अध्याय एक
हाम्रो समयमा उपासनामा एकता—यसको अर्थ के हो?
१, २. (क) हाम्रो समयमा कस्तो रोमाञ्चकारी अभियान चलिरहेको छ? (ख) निष्कपट हृदय भएका मानिसहरूसामु कस्तो अद्भुत आशा छ?
सारा संसारभरि उपासनामा एकताबद्ध हुने रोमाञ्चकारी अभियान चलिरहेको छ। यसले हरेक जाति, कुल र भाषाका लाखौं मानिसहरूलाई एकतामा बाँधिरहेको छ। वर्षेनी अझ थुप्रै मानिसहरू जम्मा हुँदैछन्। यी लाखौं मानिसलाई बाइबलमा यहोवाका “साक्षी” भनेर चिनाइएको छ र तिनीहरूलाई “ठूलो भीड” भनिन्छ। तिनीहरू परमेश्वरलाई ‘दिन-रात सेवा चढाउँछन्।’ (यशैया ४३:१०-१२; प्रकाश ७:९-१५) तिनीहरू किन यसो गर्छन्? किनभने तिनीहरूले एक मात्र साँचो परमेश्वर, यहोवा हुनुहुन्छ भनेर सिकेका छन्। यसले तिनीहरूलाई उहाँको धार्मिक स्तरअनुरूप जीवन बिताउन उत्प्रेरित गर्छ। साथै, तिनीहरूले अहिले हामी यस वर्तमान दुष्ट रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेका छौं, यसलाई परमेश्वरले चाँडै नाश गर्नुहुनेछ अनि त्यसको ठाउँमा प्रमोदवनरूपी नयाँ संसार स्थापना गर्नुहुनेछ भनेर पनि सिकेका छन्।—२ तिमोथी ३:१-५, १३; २ पत्रुस ३:१०-१३.
२ परमेश्वरको वचनले यस्तो प्रतिज्ञा गर्छ: “थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” (भजन ३७:१०, ११) “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भजन ३७:२९) “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:४.
३. उपासनामा साँचो एकता कसरी सम्भव भएको छ?
३ अहिले उपासनामा एकताबद्ध भएका मानिसहरू नै त्यस नयाँ संसारका प्रथम बासिन्दाहरू हुनेछन्। तिनीहरूले परमेश्वरको इच्छा के हो भनेर सिकिसकेका छन् र आफ्नो क्षमताले भ्याएसम्म गरिरहेका छन्। यही कुराको महत्त्व झल्काउँदै येशूले यसो भन्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) प्रेरित यूहन्नाले यसप्रकार लेखे: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७.
यसको साँचो अर्थ के हो
४. (क) हाम्रो समयमा यति धेरै मानिसहरू उपासनामा एकताबद्ध हुनुको साँचो अर्थ के हो? (ख) यो जम्मा गर्ने कार्यलाई बाइबलले कसरी वर्णन गरेको छ?
४ हाम्रो समयमा यति धेरै मानिसहरूलाई एकताबद्ध गर्नुको साँचो अर्थ के हो? यो अहिले हामी दुष्ट संसारको अन्तको नजिकै छौं र यसको लगत्तैपछि परमेश्वरको नयाँ संसार स्थापना हुनेछ भन्ने कुराको स्पष्ट प्रमाण हो। मानिसहरू जम्मा गर्ने यस्तो महत्त्वपूर्ण कार्यबारे बाइबल भविष्यवाणी पूर्तिको हामी प्रत्यक्षदर्शी भएका छौं। त्यसैसम्बन्धी एउटा भविष्यवाणी यसप्रकार छ: “[यी आखिरी दिनको] पछिल्ला दिनमा [माथि उचालिएको उहाँको साँचो उपासना] परमप्रभुको भवनको डाँड़ाचाहिं पहाड़हरूमा [अरू कुनै पनि प्रकारको उपासनाभन्दा उच्च] सर्वोच्च बनाइने छ, . . . औ अन्यजातिहरू त्यसमा ओइरिएर आउनेछन्। धेरै जातिहरू आएर भन्नेछन्, ‘आओ, हामीहरू परमप्रभुको पहाड़, याकूबका परमेश्वरको भवनमा जाऔं, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुन्छ र हामी उहाँको मार्गमा हिंड़नेछौं।’ ”—मीका ४:१, २; भजन ३७:३४.
