भाग ८
परमेश्वरको उद्देश्य पूर्तितर्फ बढ्दछ
१, २. दुःख-कष्टहरूलाई खतम पार्न परमेश्वरले कसरी प्रबन्ध गर्दै आउनुभएको छ?
विद्रोही मानिसहरू र प्रेतहरूको शासनले कैयौं शताब्दीदेखि मानव परिवारलाई झन् झन् नराम्रो स्थितितिर घिसार्दै लगिरहेको छ। तथापि, परमेश्वरले हाम्रो दुःख-कष्टलाई बेवास्ता गर्नुभएको छैन। बरु सम्पूर्ण शताब्दीहरूका दौडानमा उहाँले मानिसहरूलाई दुष्टता र दुःख-कष्टको मुठीबाट छुटाउने प्रबन्ध गर्नुहुँदै थियो।
२ अदनमा विद्रोह भएको बेला परमेश्वरले एउटा सरकार गठन गर्ने आफ्नो उद्देश्यलाई प्रकट गर्न सुरु गर्नुभयो, जुन सरकारले यस पृथ्वीलाई मानिसहरूका निम्ति प्रमोदवनरूपी घर बनाउने थियो। (उत्पत्ति ३:१५) पछि, परमेश्वरको मुख्य वक्ताको रूपमा येशूले आउँदै गरेको परमेश्वरको यस सरकारलाई आफ्नो शिक्षाको मुख्य विषयवस्तु बनाउनुभयो। यही सरकार मानवजातिका लागि एक मात्र आशा हुनेछ भनेर उहाँले भन्नुभयो।—दानियल २:४४; मत्ती ६:९, १०; १२:२१.
३. पृथ्वीका लागि आउँदै गरको सरकारलाई येशूले के नाउँ दिनुभयो र किन?
३ आउँदै गरेको परमेश्वरको त्यस सरकारको शासन र्स्वगबाट चल्ने भएकोले येशूले यसलाई “स्वर्गको राज्य” भन्नुभयो। (मत्ती ४:१७) उहाँले यसलाई “परमेश्वरको राज्य” पनि भन्नुभयो किनभने परमेश्वर नै यसको रचयिता हुनुहुने थियो। (लूका १७:२०) शताब्दीयौंसम्म परमेश्वरले आफ्ना लेखकहरूलाई यस सरकारमा सामेल हुनेहरू र यसले पूरा गर्ने कामहरू सम्बन्धी भविष्यवाणीहरू लेख्न प्रेरित गर्नुभयो।
पृथ्वीको नयाँ राजा
४, ५. येशू नै उहाँले छान्नुभएको राजा हुनुहुन्थ्यो भनेर परमेश्वरले कसरी देखाउनुभयो?
४ करिब दुई हजार वर्षअघि येशूले परमेश्वरको राज्यको राजाबारे गरिएका थुप्रै भविष्यवाणीहरू पूरा गर्नुभयो। उहाँ नै मानवजातिमाथि शासन गर्ने स्वर्गीय सरकारका लागि परमेश्वरले छान्नुभएको राजा प्रमाणित हुनुभयो। उहाँको मृत्युपछि यहोवाले येशूलाई एउटा शक्तिशाली, अमर आत्मिक प्राणीको रूपमा बिउँताउनुभयो र र्स्वगमा लानुभयो। उहाँको पुनरुत्थान भएको देख्ने साक्षीहरू थुप्रै थिए।—प्रेरित ४:१०; ९:१-९; रोमी १:१-४; १ कोरिन्थी १५:३-८.
५ त्यसपछि येशू “परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभयो।” (हिब्रू १०:१२) त्यहाँ परमेश्वरको स्वर्गीय राज्यको राजाको रूपमा कारबाही गर्न परमेश्वरले उहाँलाई कानुनी अधिकार दिनुहुने समयलाई पखर्नुभयो। यसले भजनसंग्रह ११०:१ मा गरिएको भविष्यवाणीलाई पूरा गऱ्यो। यस भविष्यवाणीमा परमेश्वर उहाँलाई यसो भन्नुहुन्छ: “तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन्नँ।”
६. परमेश्वरको राज्यको राजा हुन उहाँ योग्य हुनुहुन्छ भनेर येशूले कसरी देखाउनुभयो?
