अध्याय एघार
‘पहिले उहाँको राज्य खोजिरहनुहोस्’
१. (क) येशूले आफ्ना श्रोताहरूलाई किन पहिले राज्यको खोजी गर्नु भनेर आग्रह गर्नुभयो? (ख) हामीले आफैलाई कस्तो प्रश्न सोध्नुपर्छ?
येशूले लगभग १,९०० वर्षअघि गालीलमा दिनुभएको उपदेशमा आफ्ना श्रोताहरूलाई यस्तो आग्रह गर्नुभयो: “पहिले उहाँको राज्य र [परमेश्वरको] धार्मिकता खोजी गर।” तर यसो गर्नु किन यत्तिको जरुरी थियो? के ख्रीष्टले राज्य शक्ति पाउन अझ धेरै शताब्दी बाँकी थिएन र? हो, मसीही राज्यद्वारा यहोवाले आफ्नो सार्वभौमिकता उच्च पार्नुका साथै पृथ्वीको लागि आफ्नो महान् उद्देश्य पूरा गर्नुहुने थियो। यी कुराहरूको महत्त्व साँच्चै बुझ्ने जोसुकैले परमेश्वरको राज्यलाई आफ्नो जीवनमा प्राथमिकता दिनेछ। प्रथम शताब्दीमा त यस्तो थियो भने, अहिले ख्रीष्ट राजाको हैसियतमा सिंहासनमा बसिसक्नुभएको बेला झन् कत्ति जरुरी होला! त्यसकारण प्रश्न उठ्छ, के मेरो जीवन शैलीबाट मैले साँच्चै परमेश्वरको राज्यलाई प्राथमिकता दिइरहेको छु भनेर प्रस्ट हुन्छ?—मत्ती ६:३३.
२. साधारणतया मानिसहरू कुन कुराको खोजी गर्छन्?
२ आज, संसारभरि लाखौं मानिसहरूले वास्तवमा पहिले उहाँको राज्य नै खोजिरहेका छन्। तिनीहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरेर उहाँको इच्छा गर्नुमै आफ्नो जीवन केन्द्रित गर्दै राज्य शासनप्रति समर्थन जनाइरहेका छन्। अर्कोतर्फ, अधिकांश मानवजाति सांसारिक चीजबीच प्राप्त गर्नेबारे मात्र चिन्तित छन्। मानिसहरू पैसा र धनसम्पत्ति कमाउन अनि पैसाले किन्न सकिने सुखविलास खोज्छन्। अथवा तिनीहरू आफ्नो पेसालाई अझ राम्रो बनाउन भरमग्दुर प्रयास गर्छन्। तिनीहरूको जीवन शैलीबाट तिनीहरू भौतिक चीजबीज र सुखविलासमा चुर्लुम्मै डुबेको प्रस्ट हुन्छ। तिनीहरूले परमेश्वरलाई विश्वास गरिहाले भने पनि उहाँलाई प्रथम स्थान दिंदैनन्।—मत्ती ६:३१, ३२.
३. (क) येशूले आफ्ना चेलाहरूलाई कस्तो धनसम्पत्ति खोज्न प्रोत्साहन दिनुभयो र किन? (ख) भौतिक कुराहरूबारे किन औधी चिन्तित हुनुहुँदैन?