५, ६. (क) आज मीका ४:१, २ कसरी पूरा भइरहेको छ? (ख) हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
५ भविष्यवाणी गरिएझैं आज सबै जातिबाट आएका लाखौं मानिसहरू उपासनाको लागि यहोवाको आध्यात्मिक भवनमा उपस्थित भइरहेका छन्। यहोवा परमेश्वरको मायालु उद्देश्य अनि उहाँको आकर्षक व्यक्तित्वबारे सिकेपछि तिनीहरू आफै उत्प्रेरित हुन्छन्। तिनीहरू नम्र भएर परमेश्वरले के चाहनुहुन्छ भन्ने कुरा पत्ता लगाउने प्रयास गर्छन्। तिनीहरू भजन रचयिताले जस्तै यस्तो प्रार्थना गर्छन्: “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरा परमेश्वर हुनुहुन्छ।”—भजन १४३:१०.
६ यहोवाले अहिले एकताबद्ध उपासनामा जम्मा गरिरहनुभएका ठूलो भीडको माझमा के तपाईं पनि हुनुहुन्छ? के तपाईंले उहाँको वचनबाट प्राप्त गर्नुभएका निर्देशनहरूप्रति देखाउनुहुने प्रतिक्रियाबाट यसको स्रोत साँच्चै यहोवा हुनुहुन्छ भनेर मूल्यांकन गर्नुभएको कुरा झल्कन्छ? तपाईं कुन हदसम्म “उहाँको मार्गमा” हिंड्नुहुनेछ?
यो कसरी सम्भव भएको छ
७. (क) अन्तमा गएर कुन हदसम्म उपासनामा एकताबद्ध हुनेछ? (ख) अहिल्यै यहोवाको उपासक हुनु किन जरुरी छ र हामी यसो गर्न अरूलाई कसरी मदत गर्न सक्छौं?
७ बौद्धिक क्षमता भएका सबै प्राणीहरू साँचो उपासनामा एकताबद्ध होस् भन्ने यहोवा चाहनुहुन्छ। सबै जीवित प्राणीहरू एक मात्र साँचो परमेश्वरको उपासनामा एकताबद्ध हुने समयको हामी कति उत्कट प्रतीक्षा गर्छौं! (भजन १०३:१९-२२) तर त्यसअघि यहोवाले उहाँको धार्मिक इच्छाअनुरूप गर्न नचाहने सबैलाई हटाउनु आवश्यक छ। आफूले पछि गर्नुहुने कुराबारे उहाँले मानिसहरूलाई दया गरेर अग्रिम सूचना दिनुहुन्छ जसले गर्दा सबै मानिसहरूले आफ्नो मार्ग परिवर्तन गर्ने मौका पाउँछन्। (यशैया ५५:६, ७) तसर्थ, हाम्रो समयमा “हरेक जाति, कुल, भाषा र मानिसहरूलाई” यस्तो जरुरी आग्रह गरिएको छ: “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।” (प्रकाश १४:६, ७) के तपाईंले यो निमन्त्रणा स्वीकार्नुभएको छ? छ भने, अरू थुप्रैलाई पनि एक मात्र साँचो परमेश्वर चिन्न र उहाँको उपासना गर्न निम्तो दिन पाउनु तपाईंको सुअवसर हो।
८. बाइबलका आधारभूत शिक्षाहरू सिकिसकेपछि हामीले अझ कस्तो प्रगति गर्ने उत्कट प्रयास गर्नुपर्छ?
८ परमेश्वरमाथि विश्वास गर्छु चाहिं भन्ने तर आफ्नै इच्छाअनुसार गरेर हिंड्ने मानिसहरूले उहाँको उपासना गरून् भन्ने यहोवा चाहनुहुन्न। मानिसहरूले “उहाँको इच्छाको [सही] ज्ञान पाऊन्” र त्यसलाई आफ्नो जीवनमा उतारून् भन्ने परमेश्वर चाहनुहुन्छ। (कलस्सी १:९, १०) यसरी बाइबलका आधारभूत शिक्षाहरू सिकेर मूल्यांकनले ओतप्रोत हुने मानिसहरू मसीही परिपक्वतातर्फ अघि बढ्न चाहन्छन्। तिनीहरू यहोवासित अझ घनिष्ठ हुन, उहाँको वचनको गहिरो र विस्तृत ज्ञान लिन अनि त्यसलाई आफ्नो जीवनमा लागू गर्न चाहन्छन्। तिनीहरू स्वर्गमा हुनुहुने हाम्रो पिताका गुणहरू र उहाँको दृष्टिकोण झल्काउने प्रयास गर्छन्। यसो गर्दा तिनीहरू हाम्रो समयमा भइरहेको जीवनदायी कार्यमा भाग लिने तरिकाहरू खोज्न उत्प्रेरित हुन्छन्। के तपाईं पनि त्यस्तै इच्छा गर्नुहुन्छ?—मर्कूस १३:१०; हिब्रू ५:१२–६:३.
