डेड्सीका पाण्डुलिपिहरू बहुमूल्य आविष्कार
यरूशलेम देखिन् करीब २४ किलोमिटर दक्षिणपूर्व, वादी एन-नार, कहलिने एउटा उजाड़ र सुखा खोला, तल पूर्व डेड्सी तिर बग्छ। अल्गो चट्टानहरूको अनियमित लस्कर, किनारको समतल भूमिको पछाड़ि पट्टि फिजिएको छ। यसै समतल भूमिमा, दुवै गर्मीका दिनहरू र साथै शरद ऋतुको जाड़ा रात्रिहरूमा पनि टा-आमिरेह बेन्रीन मानिसहरू आफ्ना भेड़ा र बाख्राका बगालहरूको गोठाला गर्दै बस्छन्।
सन् १९४७ मा, बगालहरू कुरेर बसेको बेलामा, एक जना जवान बेन्रीन गोठालाले ढल्नै लागेको अल्गो चट्टानमा रहेको सानो दुलो भित्र एउटा ढुङ्गा हान्यो। त्यसबाट उत्पन्न भएको आवाज सुनेर यो गोठालो चकित भयो किनभने माटोको भाँड़ो फुट्दा हुने आवाज त्यहाँबाट सुनाइ दियो। उ डरले भाग्यो, तर दुई दिन पछि फर्केर आएर एउटा अझ अल्गो र खुला दुलोबाट प्रवेश गर्न, करीब ३०० फीट जति माथि चढ़्यो। जसै उसको आँखाले अँध्यारोमा बिस्तारै देख्न थाल्यो, त्यो गुफाको भित्तामा दसवटा अल्गा, अल्गा घ्याम्पाहरू लस्करै उसले देख्यो र तल भुईंभरि माथिबाट खसेका साना साना ढुङ्गाहरूको माझमा माटोका भाँड़ाहरूका टुक्राहरू थिए।
धेरै जसो घ्याम्पाहरू खालि थिए तर एउटा भित्र तीनवटा मुठ्ठाहरू थिए जस मध्ये दुईवटा चाहिं कपड़ाले बेह्रिएको थियो। यो गोठोलोले ती पाण्डुलिपिहरूलाई बेन्रीन कैम्पमा लग्यो र त्यहीं, एउटा झोला भित्र हालेर, पालको खामामा झुण्डाएर राखी दियो। आखिरमा, ती पाण्डुलिपिहरू कति दाममा बिक्री हुन सक्दा रहेछन् भनी केही बेन्रीनहरूले ती जम्मै बेतलेहेम लगेर गए। ती बेन्रीनहरूलाई एउटा मठमा त, यी पाण्डुलिपिहरू केही मूल्यका होइनन् भन्दै बड़ो अशिष्टताका साथ तिनीहरूलाई बाहिर पठाइ दिए। एउटा अर्को व्यापारीले चाहिं यी पाण्डुलिपिहरू केही पुरातत्वीय महत्त्वका होइनन् भने, र शायद यहूदीहरूका कुनै सभाघरबाट ती चोरिएका होलान् भन्ने शङ्का पनि गरे। तर तिनी कति गलत थिए! अन्ततोगत्वा, सिरियाका एक जना सार्कीले दलालको काम गरेर, ती पाण्डुलिपिहरूको सही मोल उचित रूपमा लगाइयो। चाँड़ै नै, अरू पाण्डुलिपिहरूको पनि मोल तोकियो।
ती प्राचीन लेखहरू मध्ये केही द्वारा ख्रीष्टको समयका यहूदी धार्मिक समूहहरूका गतिविधि बारे एउटा धेरै नै नया जानकारी पाउन सकियो। तर त्यसमा भएको बाइबलको यशैयाको पाण्डुलिपिले संसारमा हलचल मचायो। किन?
महान पुरस्कार
भर्खरै फेला परेको यशैयाको यो पाण्डुलिपि करीब ७.५ मीटर लामो थियो। यो १७ पत्रे पाण्डुलिपि, राम्रोसँग तैयार पारिएको, जनावरको मिहिन छालाले बनेको थियो। त्यो ५४ खानाहरूमा विभाजित थियो र प्रत्येक खाना भित्र ३०, ३० पंक्ति थिए। सम्पूर्ण पाण्डुलिपिमा नियमित रूपमा पंक्तिहरू कोरिएको थियो र सिपालु लेखनदासहरूले पैराग्राफ पैराग्राफमा लेखिएका अक्षरहरू ती पंक्तिहरूमाथि राखेका थिए।—तस्वीर हेर्नुहोस्.
यो पाण्डुलिपि, काठहरूको वरिपरि बेह्रिएको थिएन र त्यसलाई पढ़ने बेलामा, धेरैका हातहरूले छोएको दागको कारण, माझ तिर निकै नै धमिलो भएको थियो। कुनै समयमा त्यस्को निकै नै प्रयोग भएको कारण त्यो मक्कि सकेको थियो र ठाउँ-ठाउँमा निपुणता साथ जोड़-जाड़ र मरम्मत गरेको प्रमाण प्रत्यक्ष थियो। घ्याम्पामा बन्द गरेर राखेको हुनाकारण त्यस्को राम्रोसँग बचाउ हुन सकेको हो। यो पाण्डुलिपि बाइबलविद्का साथै हामी सबैका लागि, कतिको बहुमूल्य छ?
अहिलेसम्म अस्तित्वमा रहेका अगमवक्ता यशैयाका कापीहरू भन्दा यो हस्तलिपि केही एक हजार वर्ष पुरानो छ। तापनि, यसमा भएका कुराहरूमा केही विशेष भिन्नता छैन। सन् १९५० मा प्रकाशित, यस ग्रन्थका सम्पादक, प्रोफेसर मिलार बरोस्ले भने: “यशैयाको यो पाण्डुलिपिको मूल-पाठमा हिज्जे र व्याकरण सम्बन्धी विशेष भिन्नताहरू र एउटै कुरालाई बेग्ला-बेग्लै ढङ्गमा प्रस्तुत गरिएको भएता पनि, धेरै पछि तयार गरिएको मेसोरेटिक पाठ र यो पाण्डुलिपिको ग्रन्थ विशेषरूपमा मिल्दछ।”a साथै, यसमा टेट्राग्रेमेटन अर्थात् परमेश्वरको पवित्र नाउँ, यहोवा, हिब्रू अक्षरहरूमा नियमित रूपमा प्रयोग गरिएको कुरा उल्लेखनीय छ।
अन्य बहुमूल्य पाण्डुलिपिहरू
आज गुफा १ भनिने सोही गुफामा फेला परेको एउटा अर्को पाण्डुलिपिमा पनि ईश्वरको नाउँ देखा परेको छ। हबकुकको पुस्तकबारे गरिएको टिप्पणीमा, प्राचीन हिब्रू अक्षरमा, टेट्राग्रेमेटन [हिब्रू भाषाका चारवटा अक्षरहरूमा लेखिएको ईश्वरको नाउँ] चार पटक लेखिएको पाइन्छ र यो लेखनशैली साधारणतया लेखिने चार कुने हिब्रू अक्षरहरू भन्दा भिन्न छ।—हबकुक १:९ को पादटिप्पणी रेफरेन्स बाइबलमा हेर्नुहोस्.
त्यस गुफाबाट यशैयाको एउटा अर्को मुठ्ठाको भागका साथ साथै बाइबलको दानियलको पुस्तकका केही छालाका टुक्राहरू पनि फेला परे। हजार वर्ष पछिको पाण्डुलिपिमा झैं, यी टुक्राहरूमा पनि हिब्रू भाषा देखिन् आरामी भाषामा गरिएको परिवर्तन, दानियल २:४ मा यथावत छ।
यी मुठ्ठाहरूका राम्रोसँग साँचेर राख्न सकिएका साना, साना अंशहरू आज यरूशलेममा, श्राइन अफ दी बुक भन्ने अभिलेखालयमा प्रदर्शित छन्। यो अभिलेखालय, तहखाना मुनि छ, त्यसकारण तपाईं त्यहाँ जानु हुँदा, एउटा गुफा भित्र प्रवेश गरेको जस्तै लाग्नेछ। अभिलेखालयको माथिल्लो भाग त्यो माटोको भाँड़ोको ढकना जस्तो छ जस भित्र डेड्सीको यशैयाको मुठ्ठा फेला परेको थियो। तापनि, तपाईंले त्यहाँ यशैयाको यो पाण्डुलिपिको एउटा नकल मात्र देख्नु हुनेछ। त्यो बहुमूल्य मूल ग्रन्थ नजिकको एउटा भण्डार कोठामा सुरक्षित राखिएको छ। (w04/15/91)
[फुटनोटहरू]
a यसबाट लिएका केही महत्त्वपूर्ण पाठहरू न्यु वर्ल्ड ट्रान्सलेशन अफ दी होली स्क्रीपचर्स—विथ रेफरेन्सेसमा उल्लेख गरिएका छन्। उदाहरणका लागि, यशैया ११:१; १२:२; १४:४; १५:२; १८:२; ३०:१९; ३७:२०, २८; ४०:६; ४८:१९; ५१:१९; ५६:५; ६०:२१. यस पाण्डुलिपिलाई पादटिप्पणीमा 1QIs/a भनेर सङ्केत गरिएको छ।
[पृष्ठ २९-मा भएको चित्रको स्रोत]
Pictorial Archive (Near Eastern History) Est.
Courtesy of The British Museum
[पृष्ठ ३०-मा भएको चित्रको स्रोत]
Israel-Antiquity: The Shrine of the Book Israel Museum, D Samuel and Jeanne H Gottesman Center for Biblical Manuscipts