आफ्नो विश्वासका निम्ति तिनले सङ्घर्ष गरिन्
तीन वर्ष अघि, कारेडाड बासान लिस्टान नाउँ भएकी यहोवाको एक जना साक्षीलाई स्पेनको क्याडिज भन्ने ठाउँमा तुरुन्तै शल्य चिकित्सा गर्नुपर्ने भयो। पित्तको पत्थरीले गर्दा तिनलाई ज्वरो आइरहन्थ्यो र तिनको रगतलाई विषालु बनाई रहेको थियो। तिनलाई स्थानीय अस्पतालमा भर्ना गराएपछि रक्तक्षेपण नलिने बाइबल आधारित तिनको अडानबारे तिनले व्याख्या गरिन्। रगत बिना नै तिनको शल्य चिकित्सा गर्ने निर्णय डाक्टरहरूले गरे। तथापि, शल्यचिकित्सा गर्ने कोठामा लग्नुभन्दा एकै छिन अघि डाक्टरहरूले तिनलाई एउटा कागतमा दस्तखत गर्न भने। त्यसमा भनिएको थियो कि रगत नलिने तिनको विचारको तिनीहरू कदर गर्न इव्छुक छन् तर कथङ्ग-कदाचित आपत आइपऱ्यो भने जे पनि आवश्यक उपचार गर्ने अनुमति तिनीबाट डाक्टरहरू चाहन्थे।
अस्पतालमा उपस्थित मण्डलीका प्राचीन र रोगीका छोराले, जो एक जना साक्षी नै थिए, यसप्रकारको कागतमा दस्तखतको तात्पर्य के हुनेछ भन्ने कुराको जानकारी कारेडाडलाई दिए। तिनले दस्तखत गरिन् भने आपत आई पर्दा डाक्टरहरूलाई रक्तक्षेपण गर्न सक्ने अख्तियार तिनले दिए सरह हुनेथियो। तिनलाई शल्य चिकित्सा गर्ने कोठामा लग्न अस्पतालका कर्मचारीहरू आउँदा तिनले कागतमा दस्तखत गर्दिन भनेर सुनाई दिइन्। तिनलाई तुरुन्तै कोठामा फर्काएर लगे र तिनले आफ्नो विचार बदलिउन् भनी तिनीमाथि अति दबाव हाले।
अनेक वाद-विवादपछि तिनलाई सम्झाउन तिनीहरूले अदालती न्यायाधीशलाई बोलाए। तर त्यो पनि काम लागेन। तिनीहरूलाई रक्तक्षेपण गर्ने अनुमति तिनले दिइन् भने तिनी परमेश्वरको सामु आफूलाई अपराधी सरह ठान्ने छिन् भनी कारेडाडले व्याख्या गरिन्। तिनले भनिन् कि मोशाको नियमअनुसार एउटी आइमाईमाथि बलात्कार हुँदा मदतका लागि कराउँदै तिनले प्रतिरोध गरिन् भने तिनलाई अपराधी ठहराइन्दैन थियो। (व्यवस्था २२:२३-२७) तिनले भनिन्, “डाक्टरहरू मेरा इच्छाहरूको उपेक्षा गर्दैछन् र मेरो विवेकलाई मिच्ने प्रयास गर्दैछन्। मैले त्यसको प्रतिरोध गर्नै पर्छ किनभने त्यो ममाथि बलात्कार गरे जस्तै हो।”
धेरै समयपछि, अन्तमा रगत बिना नै शल्य चिकित्सा गर्न डाक्टरहरू राजी भए। शल्य चिकित्सा गर्ने कोठामा यहोवालाई प्रार्थना गर्ने अनुमति कारेडाडले मागिन्। तिनले प्रार्थना गरिन्। शल्य चिकित्सा सफलताका साथ सम्पन्न भयो।
तर, पछि कारेडाडको हालत बिग्रिन थाल्यो, र त्यसबेला डाक्टरहरूले तिनको इच्छाको विपरीत तिनलाई रक्तक्षेपण दिने निर्णय गरे। अनि, एक जना डाक्टर र एक जना नर्सले रक्तक्षेपण दिने तम्तयारी गरे। कमजोर हालत भए तापनि कारेडाडले आफ्नो भएभरको ताकतले प्रतिरोध गरिन्। रगत जाने नली समेतलाई दाँतले टोकिन्। अन्तमा आफूले गरेको क्रियाकलापबाट डाक्टर स्वयं लज्जित भएर सो काम बन्द गरे। र तिनले भने, “म यसो गर्न सक्तिनँ। मैले हार खाएँ।”
कारेडाड सङ्कटबाट बाँचिन् र कुनै समस्या बिना तिनी निको भइन्। तिनको विश्वास र साहस देखेर डाक्टरहरू र नर्सहरू अति नै प्रभावित भए। यी सबै कुरा हुँदा कारेडाड ९४ वर्षकी थिइन्। (w93 6⁄15)