९. आज कुन तरिकामा साँचो एकता सम्भव भएको छ?
९ बाइबलले देखाएअनुसार यहोवाको उपासना गर्ने मानिसहरू एकताबद्ध हुनुपर्छ। (एफिसी ४:१-३) अहिले हामी बाँचिरहेको संसार विभाजित छ र आफ्नै असिद्धता विरुद्ध संघर्ष गर्नुपरे तापनि यस्तो एकता सम्भव भएको छ। येशूले आफ्ना सबै चेलाहरू एक भएर साँचो उपासनामा बाँधिऊन् भनेर उत्कट प्रार्थना गर्नुभयो। यसको अर्थ के हो? सर्वप्रथम, यहोवा र उहाँको पुत्रसित तिनीहरूको राम्रो सम्बन्ध हुनेछ। दोस्रो, तिनीहरू एकअर्कासित एकतामा बाँधिनेछन्। (यूहन्ना १७:२०, २१) त्यसको लागि मसीही मण्डलीद्वारा यहोवाले आफ्ना जनहरूलाई सिकाउनुहुन्छ।
कस्ता तत्त्वहरूले एकतामा योगदान पुऱ्याउँछन्?
१०. (क) हामीलाई असर गर्ने प्रश्नहरूको जवाफ खोज्न हामी आफैले बाइबल पल्टाएर हेर्दा कस्ता गुणहरू विकास हुन्छन्? (ख) यस अनुच्छेदमा दिइएका प्रश्नहरूको जवाफ दिएर यसले मसीही एकतामा कसरी योगदान पुऱ्याउँछ भनेर केलाउनुहोस्।
१० साँचो उपासनामा योगदान पुऱ्याउने सातवटा तत्त्व तल उल्लेख गरिएको छ। तल दिइएका प्रश्नहरूको जवाफ दिनुहुँदा प्रत्येक बुँदाले यहोवा र सँगी मसीहीहरूसितको सम्बन्धमा कस्तो असर पार्छ, विचार गर्नुहोस्। यी बुँदाहरू विचार गर्दै उद्धरण नगरिएका तर उल्लिखित शास्त्रपदहरू पल्टाएर हेर्दा हामी सबैलाई चाहिने ईश्वरीय बुद्धि, सोच्ने क्षमता र विवेकजस्ता गुणहरूको विकास गर्न मदत पुग्छ। (हितोपदेश ५:१, २; फिलिप्पी १:९-११) यी बुँदाहरूलाई एक-एक गरेर विचार गर्नुहोस्।
(१) असल र खराबको स्तर निर्धारण गर्ने अधिकार यहोवाको हो भनेर हामी मानिलिन्छौं। “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.
हामीले निर्णयहरू गर्दा किन यहोवाको सल्लाह र डोऱ्याइ खोज्नुपर्छ? (भजन १४६:३-५; यशैया ४८:१७)
(२) हाम्रो डोऱ्याइको लागि परमेश्वरको वचन छी। “हामीबाट सुनेको वचन, अर्थात् परमेश्वरको वचन पाएर, मानिसको वचन गरी जस्तो होइन, तर परमेश्वरको वचन जस्तैगरी, जो साँच्चिनै हो पनि, ग्रहण गऱ्यौ, जुन वचनले तिमी विश्वास गर्नेहरूमा काम पनि गर्दछ।”—१ थिस्सलोनिकी २:१३.
आफूलाई सही “लागेको” कुरा गर्नुमा कस्तो खतरा हुन सक्छ? (हितोपदेश १४:१२; यर्मिया १०:२३, २४; १७:९)
कुनै विषयमा बाइबलले कस्तो सल्लाह दिन्छ भनेर हामीलाई थाह नभएको खण्डमा के गर्नुपर्छ? (हितोपदेश २:३-५; २ तिमोथी ३:१६, १७)
(३) हामी सबैले एउटै आध्यात्मिक कार्यक्रमबाट लाभ उठाउँछौं। “तेरा सबै छोरा–छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्।” (यशैया ५४:१३) “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोडौं। तर [विनाशको] दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढता गरेर अर्ती दिंदै गरौं।”—हिब्रू १०:२४, २५.
