हाम्रो ख्रिष्टियन जीवन र सेवा सभाको लागि निर्देशन
विषयसूची
१. यस निर्देशिकाले हाम्रो ख्रिष्टियन जीवन र सेवा सभामा भाग पाएकाहरूलाई मदत गर्नेछ। आफ्नो भाग तयारी गर्नुअघि हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका अनि यस निर्देशिकामा दिइएका निर्देशनहरू हेर्नुपर्छ। सबै प्रकाशकलाई विद्यार्थीको असाइनमेन्टमा भाग लिन प्रोत्साहन दिनुपर्छ। साथै यदि मण्डलीसित सक्रिय भएर सङ्गत गरिरहेकाहरू बाइबलको शिक्षासित सहमत छन् र बाइबलका सिद्धान्तहरूअनुसार जीवन बिताइरहेका छन् भने तिनीहरूले पनि विद्यार्थीको असाइनमेन्ट दिन सक्छन्। यदि कोही प्रकाशक भइसकेका छैनन् तर भाग लिने इच्छा व्यक्त गरेका छन् भने तिनले कस्ता आवश्यकताहरू पूरा गरेको हुनुपर्छ भनेर जीवन र सेवा सभाका निरीक्षकले छलफल गर्नुपर्छ। यस्तो छलफल गर्दा तिनको अध्ययन सञ्चालक (वा तिनका साक्षी बुबा/आमा) पनि सँगै हुनुपर्छ। त्यसपछि तिनी योग्य छन् कि छैनन् भनेर थाह दिनुपर्छ। ती आवश्यकताहरू र बप्तिस्मा नगरेका प्रकाशक हुन चाहिने आवश्यकताहरू उस्तै हुन्।—od अध्या. ८ अनु. ८.
परिचय
२. एक मिनेट। हरेक हप्ता जीवन र सेवा सभाका चेयरम्यानले सभाको लागि उत्सुकता जगाउन सुरुको गीत र प्रार्थनापछि छोटो टिप्पणी गर्नेछन्। चेयरम्यानले मण्डलीको हित हुने बुँदाहरूमा जोड दिनुपर्छ।
बाइबलमा पाइने अनमोल धन
३. भाषण: दस मिनेट। भाषणको मूल विषय र दुई/तीन वटा मुख्य बुँदा भएको रूपरेखा जीवन र सेवा अभ्यास पुस्तिका-मा दिइएको हुन्छ। यो भाषण एल्डर वा योग्य सहायक सेवकले दिनुपर्छ। साप्ताहिक बाइबल पढाइमा बाइबलको नयाँ किताब सुरु हुँदा सो किताबको परिचय भिडियो देखाउनुपर्छ। भिडियो देखाइसकेपछि त्यसका केही बुँदाहरू भाषणको मूल विषयसित कसरी मेल खान्छ भनेर बताउन पनि सकिन्छ। तर अभ्यास पुस्तिकामा दिइएका बुँदाहरू भने तिनले छुटाउनु हुँदैन। तिनले भाषणको मूल विषयलाई प्रस्ट पार्न दिइएका चित्रहरूको प्रयोग गर्नुपर्छ। तिनले थप स्रोत सामग्री पनि प्रयोग गर्न सक्छन् तर ती भाषणका बुँदाहरूसित भने सम्बन्धित हुनुपर्छ।
४. बहुमूल्य रत्न: दस मिनेट। प्रश्न-उत्तरको यस भाग परिचय वा समापन केही नदिई छलफल गर्नुपर्छ। यो भाग एल्डर वा योग्य सहायक सेवकले दिनुपर्छ। वक्ताले श्रोतालाई दुवै प्रश्न सोध्नुपर्छ। उल्लेख गरिएका शास्त्रपदहरू पढ्ने कि नपढ्ने भनेर तिनी आफैले निर्णय गर्न सक्छन्। श्रोताहरूले प्रश्नको जवाफ ३० सेकेन्ड वा सोभन्दा कम समयमा दिनुपर्छ।