३ तथापि, येशूले आफ्ना चेलाहरूलाई यस्तो सल्लाह दिनुभयो: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार” किनभने त्यो सँधैभरि रहँदैन। “तर,” उहाँले भन्नुभयो, यहोवाको सेवा गरेर “आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार।” येशूले आफ्ना अनुयायीहरूलाई परमेश्वरको इच्छा गर्नुमै आफ्नो सारा बल-बर्कत खर्च गरेर आँखा “निर्मल” राख्न आग्रह गर्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले परमेश्वर र धन दुवैको चाकरी गर्न सक्तैनौ।” तर भोजन, लुगाफाटा र आवासजस्ता भौतिक आवश्यकताहरू नि? येशूले तिनीहरूलाई “फिक्री नगर” भन्ने सल्लाह दिनुभयो। उहाँले चराहरूतिर तिनीहरूको ध्यानाकर्षण गर्नुभयो किनभने परमेश्वरले नै तिनीहरूको आहाराको प्रबन्ध मिलाउनुहुन्छ। येशूले आफ्ना अनुयायीहरूलाई फूलहरूबाट पाठ सिक्न प्रोत्साहन दिनुभयो, जसलाई परमेश्वरले सिंगार्नुहुन्छ। यहोवाका बुद्धिमान मानव सेवकहरू यीभन्दा मूल्यवान् छैनन् र? येशूले भन्नुभयो, “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै [आवश्यक] थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:१९-३४) तपाईं यसमा विश्वास गर्नुहुन्छ भनेर के तपाईंको व्यवहारले देखाउँछ?
परमेश्वरको राज्यसम्बन्धी सत्यलाई बाधा पुग्न नदिनुहोस्
४. मानिसले भौतिक कुरालाई बढ्तै महत्त्व दियो भने परिणाम कस्तो हुन सक्छ?
४ आफू र आफ्नो परिवारको भौतिक आवश्यकता पूरा गर्न चिन्तित हुनु उचित हो। तर कोही व्यक्ति भौतिक कुराहरूबारे औधी चिन्तित हुन्छ भने परिणाम विपत्तिजनक हुन सक्छ। तिनले परमेश्वरको राज्यलाई प्राथमिकता दिएको दाबी गरे तापनि हृदयमा भने अरू कुरालाई नै प्राथमिकता दिन्छन् भने राज्य सत्यलाई बाधा पुग्नेछ। (मत्ती १३:१८-२२) उदाहरणका लागि, एक जना धनी शासकले एक चोटि येशूलाई यस्तो प्रश्न गरे: “अनन्त जीवनको हकदार हुनालाई मैले के गर्नुपर्छ?” तिनले नैतिक जीवन बिताउनुका साथै अरूसित राम्रो व्यवहार गर्थे तर तिनी भौतिक धनसम्पत्तिको मोहमा चुर्लुम्मै डुबेका थिए। तिनी त्यसबाट अलग रहेर आफूलाई ख्रीष्टको चेला बनाउन सक्ने अवस्थामा थिएनन्। त्यसकारण तिनले स्वर्गमा स्थापित राज्यमा ख्रीष्टसित सँगै हुन पाउने मौका गुमाए। येशूले त्यही अवसरमा यसो भन्नुभयो: “धनीहरू कस्तो कठिनसँग परमेश्वरको राज्यभित्र पस्छन्!”—मर्कूस १०:१७-२३.
५. (क) पावलले तिमोथीलाई कुन कुरामा सन्तुष्ट हुन प्रोत्साहन दिए र किन? (ख) शैतानले “रूपियाँ-पैसाको प्रेम” कसरी विनाशकारी पासोको रूपमा प्रयोग गर्छ?
५ वर्षौंपछि प्रेरित पावलले एउटा संवृद्धशाली आर्थिक केन्द्र, एफिससमा बसोबास गर्ने तिमोथीलाई लेखे। पावलले तिनलाई यसरी सम्झाए: “हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं। तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” आफू र आफ्नो परिवारको लागि “खान र लाउन” प्रबन्ध गर्न काम गर्नु उचित हो। तर पावलले यस्तो चेतावनी दिए: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्।” शैतान धूर्त छ। सुरुमा त्यसले स-सानो तरिकामा लोभ्याउन सक्छ। पछि, त्यसले थप दबाब दिंदै लैजान्छ। जस्तै: जागिरमा पदोन्नति वा पहिले आध्यात्मिक कुराको लागि छुट्याएको समय जागिरमा खर्च गर्नुपर्ने तर तलब भने बढी पाइने मौका आउन सक्छ। हामी सतर्क रहेनौं भने, “रूपियाँ-पैसाको प्रेम[ले]” राज्यसम्बन्धी महत्त्वपूर्ण गतिविधिलाई बाधा पुऱ्याउन सक्छ। पावलले यसो भने: “[यसको] पछि लाग्ने कुनै कुनै विश्वासबाट कुमार्गमा तर्केका हुन्छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेडेका हुन्छन्।”—१ तिमोथी ६:७-१०.
