पहिला सुसमाचार प्रचार गरिएको हुनुपर्छ
“पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ।”—मर्कूस १३:१०.
यहोवाका साक्षीहरूले किन लगातार प्रचार गरिरहन्छन्? निस्सन्देह, घर-घर होस्, सडकमा होस् अथवा अनौपचारिक भेटघाटद्वारा होस्, हाम्रो जन सेवकाईको लागि हामी संसारभरि चिनिन्छौं। हरेक उपयुक्त अवसरमा हामी आफूलाई साक्षीहरू भनी चिनाउँछौं र हामीले मूल्यवान ठान्ने सुसमाचार अरूलाई कुशलतापूर्वक बताउने प्रयास गर्छौं। वास्तवमा, यो सेवकाई हाम्रो ट्रेडमार्क हो भन्न सक्छौं!—कलस्सी ४:६.
२ यसो विचार गर्नुहोस्—आफ्नो छिमेकमा राम्रो पहिरन भएका, ब्रीफकेस बोकेका पुरुष, स्त्री तथा केटाकेटीहरू देख्नेबित्तिकै मानिसहरूले प्रायजसो के सोच्छन्? ‘उ, क्याथोलिकहरू (अथवा रूढिवादीहरू) आए!’ अथवा ‘पेन्टिकोस्टल (अथवा बाप्तिस्टहरू) आए’ भनी के मानिसहरू भन्छन्? भन्दैनन्। त्यस्ता धर्महरूमा सम्पूर्ण परिवारहरू घर-घरको सेवकाईमा भाग लिंदैनन् भनेर मानिसहरूलाई थाहा छ। शायद केही धार्मिक समूहहरूले दुई वर्षे कामको लागि केही ठाउँहरूमा “मिसनरी” भनौंदा व्यक्तिहरू पठाउँछन्। तर तिनीहरूका त्यस्ता उच्च पदाधिकारीहरू त्यस्तो प्रकारको कुनै सेवकाईमा भाग लिंदैनन्। हरेक उपयुक्त अवसरमा अरूलाई समाचार सुनाउने जोशको निम्ति केवल यहोवाका साक्षीहरू विश्वभरि परिचित छन्। अनि तिनीहरू प्रहरीधरहरा र अवेक! पत्रिकाहरूका लागि चिनिन्छन्।—यशैया ४३:१०-१२; प्रेरित १:८.
मसीहीजगतका पादरीहरूभन्दा भिन्न
३ यसको ठीक विपरीत, साना केटाकेटीहरूसित अनुचित सम्बन्ध राख्ने, अनैतिक ठगहरू र जालसाजी भनी समाचारहरूले पटक पटक केही मुलुकका पादरीहरूलाई प्रकाशमा ल्याएका छन्। तिनीहरूले गर्ने शरीरका कार्यहरू र तिनीहरूको अति नै विलासी जीवनशैली सबैको सामु प्रष्ट छ। एक लोकप्रिय गीत लेखकले आफ्नो गीतमा त्यसलाई यसरी व्यक्त गरे: “येशूले के टेलिभिजन कार्यक्रममा रोलेक्स् घडी लगाउलान्?” उनी प्रश्न गर्छन्: “येशू पृथ्वीमा पुनः फर्केर आउनु भयो भने के उहाँले राजनीतिमा भाग लिनु हुन्थ्यो होला? के उहाँले क्यालिफोर्नियाको धनी इलाका, पाल्म स्प्रिङ्गस्मा आफ्नो अर्को घर बनाउनु भएर आफ्नो सम्पत्ति लुकाउनु हुन्थ्यो होला?” याकूबका शब्दहरू कति उपयुक्त छन्। तिनले भने: “तिमीहरू यस पृथ्वीमा सुख विलास र आनन्दमा मस्त भएर बसेका छौ, मार-काटको दिनमा तिमीहरूका हृदयलाई पोसेका छौ।”—याकूब ५:५; गलाती ५:१९-२१.
४ राजनीतिज्ञहरूसित पादरीहरूको सम्बन्ध र राजनैतिक उम्मेदवारहरूको रूपमा चुनावहरूमा तिनीहरूको सहभागिताले गर्दा तिनीहरू आधुनिक दिनका शास्त्री र फरिसीहरू जस्तै देखिएका छन्। साथै, केटाकेटी र वयस्कहरूसित पादरीहरूले गर्ने अनुचित आचरणले गर्दा संयुक्त राज्य अमेरिका र क्यानाडा जस्ता मुलुकहरूमा पादरीहरू विरूद्ध दायर गरिने मुद्दा र दण्डहरूको कारण धार्मिक ढुकुटीहरू रित्तिंदैछन्।—मत्ती २३:१-३.
