिहाल्यो भने त्यसैलाई मर्मत गर्छ र अझ ठूलो बनाउँदै लैजान्छ। यसरी ठूलो बनाउँदै लैजाने क्रममा एक पटक एउटा गुँडको व्यास ३ मिटरसम्म पुग्यो र असाध्यै गह्रौं भएर गुँड लगाएको रूखको हाँगो नै भाँच्चियो!
कामचाट्काका बासिन्दाहरू
अहिले कामचाट्कामा बस्नेहरू प्रायजसो रूसीहरू छन् तर हजारौं आदिवासीहरू पनि त्यहाँ बसोवास गर्छन्। यी आदिवासीहरूमा कोर्याकहरूको बाहुल्यता छ र उनीहरू उत्तरी भागमा बस्छन्। चुक्ची र इटल्मेनहरू पनि आदिवासीहरू हुन् र उनीहरूको आ-आफ्नै भाषा छ। यहाँका अधिकांश बासिन्दाहरू कामचाट्काको सदरमुकाम, पिट्रोपाभ्लोभ्स्क कामचाट्स्कीमै बस्छन्। प्रायद्वीपको अन्य भागको जनघनत्व निकै पातलो छ। समुद्री किनार तथा नदी छेउका अधिकांश गाउँहरूमा पुग्न डुंगा वा विमान नचढी अरू उपाय नै छैन।
माछा मार्ने र गँगटो समात्ने पेसाले यहाँको अर्थव्यवस्थामा महत्त्वपूर्ण भूमिका खेल्छ। कामचाट्कामा पाइने ठूलो खालको रातो गँगटो निकै लोकप्रिय छ। एउटा च्याप्ने पञ्जाको टुप्पोदेखि अर्को पञ्जाको टुप्पोसम्मको लम्बाइ १.७ मिटर हुने यो रंगीन गँगटोले यसका पारखीहरूमाझ सजावट र स्वाद दुवैका लागि नाउँ कमाएको छ।
सन् १९८९ देखि यहोवाका साक्षीहरू बेग्लै प्रकारको माछा समात्ने उद्देश्यका साथ कामचाट्का पुगेका छन्। “मानिसहरूका जलाहारी” भएको हुँदा तिनीहरूले बाहिरी दुनियाँदेखि टाढा रहेको कामचाट्काका बासिन्दाहरूलाई पनि परमेश्वरको राज्यको सुसमाचार सुनाइरहेका छन्। (मत्ती ४:१९; २४:१४) कसै-कसैले राम्रो प्रतिक्रिया देखाएका छन् अनि सृष्टिको पूजा गर्न छोडेर, यसको सृष्टिकर्ता यहोवा परमेश्वरलाई चिन्न र उहाँको उपासाना गर्न अरूलाई समेत मदत दिएका छन्। फलस्वरूप, त्यहाँका थुप्रै व्यक्तिहरू त्यस ठाउँमा व्याप्त प्रेतात्माको डरदेखि मुक्त भएका छन्। (याकूब ४:७) तिनीहरूले सम्पूर्ण पृथ्वीबाट सबै दुष्टता र दुष्टहरू हटाइने अनि “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण” हुने भावी समयबारे पनि सिकिरहेका छन्।—यशैया ११:९. (g 3/07)
[पृष्ठ १८-मा भएको पेटी/चित्र]
भव्य क्याल्डेरा
हेर्दाखेरि, ठूलो मुख भएको गहिरो खाडलजस्तो देखिने उजोन क्याल्डेराको व्यास दस किलोमिटर छ। पुरातन समयमा विस्फोट भएको ज्वालामुखीको कारण यो क्याल्डेरा बनेको हो। एउटा किताबले बताएअनुसार यसको भिरालो सतहमा “कामचाट्कामा पाइने हरेक चीज पाइन्छ।” यस क्याल्डेरामा तातो र चिसो पानीका कुण्ड, भकभक उम्लेर तातो वाफ छुट्दै गरेको दलदले हिलो, ज्वालामुखीको चिराबाट निस्किएको तातो लेदो, माछा र हाँसहरू पौडिरहेका कञ्चन ताल अनि थरीथरीका बोटबिरुवाहरू पाइन्छ।
कामचाट्कामा पाइने अचम्मका कुराहरू (मिराकल्स् अफ कामचाट्का ल्याण्ड) भन्ने किताबअनुसार यहाँको शरद् ऋतु असाध्यै छोटो भए तापनि यतिबेला यो जत्तिको बिछट्टै सुन्दर ठाउँ “संसारमा अन्त कतै हुँदैन होला।” पहेंला र सुनौला भोजपत्रका रूखहरूका बीच-बीचमा उज्यालो रातो रङका बोटबिरुवाहरू कत्ति सुन्दर देखिएलान्! अनि रनक्क तातेको धर्तीबाट निस्केको सेतो वाफले बनाएका खम्बाजस्ता आकृतिहरू गाढा निलो आकाशको पृष्ठभूमिमा पर्दा झनै कस्तो सुन्दर देखिएला, त्यसको त कुरै नगरौं! अनि हिउँका ससाना कणहरूले छपक्कै ढाकिएका लाखौं पातहरू भुइँमा झर्दा, एकाबिहानै सुनिने मधुर आवाज जाडो महिना सुरु हुन लागेको संकेत गर्दै कुनै गायकले गाएको गीतभन्दा कम लाग्दैन।
[पृष्ठ १९-मा भएको पेटी]
विषालु ताल!
कारिम्स्की तालमुनि रहेको ज्वालामुखी अब कहिल्यै पनि विफोस्ट हुँदैन होला भन्ठानिएको थियो। तर सन् १९९६ को कुरा हो, यो शान्त ज्वालामुखी अचानक विस्फोट भयो। यसले उत्पन्न गरेको १० मिटर अग्लो छालले वरपरको जंगल सखाप पाऱ्यो। केही छिनमै तालको पानी कुनै पनि जीवित् प्राणी बाँच्न नसक्ने गरी अम्लीय भयो। तर अचम्मको कुरा, अनुसन्धाता एन्ड्रु लोगनले बताएअनुसार यत्रो ज्वालामुखी विस्फोट हुँदा र छाल उत्पन्न हुँदा पनि तालको वरपर कुनै सिनो फेला परेन। तिनी भन्छन्, “ज्वालामुखी विस्फोट हुनुअघि कारिम्स्की तालमा लाखौं माछा (मुख्य गरी सालमोन र ट्राउट) थिए। विस्फोटनपछि तालमा जीवित् कुरा केही रहेन।” तैपनि थुप्रै माछा बचेको हुनुपर्छ। वैज्ञानिकहरूले अनुमान गरेअनुसार पानीमा भएको रासायनिक परिवर्तनले गर्दा ज्वालामुखी विस्फोट हुँदैछ भनेर माछाहरूले पहिल्यै चाल पाएको हुनुपर्छ। त्यसपछि सबै माछाहरू नजिकैको कारिम्स्की नदीतिर भागेका हुन सक्छन्।
[पृष्ठ १६-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
रूस
कामचाट्का