६. (क) भौतिकवादको पासोमा नफस्न हामीले के गर्नुपर्छ? (ख) अहिले विश्वको आर्थिक अवस्थाको बावजुद हामी कुन कुरामा ढुक्क हुन सक्छौं?
६ आफ्ना मसीही भाइप्रति साँचो प्रेम देखाउँदै पावलले तिमोथीलाई यस्तो आग्रह गरे: “यी कुराहरूबाट दूर बस” र “विश्वासको उत्तम लडन्त लड।” (१ तिमोथी ६:११, १२) आफू वरपरको संसारको भौतिकवादी जीवन शैलीको बहकाउमा नपर्न हामीले उत्कट प्रयास गर्नुपर्छ। तर हामीले आफ्नो विश्वासअनुरूप प्रयास गऱ्यौं भने यहोवाले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन। महँगी र व्यापक बेरोजगारीको बावजुद उहाँले हाम्रा आवश्यकताहरू पूरा भएको छ, छैन हेर्नुहुनेछ। पावलले यस्तो लेखे: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो। किनकि [परमेश्वर] आफैले भन्नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोडनेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’ यसकारण निर्भयसँग हामी भन्दछौं, ‘प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ?’ ” (हिब्रू १३:५, ६) अनि राजा दाऊदले यस्तो लेखे: “जवान थिएँ, र म अहिले बूढ़ो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।”—भजन ३७:२५.
प्रारम्भिक चेलाहरूले एउटा नमुना बसाल्छन्
७. येशूले प्रचारकार्यको सन्दर्भमा आफ्ना चेलाहरूलाई कस्तो निर्देशन दिनुभयो र यो किन उपयुक्त थियो?
७ येशूले आफ्ना चेलाहरूलाई उपयुक्त प्रशिक्षण दिइसक्नुभएपछि उहाँले तिनीहरूलाई इस्राएलमा सुसमाचार प्रचार गर्दै यस्तो घोषणा गर्न पठाउनुभयो: “स्वर्गको राज्य नजीकै आइपुगेको छ।” यो कस्तो रोमाञ्चकारी सन्देश थियो! मसीही राज्यको राजा, येशू ख्रीष्ट तिनीहरूको माझमा हुनुहुन्थ्यो। प्रेरितहरूले परमेश्वरको सेवामा आफूलाई समर्पित गरेका हुँदा येशूले तिनीहरूलाई परमेश्वरले हेरचाह गर्नुहुनेछ भनी विश्वस्त हुन आग्रह गर्नुभयो। त्यसकारण उहाँले यसो भन्नुभयो: “तिमीहरूको सफरमा साथमा केही नलेऊ—न लहुरो, न झोली, न रोटी, नता दुइ दौरा साथमा होस्। औ जुन घरमा तिमीहरू पसौला त्यहीं बसिरहो, र त्यहींबाट बिदा होओ।” (मत्ती १०:५-१०; लूका ९:१-६) परदेशीहरूलाई अतिथिसत्कार गर्ने चलन भएका सँगी इस्राएलीहरूले तिनीहरूको आवश्यकता पूरा गर्नेछन् भनेर यहोवालाई थाह थियो।
८. (क) आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले किन प्रचारकार्यको लागि बेग्लै निर्देशन दिनुभयो? (ख) येशूका अनुयायीहरूको जीवनमा कुन कुराले प्राथमिकता पाउनुपर्थ्यो?
