प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bt chap. ३ pp. २०-२७
  • “पवित्र शक्‍तिले भरिपूर्ण भए”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “पवित्र शक्‍तिले भरिपूर्ण भए”
  • परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “सबै एकै ठाउँमा भेला भएका थिए” (प्रेषित २:१-४)
  • “तिनीहरूकै भाषामा चेलाहरूले बोलिरहेको तिनीहरूले सुने” (प्रेषित २:५-१३)
  • “पत्रुस . . . उठे” (प्रेषित २:१४-३७)
  • “तपाईँहरू हरेकले . . . बप्तिस्मा गर्नुहोस्‌” (प्रेषित २:३८-४७)
  • पत्रुस पेन्तिकोसको दिनमा प्रचार गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • प्रथम शताब्दीका यहूदीहरूलाई प्रचार गरियो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “विभिन्‍न भाषा बोल्ने” मानिसहरूले सुसमाचार सुनिरहेका छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
bt chap. ३ pp. २०-२७

अध्याय ३

“पवित्र शक्‍तिले भरिपूर्ण भए”

पेन्तिकोसमा पवित्र शक्‍ति खन्याइएपछि

प्रेषित २:१-४७ मा आधारित

१. पेन्तिकोसको बेला यरुसलेमको अवस्था कस्तो थियो, बताउनुहोस्‌।

यरुसलेमका सडकहरू उत्साहले भरिएका छन्‌।a मन्दिरको वेदीबाट धुँवा निस्किरहेको छ र लेवीहरूले सायद दोहोरी शैलीमा हल्लेल गाइरहेका छन्‌। (भजन ११३ देखि ११८ सम्म) सडकहरूमा विभिन्‍न ठाउँबाट आएका मानिसहरू खचाखच छन्‌। तिनीहरू एलाम, मेसोपोटामिया, क्यापाडोसिया, पोन्टस, मिश्र र रोमजस्ता टाढाका सहरबाट आएका छन्‌।b किन? पेन्तिकोसको चाड मनाउन। यसलाई “उब्जनीको पहिलो फल चढाउने दिन” पनि भनिन्छ। (गन्ती २८:२६) यो वार्षिक चाडले जौको कटनीको समाप्ति र गहुँको कटनीको सुरुवातलाई सङ्‌केत गर्छ। यो रमाइलो दिन हो।

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा सुसमाचार सुन्‍ने व्यक्‍तिहरूको मातृभूमि देखाइएको नक्सा। १) क्षेत्रहरू: लिबिया, मिश्र, इथियोपिया, बिथिनिया, पोन्टस, क्यापाडोसिया, यहुदिया, मेसोपोटामिया, बेबिलोनिया, एलाम, मादी र पार्थिया। २) सहरहरू: रोम, अलेक्जेन्ड्रिया, मेम्फिस, एन्टिओक (सिरियाको), यरुसलेम र बेबिलोन। ३) सागरहरू: भूमध्य सागर, कृष्ण सागर, लाल समुद्र, फारसको खाडी र केस्पियन सागर।

यरुसलेम —यहुदी धर्मको केन्द्र

प्रेषितको पुस्तकको सुरु-सुरुका अध्यायका प्रायजसो विवरण यरुसलेममा केन्द्रित छ। यो सहर भूमध्य सागरको झन्डै ५५ किलोमिटर पूर्वतिर यहुदियाको मध्य पर्वतमालाबीच पर्छ। ईसापूर्व १०७० मा राजा दाउदले सियोन डाँडाको गढ कब्जा गरे र त्यस वरपर विस्तार भएको सहर नै प्राचीन इस्राएलको राजधानी बन्यो।

प्राचीन यहुदी लेखोटहरूअनुसार सियोन डाँडा नजिकै रहेको मोरियाह पर्वतमा नै अब्राहामले इसहाकलाई बलि चढाउन लगेका थिए। यो घटना प्रेषितको पुस्तकमा उल्लिखित विवरणहरू हुनुभन्दा झन्डै १,९०० वर्षअघिको हो। सुलेमानले यस पर्वतमा यहोवाको पहिलो मन्दिर बनाएपछि यो पनि यरुसलेम सहरको भाग बन्यो। यसपछि यो यहुदीहरूको दिनचर्या र उपासनाको केन्द्रबिन्दु बन्यो।

संसारभरिका भक्‍त यहुदीहरू बलि चढाउन, उपासना गर्न र वर्षेनी मनाइने चाडहरू मनाउन नियमित रूपमा यहोवाको मन्दिरमा जम्मा हुन्थे। तिनीहरूले यो परमेश्‍वरको आज्ञाबमोजिम नै गरिरहेका थिए: “तिमीहरूमाझ भएका सबै पुरुष वर्षको तीन पटक यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला होऊन्‌।” (व्यव. १६:१६) यरुसलेममा यहुदीहरूको न्यायपरिषद्‌ पनि थियो। समुदाय, धर्म र सरकारमाथि त्यस न्यायपरिषद्‌को प्रभुत्व थियो।

२. इस्वी संवत्‌ ३३ पेन्तिकोसमा कस्तो अचम्मको घटना घट्‌छ?