आध्यात्मिक भोजन प्रदान गर्ने यहोवाको प्रबन्धबाट पूरापूर फाइदा उठाउनेहरूले कस्ता लाभ उठाउँछन्? (यशैया ६५:१३, १४)
(४) हाम्रो नेता कुनै मानव होइन येशू ख्रीष्ट हुनुहुन्छ। “तिमीहरूलाई कसैले गुरु नभनोस् किनकि तिमीहरूका गुरु एउटै छन्, र तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि तिमीहरूका पिता एउटै स्वर्गमा हुनुहुन्छ। तिमीहरूलाई मालिक कसैले नभनोस्, किनकि तिमीहरूका एक मात्र मालिक ख्रीष्टनै हो।”—मत्ती २३:८-१०.
के हामीमध्ये कसैले आफू अरूभन्दा श्रेष्ठ छु भन्ने सोचाइ राख्नु उचित हो? (रोमी ३:२३, २४; १२:३)
(५) मानिसजातिको एक मात्र आशाको रूपमा हामी परमेश्वरको राज्य सरकारको प्रतीक्षा गर्छौं। “तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर। हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।”—मत्ती ६:९, १०, ३३.
“पहिले . . .उहाँको राज्य” खोजी गर्दा कसरी हाम्रो एकताको सुरक्षा हुन्छ? (मीका ४:३; १ यूहन्ना ३:१०-१२)
(६) पवित्र आत्माले परमेश्वरका उपासकहरूमा मसीही एकताको लागि अत्यावश्यक गुणहरू पैदा गर्छी। “आत्माको फल चाहिं—प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्, यस्ताका विरुद्धमा कुनै व्यवस्था छैन।”—गलाती ५:२२, २३.
परमेश्वरको आत्माको फल खेती गर्न हामीले के गर्नुपर्छ? (प्रेरित ५:३२)
परमेश्वरको आत्मा पाउँदा यसले सँगी मसीहीहरूसितको सम्बन्धमा कस्तो असर पार्छ? (यूहन्ना १३:३५; १ यूहन्ना ४:८, २०, २१)
(७) परमेश्वरका सबै साँचो उपासकहरू उहाँको राज्यको सुसमाचार प्रचार गर्ने कार्यमा भाग लिन्छन्। “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.
यस प्रचारकार्यमा पूरापूर भाग लिन हामीलाई कुन कुराले उत्प्रेरित गर्नुपर्छ? (मत्ती २२:३७-३९; रोमी १०:१०)
११. हामीले आफ्नो जीवनमा बाइबलका सत्यहरू लागू गर्दा कस्तो प्रभाव पर्छ?
११ एकतामा बाँधिएर यहोवाको उपासना गर्दा हामी उहाँको नजिक हुन्छौं र सँगी विश्वासीहरूसँगको स्फूर्तिदायी संगतिबाट आनन्द उठाउन सक्छौं। भजन १३३:१ यसो भन्छ: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु। कत्ति असल र मनोहर कुरा हुन्छ!” संसारमा व्याप्त स्वार्थ, अनैतिकता र हिंसाबाट अलग्गै रहेर यहोवालाई साँच्चै प्रेम गर्ने अनि उहाँको नियम पालन गर्ने मानिसहरूसित भेला हुन पाउनु कत्ति स्फूर्तिदायी हुन्छ!
विभाजन ल्याउने प्रभावहरूबाट टाढै बस्नुहोस्
१२. हामी किन स्वतन्त्र मनोभावबाट टाढै बस्नुपर्छ?
१२ हाम्रो अनमोल विश्वव्यापी एकतालाई नतोड्न हामी विभाजन ल्याउने प्रभावहरूबाट टाढै बस्नुपर्छ। एउटा हो, परमेश्वर र उहाँको व्यवस्थाबाट स्वतन्त्र हुने मनोभाव। यहोवाले हामीलाई त्यस्तो मनोभावको सुरुवातकर्ता, शैतान अर्थात् दियाबल चिनाउनुभएर त्यसबाट टाढै बस्न मदत गर्नुहुन्छ। (२ कोरिन्थी ४:४; प्रकाश १२:९) परमेश्वरको कुरा बेवास्ता गरेर उहाँको इच्छा विपरीत निर्णय गर्न आदम र हव्वालाई उस्काउने पनि शैतान नै हो। त्यसको परिणामस्वरूप तिनीहरू र हामीले विपत्ति भोग्नुपऱ्यो। (उत्पत्ति ३:१-६, १७-१९) यो संसारमा परमेश्वर र उहाँको व्यवस्थाबाट स्वतन्त्र हुने मनोभाव व्याप्त छ। त्यसकारण हामी त्यस्तो मनोभावबाट टाढै बस्नुपर्छ।
१३. परमेश्वरको धार्मिक नयाँ संसारमा बाँच्न हामीले अहिलेदेखि साँचो तयारी गरिरहेका छौं भनेर कुन कुराले देखाउनेछ?