८ पछि, आफ्नो मृत्यु हुनुअघि येशूले चेलाहरूलाई तिनीहरूले भविष्यमा बेग्लै वातावरणमा काम गर्नुपर्नेछ भनेर चेतावनी दिनुभयो। सरकारले तिनीहरूको क्रियाकलापमाथि विरोध गर्न थालेपछि इस्राएलमा तिनीहरूलाई त्यति सजिलै मानिसहरूले अतिथिसत्कार गर्ने थिएनन्। साथै, तिनीहरूले चाँडै अन्यजातिलाई पनि राज्य सन्देश प्रचार गर्न थाल्ने थिए। अबचाहिं तिनीहरूले “पैसा” र “झोली” बोक्नुपर्थ्यो। तैपनि, तिनीहरूले गाँस र बासको प्रबन्ध गर्ने प्रयासमा परमेश्वरले आशिष् दिनुहुनेछ भनेर निर्धक्क हुँदै यहोवाको राज्य र उहाँको धार्मिकतालाई प्राथमिकता दिनुपर्थ्यो।—लूका २२:३५-३७.
९. पावलले आफ्ना भौतिक आवश्यकताहरू पूरा गर्दै कसरी राज्यलाई प्राथमिकता दिए अनि यस सन्दर्भमा तिनले कस्तो सल्लाह दिए?
९ प्रेरित पावल, येशूको सल्लाह पालन गर्ने राम्रो उदाहरण थिए। पावलले आफ्नो जीवनको केन्द्रबिन्दु सेवकाईलाई बनाए। (प्रेरित २०:२४, २५) कुनै इलाकामा प्रचार गर्न जाँदा तिनले आफ्नो भौतिक आवश्यकता आफै पूरा गरे। यसको लागि तिनले पाल बनाउने कामसमेत गरे। अरूले आफ्नो हेरचाह गरोस् भन्ने आशा तिनले राखेनन्। (प्रेरित १८:१-४; १ थिस्सलोनिकी २:९) यद्यपि, अरूले अतिथिसत्कार गरेर वा उपहार दिएर प्रेम प्रकट गर्दा तिनले कृतज्ञतासाथ स्वीकारे। (प्रेरित १६:१५, ३४; फिलिप्पी ४:१५-१७) प्रचार गर्ने भन्दैमा आफ्नो पारिवारिक दायित्वलाई बेवास्ता गर्ने होइन तर बेग्लाबेग्लै जिम्मेवारीहरू पूरा गर्दा सन्तुलित हुन पावलले मसीहीहरूलाई आग्रह गरे। तिनले उनीहरूलाई परिश्रम गर्न, आफ्नो परिवारलाई प्रेम गर्न अनि अरूलाई केही दिन सल्लाह दिए। (एफिसी ४:२८; २ थिस्सलोनिकी ३:७-१२) तिनले उनीहरूलाई भौतिक सरसम्पत्तिमा नभई परमेश्वरमा भरोसा राख्न आग्रह गरे। अनि यसो गर्दा उनीहरूले बढ्ता महत्त्वपूर्ण कुरा के हो भनेर साँच्चै बुझेका छन् भनी देखाउने ढंगमा जीवन बिताइरहेका हुने थिए। त्यसको मतलब येशूका शिक्षाहरूअनुरूप परमेश्वरको राज्य र उहाँको धार्मिकतालाई सर्वप्रथम खोजी गर्नुथियो।—फिलिप्पी १:९-११.
तपाईंको जीवनमा राज्यलाई प्राथमिकता दिनुहोस्
१०. राज्यलाई सर्वप्रथम खोजी गर्नुको अर्थ के हो?