५ आफ्नो समकालीन पादरीहरूबारे येशूले एकदम सही कुरा बताउनुभयो: “धिक्कार तिमीहरूलाई, ए शास्त्री र फरिसी हो, कपटीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरू जस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि भने मुर्दाहरूका हाड़हरू र सबै अशुद्ध वस्तुले भरिएका हुन्छन्। यसरीनै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र अत्याचारले भरिएका छौ।” तसर्थ, चाहे क्याथोलिक, प्रोटेस्टेन्ट, रूढिवादी अथवा कुनै अनौपचारिक धार्मिक समुदाय नै किन नहोस्, परमेश्वरले मसीहीजगतका कुनै पनि पादरीवर्गलाई सुसमाचार प्रचार गर्ने काम अह्राउनुभएको छैन। तिनीहरू अग्रिमवाणी गरिएको “विश्वासी र बुद्धिमान दास” साबित भएका छैनन्।—मत्ती २३:२७, २८; २४:४५-४७.
पहिला सुसमाचार किन प्रचार गर्ने?
६ सारा राष्ट्रहरूमा सुसमाचार प्रचार गर्ने येशूको सुस्पष्ट आज्ञामा मर्कूसले मात्र “पहिला” भन्ने शब्द प्रयोग गरेका छन्। (मर्कूस १३:१०; मत्ती २४:१४ तुलना गर्नुहोस्।) जे. बी. फिलिप्स्को संस्करण यसप्रकार छ: “किनकि अन्त आउनुअघि सुसमाचार सबै राष्ट्रहरूमा प्रचार गरिसकेको हुनुपर्छ।” क्रियाविशेषणको रूपमा प्रयोग भएको शब्द, “पहिला” ले विश्वव्यापी प्रचार-कार्यपश्चात् अन्य घटनाहरू हुनेछन् भन्ने सङ्केत दिन्छ। ती घटनाहरूमा प्रतिज्ञा गरिएको महासङ्कष्ट र नयाँ संसारमाथि येशूको धार्मिक शासन समावेश हुनेछ।—मत्ती २४:२१-३१; प्रकाश १६:१४-१६; २१:१-४.
७ त्यसोभए, पहिला सुसमाचारको प्रचार भएको परमेश्वर किन चाहनुहुन्छ? एउटा कारण हो, उहाँ प्रेम, न्याय, बुद्धि र शक्तिको परमेश्वर हुनुहुन्छ। मत्ती २४:१४ र मर्कूस १३:१० मा येशूका उक्तिहरूको पूर्तिमा यहोवाका यी गुणहरूको प्रभावकारी प्रकटीकरण हामी पाउन सक्छौं। आउनुहोस्, यी गुणहरू हामी एक एक गरेर केलाऔं र सुसमाचारको प्रचारसित ती कसरी सम्बन्धित छन्, जाँचेर हेरौं।
सुसमाचार र यहोवाको प्रेम
८ सुसमाचारको प्रचारले परमेश्वरको प्रेम कसरी प्रतिबिम्बित गर्छ? सर्वप्रथम त, यो समाचार जातिविशेष अथवा समूहको लागि मात्र होइन। यो सुसमाचार “सबै जातिहरूलाई” हो। परमेश्वरले आफ्नो मानव परिवारलाई असाध्यै प्रेम गर्नुहुन्छ। यसैकारण त उहाँले एउटा जातिको लागि मात्र नभई सारा मानवजातिको पापको निम्ति छुडौतीको बलिदान दिन आफ्नो एकमात्र पुत्रलाई यस पृथ्वीमा पठाउनुभयो। प्रेरित यूहन्नाले यसप्रकार लेखे: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँबाट बचोस् भनेर पठाउनुभयो।” (यूहन्ना ३:१६, १७) नयाँ संसारमा शान्ति, सामञ्जस्यता र न्याय प्रतिज्ञा गर्ने राज्यको सुसमाचार निश्चय नै परमेश्वरको प्रेमको प्रमाण हो।—२ पत्रुस ३:१३.
