ईश्वरीय भक्ति हुने मानिसहरूका लागि छुटकारा नजिक!
“यसरी भक्तहरूलाई परीक्षाबाट बचाउन र अभक्तहरूलाई इन्साफको दिन सम्म सजायमा राख्न यहोवा [NW] जान्नुहुन्छ।”—२ पत्रुस २:९.
१. (क) हाम्रा समयमा, मानिसहरूका सामने, कुन प्रकारको संकट-ग्रस्त समय खड़ा भएको छ? (ख) यसलाई ध्यानमा राख्दै, हामी के प्रश्नहरू वारे विचार गर्ने छौं?
सारा मानिस जातिको निम्ति जीवनका समस्याहरू बढ़दैछन्। दुवै भौतिक प्रशस्ता र भौतिक अभाव भएका ठाउँहरूमा कुरा एउटै छ। जता ततै असुरक्षा छ। अनिश्चित् आर्थिक अवस्थाहरू बाहेक, पर्यावरण सम्बन्धित् गम्भीर समस्याहरूले पृथ्वीमाथि आक्रमण गरेर हर प्रकारको जीवनलाई खतरा पुर्याइरहेको छ। रोगले उपद्रव मचाइरहेको छ। सरूवा रोगहरू, मुटुको व्यथा, क्यान्सरको महामारीको धेरै जना शिकार भइ रहेकाछन्। अर्को तिर अनैतिकताले आफ्नो बदला लिंदै, मानव भावनाहरू र पारिवारिक जीवनलाई विध्वंस पारि रहेकोछ। यी सबै कुरामाथि थप, संसार हिंसाले ओतप्रोत छ। मानव समाजले सामनागर्नु परिरहेको कुरालाई ध्यानमा राख्दै, हामी यो वास्तविक प्रश्न सोध्छौं: चाँड़ै यी सबैबाट छुटाकारा पाउने आशा गर्ने कुनै ठोस आधार छ? छ भने, त्यो छुटकारा कसरी र कसकालागि आउँनेछ?—हबकूक १:२; २:१-३ सँग तुलना गर्नुहोस्.
२, ३. (क) २ पत्रुस २:९ मा उल्लेखित् कुराले हामीलाई किन निश्चिन्त पार्दछ? (ख) हाम्रा प्रोत्साहनकालागि, बाइबलले छुटकाराका कुन्-कुन् विशेष कार्यहरूलाई सङ्केत गर्दछ?
२ आज भइरहेका कुराहरूले मानव इतिहासमा घटेका कुनै-कुनै अत्यन्त महत्वपूर्ण समयहरूको सम्झना दिलाउँदछ। ती समयहरूमा परमेश्वरले दिनु भएका छुटकाराहरू तिर ध्यान आकर्षित् गर्दै, प्रेरित पत्रुस यो सान्त्वनायुक्त निष्कर्षमा आएकाछन्: “भक्तहरूलाई परीक्षाबाट बचाउन . . . यहोवा जान्नु हुन्छ।” (२ पत्रुस २:९ NW) २ पत्रुस २:४-१० मा, त्यो निष्कर्षको सन्दर्भलाई कृपया विचार गर्नुहोस्:
३ “किनभने परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई त बाँकी राख्नु भएन, तर तिनीहरूलाई नरकमा हाल्नुभयो, र न्यायको दिनसम्म जोगिएर अन्धकारका खाल्डाहरूमा राख्नु भयो, र प्राचीन संसारलाई बाँकी राख्नुभएका, ती अभक्तहरूको संसारमा जलप्रलय गराउनुहुँदा धर्मका प्रचारक नूह र अरू सात जनालाई जोगाउनुभयो, औ सदोम र गमोराका शहरहरूलाई भस्म गर्नुहुँदा अभक्तहरूलाई उदाहरण बनाएर विनाशको दण्ड दिनुभयो। र दुष्टहरूका कामुक जीवनबाट अति दुःखित् भएका धार्मिक लूतलाई बचाउनुभयो, किनभने ती धार्मिक मानिस तिनीहरूसँग रहँदा तिनीहरूका अधर्मका कामहरू देखेर औ सुनेर तिनका सच्चा मन दिनहुँ दुःखित् हुन्थ्यो।—यसरी भक्तहरूलाई परीक्षाबाट बचाउन र अभक्तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न, यहोवा [NW] जान्नुहुन्छ। तर विशेष गरी तिनीहरूलाई, जो शरीर अनुसार अशुद्ध इच्छामा चल्ने र प्रभुत्व तुच्छ ठान्नेहरूकालागि हो। तिनीहरू सुरो भएर आफ्ना खुशी गर्नेहरू, उच्च पदाधिकारीहरूको निन्दा गर्न डराउँदैन।” नूहको दिन र लूतको समयमा घटेका घटनाहरू हाम्रालागि अर्थपूण छन् भन्ने कुरा यो शास्त्रले बोध गराउँदछ।
नूहको समयमा प्रचलित् प्रवृत्ति
४. नूहको दिनमा, परमेश्वरको नजरमा, पृथ्वी किन भ्रष्ट थियो? (भजन संग्रह ११:५)
४ उत्पत्ति ६ को एतिहासिक उल्लेख अनुसार, साँचो परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको थियो। किन? हिंसाले गर्दा। यो कुनै एउटा दुइटा हिंसात्मक घटनाको कुरा थिएन। उत्पत्ति ६:११ अनुसार “पृथ्वी उपद्रवले भरिएको थियो।”
५. (क) मानिसहरूको कुन प्रवृत्तिले, नूहको दिनमा हिंसालाई अझ बढ़ावा दियो? (ख) हनोकले भक्तिहीनताबारे के चेताउनी दिएका थिए?
५ यसको कारण के थियो? २ पत्रुसबाट उद्धरण गरिएका पदमा भक्तिहीन मानिसहरूको चर्चा गरिएको छ। हो, मानव कामकाजमा भक्तिहीनता व्याप्त थियो। ईश्वरीय व्यवस्थाको अवहेलना गर्नु बाहेक मानिसहरू स्वंय परमेश्वर प्रति नै अटेरी भएका थिए।a र मानिसहरू परमेश्वर प्रति अटेरी भए पछि, आफ्ना मानव साथी-सँगी सँग दयापूर्ण व्यवहार गर्लान् भनी कसरी आशा राख्न सकिन्छ र? नूह जन्मनु अघि पनि, यस प्रकारको भक्तिहीनता यति साह्रो फैलिएको थियो कि, यहोवाले हनोकलाई यसको परिणाम बारे अगमवाणी गर्न लगाउनु भयो। (यहूदा १४, १५) परमेश्वर प्रति अटेरी भएकाले तिनीहरूमाथि ईश्वरीय न्यायदण्ड आउन निश्चित् थियो।
६, ७. जलप्रलय हुनु भन्दा अघिका खराब परिस्थितिमा, स्वर्गदूतहरूले के मुख्य भूमिका निभाए?
६ त्यस समयमा हिंसाले एउटा अर्को स्रोतबाट पनि बढ़ावा पाईरहेको थियो। त्यो स्रोत बारे उत्पत्ति ६:१, २ ले एसो भन्छ: “जब मानिसहरू पृथ्वीमा बढ़दै गए, तिनीहरूकी छोरीहरू जन्मे। तब परमेश्वरका छोराहरूले मानिसकी छोरीहरूलाई सुन्दरी देखे। औ आफ्नो आफ्नो रूचिका पत्नीहरू ल्याए।” परमेश्वरका यी पुत्रहरू को हुन्? तिनीहरू अवश्य पनि मानव पुत्रहरू होइनन्। मानिसहरूले ता कैयौं शताब्दि देखिन् सुन्दरी स्त्रीहरूलाई हेर्दै तिनीहरू सँग विवाह गरिरहेका थिए। यहाँ चर्चित् परमेश्वरका पुत्रहरू स्वर्गदूतहरू हुन् जसले मानिसको रूप धारण गरे। यहूदा ६ मा, तिनीहरू, “आफ्नो मर्यादामा नरहने तर आफ्ना घर-बार छाड़ने स्वर्गदूतहरू” कहलाइएका छन्।—१ पत्रुस ३:१९, २० सँग तुलना गर्नु होस्.
७ यी अलौकिक व्यक्तिहरूले मानिसको रूप धारण गर्दै मानिसकी छोरी सँग सहवास गर्नाले के परिणाम भयो? “त्यस बेला पृथ्वीमा नपीलहरू थिए। त्यस पछि पनि परमेश्वरका छोराहरू मानिसकी छोरीहरूकहाँ जानलागे। अनि तिनीहरूबाट छोराहरू जन्मनु थाले। [NW] तिनीहरूनै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।” हो, त्यो अप्राकृतिक सम्बन्धबाट उत्पन्न भएको सन्तान बलवान नपीलहरू थिए जसले आफ्नो विशिष्ट शक्ति अरूलाई थिचोमिचो गर्नमा प्रयोग गरे।—उत्पत्ति ६:४.
८. पृथ्वीमा चलीरहेका खराब परिस्थितिहरू प्रति यहोवाले के प्रतिकृया व्यक्त गर्नु भयो?
८ परिस्थिति कतिको खराब हुन गयो? “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको यहोवाले [NW] देख्नुभयो।” परमेश्वरले के कस्तो प्रतिकृया व्यक्त गर्नु भयो? “पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा यहोवाले [NW] अफसोस गर्नु भयो र उहाँ मनमा साह्रै दुःखित् हुनुभयो।” यसको अर्थ, मानिसलाई बनाउनु भएर परमेश्वरले गलती गर्नु भएको भावना महसूस गर्नु भयो भनेको होइन। मानिसलाई सृजनु भए पछि, अब फेरि तिनीहरूको खराब आचरणले गर्दा उहाँ तिनीहरूलाई नाश गर्न बाध्य हुनु भएको कुरा सम्झेर उहाँलाई पछितो लाग्यो।—उत्पत्ति ६:५-७.
छुटकारा तर्फ लैजाने मार्ग
९. (क) परमेश्वरले नूह सँग किन अनुग्रहपूर्वक व्यवहार गर्नु भयो? (ख) परमेश्वरले नूहलाई के अग्रिम सूचना दिनु भयो?
९ “नूहमाथि चाहिं यहोवाको [NW] अनुग्रह भयो। . . . नूह धर्मी र निर्दोष मानिस थिए औ तिनी परमेश्वरको साथै हिड़नेगर्थे।” (उत्पत्ति ६:८, ९) यसकारण यहोवाले जल-प्रलय ल्याउनु हुने कुराको अग्रिम सूचना नूहलाई दिनु भयो र उनलाई एउटा जहाज निर्माण गर्ने आदेश गर्नु भयो। नूह र उनको परिवार बाहेक, सारा मानिस जाति पृथ्वीबाट नष्ट हुनेवाला थिए। नूहले जहाज भित्र प्रत्यक जातलाई प्रतिनिधित्व गर्न लगेका भाले-पोथीहरू बाहेक, सबै जानवरहरू पनि नाश हुनेवाला थिए।—उत्पत्ति ६:१३, १४, १७.
१०. (क) बचावका लागि के तयारी गर्नु पर्यो र त्यो काम कतिको विशाल थियो? (ख) नूहले आफूलाई दिएको काम सम्पन्न गरेको ढङ्ग बारे, कुन कुरा विचार योग्य छ?
१० यो अग्रिम ज्ञान पाए पछि, नूहमाथि एउटा भारी जिम्मेवारी आइलाग्यो। जहाज निर्माण गर्न आवश्यक पर्यो। त्यसको आकार एउटा ठूलो बाकस जस्तो, जम्मा १,४००,००० क्युबिक फीटको परिमाण भएको हुनु परेको थियो। त्यस भित्र, नूहले हर प्रकारको आहारले भण्डार भर्नु परेको थियो र “प्रत्यक किसिमको” जानवर र पक्षीहरूलाई बचाउन तिनीहरूलाई पनि जम्मा गर्नु परेको थियो। यो योजनामा वषौंको परिश्रमको खाँचो थियो। नूहको प्रतिकृया के थियो? “परमेश्वरले तिनलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।”—उत्पत्ति ६:१४-१६, १९-२२; हिब्रू ११:७.
११. नूहमाथि, आफ्नै घरबार सँग सम्बन्धित्, अर्को कुन् महत्वपूर्ण जिम्मेवारी पनि थियो?
११ त्यो कामगर्दा, नूहले आफ्नो परिवारको अध्यात्मिकता बढ़ाउने काममा पनि समय व्यतित् गर्नु परेको थियो। वरिपरिका मानिसहरूको हिंसात्मक र अटेरी आचरणबाट आफ्नो परिवारको सदस्यहरूलाई बचाउनु परेको थियो। तिनीहरूले दैनिक जीवनको काम कुरामा आवश्यक्ता भन्दा बढ़ी ग्रस्त हुनु हुँदैन भन्ने कुराको महत्व स्वीकार्नु परेको थियो। किनभने परमेश्वरले तिनीहरूलाई एउटा विशेष काम सुम्पनु भएको थियो र त्यही कामलाई तिनीहरूले आफ्नो जीवनको केन्द्र-बिन्दु बनाउनु आवश्यक थियो। नूहको परिवारले उनको सरसल्लाह माने, र उनको विश्वासमा हिस्सेदार भए भनी हामीलाई थाह छ, किनभने धर्मशास्त्रमा नूह, उनकी पत्नी, तिनीहरूका तीन छोरा र तीन बुहारी—जम्मा आठ प्राणीहरू—बारे प्रशंसनीय कुरा गरिएको छ।—उत्पत्ति ६:१८; १ पत्रुस ३:२०.
१२. २ पत्रुस २:५ अनुसार, नूहले के जिम्मेवारी पूरा गरे?
१२ नूहको एउटा अर्को जिम्मेवारी पनि थियो। उनले आउनलागेको जल-प्रलयबारे चेताउनी र त्यो जल-प्रलय आउने कारणको पनि जनाउ दिनु परेको थियो। उनले त्यो जिम्मेवारी विश्वासी भएर निभाएको हुनु पर्छ, किनभने परमेश्वरको वचनमा उनी, “धार्मिकताको प्रचारक” कहलाइएका छन्।—२ पत्रुस २:५.
१३. ईश्वरले दिनु भएको जिम्मेवारी पूरा गर्दा, नूहले के कस्ता परिस्थिहरूको सामना गर्नु पर्यो?
१३ अब केही समयका लागि त्यस वातावरण बारे सोच्नुहोस्, जुन वातावरणको माझमा, नूहले आफ्नो जिम्मेवारी पुरा गरे। तपाईं स्वयंलाई नूहको ठाउँमा राख्नु होस्। तपाईं नूह अथवा नूहको परिवारको सदस्य हुनु हुँदो हो ता, तपाईंलाई नपील र भक्तिहीन मानिसहरूको हिंसाले घेरेको हुने थियो। तपाईंले प्रत्यक्षरूपमा, विद्रोही स्वर्गदूतहरूको प्रभावको सामना गर्नु पर्ने थियो। जहाज निर्माण गर्ने काममा भाग लिनु हुँदा पनि, तपाईं ठट्टाको शिकार हुनु हुने थियो। र सालै पिछ्छे, आउने जलप्रलय बारे चेताउनी दिनु हुँदा, तपाईंले मानिसहरूलाई झन-झन आफ्नो दैनिक काम-कुरोमा व्यस्त भएको भेट्टाउनुहुने थियो।—अर्थात्, “जलप्रलय आएर सबैलाई स्वात्तै नलगुञ्जेल,” तिनीहरूले केही ध्यान नै दिने थिएनन्।—मत्ती २४:३९; लूका १७:२६, २७.
नूहको अनुभवले तपाईंको निम्ति के अर्थ राख्दछ?
१४. नूह र उनको परिवारले सामना गर्नु परेको परिस्थिति बुझ्न हामीलाई आज किन गाह्रो लाग्दैन?
१४ हाम्रा पाठकहरूलाई यस प्रकारको परिस्थितिबारे कल्पना गर्न पटक्कै गाह्रो हुनेछैन। किन? किनभने हाम्रा समयका गतिविधिहरू नूहको समयमा घटेका गतिविधहरू जस्तै छन्। येशूले यस्तो हुनेछ भन्नु भएको थियो। जगतको अन्त र आफ्नो उपस्थिति बारे उहाँले दिनु भएको महा अगमवाणीमा, येशूले यो अग्रिम घोषणा गर्नु भएको थियो: “जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिस पुत्रको आगमन हुनेछ।”—मत्ती २४:३७.
१५, १६. (क) नूहको दिनमा झैं, आज पनि पृथ्वी हिंसाले भरिएको छ भनी किन भन्न सकिन्छ? (ख) यहोवाका सेवकहरू, विशेषगरी कुन प्रकारको हिंसाको शिकार भएका छन्?
१५ के त्यस्तै भएको छ र? के आज संसारलाई हिंसाले व्याप्त पारेको छ र? छ! यस शताब्दिमा १० करोड़ मानिसहरू युद्धहरूमा मरे। हाम्रा केही पाठकहरूले यसको असर स्वयं र प्रत्यक्षरूपमा अनुभव गरेका छन्। अरू कती मानिसहरू, तिनीहरूका पैसा र अरू बहुमूल्य चीजहरू लैजान चाहने अपराधीहरूले गर्दा त्रसित् छन्। अनि जवानहरूले आफ्ना पाठशालाहरूमै हिंसाको सामना गर्नु परेको छ।
१६ तर यहोवाका साक्षीहरूले युद्ध र अपराधको ध्वंस मात्र अनुभव गरेका छैनन्। तिनीहरू यो संसारको सह-भागी न भएर, ईश्वर-भक्त मानिसहरू हुने कोशिश गर्नाले, तिनीहरू हिंसाका पात्र भएकाछन्। (२ तिमोथी ३:१०-१२) कुनै बेला त्यो हिंसा केवल थप्पड़ अथवा घोक्राई सम्म सीमित् हुन्छ; तर अरू बेला, यस प्रकारको हिंसा तिनीहरूको सम्पत्तिको नाश, क्रूर पिटाई र हत्याको रूपमा आउने गर्छ।—मत्ती २४:९.
१७. के आज भक्तिहीनता जताभावी फैलिएकोछ? वर्णन गर्नुहोस्।
१७ यस प्रकारको हिंसामा भाग लिंदा, ईश्वरहीन मानिसहरूले हाकाहाकी परमेश्वरको निन्दा गरेका छन्। अफ्रिकाको एउटा इलाकाको प्रहरीले यो धाक लगायो: “सरकार हाम्रो हो। तिमीहरू ईश्वर कहाँ जानु र ईश्वर छ भने, तिमीहरूका मददको निम्ति उसैलाई बोलाइ पठाउनु।” कारागारहरू र नजरबन्दी शिविरहरू भित्र यहोवाका साक्षीहरू, जर्मनीको जाकनहाउसन भन्ने ठाउँमा बारानोस्की जस्तो मानिसको हातमा पनि परेका छन् जसले एसो भन्दै गिल्ला गर्यो: “मैले यहोवाको विरूद्धमा युद्ध शुरू गरेको छु। को बलियो रहेछ, यहोवा अथवा म, हामी हेर्ने छौं।” थोरै समय पश्चात्, बारानोस्की बिमारी भएर मर्यो; तर त्यस्तै प्रकारको प्रवृत्ति अझ पनि प्रकट गर्न धेरैले छाड़ेका छैनन्। सतावटको अभियानमा अघि सर्ने अधिकृतहरू मात्र परमेश्वर प्रति अटेरी भएका छैनन्। संसार भरि परमेश्वरका सेवकहरूले देखेका र सुनेका कुराबाट प्रमाणित् छ कि त्यस प्रकारका काम गर्ने मानिसहरूको हृदयमा परमेश्वरको डर छैन।
१८. मानिस जातिको अशान्त अवस्थालाई दुष्ट आत्माहरूले कसरी अझ खराब पारिरहेका छन्?
१८ नूहका दिन जस्तै, यो वर्तमान समयमा पनि, दुष्ट आत्माहरूले गरेको हस्तक्षेप हामी देखिरहेछौं। (प्रकाश १२:७-९) यी त्यही प्रेतहरू हुन् जसले नूहका दिनमा मानिसको रूप धारण गरेर स्त्रीजाति सँग विवाह गरेका थिए। जलप्रलयमा, तिनीहरूकी पत्नीहरू र सन्तान नष्ट हुँदा, यी अनाज्ञाकारी स्वर्गदूतहरू चाहिं फेरि आत्मिक संसारमा जान बाध्य भए। तर तिनीहरूले यहोवाको पवित्र सङ्गठनमा फेरि ठाउँ पाउन सकेनन्। तिनीहरू ईश्वरीय ज्योतिबाट बञ्चित्, टारटारस कहलाइने, घोर अन्धकारको अवस्थामा फालिए। (२ पत्रुस २:४, ५) शैतानको निर्देशनमा कामगर्दै, तिनीहरूले मानिस सँग सम्पर्क राख्न छाड़ेका छैनन् र अब उप्रान्त मानिसको रूप धारण गर्न नसकेता पनि, तिनीहरूले पुरूष, स्त्री र कुनै-कुनै बेला बच्चाहरूलाई पनि आफ्नो वशमा ल्याउन खोज्छन्। यो काम तिनीहरूले अकसर प्रेतवाद सँग सम्बन्धित कार्य द्वारा गर्छन्। एक अर्कालाई सबै भन्दा अमानवीय ढङ्गमा नाश गर्न तिनीहरूले मानिसहरूलाई उस्काउँछन्। तर यति मात्र होइन।
१९. (क) प्रेतहरूले आफ्नो घृणाको शिकार विशेष गरी कसलाई पार्छन्? (ख) प्रेतहरू हामीलाई के गर्न बाध्य पार्ने कोशिशमा छन्?
१९ “परमेश्वरको आज्ञा पालन गर्ने र येशू बारे साक्षी दिने” मानिसहरूको विरूद्धमा, प्रेतहरूले युद्ध गर्दैछन् भनी बाइबलले देखाउँदछ। (प्रकाश १२:१२, १७) यहोवाका सेवकहरूमाथि आइ पर्ने सतावटका मुख्य उत्तेजकहरू यी प्रेतहरू नै हुन्। (एफिसी ६:१०-१३) तिनीहरूले विश्वासी मानिसहरूलाई यहोवा प्रति आफ्नो समग्रता तोड़न लगाउन र येशू राजा हुनुहुने, यहोवाको मसीही राज्यबारे प्रचार बन्द गराउन, सोच्न सकिने हर उपाय प्रयोग गरेका छन्।
२०. प्रेतहरूले मानिसहरूलाई तिनीहरूको वशबाट के गरी उम्कन नदिनका लागि, कसरी रोक्न खोज्छन्? (याकूब ४:७)
२० तिनीहरूको निर्दयी प्रभावबाट मुक्तहुन चाहनेहरूलाई, यी प्रेतहरूले बाधा दिने गर्छन्। ब्राजिलकी एउटी भूतपूर्व प्रेतवादीको बयान अनुसार, उसको ढोकामा यहोवाका साक्षीहरू जाँदा, प्रेतहरूका आवाजले उसलाई ढोका खोल्न मनाही गरेको थियो। तर उसले ढोका खोली र सत्यको ज्ञान प्राप्त गरी। कुनै-कुनै इलाकामा चाहिं प्रेतहरूले बोक्सी विद्यामा लागेका मानिसहरू प्रयोग गर्दै, यहोवाका साक्षीहरूको काम बन्द गर्ने कोशिश गर्छन्। उदाहरणका लागि, सुरिनामको एउटा गाउँमा, यहोवाका साक्षीहरूका विरोधीहरूले एउटा प्रेतवादीलाई फेला पारेछन्,। आफ्नो इन्द्रजालिक लौरो मानिसहरू तिर ताक्ना साथै ती मानिसहरूको मृत्यु गराउन सक्ने विद्याको निम्ति यो प्रेतवादी प्रसिद्ध थियो। आफ्ना ढोलकेहरू र नाँचनेहरूको टोली समेत् लिएर, यो प्रेतवादी, आफू प्रेतको प्रभावमा परेको बेला, यहोवाका साक्षीहरूको सामना गर्न आयो। मन्त्रहरू फलाकी सके पछि उसले आफ्नो इन्द्रजालिक लौरो साक्षीहरू तिर ताक्यो। यहोवाका साक्षीहरू त्यहाँ पुर्लुक्क मरेको हेर्ने आशामा गाउँ घरका मानिसहरू उभिरहेका थिए। तर उल्टा त्यो प्रेतवादी पो बेहोश भएर लोट्यो र हतार-पतार उसलाई उसका लज्जित् समर्थकहरूले उठाएर लगे।
२१. नूहको दिनमा झैं, हाम्रो प्रचार कार्य प्रति धेरै जसो मानिसहरूले के प्रतिकृया व्यक्त गर्छन् र किन?
२१ जादू-टोना र प्रेतवाद धेरै प्रचलित् नभएको ठाउँमा, आफ्नो दैनिक जीवनका काम-कुरामा ग्रस्त भएर सुन्नै नचाहने मानिसहरूलाई प्रचार गर्न कस्तो हुन्छ, यहोवाको प्रत्यक साक्षीले अनुभव गरेको छ। नूहको दिनमा झैं, धेरै जसोले ‘वास्तै गर्दैनन्।’ (मत्ती २४:३७-३९) कसै-कसैले हामीमा भएको एकता र हाम्रो प्रगतिको प्रशंसा गर्लान्। तर हाम्रा अध्यात्मिक निर्माणको काम—जसमा व्यक्तिगत् अध्ययन, सभाहरूमा नियमित् उपस्थिति र क्षेत्र सेवकाईका लागि घण्टौं खर्च हुन्छन्—सबै तिनीहरूका लागि मूर्खता हो। परमेश्वरको वचनका प्रतिज्ञाहरूमा हाम्रो विश्वासलाई तिनीहरूले गिल्ला गर्छन् किनभने तिनीहरूको जीवन भौतिक चीजबीज र भोगविलासमा केन्द्रित् छ।
२२, २३. यहोवाले ईश्वरीय भक्ति भएका मानिसहरूलाई परीक्षाबाट बचाउनु हुनेछ भनेर नूहको दिनका घटनाहरूले हामीलाई कसरी निश्चिन्त पार्छ?
२२ त के यहोवाका भक्त सेवकहरूले सधैंनै परमेश्वरलाई प्रेम न गर्ने मानिसहरूको दुर्व्यवहार सहेर बस्नु पर्ने छ? कदापि पर्दैन! नूहको दिनमा के भयो? परमेश्वरको निर्देशनमा, नूह र उनको परिवार, तयार भइसकेको जहाज भित्र पसे। तब, परमेश्वरले तोक्नु भएको समयमा, “ठूला ठूला अगाधका सब मूलहरू फूटे औ आकाशका झ्यालहरू खुले।” पवर्तहरू न डुबुञ्जेल सम्म जलप्रलय भइ नै रह्यो। (उत्पत्ति ७:११, १७-२०) आफ्नो उचित् स्थान छाड़ेर आउने स्वर्गदूतहरू, तिनीहरूका भौतिक शरीर त्यागेर आत्मिक संसारमा फिर्ता जान बाध्य भए। नपीलहरू र नूहले दिएको चेताउनी बमोजिम काम नगर्ने उदासीन व्यक्तिहरू समेत् त्यस बेलाका सबै भक्तिहीन मानिसहरू नष्ट भए। तर अर्को तिर, नूह र उनकी पत्नी र तिनीहरूका तीन जना छोराहरू र छोराहरूकी पत्नीहरू बाँचे। वषौं देखिन् नूह र उनको परिवारले भक्तिसाथ सहँदै आएको कष्टबाट यहोवाले तिनीहरूलाई छुटकारा दिनु भयो।
२३ ईश्वरीय भक्ति हुने वर्तमान मानिसहरूका लागि पनि के यहोवाले त्यसो गर्नु हुनेछ र? निःसन्देह, गर्नु हुनेछ। उहाँले त्यसबारे प्रतिज्ञा गर्नु भएको छ र उहाँले झूट बोल्नु हुँदैन।—तितस १:२; २ पत्रुस ३:५-७. (w90 4/15)
[फुटनोट]
a “आनोमियाको अर्थ परमेश्वरको व्यवस्थाको अवहेलना अथवा अटेर गर्नु हो; आसेबिया [‘भक्तिहीन’ मानिसहरूका निम्ति प्रयोग गरिएको शब्दको संज्ञा] चाहिं स्वयं परमेश्वरको व्यक्तित्वको अवहेलना र अटेर गर्नु हो।”—वायन्स एक्सपोजिटरी अफ ओल्ड एन्ड न्यु टेस्टामेन्ट वर्ड्स. वल्युम ४, पाना १७०.
के तपाईंलाई स्मरण छ?
◻ यहोवाले ईश्वरीय भक्ति भएका मानिसहरूलाई परीक्षाबाट बचाउन जान्नु हुन्छ भनेर पत्रुसले कसरी देखाए?
◻ नूहको दिनका हिंसालाई बढ़ावा दिने कुन्-कुन् तत्वहरू थिए?
◻ आउनलागेको जलप्रलय ध्यानमा राख्दै, नूहको के जिम्मेवारी थियो?
◻ हाम्रो समयमा नूहको दिन सँग मिल्ने कुन्-कुन् कुराहरू छन्?
[पृष्ठमा भएको चित्र]
जहाजको निर्माणमा, वषौंको परिश्रम खाँचो पर्यो
[पृष्ठमा भएको चित्र]
नूहले आफ्नो परिवारको अध्यात्मिकतालाई बलियो पार्न समय बिताए