१० हामीले व्यक्तिगत तवरमा कुन हदसम्म अरूलाई राज्यको सुसमाचार सुनाउँछौं? त्यो केही हदसम्म हाम्रो परिस्थिति अनि हाम्रो मूल्यांकन कत्तिको गहिरो छ, त्यसमा निर्भर हुन्छ। याद गर्नुहोस्, येशूले यसो भन्नुभएन, ‘अरू केही काम नहुँदा राज्यको खोजी गर।’ राज्यको महत्त्वलाई बुझ्नुभएको हुँदा उहाँले पिताको इच्छा यसरी व्यक्त गर्नुभयो: “उहाँको राज्य खोजी [गरिरह]।” (लूका १२:३१) हामीमध्ये प्रायजसोले आफू र आफ्नो परिवारको लागि परिश्रम गर्नुपर्ने भए तापनि हामीसित विश्वास छ भने हाम्रो जीवन परमेश्वरले हामीलाई दिनुभएको राज्यसम्बन्धी काममा केन्द्रित हुनेछ। साथै, हामी आफ्नो पारिवारिक जिम्मेवारी पनि पूरा गर्नेछौं।—१ तिमोथी ५:८.
११. (क) राज्यको सन्देश सुनाउने सन्दर्भमा सबैले बराबर गर्न सक्दैनन् भनेर येशूले कसरी देखाउनुभयो? (ख) आफूले कति गर्न सकिन्छ भन्ने सन्दर्भमा कस्ता तत्त्वहरूले असर गर्छन्?
११ हामीमध्ये कसै-कसैले राज्यको सुसमाचार प्रचार गर्ने काममा अरूले भन्दा बढी समय बिताउन सक्छौं। तर विभिन्न प्रकारका जमिनको दृष्टान्तमा येशूले असल माटोरूपी हृदय भएका सबैले फल फलाउनेछन् भन्नुभयो। कति धेरै फल फलाउनेछन्? सबैको परिस्थिति फरक-फरक हुन्छ। उमेर, स्वास्थ्य, पारिवारिक जिम्मेवारी जस्ता केही तत्त्वहरूले यसलाई असर गर्छ। तर राम्रो सकारात्मक प्रतिक्रिया देखाउँदा असल परिणाम प्राप्त हुन्छ।—मत्ती १३:२३.
१२. जवान व्यक्तिहरूलाई खास गरी कस्तो लाभदायी आध्यात्मिक लक्ष्य राख्न प्रोत्साहन दिइन्छ?
१२ राज्य सेवकाईमा हाम्रो सहभागिता बढाउने लक्ष्यहरू राख्नु राम्रो कुरा हो। युवाहरूले जोसिलो जवान मसीही तिमोथीको उत्कृष्ट उदाहरणबारे गम्भीरतासाथ सोच्नु बेस हो। (फिलिप्पी २:१९-२२) आफ्नो स्कूलको पढाइ पूरा गरिसकेपछि पूर्ण-समय सेवकाई थाल्नुभन्दा राम्रो अरू के होला र? अलि उमेर पाकिसकेकाहरूले पनि उत्थानदायी आध्यात्मिक लक्ष्य राखेर लाभ उठाउन सक्छन्।
१३. (क) हामी राज्यसम्बन्धी सेवामा व्यक्तिगत तवरमा कति गर्न सक्छौं भनेर कसले निर्धारण गर्छ? (ख) हामीले साँच्चै राज्यलाई प्राथमिकता दिंदा के प्रमाणित गर्छौं?
१३ अरू कसैले अझ बढी गर्न सक्थ्यो भनेर तिनीहरूको आलोचना गर्नुको साटो हामी आफै अझ बढी गर्न उत्प्रेरित हुनुपर्छ। यसो गर्दा आफ्नो परिस्थितिले भ्याएसम्म परमेश्वरको सेवा गर्न आफ्नो जीवनमा छाँटकाँट गर्न सक्नेछौं। (रोमी १४:१०-१२; गलाती ६:४, ५) हामीले परमेश्वरको सेवा गर्नुको उत्प्रेरणा आफ्नै स्वार्थपूर्ति हो र हामी आफ्नै भौतिक सरसम्पत्ति, आफ्नै सुखसुविधा अनि व्यक्तिगत हितको मात्र चासो राख्छौं भनी शैतानले अय्यूबको अवस्थामा जस्तै अहिले पनि प्रमाणित गर्न खोज्छ। तर हामीले साँच्चै राज्यलाई प्रथम स्थान दिइरहेका छौं भने दियाबल सरासर झूट हो भनेर प्रमाणित गर्न केही सहयोग पुऱ्याइरहेका हुनेछौं। हाम्रो जीवनमा प्राथमिकता भनेको परमेश्वरको सेवा हो भनेर प्रमाण दिइरहेका हुनेछौं। हामीले आफ्नो वचन र कामद्वारा यहोवाप्रति गहिरो प्रेम, उहाँको सार्वभौमिकताप्रति वफादार समर्थन तथा सँगी मानवहरूप्रति प्रेम प्रमाणित गरिरहेका हुनेछौं।—अय्यूब १:९-११; २:४, ५; हितोपदेश २७:११.