१३ उदाहरणका लागि, वर्तमान दुष्ट रीतिरिवाजको बदलामा “धार्मिकताले बास” गर्ने नयाँ स्वर्ग र नयाँ पृथ्वी स्थापना गर्ने यहोवाको रोमाञ्चकारी प्रतिज्ञालाई विचार गर्नुहोस्। (२ पत्रुस ३:१३) के त्यसले हामीलाई धार्मिकताले बास गर्ने ठाउँमा बस्न अहिल्यै तयारी गर्न उत्प्रेरित गर्दैन र? यसो गर्न हामीले बाइबलको यो स्पष्ट सल्लाह पालन गर्नुपर्छ: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन।” (१ यूहन्ना २:१५) यसर्थ, हामी यस संसारको मनोभाव, यसको स्वतन्त्र मनोभाव, आफ्नैबारे मात्र सोच्ने झुकाव, अनैतिकता र हिंसालाई तिरस्कार गर्छौं। हामी आफ्नो असिद्ध शरीरको अर्कै झुकावको बावजुद यहोवाको कुरा सुन्ने अनि उहाँको आज्ञा पालन गर्ने बानी बसाल्न चाहन्छौं। हाम्रो सम्पूर्ण जीवन शैलीले हाम्रो सोचाइ र मनोभाव, परमेश्वरको इच्छा गर्नतिर केन्द्रित छ भनेर देखाउँछ।—भजन ४०:८.
१४. (क) यहोवाको मार्ग सिक्ने अनि ती आफ्नो जीवनमा लागू गर्ने मौकाको फाइदा उठाउनु किन महत्त्वपूर्ण छ? (ख) अनुच्छेदमा उल्लिखित शास्त्रपदले व्यक्तिगत तवरमा हाम्रोलागि कस्तो अर्थ राख्छ?
१४ यस दुष्ट रीतिरिवाज र यसको तौरतरिका पछ्याउन चाहनेहरूलाई विनाश गर्ने यहोवाको तोकिएको समय आइपुग्दा उहाँले ढिलो गर्नुहुनेछैन। परमेश्वरको इच्छा के हो भनेर सिक्न अनि त्यसअनुसार गर्न एकाग्रचित्त भई कदम नचाली यही संसारमै अल्झिरहने मानिसहरूको खातिर उहाँले त्यो समय अलि पछि सार्नुहुनेछैन वा आफ्नो स्तर परिवर्तन गर्नुहुनेछैन। अहिल्यै कदम चालिहाल्नुपर्छ! (लूका १३:२३, २४; १७:३२; २१:३४-३६) त्यसकारण, यस अनमोल मौकाको फाइदा उठाउँदै यहोवाले आफ्नो वचन तथा संगठनमार्फत प्रदान गर्नुहुने निर्देशनको उत्कट प्रतीक्षा गर्दै नयाँ संसारको मार्गमा एकताबद्ध भएर अघि बढ्ने ठूलो भीड देख्न पाउनु कस्तो हृदयस्पर्शी दृश्य हो! अनि हामी यहोवाबारे जति धेरै सिक्छौं, त्यति नै धेरै उहाँलाई प्रेम गर्नेछौं र उहाँको सेवा गर्न चाहनेछौं।
पुनरावृत्ति छलफल
• उपासनाको सन्दर्भमा यहोवाको उद्देश्य के हो?
• बाइबलका आधारभूत शिक्षाहरू सिकिसकेपछि हामीले अझ कस्तो प्रगति गर्ने उत्कट प्रयास गर्नुपर्छ?
• यहोवाका अरू उपासकहरूसित एकतामा बाँधिन हामीले व्यक्तिगत तवरमा के गर्न सक्छौं?
[पृष्ठ ४-मा भएको चित्र]
“नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्”