“ईश्वरीय शिक्षा” जिल्ला सम्मेलनहरू
यहोवाद्वारा शिक्षित हुन चाहनेहरूजति सबैजना “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलनहरूका लागि पर्खिरहेका छन्। व्यक्तिगत समस्याहरू बढिरहेको र संसारमा हलचल भइरहेको समयमा मसीहीहरूलाई सुरक्षित राख्ने शास्त्रीय शिक्षाहरूको उल्लेखनीय पक्षहरूमाथि त्यस सम्मेलनको चार दिने कार्यक्रमले प्रकाश पार्नेछ। यो कार्यक्रमले ‘स्वस्थ्यकर शिक्षाको विरुद्धमा रहेको जुनसुकै कुरा’-को विरोधमा दृढ रहन तिनीहरूलाई मदत दिनेछ। (१ तिमोथी १:१०) साथै परमेश्वरको वचनको असल शिक्षक बन्न त्यहाँ उपस्थित भएका सबैजनालाई प्रोत्साहन पनि दिनेछ।
अनुकरण गर्नाका लागि हामीसँग कति राम्रा उदाहरणहरू छन्! महान शिक्षक अरू कोही नभइ स्वंय यहोवा परमेश्वर हुनुहुन्छ! त्यसैले त यहोवा ‘हामीलाई पृथ्वीका पशुहरूलाईभन्दा बढी बुद्धि दिनुहुन्छ, र आकाशका चराहरूलाई भन्दा हामीलाई अझ ज्ञानी तुल्याउनुहुन्छ’ भनेर एलिहूले अय्यूबलाई ठीकै भनेको थियो। यहोवालाई सङ्केत गर्दै “उहाँ जस्तो निर्देशक को छ र?” भनेर पनि उसले सोधेको थियो। (अय्यूब ३५:११ न्यु व०; ३६:२२ न्यु व०) यशैया ३०:२०-मा परमेश्वरलाई “गुरु” भनेर सम्बोधन गरिएको छ।
यहोवापछि दोस्रो स्थानमा आउने एकमात्र शिक्षक उहाँको पुत्र येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ “गुरु” र “निर्देशक”-को रूपमा चिनिनु हुन्थ्यो र उहाँको जीवनीसँग सम्बन्धित बाइबलका पुस्तकहरूमा ५० पटकजति उहाँलाई त्यसरी सम्बोधन गरिएको छ। येशूले आश्चर्यलाग्दो ढङ्गमा गर्नुभएको थुप्रै रोगहरूको निवारण र अरू चमत्कारहरूको वावजुद उहाँ एकजना चिकित्सकको रूपमा भन्दापनि एकजना शिक्षक अर्थात् उपदेशकको रूपमा चिनिनु भयो।—मत्ती ८:१९; लूका ५:५; यूहन्ना १३:१३.
एकदम सुहाँउदो कुरो, येशूले आफ्ना चेलाहरू र प्रेरितहरूलाई पनि आफूजस्तै शिक्षक हुन सिकाउनुभयो। यो कुरा हामी मत्ती १०:५ देखि ११:१ र लूका १०:१-११-मा लेखेका कुराहरूबाट देख्न सक्छौं। स्वर्ग जानुभन्दा केही समय अघि येशूले आफ्ना चेलाहरूलाई शिक्षा दिने सर्व-विदित काम दिनुभयो र यसलाई मत्ती २८:१९, २०-मा यसरी लिपिबद्ध गरिएको छ: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” शिक्षा दिने यस कामलाई येशूका पहिले-पहिलेका अनुयायीहरूले कसरी जोश, कौशलता र कर्तव्य निष्ठाका साथ पूरा गरे भन्ने कुरा प्रेरितहरूको पुस्तक र त्यसपछिका प्रेरित पत्रहरूले देखाउँछन्।
यो शिक्षा दिने काम पहिलेभन्दा अहिले नितान्त आवश्यक भएको छ। किनभने हामी यस रीतिरिवाजको अन्तको समयमा बाँचिरहेका छौं र यसमा धेरैजनाको जीवन मुछिएको छ। मानिसहरू महान बेबिलोनको पापहरू र त्यसका विपत्तीहरूको भागिदार नहोउन् भनेर, तिनीहरूलाई बेबिलोनबाट निस्की आउन र यहोवा र उहाँको राज्यको सेवा गर्न तिनीहरूलाई सिकाउन र मदत दिन आवश्यक छ।—प्रकाश १८:४.
शिक्षा दिने आफ्नो काममा सबै यहोवाका साक्षीहरूले गरेको प्रयासलाई बल दिन आफ्नो सङ्गठनद्वारा यहोवाले “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलनहरूको प्रबन्ध गर्नुभएको छ। यी चार-दिने सम्मेलनहरू भारतमा १९९३ सालको सेप्टेम्बर महिनादेखि सुरु हुनेछ। अतः यहोवाका प्रत्येक समर्पित सेवकहरूले कमसे कम एउटा सम्मेलन मात्र भए पनि धाएर बिहीबार अपरान्हको सुरुआतको गीत र प्रार्थनादेखि आइतवार साँझको समापन प्रार्थनासम्म उपस्थित हुनेछु र ध्यान दिएर सुन्नेछु भनी पक्का गरून्। (w93 2/15)