२ कुरा इस्वी संवत्‌ ३३ वसन्त ऋतुको हो। शताब्दियौँपछिसम्म पनि मानिसहरूलाई अचम्म लाग्ने एउटा घटना त्यस दिन बिहान नौ बजेतिर घट्‌छ। अकस्मात्‌ आकाशबाट ‘ठूलो बतास चलेकोजस्तो आवाज आउँछ।’ (प्रेषि. २:२) येसुका लगभग १२० जना चेलाहरू भेला भएको घर ठूलो आवाजले भरिन्छ। त्यसपछि एकदमै अचम्मको घटना घट्‌छ। जिब्रोजस्तो देखिने आगोका ज्वालाहरू देखिन्छ र त्यो छुट्टिएर हरेकमाथि एउटा-एउटा बस्छ। अनि चेलाहरू “पवित्र शक्‍तिले भरिपूर्ण” हुन्छन्‌ र विभिन्‍न भाषा बोल्न थाल्छन्‌! चेलाहरू उक्‍त घरबाट निस्केर सडकमा भेटिने मानिसहरूसित कुरा गर्न थाल्छन्‌। चेलाहरूले तिनीहरूकै मातृभाषामा बोलिरहेको देखेर ती मानिसहरू आश्‍चर्यचकित हुन्छन्‌! हो, “तिनीहरूकै भाषामा चेलाहरूले बोलिरहेको तिनीहरूले सुने।”—प्रेषि. २:१-६.

३. (क) इस्वी संवत्‌ ३३ पेन्तिकोसमा भएको घटना किन साँचो उपासनामा एउटा कोसेढुङ्‌गो साबित भयो भन्‍न सकिन्छ? (ख) पत्रुसले दिएको भाषण र “राज्यका साँचाहरू” चलाउनुबीच कस्तो सम्बन्ध छ?

३ यो आश्‍चर्यजनक घटना साँचो उपासनामा एउटा कोसेढुङ्‌गो साबित भयो—आध्यात्मिक इस्राएल राष्ट्र अर्थात्‌ अभिषिक्‍त ख्रिष्टियन मण्डलीको स्थापना। (गला. ६:१६) तर कुरा यत्तिमै सीमित छैन। त्यस दिन भाषण दिँदा पत्रुसले “राज्यका साँचाहरू”-मध्ये पहिलोचाहिँ चलाउँछन्‌। राज्यका तीन वटा साँचामध्ये प्रत्येकले फरक-फरक समूहको लागि विशेष सुअवसरको ढोका खोलिदिन्छ। (मत्ति १६:१८, १९) पहिलो साँचोले यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूलाई सुसमाचार स्विकार्न र परमेश्‍वरको पवित्र शक्‍तिले अभिषिक्‍त हुन सम्भव तुल्यायो।c यसरी तिनीहरू आध्यात्मिक इस्राएलको भाग बन्‍न सके, जसले गर्दा तिनीहरूले मसीही राज्यमा राजा र पुजारीको रूपमा शासन गर्ने आशा पाए। (प्रका. ५:९, १०) समयको दौडान त्यो सुअवसर सामरियालीहरूलाई अनि अन्यजातिहरूलाई पनि दिइने थियो। इस्वी संवत्‌ ३३ पेन्तिकोसको अविस्मरणीय घटनाबाट आज ख्रिष्टियनहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

“सबै एकै ठाउँमा भेला भएका थिए” (प्रेषित २:१-४)

४. इस्वी संवत्‌ ३३ मा स्थापना भएको मण्डली र आधुनिक समयको ख्रिष्टियन मण्डलीबीच कस्तो सम्बन्ध छ?

४ माथिल्लो कोठामा “एकै ठाउँमा भेला भएका” र पवित्र शक्‍तिले अभिषिक्‍त भएका लगभग १२० जना चेलाहरूबाट ख्रिष्टियन मण्डलीको सुरुवात भयो। (प्रेषि. २:१) त्यस दिनको अन्तसम्ममा बप्तिस्मा गरेका मण्डलीका सदस्यहरूको सङ्‌ख्या हजारौँ पुगिसकेको थियो। अहिलेसम्म पनि निरन्तर वृद्धि भइरहेको सङ्‌गठनको त्यो त सुरुवात मात्र थियो! हो, यस युगको अन्त हुनुअघि नै “सबै जातिलाई साक्षी दिनका लागि राज्यको . . . सुसमाचार सारा पृथ्वीभरि प्रचार” गर्न आज पनि परमेश्‍वरको डर राख्ने पुरुष तथा स्त्रीहरूको समुदाय अर्थात्‌ आधुनिक समयको ख्रिष्टियन मण्डली सक्रिय भई लागिरहेको छ।—मत्ति २४:१४.