सुसमाचार र यहोवाको शक्ति
९ सुसमाचारको प्रचारले यहोवाको शक्ति कसरी प्रकट हुन्छ? विचार गर्नुहोस्, यस आज्ञा कार्यान्वयन गर्न उहाँले कसलाई चलाउनुभएको छ? के तिनीहरू रोमन क्याथोलिक चर्च अथवा प्रमुख प्रोटेस्टेन्ट समूहहरू जस्ता मसीहीजगतका सबैभन्दा शक्तिशाली धार्मिक सङ्गठनहरू हुन् र? होइनन्, राजनीतिमा तिनीहरूको सहभागिताले गर्दा तिनीहरू यस कामको लागि असक्षम साबित भएका छन्। (यूहन्ना १५:१९; १७:१४; याकूब ४:४) न ता तिनीहरूको सापेक्षिक धन सम्पत्ति र कुलीन शासकवर्गसित चिनापर्ची तथा प्रभाव न रीतिथितिसित गाँसिएको तत्त्व-ज्ञानहरूले नै यहोवा परमेश्वरलाई प्रभाव पार्न सकेको छ। परमेश्वरको इच्छा पूरा गर्न मानव शक्तिको खाँचो परेको छैन।—जकरिया ४:६.
१० यो कुरा प्रेरित पावलले कोरिन्थीका मण्डलीलाई लेखेको यस कुरासित मेल खान्छ: “ए भाइ हो, तिमीहरू आफ्नो बोलावटलाई विचार गर, शरीरअनुसार धेरै जना बुद्धिमान, धेरै जना शक्तिमान, धेरै जना खानदानीलाई बोलावट भएको छैन। तर बुद्धिमानहरूलाई शर्ममा पार्नालाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशाली कुराहरूलाई शर्ममा पार्नालाई परमेश्वरले संसारका निर्बल कुराहरू चुन्नुभयो। औ परमेश्वरले संसारका नीच र तुच्छ ठहरिएका कुराहरूलाई, अर्थात् भइरहेका कुराहरूलाई बेकम्मा गराउनाको निम्ति हुँदै नभएका कुरालाई चुन्नुभयो। यो चाहिं कोही प्राणीले परमेश्वरको सामने घमण्ड गर्न नपाओस् भनेर हो।”—१ कोरिन्थी १:२६-२९.
११ यहोवाका साक्षीहरूको सङ्गठनमा धनी सदस्यहरू निकै कम छन् र राजनीतिक तवरमा शक्तिशाली व्यक्तिहरू त छँदै छैनन्। राजनैतिक मामिलाहरूमा तिनीहरूले कडा तटस्थता अपनाउँछन्। यसको अर्थ तिनीहरूले कुनै प्रकारको राजनैतिक प्रभाव पार्न मनाही छ। बरु तिनीहरू यस २० औं शताब्दीमा धार्मिक तथा राजनैतिक नेताहरूद्वारा उत्प्रेरित निन्दनीय सतावटको निकै पटक शिकार भएका छन्। यद्यपि, नाजीवाद, फासिज्म, साम्यवाद, राष्ट्रवाद र झूटा धर्मका चेलाहरूले गरेका निर्मम विरोधहरूको बावजूद साक्षीहरूले सारा संसारभरि सुसमाचार प्रचार मात्र गरिरहेका छैनन् तर अचम्मलाग्दो गरी वृद्धि पनि भएको छ।—यशैया ६०:२२.
१२ आफ्नो सफलताको श्रेय साक्षीहरू कसलाई दिन्छन्? येशूले आफ्ना चेलाहरूलाई प्रतिज्ञा गर्नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” त्यसोभए, वास्तवमा तिनीहरूको सफलताको स्रोत के हुनेथियो? येशूले यसो भन्नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ।” त्यस्तैगरि आज पनि साक्षीहरूको विश्वव्यापी सेवकाईको सफलताको प्रमुख कारण मानव योग्यता नभई परमेश्वरबाट आउने शक्ति साबित भएको छ। सबैभन्दा निर्बल देखिने मानिसहरू चलाउनुभएर यहोवाले इतिहासमै सबैभन्दा महान शैक्षिक कार्य सम्पन्न गरिरहनुभएको छ।—प्रेरित १:८; यशैया ५४:१३.
