अध्याय ३९
घमन्डी र नम्रहरू
बप्तिस्मा गराउने यूहन्नाका गुणहरू उल्लेख गरेपछि आफ्ना वरिपरि भएका घमन्डी र अधीर व्यक्तिहरूलाई येशू ध्यान दिनुहुन्छ। सबैले सुन्ने गरी उहाँ भन्नुहुन्छ: “यो पुस्ता त बजारमा बस्ने ती साना केटाकेटीहरूजस्तै छ, जसले आफ्ना साथीहरूलाई कराउँदै यसो भन्छन्: ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौं तर तिमीहरू नाचेनौ; हामीले विलाप-गीत गायौं तर तिमीहरूले छाती पिटेर बिलौना गरेनौ।’ ”
येशूको भनाइको अर्थ के हो? उहाँ व्याख्या गर्नुहुन्छ: “यूहन्नाले अरूहरूले जस्तो न खाए न पिए, तैपनि मानिसहरू यसो भन्छन्: ‘उसमा दुष्ट स्वर्गदूत बास गरेको छ।’ मानिसको छोराचाहिं अरूहरूले जस्तै खान्छ र पिउँछ, तैपनि मानिसहरू यसो भन्छन्: ‘हेर, घिचुवा र पियक्कड मानिस! कर उठाउने र पापीहरूको साथी।’ ”
मानिसहरूको चित्त बुझाउनु असम्भव छ। तिनीहरू कुनै कुराले पनि सन्तुष्ट हुँदैनन्। “उसले दाखमद्य वा अरू कुनै मद्य पटक्कै पिउनु हुँदैन” भनी स्वर्गदूतले गरेको घोषणाअनुरूप यूहन्नाले एउटा साधारण आत्मसंयमी नाजिरी भएर जीवन बिताएका छन्। तर पनि ऊ दुष्ट स्वर्गदूतको वशमा परेको छ भनी मानिसहरू भन्छन्। त्यसको विपरीत येशू आम मानिसहरूजस्तै जीवन बिताउनुहुन्छ र पनि मानिसहरूले उहाँलाई अचाक्ली गरेको दोष लगाउँछन्।
मानिसहरूलाई खुसी पार्नु कत्ति गाह्रो छ! तिनीहरू ती साथीहरूजस्ता हुन्, जो अरू बच्चाहरूले बाँसुरी बजाउँदा नाच्न चाहँदैनन् वा साथीहरूले बिलौना गर्दा रुन मान्दैनन्। तथापि येशू भन्नुहुन्छ: “परमेश्वरको स्तरबमोजिम गर्ने असल कामैले ऊ बुद्धिमान् हो भनेर प्रमाणित गर्छ।” हो, यूहन्ना र येशू दुवैमाथि लगाइएका दोषहरू झूटा हुन् भनेर कामैले प्रमाणित गर्छ।
येशूले आफ्ना धेरैजसो शक्तिशाली कामहरू गरेका तीन वटा सहरहरू—कोराजिन, बेथसेदा र कफर्नहुमलाई एक-एक गर्दै दोषी ठहराउनुहुन्छ। तर यदि ती कामहरू उहाँले फोनिसियाली सहरहरू अर्थात् टायर र सीदोनमा गर्नुभएको भए यी सहरहरूले भाङ्ग्रा लगाएर अनि खरानीमाथि बसेर पश्चात्ताप गरिसकेका हुने थिए भनी येशू भन्नुहुन्छ। येशूको सेवाको समयमा कफर्नहुम स्पष्टतया उहाँको गतिविधिको एउटा केन्द्रजस्तो थियो। अब यही कफर्नहुम सहरको भर्त्सना गर्दै येशू घोषणा गर्नुहुन्छ: “न्यायको दिनमा सदोमले भन्दा कफर्नहुमले चर्को दण्ड पाउनेछ।”
त्यसपछि येशू सबैका सामुन्ने स्वर्गमा बस्नुहुने आफ्ना बुबाको प्रशंसा गर्नुहुन्छ। यसो गर्न उहाँ मनबाटै उत्प्रेरित हुनुहुन्छ किनभने परमेश्वरले बुद्धिमान् र निपुणहरूबाट अमूल्य सत्य लुकाउनुहुन्छ तर नम्र जनहरू अर्थात् बालकहरूजस्तालाई यी अद्भुत कुराहरू प्रकाश पारिदिनुहुन्छ।
अन्तमा येशूले यो घतलाग्दो निमन्त्रणा दिनुहुन्छ: “मेरो जुवा बोक र मबाट सिक, किनकि म कोमल स्वभाव र नम्र मनको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”
येशूले कसरी स्फूर्ति दिनुहुन्छ? विश्राम-दिनसम्बन्धी कडा नियमहरूलगायत अन्य परम्परागत नियमहरूको बन्धनमा धर्म-गुरुहरूले बाँधेका मानिसहरूलाई त्यसप्रकारको बोझबाट मुक्त गराएर उहाँले तिनीहरूलाई स्फूर्ति दिनुहुन्छ। राजनैतिक अधिकारीहरूको भारी दबाब महसुस गर्नेहरूलाई र आफ्नै पापहरूको बोझले पीडित भएकाहरूलाई छुटकाराको बाटो पनि उहाँले देखाउनुहुन्छ। तिनीहरूका पापहरू कसरी क्षमा हुन सक्नेछन् र तिनीहरूले परमेश्वरसितको एउटा अनमोल सम्बन्धको आनन्द कसरी उठाउन सक्नेछन् भनी ती पीडितहरूलाई येशूले प्रकाश पार्नुहुन्छ।
परमेश्वरलाई आफ्नो जीवन पूर्णतया समर्पण गर्नु नै येशूले दिनुहुने दयालु जुवा हो जसद्वारा हामी स्वर्गमा बस्नुहुने हाम्रा मायालु र दयालु बुबाको सेवा गर्न सक्नेछौं। येशूले आफूकहाँ आउने सबैलाई दिने हलुको भारी भनेको बाइबलमा परमेश्वरले तोक्नुभएका आज्ञाहरू पालन गर्नु हो, जुन आज्ञाहरू बोझिला छैनन्। मत्ती ११:१६-३०; लूका १:१५; ७:३१-३५; १ यूहन्ना ५:३.
▪ येशूको पुस्ताका घमन्डी र अधीर मानिसहरू कसरी बालकहरूजस्ता छन्?
▪ आफ्ना स्वर्गमा बस्नुहुने बुबाको प्रशंसा गर्न येशू किन उत्प्रेरित हुनुहुन्छ?
▪ मानिसहरू के कारणले गर्दा भारले दबिएका छन् र त्यसबाट येशूले कस्तो छुटकारा प्रदान गर्नुहुन्छ?