५. प्रथम शताब्दीमा ख्रिष्टियन मण्डलीसित सङ्‌गत गर्दा कस्तो आशिष्‌ पाउन सकिन्थ्यो र आज नि?

५ ख्रिष्टियन मण्डली अभिषिक्‍त जनहरूका लागि र पछि “अरू भेडा”-का लागि प्रोत्साहनको स्रोत पनि हुने थियो। (युह. १०:१६) मण्डलीका सदस्यहरूले एक-अर्कालाई समर्थन गरेकोमा प्रशंसा गर्दै रोमका ख्रिष्टियनहरूलाई पावलले यस्तो लेखे: “म तिमीहरूलाई भेट्‌न तीव्र इच्छा गर्दै छु ताकि केही आध्यात्मिक वरदान दिएर तिमीहरूलाई स्थिर बनाउन सकूँ वा भनौँ मैले र तिमीहरूले, हामी दुवैले आ-आफ्नो विश्‍वासद्वारा एकअर्कालाई प्रोत्साहन दिन सकौँ।”—रोमी १:११, १२.

रोम—एउटा साम्राज्यको राजधानी

प्रेषितको पुस्तक लेखिएको समयावधिमा रोम सबैभन्दा ठूलो अनि राजनैतिक रूपमा एकदमै महत्त्वपूर्ण सहर थियो। रोम एउटा साम्राज्यको राजधानी थियो र यो सबैभन्दा शक्‍तिशाली छँदा बेलायतदेखि उत्तर अफ्रिकासम्म र आन्द्र महासागरदेखि फारसको खाडीसम्म फैलिएको थियो।

रोम सहर विभिन्‍न संस्कृति, जाति, भाषा र अन्धविश्‍वासको सम्मिश्रण थियो। बाटोघाटोको राम्रो सुविधाले गर्दा साम्राज्यको कुना-कुनाबाट यात्रुहरू र सरसामानहरू आइपुग्थे। नजिकैको व्यस्त ओस्टिया बन्दरगाहबाट रोमको लागि खानेकुरा र विलासी सामानहरू पठाउने गरिन्थ्यो।

इस्वी संवत्‌ प्रथम शताब्दीसम्ममा त्यहाँको जनसङ्‌ख्या १० लाखभन्दा धेरै पुगिसकेको थियो। त्यसमध्ये सायद आधा त दासहरू थिए। जस्तै: दोषी ठहऱ्‍याइएका अपराधीहरू, बुबाआमाद्वारा बेचिएका वा त्यागिएका बालबच्चाहरू र रोमी सेनापतिहरूले लडाइँबाट ल्याएका कैदीहरू। ईसापूर्व ६३ मा यरुसलेममाथि विजयी भएपछि रोमी सेनापति पोम्पीले त्यहाँबाट ल्याएका यहुदीहरू पनि रोममा दासको रूपमा थिए।

बाँकी अधिकांश जनताचाहिँ गरिब थिए। तिनीहरू मानिसहरूले खचाखच भरिएका घरहरूमा बस्थे र सरकारले दिने राहतमा भर पर्थे। तर सम्राट्‌हरूले भने अत्यन्तै भव्य सार्वजनिक भवनहरू बनाएर सहरलाई सजाएका थिए। जस्तै: रङ्‌गमञ्च र ठूलठूला रङ्‌गशालाहरू बनाइए, जहाँ श्रोताहरूले नाटक, हिंसात्मक प्रतिस्पर्धाहरू र रथ दौड हेर्न सक्थे। यी मनोरञ्जन सबैले सित्तैँमा हेर्न पाउँथे।

६, ७. सबै जातिका मानिसहरूलाई साक्षी दिन येसुले सुम्पनुभएको जिम्मेवारी आज ख्रिष्टियन मण्डलीले कसरी पूरा गरिरहेको छ?

६ आज पनि ख्रिष्टियन मण्डलीको उद्देश्‍य प्रथम शताब्दीको जस्तै हो। येसुले आफ्ना चेलाहरूलाई रोमाञ्चकारी तर चुनौतीपूर्ण काम सुम्पनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गराओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ। हेर! यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।”—मत्ति २८:१९, २०.