सुसमाचार र यहोवाको बुद्धि
१३ स्वयंसेवकहरूले सुसमाचार प्रचार गरिरहेका छन्। येशूले भन्नुभयो, “सित्तैंमा पायौ, सित्तैंमा देओ।” (मत्ती १०:८) तसर्थ, परमेश्वरको सेवा गरे बापत यहोवाका साक्षीहरूमध्ये कसैले पनि तलब पाउँदैनन् न ता तिनीहरू तलब पाउने आशा गर्छन्। वास्तवमा, तिनीहरूको सभाहरूमा वित्तीय सङ्कलनहरू पनि हुँदैन। परमेश्वरलाई आफ्नो निःस्वार्थ सेवा चढाएर शैतानलाई मुखभरिको जवाफ दिंदा तिनीहरू आनन्दित हुन्छन्। मानिसहरूले निःस्वार्थ मनसायले परमेश्वरको सेवा गर्न सक्दैनन् भनी परमेश्वरको यस आत्मिक विरोधीले दाबी गरेको छ। आफ्नो बुद्धिले गर्दा यहोवाले शैतानको आलोचनालाई एउटा निर्विवाद जवाफ दिनुभएको छ—त्यो हो, यहोवाका लाखौं निष्ठावान सेवकहरूले घर-घर गएर, सडकमा र अनौपचारिक तवरमा सुसमाचार प्रचार गरिरहेका छन्।—अय्यूब १:८-११; २:३-५; हितोपदेश २७:११.
१४ सुसमाचार प्रचार-कार्यद्वारा परमेश्वरले आफ्नो बुद्धि प्रकट गर्नु भएको अर्को प्रमाण, राज्य प्रतिज्ञा स्वयं पनि हो। प्रेरित पावलले यसप्रकार लेखे: “पाकाहरूका बीचमा हामी ज्ञानका कुरा गर्दछौं। तर यस संसारको ज्ञान र यस संसारका नाश हुने शासकहरूका ज्ञान होइन, तर हामी परमेश्वरको ज्ञान रहस्यमा बोल्दछौं, अर्थात् त्यो छिपेर रहेको ज्ञान जो परमेश्वरले हाम्रो महिमाको निम्ति युगयुगभन्दा अघिनै ठहराउनुभएको थियो।” त्यो “छिपेर रहेको ज्ञान” ले अदनमा सुरु भएको विद्रोहलाई अन्त गर्ने परमेश्वरको बुद्धिमान जुक्तिलाई सङ्केत गर्छ। त्यस पवित्र रहस्यको बुद्धि येशू ख्रीष्टमा प्रकट भयो, जो परमेश्वरको राज्य सुसमाचार- को मुख्य पात्र हुनुहुन्छ।a—१ कोरिन्थी २:६, ७; कलस्सी १:२६-२८.
सुसमाचार र परमेश्वरको न्याय
१५ विशेषगरि न्याय को सम्बन्धमा मर्कूस १३:१० मा “पहिला” शब्दको महत्त्व पाउँछौं। यहोवा करूणामय न्यायको परमेश्वर हुनुहुन्छ। आफ्नो अगमवक्ता यर्मियाद्वारा उहाँ यसो भन्नुहुन्छ: “जसले घमण्ड गर्छ त्यसले यसो भनेर घमण्ड गरोस् ‘म परमप्रभुलाई बुझ्दछु, चिन्दछु औ उहाँनै परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, इन्साफ र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनै कुरामा म प्रसन्न हुन्छु,’ परमप्रभु भन्नुहुन्छ।”—यर्मिया ९:२४.
१६ सुसमाचार प्रचार गर्ने सम्बन्धमा यहोवाको न्याय कसरी प्रकट हुन्छ? एउटा उदाहरणद्वारा हामी यसलाई बुझौं—साँझमा आउने पाहुनाहरूको लागि आमाले अति स्वादिष्ट चकलेट केक बनाएकी छिन्। त्यो कहिले खाने भनी केही नबताइकन भान्छाको टेबुलमा यत्तिकै छाडेर गयो भने, केटाकेटीहरूको स्वाभाविक झुकाव कस्तो हुन्छ? हामी सबै जना एक समय केटाकेटी थियौं! ती साना केटाकेटीहरूलाई त्यो केक चाख्न सकसक लाग्न सक्छ! आमाले पहिले नै चेताउनी दिएकी छैन भने, अनुशासन दिन उनीसित बलियो आधार हुनेछैन। तर अर्कोतिर, पाहुनाहरू आइसकेपछि मात्र त्यो केक खाइनेछ, अतः त्यसलाई छुनु पाईंदैन भनी भनेकी छिन् भने तिनले स्पष्ट चेताउनी दिएको हुनेछ। कोही अनाज्ञाकारी भएमा कडा र न्यायी कदम चाल्नु तिनको अधिकार हुन्छ।—हितोपदेश २९:१५.