६ पृथ्वीमा हुनुहुँदा येशूले आफू त्यस ओहदाका लागि योग्य भएको कुरालाई देखाउनुभयो। सतावटको बावजुद पनि उहाँले परमेश्वरप्रति आफ्नो सम्पूर्ण निष्ठालाई कायम राख्न नै रोज्नुभयो। यसप्रकार परीक्षामा पर्दा कुनै पनि मानिस परमेश्वरप्रति वफादार रहने छैन भनेर शैतानले गरेको दावा झूटो थियो भनेर उहाँले देखाउनुभयो। सिद्ध मानिसहरूलाई सृष्टि गरेर वास्तवमा परमेश्वरले ठीक काम गर्नुभएको थिएन भन्ने कुरालाई एक जना सिद्ध मानिस, ‘पछिल्लो आदम’, अर्थात् येशूले गलत साबित गरिदिनुभयो।—१ कोरिन्थी १५:२२, ४५; मत्ती ४:१-११.
७, ८. पृथ्वीमा हुनुहुँदा येशूले कुन असल कामहरू गर्नुभयो र उहाँले के प्रदर्शित गर्नुभयो?
७ येशूले आफ्नो केही वर्षको सेवकाईको दौडान गर्नुभएको जति असल काम अहिलेसम्ममा कुन चाहिं शासकले गरेको छ र? परमेश्वरको पवित्र आत्माको शक्ति पाएर येशूले बिरामी, लुला-लँगडा, अन्धा, बहिरा र गुँगालाई निको पार्नुभयो। मरिसकेको मानिसलाई समेत बिउँताउनुभयो! आफू राज्य शक्तिमा आएपछि विश्वव्यापी रूपमा मानवजातिका लागि के गर्नुहुनेछ भन्ने कुराको झलक उहाँले यसप्रकार सानो परिमाणमा देखाउनुभयो।—मत्ती १५:३०, ३१; लूका ७:११-१६.
८ पृथ्वीमा हुनुहुँदा येशूले यति धेरै असल काम गर्नुभयो कि उहाँका चेला यूहन्नाले यसो भने: “येशूले गर्नुभएका अरू पनि धेरै काम छन्, जुन एक एक गरी लेखिएका भए, म सम्झन्छु, ती लेखिएका पुस्तकहरू संसारैभरि पनि अटाउनेथिएन।”—यूहन्ना २१:२५.a
९.सोझा हृदय भएका मानिसहरू येशूकहाँ किन ओइरिए?
९ येशू दयालु र सहानुभूतिशील हुनुहुन्थ्यो, मानिसहरूप्रति उहाँको ठूलो प्रेम थियो। दलित र गरिब मानिसहरूलाई उहाँले मदत गर्नुभयो। तर अर्कोतिर उच्च पद र धनसम्पत्ति भएका व्यक्तिहरूलाई उहाँले कहिल्यै हेय दृष्टिले हेर्नुभएन। त्यसैले त येशूको यो मायालु निमन्त्रणालाई सोझा हृदय भएकाहरूले सुने: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:२८-३०) परमेश्वरको डर मान्ने व्यक्तिहरू उहाँकहाँ ओइरिए र उहाँको शासनको प्रतीक्षा गरे।—यूहन्ना १२:१९.
सँगी शासकहरू
१०, ११. पृथ्वीमाथि शासन गर्ने काममा येशूसँग अरू कसले पनि भाग लिनेछ?
१० मानव सरकारहरूको जस्तै परमेश्वरको स्वर्गीय राज्यको पनि सँगी प्रशासकहरू छन्। पृथ्वीलाई शासन गर्ने काममा येशूबाहेक अरूहरूले पनि भाग लिनेछन् किनभने स्वयम् येशूले आफ्ना नजिकका सँगीहरूलाई तिनीहरूले मानवजातिमाथि आफूसँग राजा भएर राज्य गर्नेछन् भनेर प्रतिज्ञा गर्नुभएको थियो।—यूहन्ना १४:२, ३; प्रकाश ५:१०; २०:६.