७ आज यो काम यहोवाका साक्षीहरूको ख्रिष्टियन मण्डलीमार्फत पूरा भइरहेको छ। पक्कै पनि विभिन्‍न भाषा बोल्ने मानिसहरूलाई साक्षी दिन सजिलो छैन। तैपनि यहोवाका साक्षीहरूले १ हजारभन्दा धेरै भाषामा बाइबलआधारित सामग्रीहरू प्रकाशित गरेका छन्‌। तपाईँले नियमित रूपमा ख्रिष्टियन मण्डलीसित सङ्‌गत गर्दै हुनुहुन्छ अनि साक्षीकार्य र चेला बनाउने काममा भाग लिँदै हुनुहुन्छ भने तपाईँ आनन्दित हुन सक्नुहुन्छ। यहोवाको नामको राम्ररी साक्षी दिने सुअवसर पाएका मुठीभर मानिसहरूमध्ये तपाईँ पनि एक हुनुहुन्छ!

८. ख्रिष्टियन मण्डलीबाट हामी कस्तो मदत पाउन सक्छौँ?

८ अहिलेको असाध्यै कठिन समयमा आनन्दित भई अघि बढ्‌न यहोवा परमेश्‍वरले हामीलाई विश्‍वव्यापी भाइचाराको प्रबन्ध गरिदिनुभएको छ। पावलले हिब्रू ख्रिष्टियनहरूलाई यस्तो लेखे: “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ, कसै-कसैलाई एकसाथ भेला हुन छोड्‌ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ बरु एकअर्कालाई प्रोत्साहन दिइरहौँ अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन्‌ बढी त्यसो गरिरहौँ।” (हिब्रू १०:२४, २५) हामीले अरूलाई प्रोत्साहन दिन र आफैले पनि प्रोत्साहन पाउन सकौँ भनेर यहोवाले गर्नुभएको एउटा प्रबन्ध ख्रिष्टियन मण्डली हो। त्यसैले भाइबहिनीहरूसित नजिक रहनुहोस्‌ र सभाहरूमा सँगै भेला हुन कहिल्यै नछोड्‌नुहोस्‌!

“तिनीहरूकै भाषामा चेलाहरूले बोलिरहेको तिनीहरूले सुने” (प्रेषित २:५-१३)

येसुका चेलाहरूले व्यस्त सडकमा यहुदी र धर्म परिवर्तन गरेर यहुदी भएकाहरूलाई साक्षी दिँदै छन्‌।

“यिनीहरूले हाम्रै भाषामा परमेश्‍वरको विषयमा अद्‌भुत कुराहरू गरिरहेको हामी सुन्दै छौँ।”​—प्रेषित २:११

९, १०. फरक भाषा बोल्ने मानिसहरूलाई साक्षी दिन कसै-कसैले कस्तो प्रयास गरेका छन्‌?

९ इस्वी संवत्‌ ३३ पेन्तिकोसमा यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूको समूहमा कत्ति उत्साह र उमङ्‌ग छाएको थियो होला, कल्पना गर्नुहोस्‌। त्यहाँ भएका सबैले सामान्यतया बोलिने ग्रीक वा हिब्रू भाषा बोल्थे होलान्‌। तर अहिले भने “तिनीहरूकै भाषामा चेलाहरूले बोलिरहेको तिनीहरूले सुने।” (प्रेषि. २:६) आफ्नै भाषामा सुसमाचार सुन्‍न पाउँदा पक्कै पनि तिनीहरूको मन छोएको हुनुपर्छ। तर आज ख्रिष्टियनहरूले चमत्कारी ढङ्‌गमा फरक भाषा बोल्ने वरदान पाउँदैनन्‌। तैपनि थुप्रै ख्रिष्टियनहरू सबै जातिका मानिसहरूलाई राज्य सन्देश सुनाउन अघि बढेका छन्‌। कसरी? नजिकैको अर्कै भाषाको मण्डलीमा वा अर्को देशमा गएर सेवा गर्न कसै-कसैले नयाँ भाषा सिकेका छन्‌। यस्तो मेहनत देखेर अक्सर आफूले सुसमाचार सुनाउने मानिसहरू प्रभावित भएको कुरा थुप्रैले अनुभव गरेका छन्‌।

१० अरू सात जना साक्षीहरूसँगै गुजराती भाषा सिकेकी क्रिस्टिनलाई विचार गर्नुहोस्‌। सँगै काम गर्ने जवान गुजराती महिलालाई भेट्‌दा तिनले उनकै भाषामा अभिवादन गरिन्‌। ती महिला प्रभावित भइन्‌ र तिनले किन गुजरातीजस्तो गाह्रो भाषा सिकेकी भनेर सोधिन्‌। त्यतिबेला क्रिस्टिनले राम्रो साक्षी दिन सकिन्‌। उनले क्रिस्टिनलाई यसो भनिन्‌: “तपाईँहरूले सुनाउने सन्देश पक्कै अत्यन्तै महत्त्वपूर्ण हुनुपर्छ।”

११. फरक भाषा बोल्ने मानिसहरूलाई राज्यको सुसमाचार सुनाउन हामी कसरी तयार हुन सक्छौँ?