१४. (क) क्षेत्र सेवकाईको लागि तालिका बनाउनु किन मदतकारी हुन्छ? (ख) थुप्रै साक्षीहरूले क्षेत्र सेवकाईमा कुन हदसम्म भाग लिइरहेका छन्?
१४ सामान्यतया गर्नेभन्दा बढी गर्न तालिका बनाउनु मदतकारी हुन सक्छ। यहोवाले आफ्नो उद्देश्य पूरा गर्न ‘समय ठहराउनुभएको’ छ। (प्रस्थान ९:५; दानियल ८:१९) सम्भव भए, हरेक हप्ता एक चोटि वा बढी आफूले समय छुट्याएर क्षेत्र सेवकाईमा भाग लिनु बेस हो। संसारभरि हजारौं साक्षीहरू सहायक अग्रगामीको हैसियतमा सहभागी भएका छन् र हरेक दिन सुसमाचार प्रचार गर्न लगभग दुई घण्टा बिताउँछन्। अरू हजारौं भने नियमित अग्रगामीको हैसियतमा सेवा गरेर हरेक दिन राज्य सन्देश सुनाउन लगभग साढे दुई घण्टा बिताउँछन्। विशेष अग्रगामी तथा मिसनरीहरूले राज्य सेवामा अझ बढी समय बिताउँछन्। राज्य आशाको सन्देश सुन्न चाहनेलाई अनौपचारिक तवरमा सुनाउने मौका खोज्न सक्छौं। (यूहन्ना ४:७-१५) यस काममा आफ्नो क्षमताले भ्याएसम्म बढी भाग लिने हाम्रो इच्छा हुनुपर्छ किनभने येशूले यसो भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४; एफिसी ५:१५-१७.
१५. हाम्रो सेवकाईको सन्दर्भमा तपाईंलाई १ कोरिन्थी १५:५८ को सल्लाह किन समय सुहाउँदो लाग्छ?
१५ संसारको जुनसुकै भागमा बसे तापनि एकताबद्ध भएर यहोवाका साक्षीहरूले सेवाको यस सुअवसरमा भाग लिइरहेका छन्। तिनीहरू यो प्रेरित सल्लाह पालन गर्छन्: “स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।”—१ कोरिन्थी १५:५८.
पुनरावृत्ति छलफल
• येशूले सर्वप्रथम ‘राज्यको खोजी गर’ भन्ने सल्लाह दिनुहुँदा उहाँले कुन कुरालाई दोस्रो स्थानमा राख्नुपर्छ भनेर संकेत गर्दै हुनुहुन्थ्यो?
• आफ्नो र आफ्नो परिवारको भौतिक आवश्यकता हेरचाह गर्ने सन्दर्भमा हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ? परमेश्वरले हामीलाई कस्तो मदत दिनुहुनेछ?
• हामी राज्य सेवाको कस्ता गतिविधिमा भाग लिन सक्छौं?
[पृष्ठ १०७-मा भएको चित्र]
यहोवाका साक्षीहरूले अन्त आउनुअघि अहिले सबै मुलुकमा सुसमाचार प्रचार गरिरहेका छन्