पाठकहरूका प्रश्नहरू
◼ रक्तक्षेपण गर्नै पर्छ भनेर अदालतले आदेश गरेमा, एक जना मसीहीले कुन हदसम्म त्यस आदेशको विरोध गर्नेछ?
प्रत्येक परिस्थिति आफ्नै किसिमको हुनाकारण, यस विषयमा सर्व-व्यापक नियम लागु हुनसक्तैन। मसीहीहरू आदरपूर्वक ‘सिजरका चीजहरू सिजरलाई’ दिने कुरामा, अर्थात् सांसारिक सरकारका कानुनहरूलाई पालन गर्नमा प्रसिद्ध छन्। तापनि, तिनीहरू जान्दछन् कि तिनीहरूको सर्वोपरी जिम्मावारी “परमेश्वरका चीजहरू परमेश्वरलाई” चढ़ाउनु हो।—मर्कूस १२:१७.
रोमी १३:१-७ मा सरकारी “उच्च अख्तियारवालाहरू” सित मसीहीहरूको सम्बन्धबारे छलफल गरिएको छ। यस्ता सरकारहरूसित, साधारणतया जनताका हितका निम्ति, कानुन बनाउने वा निर्देशन दिने अख्तियार हुन्छ। र आफ्ना कानुनहरू कार्यान्वयन गर्नु र ‘खराब काम गर्नेमाथि क्रोधको निम्ति बदला लिन’ सरकारहरूले ‘तरवार भिर्दछन्।’ उच्च अख्तियारवालाहरूका अधीनमा भएका हुनाले, मसीहीहरू कानुनहरू र अदालतका आदेशहरूको पालन गर्दछन्, तर यो अधीनता सापेक्षिक हुनु पर्दछ। परमेश्वरको श्रेष्ठ नियम हामीबाट भङ्ग गराउने खालको कुनै पनि आदेश एक जना मसीहीले पाएमा, ईश्वरीय नियमले प्रथम स्थान लिन्छ; त्यो नै सर्वोपरि हुन्छ।
कुनै कुनै आधुनिक कानुनहरू मूलतः हाम्रा हितकै लागि भए तापनि, एक जना मसीहीलाई रक्तक्षेपण लिन बाध्य पार्नका निम्ति, ती कानुनहरूको प्रयोग गरिन सकिन्छ। यस्तो भएमा, मसीहीहरूले प्रेरित पत्रुसले लिएकै यो अड़ान लिनु पर्छ: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नु पर्छ।”—प्रेरित ५:२९.
यहोवाले इस्राएलीहरूलाई आज्ञा दिनुभयो: “केबल रगत चाहिं कदापि नखानू, किनकि रगत चाहिं प्राण हो, औ मासुसँग प्राण नखानू।” (व्यवस्था १२:२३) १९१७ मा अनुबाद भएको एउटा यहूदी बाइबलले भन्दछ: “रगत नखानूमा दृढ़ रहनु।” र आइजक लीसरले त्यस पद्यलाई यसरी लेखे: “रगत नखानूमा स्थिर मात्र रहो।” यसकारण, के परमेश्वरको नियम प्रति उहाँका सेवकहरूलाई उदासिन वा निष्क्रिय हुन मिल्छ र?
सरकारले अन्यथा गर्ने निर्देश मसीहीहरूलाई दिएता पनि, तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्ने दृढ़-सङ्कल्प गर्ने उचित कारणहरू छन्। प्राध्यापक रोबर्ट एल. विलकेनले लेखेकाछन्: “मसीहीहरूले [रोमी] सैनिक सेवालाई मात्र अस्वीकार गरेनन्, तर तिनीहरूले शहरको शासन गर्ने कामको कुनै जिम्मावारी वा कुनै सरकारी नौकरी समेत स्वीकार गर्दैन थिए।” (द क्रिश्चियनस याज द रोमन्स सौ देम) यस प्रकार अस्वीकार गर्नुको अर्थ कानुन भङ्ग गर्नेवाला ठहरिनु वा ज्यान सजायको निम्ति रोमी रङ्गशालामा पठाइन सकिन्थ्यो।
आज पनि दैवी नियमलाई कदापि भङ्ग नगर्ने कुरामा मसीहीहरूले स्थिर रहने फैसला गरेको हुनु पर्दछ। यसो गर्दा, सांसारिक सरकारहरूको सामुन्ने तिनीहरू जति सुकै अफ्ठ्यारो परिस्थितिमा परे तापनि। जसरी मसीहीहरूले व्यभिचार (यौनिक अनैतिकता)बाट टाढ़ा बस्ने आदेश पाएका छन्, त्यसरी नै तिनीहरू ब्रह्माण्डको सर्वश्रेष्ठ नियम, अर्थात् परमेश्वरको नियम अनुसार रगतको दुरूपयोगबाट अलग्ग बस्नु पर्दछ। यस प्रकारका निषेधहरूलाई बाइबलले “जरूरतका कुराहरू” भनेको छ। (प्रेरित १५:१९-२१, २८, २९) यस प्रकारका दैवी नियमहरूलाई हल्का ढ़ङ्गमा लिनु हुँदैन, र सुविधा भयो भने वा कुनै समस्या नपर्दा मात्र पालन गर्नु पर्ने कुराहरू हुन् भनी ठान्नु हुँदैन। परमेश्वरको नियम पालन गर्नै पर्दछ!