११ तर हामी सबैको अवस्था भिन्‍नाभिन्‍नै भएकोले नयाँ भाषा सिक्न सम्भव नहुन सक्छ। तैपनि फरक भाषा बोल्ने मानिसहरूलाई राज्य सन्देश सुनाउन हामी तयार हुन सक्छौँ। कसरी? एउटा तरिका हो, JW ल्याङ्‌ग्वेज एप चलाउँदै तपाईँको इलाकामा साधारणतया बोलिने अर्को भाषामा अभिवादन गर्न सिकेर। साथै यस एपबाट तपाईँ मानिसहरूको चासो जगाउने केही विषयमा कुराकानी थाल्न पनि सिक्न सक्नुहुन्छ। त्यसपछि तिनीहरूलाई jw.org वेबसाइटबारे बताउनुहोस्‌ र तिनीहरूकै भाषामा भएका प्रकाशन र भिडियोहरू देखाउनुहोस्‌। साक्षीकार्यमा यस्ता सामग्रीहरू प्रयोग गरेर हामी पनि प्रथम शताब्दीका ख्रिष्टियनहरूको जस्तै आनन्द पाउन सक्नेछौँ, जुन आनन्द तिनीहरूले अन्य भाषा बोल्ने मानिसहरू ‘आफ्नै भाषामा चेलाहरूले बोलिरहेको सुनेर’ आश्‍चर्यचकित हुँदा अनुभव गरेका थिए।

मेसोपोटामिया र मिश्रमा यहुदीहरू

येसु ख्रिष्टको समयमा यहुदीहरूको इतिहास (अङ्‌ग्रेजी) (ईसापूर्व १७५—इस्वी संवत्‌ १३५) पुस्तकमा यसो भनिएको छ: “[इस्राएलको] १० कुलको र कुनै समय अस्सेरिया अनि बेबिलोनबाट देश निकाला गरिएका यहुदा राज्यका सन्तानहरू मेसोपोटामिया, मादी र बेबिलोनमा बसोबास गर्थे।” एज्रा २:६४ अनुसार बेबिलोनको निर्वासनबाट ४२ हजार ३ सय ६० जना इस्राएली यरुसलेम फर्के। यो घटना ईसापूर्व ५३७ को हो। इस्वी संवत्‌ प्रथम शताब्दीमा “बेबिलोन वरिपरि बसोबास गर्ने” यहुदीहरू हजारौँ थिए भनेर फ्लेभियस जोसेफसले बताएका छन्‌। इस्वी संवत्‌ २ देखि ४ शताब्दीसम्ममा यी समुदायले बेबिलोनी ताल्मुद प्रकाशित गरे।

मिश्रमा ईसापूर्व छैटौँ शताब्दीदेखि नै यहुदीहरू थिए भनेर पुराना लेखोटहरूले देखाउँछ। त्यस समयावधिमा यर्मियाले मेम्फिसलगायत मिश्रका विभिन्‍न ठाउँमा बस्ने यहुदीहरूलाई सन्देश पठाए। (यर्मि. ४४:१, फुटनोट) अरू राष्ट्रहरूमा ग्रीक सभ्यताले असर गरिरहेको समयमा यहुदीहरूको ठूलो सङ्‌ख्या मिश्रमा बसाइँ सरेको हुनुपर्छ। अलेक्जेन्ड्रियामा सुरु-सुरुमा बसोबास गर्नेहरूमध्ये यहुदीहरू पनि थिए भनी जोसेफसले बताएका छन्‌। समयको दौडान सहरको एउटा पूरै भाग तिनीहरूको लागि छुट्ट्याइयो। इस्वी संवत्‌ प्रथम शताब्दीमा यहुदी लेखक फिलोका अनुसार लाखौँ यहुदीहरू मिश्र देशभरि “लिबियादेखि इथियोपियाको सिमानासम्म” फैलिएका थिए।

“पत्रुस . . . उठे” (प्रेषित २:१४-३७)

१२. (क) अगमवक्‍ता योएलले गरेको कुन भविष्यवाणी इस्वी संवत्‌ ३३ पेन्तिकोसमा पूरा भयो? (ख) योएलको भविष्यवाणी प्रथम शताब्दीमै पूरा हुनेछ भनेर आशा गर्न सक्नुको कारण के हो?

१२ विभिन्‍न भाषा बोल्ने समूहलाई भाषण दिन “पत्रुस . . . उठे।” (प्रेषि. २:१४) चमत्कारी ढङ्‌गमा विभिन्‍न भाषामा बोल्न सक्ने क्षमता परमेश्‍वरले दिनुभएको हो र यो योएलले गरेको भविष्यवाणीको पूर्ति हो भनेर तिनले आफ्ना श्रोतालाई बताए। योएलले यस्तो भविष्यवाणी गरेका थिए: “म सबै मानिसमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु।” (योए. २:२८) स्वर्ग जानुअघि येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “म बुबालाई बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को मदतगार दिनुहुनेछ।” त्यो मदतगार “पवित्र शक्‍ति” हो भनेर पनि येसुले बताउनुभयो।—युह. १४:१६, १७.