१७ अग्रिमसूचना नदिइकन यहोवाले आफ्नो न्यायअनुरूप यस दुष्ट रीतिरिवाजमाथि न्यायिक कार्य गर्नुहुनेछैन। तसर्थ, विशेषगरि सन् १९१९ देखि अर्थात् प्रथम विश्व-युद्धले “कष्टहरू” ल्याएदेखि यहोवाले आफ्ना साक्षीहरूलाई जोशिलो भएर सुसमाचार घोषणा गर्न अह्राउनुभएको छ। (मत्ती २४:७, ८, १४) यस अनुपम चेताउनीप्रति राष्ट्रहरूले औचित्यका साथ अज्ञानताको दाबी गर्न सक्दैनन्।
सुसमाचारको प्रचार कति व्यापक भएको छ?
१८ यो विश्वव्यापी शैक्षिक कार्यको प्रभावकारिता लास्ट प्लेशेज्—अ जर्नी इन द नर्थ नामक पुस्तकमा देख्न सकिन्छ। स्कटल्याण्डको उत्तरमा शेट्ल्याण्ड टापूहरूमध्ये पृथक टापू, फुलाको समुद्री नक्शा जाँच गर्दा “टापूको चारैतिर WKS (बिग्रिएको), RKS (चट्टानहरू), LDGS (धारहरू), OBS (अवरोधहरू)” भनी उल्लेख गरिएको लेखक बताउँछन्। नक्शाका यी सूचनाहरूले “सम्भाव्य नाविकहरूलाई त्यहाँ नआउन चेताउनी दिन्थ्यो। फुला टापू वरिपरिको समुद्री पानीमा विष्फोटक खानी थियो, जसले गर्दा त्यो टापू नौका चालकहरू, रमाइलो गर्न दिनभरि हिंड्नेहरू र बेलाइतका सरकारी कार्यकर्त्ताहरूको लागि समेत निषेध थियो। तर यस्ता अवरोधहरूले यहोवाका साक्षीहरूलाई भने हतोत्साहित नतुल्याएको मैले केही दिनपछि थाहा पाएँ।” तिनले अझै यसो भने: “आफ्नो धर्म स्वीकार्नेहरू खोज्न ठूला शहरका बस्तीहरू र तेस्रो विश्वमा खानतलास गरेझैं तिनीहरूले दुर्गम फुला टापूमा पनि आफ्नो धर्म स्वीकार गर्नेहरू भेट्टाए।” केही महिनाअघि त्यहाँको स्थानीय बासिन्दा, एन्ड्रुको ढोकामा द वाचटावर को एउटा प्रति छोडिएको थियो भनी तिनले मानी लिए। त्यसपछि तिनले भने: “एक हप्तापछि [उत्तरी समुद्री टापूहरू] फेरोरिसमा [डेनिश भाषाको अवेक!] पत्रिकाको एक प्रति र दुई महिनापछि ग्रीनल्याण्डको नुक शहरमा [डेनिश भाषाको वाचटावर] पत्रिकाको एक प्रति देख्थें।” ती उत्तरी गोलार्धहरूमा यहोवाका साक्षीहरूले गर्ने जोशिलो क्रियाकलापको कस्तो प्रभावकारी साक्षी!
प्रचार गरिरहन साक्षीहरूलाई कुन कुराले उत्प्रेरित गर्छ?
१९ जतिसुकै लामो समयसम्म साक्षी भइसकेको किन नहोस्, अपरिचित व्यक्तिहरूलाई घर-घरमा गएर प्रचार गर्नु अवश्य पनि सजिलो काम होइन। त्यसो भए मसीहीहरूलाई त्यो काम गर्न कुन कुराले उत्प्रेरित गर्छ? तिनीहरूको मसीही समर्पण र जिम्मेवारीको भावनाले। पावलले यसप्रकार लेखे: “यदि मैले सुसमाचार सुनाएँ भने मलाई घमण्ड गर्न पर्ने केही छैन, किनकि मलाई करै लागेको छ, किनकि सुसमाचार सुनाइनँ भनेता मलाई धिक्कार छ।” साँचो मसीहीहरूसित जीवनको समाचार छ। त्यसकारण तिनीहरूले त्यो समाचारबाट अरूलाई कसरी वञ्चित गराउन सक्छन् र? खतराको समयमा चेताउनी नदिंदा आइपर्ने रक्तदोषको सिद्धान्त नै सुसमाचार प्रचार गर्न उत्प्रेरित गराउने एउटा कारक हो।—१ कोरिन्थी ९:१६; इजकिएल ३:१७-२१.