त्यसैकारण, अब, हामी यस कुराको मूल्याङ्कन गर्न सक्तछौं कि १७ पानामा उल्लेख गरिएकी जवान मसीहीले एउटा अदालतलाई “रक्तक्षेपण गर्नुको अर्थ तिनको शरीरमाथि आक्रमण र बलात्कार गरे सरह हुनेछ,” किन भनेकी रहेछिन्। यौनिक आक्रमण द्वारा व्यभिचार गर्ने कुरालाई कानुनले मान्यता दियो भन्दैमा, के कुनै जवान अथवा वृद्धा मसीही स्त्रीले बलात्कारलाई चुपचाप स्वीकार गर्ने छिन् र?
त्यसैप्रकार, त्यसै पानामा उद्धृत गरिएकी १२ वर्षीय केटीले स्पष्टगरी भनि, कि ‘उसलाई रक्तक्षेपण गर्ने प्रयास गरियो भने, उसले आफ्नो सारा शक्तिले त्यसको विरोध गर्नेछ। उसले भनी कि उ कराउने छे, सङ्घर्ष गर्नेछे र आफ्नो पाखुराबाट सियो हाल्ने सारा उपकरणहरू तानेर फालिदिनेछे र उसको टाउको माथिको रगतको थैलो समेतलाई तोड-फोडगर्ने प्रयास गर्नेछे।’ ईश्यरीय नियम पालन गर्ने दृढ़ सङ्कल्प उसले गरेकी थिई।
भीड़ले येशूलाई राजा बनाउन खोज्दा, उहाँ त्यस ठाउँबाट निस्केर अन्तै हिंड़नु भयो। त्यसैगरी, कुनै अदालतले रक्तक्षेपणको आदेश दिने सम्भावना देखिएमा, परमेश्वरको नियम उल्लङ्घन हुने यस प्रकारको परिस्थितिबाट टाढ़ा जानु एक जना मसीहीको निम्ति उचित हुनेछ। (मत्ती १०:१६; यूहन्ना ६:१५) यसका साथै, जीवन बचाउने र पूर्णरूपमा स्वस्थकर हुने प्रयास गर्दै, एक जना मसीहीले वैकल्पिक इलाजको बुद्धिमानीसाथ खोजी गर्नु उचित हुनेछ।
रगतको सम्बन्धमा परमेश्वरको नियम भङ्ग न गर्नका लागि, एक जना मसीहीले जोडदार प्रयास गर्दा, अख्तियारवालाहरूले तिनलाई कानुन भङ्ग गर्ने व्यक्ति र सजाएको योग्यको पनि ठान्न सक्तछन्। यदि सजाय नै भयो भने पनि, एक जना मसीहीले त्यसलाई धार्मिकताको खातिर भोगेको सतावट ठान्नसक्तछ। (१ पत्रुस २:१८-२० सङ्ग तुलना गर्नुहोस्) तर अकसर गरी, मसीहीहरू रक्तक्षेपणबाट अलग्ग रहन सकेकाछन् र अन्य राम्रो चिकित्सा गराएर निको भएकाछन्, जसले गर्दा लामो समयसम्म कुनै कानुनी झमेलामा परेका छैनन्। र सबै भन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले आफ्ना जीवनदाता र न्यायाधीशका सामुन्ने आफ्नो समग्रता कायम राखेकाछन्। (w91 6/15)