१३, १४. पत्रुसले कसरी आफ्नो श्रोताको मनसम्म पुग्ने प्रयास गरे? हामी कसरी तिनको अनुकरण गर्न सक्छौँ?

१३ पत्रुसले सशक्‍त ढङ्‌गमा आफ्नो भाषण यसरी टुङ्‌ग्याए: “त्यसकारण इस्राएलको सबै घरानालाई यो निश्‍चय थाह होस्‌ कि तिनै येसु, जसलाई तपाईँहरूले खम्बामा टाँग्नुभयो, उहाँलाई परमेश्‍वरले प्रभु र ख्रिष्ट दुवै बनाउनुभयो।” (प्रेषि. २:३६) हुनत पत्रुसको भाषण सुनिरहेका अधिकांश मानिसहरू येसुलाई यातनाको खम्बामा टाँगेर मारिँदा त्यहाँ उपस्थित थिएनन्‌। तर सिङ्‌गो इस्राएल राष्ट्रको रूपमा भने तिनीहरू दोषी थिए। तैपनि याद गर्नुहोस्‌, पत्रुसले सङ्‌गी यहुदीहरूलाई आदरपूर्वक सम्बोधन गरे र तिनीहरूको मन छुने प्रयास गरे। पत्रुसको लक्ष्य आफ्ना श्रोताहरूको निन्दा गर्नु थिएन तर तिनीहरूलाई पश्‍चात्ताप गर्न उत्प्रेरित गर्नु थियो। पत्रुसको कुरा सुनिरहेको भीडले के तिनको कुरामा आपत्ति जनाए? अहँ! जनाएनन्‌। बरु “तिनीहरूको हृदय अत्यन्तै व्याकुल भयो।” तिनीहरूले यस्तो सोधे: “हामी के गरौँ?” पत्रुसले तिनीहरूसित आदरपूर्वक व्यवहार गरेकोले थुप्रैको मन छोयो र तिनीहरू पश्‍चात्ताप गर्न उत्प्रेरित भए।—प्रेषि. २:३७.

१४ मानिसहरूको मनसम्म पुग्न हामी पनि पत्रुसको अनुकरण गर्न सक्छौँ। हामीले सुसमाचार सुनाउने मानिसहरूले बाइबलसित मेल नखाने कुरा बताउँदा प्रत्येक कुराको खण्डन गरिरहनुपर्दैन। बरु दुवै पक्ष सहमत हुने विषयमा कुराकानी गर्न सक्छौँ। श्रोतालाई चासो लाग्ने विषयमा कुराकानी अघि बढाउन सक्यौँ भने हामीले कौशलतापूर्वक परमेश्‍वरको वचनबाट तर्क गर्न सक्छौँ। यसरी बाइबलका सत्य कुराहरू प्रस्तुत गर्दा सही मनसाय भएका मानिसहरूले सकारात्मक प्रतिक्रिया देखाउने सम्भावना धेरै हुन्छ।

पोन्टसमा ख्रिष्टियन धर्म

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा पत्रुसको भाषण सुन्‍नेहरूमध्ये एसिया माइनरको उत्तरी भागमा पर्ने पोन्टसका यहुदीहरू पनि थिए। (प्रेषि. २:९) पत्रुसले आफ्नो पहिलो पत्रमा पोन्टसजस्ता विभिन्‍न ठाउँमा “तितरबितर भएका” चेलाहरूलाई पनि सम्बोधन गरेका छन्‌।f (१ पत्रु. १:१) यसबाट तिनीहरूमध्ये कसै-कसैले सुसमाचार आफ्नो मातृभूमिसम्म पुऱ्‍याए भनेर प्रस्ट हुन्छ। ती ख्रिष्टियनहरूले आफ्नो विश्‍वासको कारण ‘दुःख भोग्नुपरेको’ कुरा तिनले आफ्नो पत्रमा बताएका छन्‌। (१ पत्रु. १:६) साथै तिनीहरूले विरोध र सतावट पनि भोग्नुपरेको हुन सक्छ।