११ तसर्थ, येशूसमेत सीमित संख्यामा अरू मानिसहरूको पनि स्वर्गीय जीवनका लागि पुनरुत्थान हुनेछ। तिनीहरू मिलेर नै परमेश्वरको त्यो राज्य बनेको छ, जसले मानवजातिका लागि अनन्त आशिष्हरू ल्याउनेछ। (२ कोरिन्थी ४:१४; प्रकाश १४:१-३) अतः मानव परिवारका लागि अनन्तकालीन आशिष्हरू ल्याउने शासनको आधारशिला परमेश्वरले युगौंदेखि तयार पार्नुहुँदै थियो।
स्वाधीन शासनको अन्त हुनेछ
१२, १३. परमेश्वरको राज्य अहिले के गर्न तयार छ?
१२ यस शताब्दीमा परमेश्वरले पृथ्वीको मामिलाहरूमा प्रत्यक्ष रूपमा हात हाल्नुभएको छ। ख्रीष्टको अधीनस्थ १९१४ मा परमेश्वरको राज्य स्थापना भयो र शैतानको पूरै रीतिरिवाजलाई धूलोपीठो पार्न यो राज्य अब तयार छ भनेर बाइबलको भविष्यवाणीले देखाउँछ। त्यो राज्य “[ख्रीष्टको] शत्रुहरूको बीचमा . . . राज्य” गर्न तयार छ। यस विषयमा यस पुस्तिकाको भाग ९ ले छलफल गर्नेछ।—भजन ११०:२.
१३ यस सम्बन्धमा दानियल २:४४ ले यसो भन्छ: “औ ती राजाहरूका [अहिले अस्तित्वमा रहेकाहरू] समयमा स्वर्गका परमेश्वरले [स्वर्गमा] एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ [फेरि कहिल्यै मानिसहरूलाई शासन गर्ने अनुमति दिइनेछैन]। त्यसले [परमेश्वरको राज्य] यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ।”
१४. मानव शासनको अन्त हुँदा हुने केही फाइदाहरू के के हुन्?
१४ परमेश्वरबाट स्वाधीन भएका सबै शासनाधिकारलाई हटाइसकेपछि पृथ्वीमाथि परमेश्वरको शासन पूर्ण हुनेछ। यो राज्यले स्वर्गबाट शासन गर्ने हुँदा यसलाई मानिसहरूले फेरि कहिल्यै भ्रष्ट पार्न सक्नेछैनन्। शासनशक्ति पहिले जहाँ थियो त्यहिं नै अर्थात् स्वर्गमा परमेश्वरसँग हुनेछ। सारा पृथ्वी परमेश्वरको शासनको वशमा हुनेछ। अतः झूटा धर्महरू, वा खोक्रो मानव तत्वज्ञानहरू र राजनैतिक सिद्धान्तहरूले कसैलाई फेरि कहिल्यै गलत बाटोतर्फ लैजाने छैन। त्यस्ता कुनै पनि कुराहरू रहन पाउने छैनन्।—मत्ती ७:१५-२३; प्रकाश अध्याय १७ देखि १९ सम्म।
[फुटनोट]
a येशूको जीवनीको पूर्ण विवरणका लागि वाचटावर सोसाइटीले १९९१ मा प्रकाशित गरेको पुस्तक आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष हेर्नुहोस्।
[पृष्ठ १८-मा भएको चित्र]
नयाँ संसारमा उहाँले के गर्नुहुनेछ भन्ने कुरा देखाउन पृथ्वीमा हुनुहुँदा येशूले बिरामीलाई निको पार्नुभयो र मरेकाहरूलाई बिउँताउनुभयो
[पृष्ठ १९-मा भएको चित्र]
परमेश्वरको स्वर्गीय राज्यले उहाँबाट स्वाधीन भएका सबै थरिका शासनलाई अस्तित्वै नहुने गरी धूलोपीठो पार्नेछ