पाठकहरूका प्रश्नहरू
हिब्रू ११:२६-मा के मोशालाई “ख्रीष्ट” भनिएको हो, अथवा के तिनी येशू ख्रीष्ट जस्तै एकजना थिए?
मोशाको विश्वासको विषयमा छलफल गर्दा, प्रेरित पावलले यसरी लेखे: “मिस्र देशको खजानाभन्दा ख्रीष्टको निम्ति निन्दित हुन ठूलो सम्पत्ति सम्झे, किनभने तिनले आफ्नो दृष्टि प्रतिफलतिर लाएका थिए।” (हिब्रू ११:२६) पावलले यहाँ मोशालाई “ख्रीष्ट” वा एक प्रकारको अभिषिक्त व्यक्ति भनेको जस्तो देखिन्छ।
निश्चय नै, मोशाले भविष्यमा आउनु हुने मसीहबारे विभिन्न ढङ्गमा एउटा नमुना प्रस्तुत गरे। मोशा आफू स्वयं अगमवक्ता भए तापनि, ‘तिनी जस्तै’ महान अगमवक्ता आउँदैछन् भनेर तिनले अगमवाणी गरे। “ती अगमवक्ता” येशू नै हुनु हुन्थ्यो भनी धेरै यहूदीहरूले अन्दाज लगाएका थिए, र यस कुराको पुष्टि उहाँका चेलाहरूले दिए। (व्यवस्था १८:१५-१९; यूहन्ना १:२१; ५:४६; ६:१४; ७:४०; प्रेरित ३:२२, २३; ७:३७) मोशा, व्यवस्थाको वाचाको मध्यस्थ थिए तर येशूले चाहिं महिमायुक्त नयाँ करार अथवा ‘उत्तम करारको मध्यस्थ’-को रूपमा ‘बढ्ता श्रेष्ठ सेवा’ गर्ने मौका पाउनुभयो। (हिब्रू ८:६; ९:१५; १२:२४; गलाती ३:१९; १ तिमोथी २:५) अतः केही कुराहरूमा मोशा भविष्यमा आउनु हुने मसीहको एउटा प्रतीक थिए भन्न सकिन्छ।
तथापि, हिब्रू ११:२६-को यो मूल अर्थ हो जस्तो देखिंदैन। मसीह बारे विस्तृत विवरण पाएर मोशाले जानीजानी मसीहको प्रतिनिधित्व गर्दै वा मसीहको तरफबाट मिस्रमा कामकार्बाइ गरे भन्ने कुराको कुनै सङ्केत पाइँदैन।
कसै-कसैको विचारमा, हिब्रू ११:२६-मा उल्लिखित पावलका शब्दहरू तिनको त्यो अर्को टिप्पणी जस्तै हो जसमा मसीहीहरूले “ख्रीष्टका पीडा” भोगे भनिएको छ। (२ कोरिन्थी १:५) येशू ख्रीष्टले दुःख भोग्नु भयो र तिनीहरूले ‘उहाँसँगै दुःख भोग्यो भने उहाँसँगै महिमित हुनेछन्’ भन्ने कुरा अभिषिक्त मसीहीहरूलाई त थाहा थियो। तर आउनु हुने मसीहले के दुःख भोग्नु हुने छ सो कुरा मोशालाई थाहा थिएन, नता तिनको स्वर्ग जाने आशा नै थियो।—रोमी ८:१७; कलस्सी १:२४.
अतः कसरी मोशाले ‘ख्रीष्टको निम्ति निन्दित हुन ठूलो सम्पत्ति सम्झे’ भन्ने कुराको एउटा अति सरल व्याख्या छ।
हिब्रू ११:२६-मा पावलले “ख्रीष्ट” भनेर लेख्दा तिनले युनानी शब्द “ख्रीष्तोउ” चलाएका थिए। यो शब्द मसीहा वा मसीह भन्ने हिब्रू शब्दसङ्ग मिल्दोजुल्दो छ। “मसीह” र “ख्रीष्ट” दुवैको अर्थ “अभिषिक्त व्यक्ति” हो। यसकारण, मोशाले ‘अभिषिक्त व्यक्ति-को रूपमा निन्दित हुन ठूलो सम्झे’ भनेर पावल लेखि रहेका थिए। तर के मोशा स्वयंलाई “अभिषिक्त व्यक्ति” भन्नु मिल्छ र?
मिल्छ। बाइबलको समयमा शिरमा तेल खन्याएर कुनै व्यक्तिलाई विशेष पदका लागि अनुमोदन गरिन्थ्यो। “शमूएलले ढुँग्रोको तेल [शाऊलको] शिरमा खन्याइदिए।” “शमूएलले तेल भएको सीङ लिएर तिनका दाज्यूहरूको सामने तिनलाई [दाऊदलाई] अभिषेक गरे। तब परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो, र त्यस दिनदेखि उसो तिनीसँगै रहनुभयो।” (१ शमूएल १०:१; १६:१३; प्रस्थान ३०:२५, ३०; लेवी ८:१२; २ शमूएल २२:५१; भजनसंग्रह १३३:२-लाई तुलना गर्नुहोस्।) यद्यपि, अगमवक्ता एलीशा र सिरियाका राजा हजाएल जस्ता केहीलाई “अभिषिक्त” भनिएको देखिन्छ जबकि तिनीहरूमाथि वास्तविक तेल खन्याइएको थियो भन्ने कुराको प्रमाण भने पाइदैन। (१ राजा १९:१५, १६; भजनसंग्रह १०५:१४, १५; यशैया ४५:१) तसर्थ, छानिएको वा विशेष रूपमा नियुक्त भएको कुनै पनि व्यक्ति “अभिषिक्त” हुन सक्छ।
यस अर्थमा मोशा आफै नै परमेश्वरका अभिषिक्त व्यक्ति थिए, र कुनै कुनै बाइबलले पनि हिब्रू ११:२६-मा “परमेश्वरको अभिषिक्त जन” वा “अभिषिक्त जन” भन्ने शब्द चलाएको छ। मोशालाई यहोवाको प्रतिनिधि र इस्राएललाई मिस्रबाट निकालेर ल्याउने व्यक्तिको रूपमा नियुक्त गरिएको थियो। (प्रस्थान ३:२-१२, १५-१७) मिस्रको धन सम्पत्ति र महिमा बीच हुर्केको भए तापनि, आफूले पाएको जिम्मेवारीलाई मोशाले बढी मूल्यवान ठाने, र त्यसलाई स्वीकारेर पूरा पनि गरे। यस अनुसार, मोशाले “मिस्र देशको खजानाभन्दा ख्रीष्टको निम्ति निन्दित हुन ठूलो सम्पत्ति सम्झे” भनेर पावलले लेख्न सके। (w92 11/15)