पोन्टसका ख्रिष्टियनहरूले थप परीक्षा भोग्नुपऱ्‍यो भन्‍ने कुरा बिथिनिया र पोन्टसका राज्यपाल प्लाइनी र सम्राट्‌ ट्राजानबीच भएको पत्राचारबाट स्पष्ट हुन्छ। इस्वी संवत्‌ ११२ तिर पोन्टसबाट प्लाइनीले लेखेको एउटा पत्रमा ख्रिष्टियनहरू चाहे पुरुष हुन्‌ वा स्त्री अनि जुनसुकै उमेर वा ओहदाका होऊन्‌, तिनीहरू सबैको लागि “सरुवा रोग”-जस्तै खतरा हुन्‌ भनेर बताए। ख्रिष्टियन भएको अभियोग लगाइएकाहरूलाई आफ्नो विश्‍वास त्याग्न प्लाइनीले मौका दिन्थे र विश्‍वास त्याग्न नमान्‍नेहरूलाई मृत्युदण्ड दिन्थे। ख्रिष्टलाई सराप्ने र ट्राजानको मूर्तिसामु वा देवीदेवतासामु प्रार्थना गर्नेहरूलाई भने छोडिन्थ्यो। “जो साँचो ख्रिष्टियन थिए, तिनीहरूलाई कुनै पनि हालतमा जबरजस्ती गर्न सकिएन” भनेर प्लाइनी स्वयम्‌ले मानिलिए।

f “तितरबितर भएका” भनी अनुवाद गरिएको मूल भाषाको वाक्यांशले यहुदीहरूलाई सङ्‌केत गर्छ। यसले सुरु-सुरुमा ख्रिष्टियन बनेका धेरैजसो मानिस यहुदी समुदायबाट थिए भनेर बुझाउँछ।

“तपाईँहरू हरेकले . . . बप्तिस्मा गर्नुहोस्‌” (प्रेषित २:३८-४७)

१५. (क) पत्रुसले के भने र मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) पेन्तिकोसमा सुसमाचार सुनेका हजारौँ व्यक्‍तिहरू किन त्यही दिन बप्तिस्माको लागि योग्य हुन सके?

१५ इस्वी संवत्‌ ३३ पेन्तिकोसको रोमाञ्चकारी दिनमा पत्रुसले आफ्नो कुरा सुन्‍ने यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूलाई यसो भने: “पश्‍चात्ताप गर्नुहोस्‌ र तपाईँहरू हरेकले . . . बप्तिस्मा गर्नुहोस्‌।” (प्रेषि. २:३८) फलस्वरूप झन्डै ३ हजार जनाले बप्तिस्मा गरे, सम्भवतः यरुसलेममा वा यरुसलेम नजिकैको पोखरीमा।d के यो हतारमा गरिएको निर्णय थियो? के यस विवरणले बाइबल विद्यार्थीलाई र ख्रिष्टियन परिवारमा हुर्केका छोराछोरीलाई योग्यता नपुगे तापनि बप्तिस्मा गर्न सिकाउँछ? सिकाउँदैन! नबिर्सनुहोस्‌, इस्वी संवत्‌ ३३ पेन्तिकोसमा बप्तिस्मा गरेका ती यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूले परमेश्‍वरको वचन अध्ययन गरेका थिए र तिनीहरू यहोवाको समर्पित राष्ट्रको भाग पनि थिए। अझ तिनीहरूमध्ये कसै-कसैले त यस वार्षिक चाड मनाउन धेरै टाढाबाट आएर यहोवाको उपासनाप्रति जोस देखाइसकेका थिए। त्यसैले परमेश्‍वरको उद्देश्‍य पूर्तिमा येसु ख्रिष्टको महत्त्वपूर्ण भूमिकाबारे सत्य कुरा स्विकारेपछि तिनीहरू परमेश्‍वरको सेवा गरिरहन अझ तयार भए तर अब भने ख्रिष्टको बप्तिस्मा गरिसकेका अनुयायीको रूपमा।

धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू को थिए?

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा पत्रुसले साक्षी दिँदा ‘यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू’ दुवैले सुने।—प्रेषि. २:१०.

दिनहुँ खानेकुरा बाँड्‌ने “महत्त्वपूर्ण काममा” नियुक्‍त भएका योग्य पुरुषहरूमध्ये निकोलाउस पनि थिए। तिनलाई “यहुदी बनेका एन्टिओकका” भनी चिनाइएको छ। (प्रेषि. ६:३-५) धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू अन्यजातिका थिए। तिनीहरूले परमेश्‍वर र इस्राएलको व्यवस्था सबै स्विकारेर अन्य सबै देवताहरूलाई तिरस्कार गरेकोले, खतना गरेकोले (पुरुष हुन्‌ भने) र इस्राएल राष्ट्रसित सम्बन्ध गाँसेकोले तिनीहरूलाई यहुदी नै ठानिन्थ्यो।

ईसापूर्व ५३७ मा बेबिलोनको कैदबाट मुक्‍त भएपछि थुप्रै यहुदी इस्राएलबाट टाढा पर्ने भूमिमा बसोबास गर्न थाले तर यहुदी धर्म भने त्यागेनन्‌। त्यसैले भूमध्यसागरको पूर्वतिर र त्यसभन्दा टाढा बस्ने प्राचीन समयका मानिसहरू यहुदी धर्मसित परिचित थिए। होरेस र सेनेकाजस्ता प्राचीन समयका लेखकहरूले विभिन्‍न मुलुकका थुप्रै मानिस यहुदी र तिनीहरूको प्रचलनबाट प्रभावित भए अनि यहुदीहरूको समुदायसितै मिले र धर्म परिवर्तन गरेर यहुदी बने भनेर पुष्टि गरेका छन्‌।

१६. प्रथम शताब्दीका ख्रिष्टियनहरूले कसरी आत्मत्यागी मनोभाव देखाए?