५. बाइबल पढाइ: चार मिनेट। यो असाइनमेन्ट भाइले प्रस्तुत गर्नुपर्छ। विद्यार्थीले परिचय वा समापन केही नदिई तोकिएको विषयवस्तु पढ्नुपर्छ। सभाको चेयरम्यानले यो असाइनमेन्ट प्रस्तुत गर्ने विद्यार्थीलाई सही र बुझ्ने ढङ्गमा, सरर्र, भावलाई जोड दिएर, स्वरमा उतारचढाव ल्याएर, ठीक ठाउँमा रोकिएर अनि स्वाभाविक ढङ्गमा बाइबल पढ्न मदत दिनेछन्। बाइबल पढाइको भाग लामो वा छोटो हुने भएकोले जीवन र सेवा सभाका निरीक्षकले विद्यार्थीहरूको क्षमतालाई ध्यानमा राखी असाइनमेन्ट दिनुपर्छ।
कुराकानी गर्ने सीप तिखारौँ
६. पन्ध्र मिनेट। यो भाग साक्षीकार्यको लागि अभ्यास गर्न तयार पारिएको हो। साथै यसले कुराकानी गर्ने सीप तिखार्न अनि साक्षी दिने र सिकाउने क्षमता बढाउँदै लैजान मदत गर्नेछ। आवश्यकताअनुसार एल्डरहरूले पनि विद्यार्थीको असाइनमेन्ट दिन सक्छन्। असाइनमेन्ट पाएको विद्यार्थीले कोष्ठक चिन्हभित्र पढ्ने र सिकाउने वा प्रेम गर्नुहोस् पुस्तिकामा आधारित जुन बुँदा दिइएको हुन्छ, त्यसैमा काम गर्नुपर्छ। कहिलेकाहीँ तालिकामा छलफलको भाग पनि राखिएको हुन्छ। त्यो भाग कुनै एल्डर वा योग्य सहायक सेवकले दिनुपर्छ।—छलफलको भागहरू कसरी प्रस्तुत गर्ने भनेर अनुच्छेद १५ हेर्नुहोस्।
७. कुराकानी थाल्नुहोस्: यो असाइनमेन्ट भाइ वा बहिनीले प्रस्तुत गर्न सक्छन्। असाइनमेन्ट भाइले दिँदै छन् भने सहयोगी पनि भाइ अनि बहिनीले दिँदै छिन् भने सहयोगी पनि बहिनी हुनुपर्छ। विद्यार्थी र सहयोगी एउटै परिवारका सदस्य हुन् भने विपरीत लिङ्गका व्यक्तिहरूले पनि यो असाइनमेन्ट दिन सक्छन्। यो असाइनमेन्ट बसेर वा उठेर दिन सकिन्छ।—यस असाइनमेन्टको विषयवस्तु अनि भूमिकाबारे थप जानकारीको लागि अनुच्छेद १२ र १३ हेर्नुहोस्।
८. फेरि भेट्नुहोस्: यो असाइनमेन्ट भाइ वा बहिनीले प्रस्तुत गर्न सक्छन्। असाइनमेन्ट भाइले दिँदै छन् भने सहयोगी पनि भाइ अनि बहिनीले दिँदै छिन् भने सहयोगी पनि बहिनी हुनुपर्छ। (km ५/९७ पृ. २) यो असाइनमेन्ट बसेर वा उठेर दिन सकिन्छ। विद्यार्थीले पहिले भेटेको व्यक्तिसित कसरी कुराकानी अघि बढाउन सकिन्छ भनेर देखाउनुपर्छ।—यस असाइनमेन्टको विषयवस्तु अनि भूमिकाबारे थप जानकारीको लागि अनुच्छेद १२ र १३ हेर्नुहोस्।
९. चेला बनाउनुहोस्: यो असाइनमेन्ट भाइ वा बहिनीले प्रस्तुत गर्न सक्छन्। असाइनमेन्ट भाइले दिँदै छन् भने सहयोगी पनि भाइ अनि बहिनीले दिँदै छिन् भने सहयोगी पनि बहिनी हुनुपर्छ। (km ५/९७ पृ. २) यो असाइनमेन्ट बसेर वा उठेर दिन सकिन्छ। बाइबल अध्ययन सञ्चालन भइरहेको दृश्य देखाउँदा परिचय वा समापन देखाउनु आवश्यक छैन। तर काम गर्नुपर्ने बुँदा परिचय वा समापनसित सम्बन्धित छ भने विद्यार्थीले परिचय वा समापन देखाउनुपर्छ। यस असाइनमेन्टको लागि दिइएको सबै विषयवस्तु स्वर निकालेर पढ्नु आवश्यक छैन तर पढ्न पनि सकिन्छ।
१०. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्: भाषण भनेर उल्लेख गरिएको छ भने यो असाइनमेन्ट भाइले प्रस्तुत गर्नुपर्छ। प्रदर्शन भनेर उल्लेख गरिएको छ भने भाइ वा बहिनीले प्रस्तुत गर्न सक्छन्। असाइनमेन्ट भाइले दिँदै छन् भने सहयोगी पनि भाइ अनि बहिनीले दिँदै छिन् भने सहयोगी पनि बहिनी हुनुपर्छ। विद्यार्थी र सहयोगी एउटै परिवारका सदस्य हुन् भने विपरीत लिङ्गका व्यक्तिहरूले पनि यो असाइनमेन्ट दिन सक्छन्। असाइनमेन्ट पाएका विद्यार्थीले विषयमा सोधिएको प्रश्नको जवाफ स्पष्टसित अनि कौशलतापूर्वक दिनुपर्छ। जवाफ दिँदा तिनले अभ्यास पुस्तिकामा उल्लिखित स्रोत-सामग्री प्रयोग गर्नुपर्छ। उक्त स्रोत-सामग्री कुन हो भनेर बताउने कि नबताउने विद्यार्थी आफैले निर्णय गर्न सक्छन्।
११. भाषण: यो असाइनमेन्ट भाइले प्रस्तुत गर्नुपर्छ। भाषण प्रेम गर्नुहोस् पुस्तिकाको ‘अतिरिक्त लेख क’-मा आधारित छ भने विद्यार्थीले त्यहाँ दिइएका पदहरू साक्षीकार्यमा कसरी चलाउन सकिन्छ भनेर बताउनुपर्छ। उदाहरणका लागि, तिनले बाइबल पदबारे व्याख्या गर्दा त्यस पदको अर्थ खुलाउन सक्छन् अनि त्यस पदबाट मानिसहरूसित कसरी तर्क गर्ने भनेर बताउन सक्छन्। यदि भाषण प्रेम गर्नुहोस् पुस्तिकाको कुनै पाठको बुँदामा आधारित हो भने त्यो बुँदा साक्षीकार्यमा कसरी लागू गर्ने भनेर बताउनुपर्छ। उपयोगी हुन्छ भने तिनले बुँदा १ मा भएको उदाहरण बताउन सक्छन् वा त्यस पाठमा भएका थप बाइबल पदमध्ये कुनैमा जोड दिन सक्छन्।
१२. विषयवस्तु: यो र यसपछिको अनुच्छेदमा भएका जानकारीहरू “कुराकानी थाल्नुहोस्” अनि “फेरि भेट्नुहोस्” असाइनमेन्टमा लागू हुन्छन्। विद्यार्थीको लक्ष्य भनेको आफूले कुरा गरिरहेको व्यक्तिलाई चासो लाग्ने कुनै विषयमा बाइबलको कुरा बताउनु र अर्को भेटको लागि बाटो तयार पार्नु हो। विद्यार्थीले समय सुहाउँदो अनि स्थानीय तवरमा प्रभावकारी हुने विषयमा कुराकानी गर्नुपर्छ। तर तोकेरै कुनै निर्देशन दिइएको छ भने त्यसलाई पनि ध्यान दिनुपर्छ। तिनले हाम्रो शिक्षण सामग्रीबाट कुनै प्रकाशन वा भिडियो प्रस्तुत गर्ने कि नगर्ने भनेर आफै निर्णय गर्न सक्छन्। आफ्नो प्रस्तुति कण्ठ पारेर दिनुको साटो विद्यार्थीले कुराकानी गर्ने सीप तिखार्न प्रयास गर्नुपर्छ, जस्तै: व्यक्तिगत चासो देखाउने अनि स्वाभाविक तरिकामा बोल्ने।
१३. भूमिका: साक्षीकार्यको विभिन्न पक्षमध्ये विद्यार्थीलाई जुन पक्ष देखाउन भनिएको छ, त्यसलाई स्थानीय परिस्थितिमा लागू हुने किसिमले प्रस्तुत गर्नुपर्छ। उदाहरणको लागि:
(१) घरघरको साक्षीकार्य: यस भूमिकामा कसैलाई साक्षी दिनु र तिनीसित फेरि कुरा गर्नु समावेश छ। जस्तै: घरैमा प्रत्यक्ष भेटेर, टेलिफोन गरेर वा चिठी लेखेर।
(२) अनौपचारिक साक्षीकार्य: यस भूमिकामा सामान्य कुराकानीलाई साक्षी दिने मौकाको रूपमा सदुपयोग गर्नु समावेश छ। जस्तै: काममा, स्कुलमा, छिमेकमा, सार्वजनिक यातायातमा वा दैनिक कामकुराको दौडान जुनसुकै ठाउँमा।
(३) सार्वजनिक साक्षीकार्य: यस भूमिकामा विभिन्न ठाउँमा गएर मानिसहरूलाई साक्षी दिनु समावेश छ। जस्तै: ट्रलीमा, व्यापारिक इलाकामा, सडकमा, पार्कमा, पार्किङमा वा अन्य ठाउँमा।
१४. भिडियो अनि साहित्यको प्रयोग: अवस्थाअनुसार विद्यार्थीले आफ्नो असाइनमेन्टमा भिडियो वा साहित्य चलाउने कि नचलाउने भनेर निर्णय गर्न सक्छन्। यदि विद्यार्थीको असाइनमेन्टमा भिडियो छ वा विद्यार्थीले कुनै भिडियो चलाउने निर्णय गरेका छन् भने तिनले भिडियो प्ले गर्नुपर्दैन बरु भिडियो देखाएको जस्तो गरेर त्यसबाट छलफल गर्नुपर्छ।
ख्रिष्टियन जीवन
१५. गीतपछि १५ मिनेटको लागि एउटा वा दुइटा भाग सञ्चालन गरिनेछ, जसले बाइबलको सल्लाह लागू गर्न श्रोतालाई मदत गर्नेछ। तोकेरै कुनै निर्देशन दिइएको छैन भने यो भाग एल्डर वा योग्य सहायक सेवकले दिन सक्छन्। स्थानीय आवश्यकताको भाग भने एल्डरले नै सञ्चालन गर्नुपर्छ। यदि कुनै भागमा छलफल भनेर उल्लेख गरिएको छ भने वक्ताले त्यहीँ दिइएको प्रश्नबाहेक जुनै पनि ठाउँमा प्रश्नहरू सोध्न सक्छन्। तिनले आफ्नो भागको परिचय छोटो बनाउनुपर्छ। त्यसो गर्दा मुख्य बुँदाहरू ढाक्न अनि श्रोतालाई सहभागी गराउन पर्याप्त समय मिल्छ। यस भागमा अन्तरवार्ता पनि छ भने सम्भव भएमा अन्तरवार्ता दिने व्यक्तिलाई मञ्चमै आएर बोल्न लगाउनु उपयुक्त हुन्छ।
१६. मण्डली बाइबल अध्ययन: तीस मिनेट। यो भाग एल्डरले सञ्चालन गर्नुपर्छ। (यदि एल्डरहरू थोरै छन् भने योग्य सहायक सेवकलाई पनि यो भाग सञ्चालन गर्ने जिम्मेवारी दिन सकिन्छ।) एल्डरहरूको निकायले मण्डली बाइबल अध्ययन सञ्चालन गर्ने जिम्मेवारी क-कसलाई दिने भनेर रोज्नुपर्छ। ती भाइहरूले यो भाग अर्थपूर्ण तरिकामा सञ्चालन गर्नुपर्छ। तिनीहरूले यस भागलाई समयमै सिद्ध्याउनुपर्छ, मुख्य बाइबल पदहरूमा जोड दिनुपर्छ र छलफल गरिएका बुँदाहरूको उपयोगिता बुझ्न सबैलाई मदत गर्नुपर्छ। तिनीहरूले प्रश्न-उत्तरको भाग कसरी सञ्चालन गर्ने भनेर हाम्रो प्रकाशनमा दिइएको निर्देशन फेरि पढ्नु मदतकारी हुन्छ। (w२३.०४ पृ. २४ मा भएको पेटी) दिइएको विषयवस्तु पूरै ढाकिसकेपछि समय अझै बाँकी भयो भने छलफल तन्काइरहनु पर्दैन; तोकिएको समयअगाडि नै छलफल टुङ्ग्याउन सकिन्छ। सम्भव छ भने यो भाग सञ्चालन गर्न र पढ्न हरेक हप्ता फरक-फरक भाइहरूलाई जिम्मेवारी दिनुपर्छ। यदि जीवन र सेवा सभाका चेयरम्यानले मण्डली बाइबल अध्ययनको भागलाई छोटो बनाउने निर्देशन दिन्छन् भने सञ्चालकले कसरी अध्ययनलाई छोटो बनाउने भनेर निर्णय गर्नुपर्छ। तिनले केही अनुच्छेदहरू नपढीकनै छलफल गर्न सक्छन्।
समापन टिप्पणी
१७. तीन मिनेट। जीवन र सेवा सभाका चेयरम्यानले त्यस दिनको सभामा प्रस्तुत गरिएका केही उपयोगी बुँदाहरू पुनरावृत्ति गर्नेछन्। समयले दिन्छ भने श्रोतालाई लाभ उठाएका कुराहरूबारे टिप्पणी दिन आग्रह गर्न सकिन्छ। साथै तिनले अर्को हप्ताको कार्यक्रमको परिचय पनि दिनुपर्छ। समयले दिन्छ भने अर्को हप्ता विद्यार्थीको असाइनमेन्ट क-कसको छ भनेर पनि बताउन सक्छन्। तोकेरै कुनै निर्देशन दिइएको छैन भने जरुरी घोषणाहरू वा मण्डलीलाई पढेर सुनाउनुपर्ने पत्रहरू चेयरम्यानले यही समापन टिप्पणीको भागमा पढ्नुपर्छ। क्षेत्र सेवाको प्रबन्ध र सफाइको तालिकाजस्ता नियमित कामको जानकारी मञ्चबाट घोषणा गर्नु हुँदैन बरु सूचना-पाटीमा टाँस्नुपर्छ। यदि घोषणा गर्न वा पत्र पढ्न समापन टिप्पणीको लागि तोकिएको समय पुग्दैन भने चेयरम्यानले ख्रिष्टियन जीवनका भागहरू सञ्चालन गर्ने भाइहरूलाई आफ्नो भागको समय घटाउन अनुरोध गर्नुपर्छ। (अनुच्छेद १६ र १९ हेर्नुहोस्।) सभाको अन्तमा गीत र प्रार्थना हुनेछ।
प्रशंसा र सल्लाह
१८. विद्यार्थीले प्रस्तुत गर्ने प्रत्येक असाइनमेन्टपछि जीवन र सेवा सभाका चेयरम्यानले दिइएको बुँदामा आधारित भएर लगभग एक मिनेटभित्र विद्यार्थीको प्रशंसा गर्नेछन् र सल्लाह दिनेछन्। चेयरम्यानले असाइनमेन्ट दिन बोलाउँदा विद्यार्थीले काम गर्नुपर्ने बुँदाबारे बताउनुपर्दैन। तर असाइनमेन्ट सिद्धिएपछि अनि विद्यार्थीको प्रशंसा गरेपछि तिनले कुन बुँदामा काम गरेका थिए भनेर चेयरम्यानले बताउन सक्छन्। विद्यार्थीले कसरी उक्त बुँदा लागू गरे वा उक्त बुँदामा कसरी अझ ध्यान दिन सक्छन् र किन त्यसो गर्नुपर्छ भनेर चेयरम्यानले मायालु तरिकामा बताउन सक्छन्। यदि त्यस असाइनमेन्टको अरू कुनै पक्षबारे टिप्पणी गर्दा विद्यार्थी वा श्रोतालाई मदतकारी हुन्छ भने चेयरम्यानले त्यसबारे पनि बताउन सक्छन्। साथै विद्यार्थीले काम गरेकै बुँदा वा अर्को बुँदामा केही सुझाव दिँदा अझ मदतकारी हुन्छ भने चेयरम्यानले तिनलाई सभापछि वा अरू कुनै समयमा व्यक्तिगत रूपमा थप सल्लाह दिन सक्छन्। उक्त सल्लाह प्रेम गर्नुहोस् पुस्तिका, पढ्ने र सिकाउने पुस्तिका वा सेवा स्कुल किताबमा आधारित हुनुपर्छ।—जीवन र सेवा सभाका चेयरम्यान र सहायक सल्लाहकारको जिम्मेवारीबारे थप जानकारीको लागि अनुच्छेद १९, २४ र २५ हेर्नुहोस्।
समय
१९. सभाको कुनै पनि भागको लागि निर्धारित समयभन्दा बढी लिनु हुँदैन। यो कुरा चेयरम्यानलाई पनि लागू हुन्छ। हुनत ख्रिष्टियन जीवन र सेवा अभ्यास पुस्तिका-मा प्रत्येक भागको लागि समय छुट्याइएको हुन्छ तर पूरै विषयवस्तु ढाकिसकेपछि केही समय बाँकी रह्यो भने जानकारीहरू थपथाप गरिरहनु आवश्यक छैन; तोकिएको समयअगाडि नै छलफल टुङ्ग्याउन सकिन्छ। यदि कुनै भाग निर्धारित समयभन्दा बढी गयो भने जीवन र सेवा सभाका चेयरम्यान वा सहायक सल्लाहकारले उक्त भाग सञ्चालन गर्नेलाई व्यक्तिगत तवरमा सल्लाह दिनुपर्छ। (अनुच्छेद २४ र २५ हेर्नुहोस्।) गीत र प्रार्थनासमेत गरेर सम्पूर्ण सभा १ घण्टा ४५ मिनेटमा सिद्ध्याउनुपर्छ।
क्षेत्रीय निरीक्षकको भ्रमण
२०. क्षेत्रीय निरीक्षकको भ्रमणको हप्तामा सभाका कार्यक्रमहरू जीवन र सेवा अभ्यास पुस्तिका-मा दिइएअनुसारै सञ्चालन गरिनेछ तर मण्डली बाइबल अध्ययन भने हुनेछैन। बरु त्यसको सट्टा क्षेत्रीय निरीक्षकले ३० मिनेटको सेवा भाषण दिनेछन्। क्षेत्रीय निरीक्षकको भाषणअघि जीवन र सेवा सभाका चेयरम्यानले त्यस दिनको कार्यक्रमको पुनरावृत्ति गर्नेछन्, अर्को हप्ताको कार्यक्रमको परिचय दिनेछन्, कुनै जरुरी घोषणा छ भने गर्नेछन् अनि पढ्नुपर्ने चिठी छ भने पढ्नेछन्। त्यसपछि तिनले क्षेत्रीय निरीक्षकलाई मञ्चमा बोलाउनेछन्। सेवा भाषणपछि क्षेत्रीय निरीक्षकले नै आफूले छानेको गीत गाउन आग्रह गर्नेछन्। अनि समापन प्रार्थना गर्न तिनले अर्को भाइलाई बोलाउन सक्छन्। क्षेत्रीय निरीक्षकको भ्रमणको हप्ता सहायक कक्षा सञ्चालन गर्नु हुँदैन। कुनै मण्डलीमा अर्कै भाषाको समूह छ भने क्षेत्रीय निरीक्षकले भ्रमण गर्दा उक्त समूहले आफ्नो सभा छुट्टै सञ्चालन गर्न सक्छ। तर त्यस समूहका भाइबहिनीले क्षेत्रीय निरीक्षकले दिने सेवा भाषण भने मण्डलीसितै सुन्नुपर्छ।
सम्मेलन वा अधिवेशनको हप्ता
२१. सम्मेलन वा अधिवेशनको हप्ता मण्डलीका सभाहरू सञ्चालन गरिनेछैनन्। त्यस हप्ताका सभाहरूको विषयवस्तु परिवार मिलेर वा व्यक्तिगत रूपमा अध्ययन गर्न मण्डलीलाई सम्झाउनुपर्छ।
स्मरणार्थको हप्ता
२२. यदि हप्ताको बीचको कुनै दिनमा स्मरणार्थ पर्छ भने त्यस हप्ता जीवन र सेवा सभा सञ्चालन गरिनेछैन।
जीवन र सेवा सभाका निरीक्षक
२३. एल्डरहरूको निकायले छानेको एक जना एल्डरले जीवन र सेवा सभाका निरीक्षकको रूपमा सेवा गर्नेछन्। तिनले यो सभा व्यवस्थित रूपमा र यस निर्देशिकाअनुसार सञ्चालन भइरहेको छ कि छैन भनेर पक्का गर्नुपर्छ। तिनले सहायक सल्लाहकारसित राम्ररी कुराकानी गरेर काम गर्नुपर्छ। जीवन र सेवा अभ्यास पुस्तिका उपलब्ध हुनेबित्तिकै तिनले दुई महिनाको लागि मध्यहप्ताको सभाको सम्पूर्ण भागको तालिका बनाउनुपर्छ। यसमा चेयरम्यान र अरू असाइनमेन्टको तालिका बनाउनु समावेश छ, जुन एल्डरहरूको निकायले छानेका भाइहरूलाई दिनुपर्छ। साथै यसमा विद्यार्थीको असाइनमेन्ट तालिका बनाउनु पनि समावेश छ। (अनुच्छेद ३-१६ र २४ हेर्नुहोस्।) तिनले विद्यार्थीहरूलाई असाइनमेन्ट दिँदा उनीहरूको उमेर अनि अनुभवलाई विचार गर्नुपर्छ। साथै प्रस्तुत गरिने विषयवस्तुलाई निर्धक्क भई साहसका साथ बताउन सक्छन् कि सक्दैनन् भनेर तिनले विद्यार्थीको अवस्थालाई पनि ध्यान दिनुपर्छ। सभाका अरू भागको तालिका बनाउँदा पनि यही कुरा लागू हुन्छ। असाइनमेन्ट प्रस्तुत गर्ने मितिको कम्तीमा पनि तीन हप्ताअघि असाइनमेन्टबारे जानकारी दिनुपर्छ। विद्यार्थीको असाइनमेन्टको लागि हाम्रो ख्रिष्टियन जीवन र सेवा सभाको असाइनमेन्ट (S-89) फाराम दिनुपर्छ। जीवन र सेवा सभाका निरीक्षकले सभाको सम्पूर्ण भागको तालिका सूचना-पाटीमा टाँसिएको छ कि छैन भनेर पक्का गर्नुपर्छ। एल्डरहरूको निकायले तिनलाई सहयोग गर्न अर्को एल्डर वा सहायक सेवक खटाउन सक्छ। तर विद्यार्थीहरूको असाइनमेन्टबाहेकका अरू असाइनमेन्ट क-कसलाई दिने भन्ने काम चाहिँ एल्डरले नै गर्नुपर्छ।
जीवन र सेवा सभाका चेयरम्यान
२४. हरेक हप्ता एक जना एल्डरले जीवन र सेवा सभाको चेयरम्यानको रूपमा सेवा गर्नेछन्। (एल्डरहरू थोरै छन् भने आवश्यकताअनुसार योग्य सहायक सेवकलाई यो जिम्मेवारी दिन सकिन्छ।) तिनले परिचय र समापनको टिप्पणीको भाग तयारी गर्नुपर्छ। तिनले एउटा भाग सिद्धिएपछि अर्को भागको परिचय पनि दिनुपर्छ। मण्डलीमा एल्डरहरू थोरै छन् भने चेयरम्यानले सभाको अरू भाग पनि प्रस्तुत गर्नुपर्ने हुन सक्छ, विशेषगरि छलफल नगरी भिडियो मात्र देखाउनुपर्ने भागहरू। भागहरूको बीचमा दिइने टिप्पणी एकदम छोटो हुनुपर्छ। चेयरम्यानको रूपमा कुन-कुन एल्डरले सेवा गर्ने हो भनी एल्डरहरूको निकायले निर्णय गर्नेछ। ती एल्डरहरूलाई पालैपालो चेयरम्यानको असाइनमेन्ट दिन सकिन्छ। स्थानीय परिस्थिति पनि विचार गर्दै जीवन र सेवा सभाका निरीक्षकलाई अरू एल्डरहरूलाई भन्दा धेरै पटक चेयरम्यानको रूपमा चलाउन सकिन्छ। मण्डली बाइबल अध्ययन सञ्चालन गर्न योग्य एल्डर चेयरम्यानको रूपमा पनि सेवा गर्न योग्य हुन सक्छन्। तर याद गर्नुहोस्, चेयरम्यानको रूपमा सेवा गर्ने एल्डरले विद्यार्थीको असाइनमेन्ट पाएकाहरूको प्रशंसा गर्नुपर्छ अनि आवश्यक छ भने मायालु तरिकामा मदतकारी सल्लाह दिनुपर्छ। सभा समयमै सिद्ध्याउने जिम्मेवारी पनि चेयरम्यानकै हो। (अनुच्छेद १७ र १९ हेर्नुहोस्।) यदि मञ्चमा पर्याप्त ठाउँ छ र चेयरम्यानले मञ्चमा अर्को स्ट्यान्ड माइक राखेर त्यसबाट बोल्न चाहन्छन् भने त्यसो गर्न सकिन्छ। यसो गर्दा चेयरम्यानले स्ट्यान्ड माइकबाट अर्को असाइनमेन्टको परिचय दिँदै गर्दा सो असाइनमेन्ट दिने भाइ पोडियममा आउन सक्छन्। त्यसैगरि बाइबल पढाइको असाइनमेन्ट र कुराकानी गर्ने सीप तिखारौँ भागको दौडान चेयरम्यान मञ्चमै टेबुलमा बस्न चाहन्छन् भने त्यसो गर्न सक्छन्। यसो गर्दा समयको बचत हुन्छ।
सहायक सल्लाहकार
२५. सहायक सल्लाहकारको जिम्मेवारी भनेको विभिन्न भाग प्रस्तुत गर्ने एल्डर तथा सहायक सेवकहरूलाई आवश्यक छ भने व्यक्तिगत रूपमा सल्लाह दिनु हो। तिनले जीवन र सेवा सभाका भागहरू, जनभाषण अनि प्रहरीधरहरा अध्ययन र मण्डली बाइबल अध्ययन सञ्चालन गर्ने अनि अनुच्छेद पढ्नेजस्ता असाइनमेन्ट सँभाल्ने एल्डर तथा सहायक सेवकलाई सल्लाह दिन सक्छन्।—अनुच्छेद १९ हेर्नुहोस्।
सहायक कक्षा
२६. विद्यार्थीहरू धेरै छन् भने विद्यार्थीको असाइनमेन्टको लागि सहायक कक्षाहरूको प्रबन्ध गर्न सकिन्छ। प्रत्येक सहायक कक्षामा एक जना योग्य सल्लाहकार हुनुपर्छ, सम्भव भएसम्म एल्डर। आवश्यक छ भने योग्य सहायक सेवकलाई पनि सहायक कक्षाका सल्लाहकारको रूपमा खटाउन सकिन्छ। यो जिम्मेवारी क-कसले सँभाल्न सक्छन् र ती भाइहरूले पालैपालो गर्ने कि नगर्ने भनेर एल्डरहरूको निकायले निर्णय गर्नुपर्छ। सल्लाहकारले अनुच्छेद १८ मा दिइएको निर्देशनअनुरूपै सल्लाह दिनुपर्छ। यदि सहायक कक्षाको प्रबन्ध गरिएको छ भने विद्यार्थीहरूलाई बाइबलमा पाइने अनमोल धनअन्तर्गत बहुमूल्य रत्न सकिएपछि सहायक कक्षामा जान आग्रह गर्नुपर्छ। कुराकानी गर्ने सीप तिखारौँ भन्ने भाग सकिएपछि विद्यार्थीहरू मुख्य हलमा आउनुपर्छ।
भिडियो
२७. सभाको दौडान विभिन्न भिडियोहरू देखाइनेछन्। मध्यहप्ताको सभामा देखाइने भिडियोहरू JW लाइब्रेरी एपमा उपलब्ध हुनेछन् र ती विभिन्न डिभाइसबाट हेर्न सकिन्छ।
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
S-38-NP 9/25