२० उसोभए, सुसमाचारको प्रचार कसरी भइरहेको छ? साक्षीहरूको सफलताको कुञ्जी के हो? तिनीहरूको सेवकाई र सङ्गठनको कस्ता पक्षहरूले तिनीहरूलाई साँचो धर्म भनी चिनाउँछ? आउँदो लेखले यी प्रश्नहरूको जवाफ दिनेछ। (w94 8/15)
[फुटनोटहरू]
a परमेश्वरको बुद्धि र “पवित्र रहस्य” सम्बन्धी थप विवरणको लागि वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ न्यु योर्क, इङ्क. द्वारा प्रकाशित इन्साइट अन द स्क्रीप्चर्स, खण्ड २, पृष्ठ ११९० हेर्नुहोस्।
के तपाईंलाई याद छ?
▫ कुन कुराले गर्दा पादरीहरूभन्दा यहोवाका साक्षीहरू भिन्न छन्?
▫ प्रचार-कार्यले परमेश्वरको प्रेम, शक्ति र बुद्धि कसरी प्रतिबिम्बित गर्छ?
▫ सुसमाचारको प्रचारले परमेश्वरको न्याय कसरी प्रतिबिम्बित गर्छ?
▫ सेवकाईमा लागिरहन यहोवाका साक्षीहरूलाई कुन कुराले उत्प्रेरित गराउँछ?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. साक्षीहरूको ट्रेडमार्क के हो र किन?
३, ४. समाचार माध्यमहरूमा मसीहीजगतका पादरीहरूलाई प्रायः कसरी प्रस्तुत गरिन्छ?
५. मसीहीजगतका पादरीहरू किन “विश्वासी र बुद्धिमान दास” साबित भएका छैनन्?
६. कस्ता घटनाहरू छिट्टै हुनेछन्?
७. परमेश्वर किन पहिला सुसमाचार प्रचार भएको चाहनुहुन्छ?
८. सुसमाचारको प्रचार कसरी परमेश्वरको प्रेमको प्रकटीकरण हो? (१ यूहन्ना ४:७-१६)
९. सुसमाचार प्रचार गर्न यहोवाले किन मसीहीजगतका शक्तिशाली धर्महरूलाई चलाउनुभएको छैन?
१०. प्रचार गर्न परमेश्वरले कसलाई छान्नुभएको छ?
११. कस्ता तथ्यहरूले गर्दा साक्षीहरू अनुपम भएका छन्?
१२. साक्षीहरू किन सफल भएका छन्?
१३. (क) साक्षीहरू किन स्वेच्छापूर्वक र तलब नलिइकन सेवा गर्छन्? (ख) शैतानको आलोचनालाई यहोवाले कसरी जवाफ दिनुभएको छ?
१४. पावलले उल्लेख गरेको “छिपेर रहेको ज्ञान” के हो?
१५. यहोवा न्यायको परमेश्वर हुनुहुन्छ भनी हामी कसरी थाहा पाउँछौं? (व्यवस्था ३२:४; भजनसंग्रह ३३:५)
१६. अग्रिम चेताउनी दिनु न्यायिक आवश्यकता हो भनी कसरी बुझाउन सकिन्छ?
१७. सन् १९१९ देखि यहोवाले कसरी विशेष ढङ्गमा न्याय प्रकट गर्नुभएको छ?
१८. (क) दुर्गम क्षेत्रहरूमा साक्षीहरूको क्रियाकलापबारे कस्तो प्रमाण छ? (ख) तपाईंलाई अरू कस्ता उदाहरणहरू थाहा छ?
१९, २०. (क) प्रचार गरिरहन यहोवाका साक्षीहरूलाई कुन कुराले उत्प्रेरित गर्छ? (ख) पछि कुन प्रश्नहरूको उत्तर दिइनेछ?
[पृष्ठ २४-मा भएको चित्र]
मानिसहरू जस्तोसुकै पृथक ठाउँमा बसे तापनि यहोवाका साक्षीहरू तिनीहरूसमक्ष पुग्न चाहन्छन्