१६ त्यस समूहमाथि पक्कै पनि यहोवाको आशिष्‌ थियो। विवरण यसो भन्छ: “जो-जो येसुको चेला बने, तिनीहरू एकसाथ भेला हुन्थे र तिनीहरूसित भएका सबै कुरा तिनीहरूको साझा हुन्थ्यो। तिनीहरू आफ्नो सरसामान र जायजेथा बेच्थे अनि त्यसबाट आएको रकम सबैलाई बाँड्‌थे। हरेकलाई उसको खाँचोअनुसार दिइन्थ्यो।”e (प्रेषि. २:४४, ४५) सबै साँचो ख्रिष्टियनहरू त्यस्तो मायालु र आत्मत्यागी मनोभावको अवश्‍य अनुकरण गर्न चाहन्छन्‌।

१७. बप्तिस्माको लागि योग्य हुन कस्ता कदमहरू चाल्नै पर्छ?

१७ कुनै व्यक्‍तिले ख्रिष्टियनको रूपमा समर्पण र बप्तिस्मा गर्न बाइबलआधारित केही कदमहरू चाल्नै पर्छ। तिनले परमेश्‍वरको वचनको ज्ञान लिनै पर्छ। (युह. १७:३) तिनमा विश्‍वास हुनुपर्छ र आफ्नो विगतको जीवनशैलीको लागि साँचो पश्‍चात्ताप देखाएको हुनै पर्छ। (प्रेषि. ३:१९) त्यसपछि तिनले ती कुराहरूबाट फर्केर परमेश्‍वरको इच्छाअनुरूप सही कामहरूमा भाग लिन थाल्नुपर्छ। (रोमी १२:२; एफि. ४:२३, २४) यी कदमहरू चालिसकेपछि तिनले प्रार्थना गरेर यहोवालाई आफ्नो जीवन समर्पण गर्नुपर्छ र बप्तिस्मा गर्नुपर्छ।—मत्ति १६:२४; १ पत्रु. ३:२१.

१८. ख्रिष्टका बप्तिस्मा गरेका चेलाहरूसामु कस्तो सुअवसरको ढोका खुला छ?

१८ के तपाईँ येसु ख्रिष्टको समर्पित र बप्तिस्मा गरेको चेला हुनुहुन्छ? हुनुहुन्छ भने तपाईँलाई दिइएको सुअवसरको लागि कृतज्ञ हुनुहोस्‌। पवित्र शक्‍तिले भरिएका प्रथम शताब्दीका चेलाहरूलाई जस्तै यहोवाले तपाईँलाई पनि राम्ररी साक्षी दिन र उहाँको इच्छाबमोजिम गर्न प्रभावकारी तरिकामा चलाउनुहुन्छ।

a पृष्ठ २३ मा भएको “यरुसलेम—यहुदी धर्मको केन्द्र” शीर्षकको पेटी हेर्नुहोस्‌।

b पृष्ठ २४ मा भएको “रोम—एउटा साम्राज्यको राजधानी”; पृष्ठ २५ मा भएको “मेसोपोटामिया र मिश्रमा यहुदीहरू” र पृष्ठ २६ मा भएको “पोन्टसमा ख्रिष्टियन धर्म” शीर्षकका पेटीहरू हेर्नुहोस्‌।

c पृष्ठ २७ मा भएको “धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू को थिए?” शीर्षकको पेटी हेर्नुहोस्‌।

d आधुनिक समयको कुरा गर्नुपर्दा अगस्त ७, १९९३ मा युक्रेनको किभ सहरमा आयोजना गरिएको यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनमा ६ वटा पोखरीमा ७ हजार ४ सय २ जनाले बप्तिस्मा गरेका थिए। सबैको बप्तिस्मा गर्न २ घण्टा १५ मिनेट लागेको थियो।

e विभिन्‍न ठाउँबाट आएका मानिसहरू परमेश्‍वरसितको सम्बन्धबारे थप नयाँ कुराहरू सिक्न यरुसलेममै बसेकोले मदतको खाँचो पऱ्‍यो र यस अस्थायी प्रबन्धले त्यसमा टेवा पुऱ्‍यायो। मानिसहरूले कुनै राजनैतिक विश्‍वासले नभई प्रेमले उत्प्रेरित भएर राजीखुसी दिएका थिए।—प्रेषि. ५:१-४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने