प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ११/१ pp. १७-२१
  • अय्यूबले धीरज धारण गरे—हामी पनि सक्छौं!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अय्यूबले धीरज धारण गरे—हामी पनि सक्छौं!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अत्यन्तै महत्त्वपूर्ण विषय
  • शैतानले आक्रमण गर्छ!
  • महान विपत्तिले प्रहार गर्छ
  • विवाद चर्किंदै जान्छ
  • तीन अहङ्‌कारी कपटीहरू
  • अय्यूबका वादीहरूले आक्रमण गर्छन्‌
  • हामी धैर्य धारण गर्न सक्छौं
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • अय्यूबको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • “यहोवामा आशा राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ११/१ pp. १७-२१

अय्यूबले धीरज धारण गरे—हामी पनि सक्छौं!

“हेर, हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं।”—याकूब ५:११.

‘दियाबलले मलाई खेदिरहेको छ! म अय्यूबजस्तै महसुस गर्छु।’ यहोवाका साक्षीहरूको मुख्यालयमा कार्यरत ए. एच. म्याकमिलनले एक घनिष्ठ मित्रलाई उक्‍त शब्दहरूमा आफ्ना भावनाहरू व्यक्‍त गरेका थिए। अगस्त २६, १९६६ को दिन ८९ वर्षको उमेरमा भाइ म्याकमिलनले आफ्नो पार्थिव जीवन समाप्त गरे। आफूजस्तै अभिषिक्‍त मसीहीहरूको विश्‍वासी सेवा “तिनीहरूका पछि लाग्नेछन्‌” भनी उनलाई थाहा थियो। (प्रकाश १४:१३) निस्सन्देह, पुनरुत्थानद्वारा स्वर्गमा अमर जीवन प्राप्त गर्ने बित्तिकै अटुट रूपमा तिनीहरूले यहोवाको सेवा गरी नै रहनेछन्‌। भाइ म्याकमिलनले त्यो वरदान पाएकोमा उनका साथीहरू आनन्दित भए। तर यस पृथ्वीमा हुँदा उनले आफ्ना आखिरी वर्षहरूमा स्वास्थ्य समस्या लगायत विभिन्‍न परीक्षाहरूको सामना गरे। यसले गर्दा परमेश्‍वरप्रति उनको निष्ठा भङ्‌ग गर्ने शैतानका प्रयासहरूबारे उनी झन्‌ बढी सजग भए।

२ अय्यूबजस्तै महसुस गर्दैछु भनी भाइ म्याकमिलनले भन्दा विश्‍वासका ठूलठूला परीक्षाहरू सहिसकेका एक जना व्यक्‍तिलाई उनले सङ्‌केत गरिरहेका थिए। अय्यूब सम्भवतः उत्तरी अरेबियाको “ऊज देशमा” बस्थे। नूहका छोरा शेमका वंशज, अय्यूब यहोवाका उपासक थिए। यूसुफको मृत्यु र मोशा धर्मी ठहरिएको समयबीच अय्यूबका परीक्षाहरू भएको हुनुपर्छ। त्यसताका ईश्‍वरीय भक्‍ति चढाउनमा अय्यूब जस्तो कोही पनि यस पृथ्वीमा थिएन। यहोवाले अय्यूबलाई निर्दोष, सोझो र परमेश्‍वरको डर राख्ने मानिस ठान्‍नुहुन्थ्यो।—अय्यूब १:१, ८.

३ “पूर्वका सबै मानिसहरूभन्दा सबैभन्दा महान्‌” अय्यूबका धेरै कमारा-कमारीहरू र ११,५०० वस्तुभाउ थिए। तर तिनको निम्ति सबैभन्दा महत्त्वपूर्ण कुरा, आध्यात्मिक धनसम्पत्ति थियो। आजका ईश्‍वरभक्‍त पिताहरूझैं अय्यूबले आफ्ना सात छोरा र तीन छोरीलाई यहोवाबारे सिकाएको हुनुपर्छ। छोराछोरीहरू आ-आफ्नो घरमा अलग्गै बस्दा पनि कतै तिनीहरूले पाप गरे होलान्‌ भनेर परिवारको पूजाहारीको हैसियतमा अय्यूबले तिनीहरूका खातिर बलि चढाउँथे।—अय्यूब १:२-५.

४ सताइएका मसीहीहरूले धीरजी भएर सहने बल प्राप्त गर्न मनमा राख्न सक्ने व्यक्‍ति अय्यूब हो। चेला याकूबले यसप्रकार लेखे: “हेर, हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरता सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ, कि प्रभु कस्तो टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।” (याकूब ५:११) अय्यूबजस्तै येशूका अभिषिक्‍त अनुयायीहरू र वर्तमान समयका “ठूलो भीड” लाई विश्‍वासको परीक्षा सफलतापूर्वक सामना गर्न धीरज चाहिन्छ। (प्रकाश ७:१-९) त्यसो भए, अय्यूबले कस्ता परीक्षाहरू सहे? ती परीक्षाहरू किन भए? अनि तिनको अनुभवबाट हामीले कसरी लाभ उठाउन सक्छौं?

अत्यन्तै महत्त्वपूर्ण विषय

५ स्वर्गमा एउटा ठूलो विवाद उठ्‌न लागेको कुरा अय्यूबलाई थाहै थिएन। एक दिन “स्वर्गीय-जनहरू परमप्रभुको सामने उपस्थित” भए। (अय्यूब १:६) परमेश्‍वरको एकलौटो पुत्र, वचन त्यहाँ उपस्थित हुनुहुन्थ्यो। (यूहन्‍ना १:१-३) ‘परमेश्‍वरका’ स्वर्गदूतीय अनाज्ञाकारी ‘छोराहरू’ र धार्मिक स्वर्गदूतहरू पनि त्यहाँ उपस्थित थिए। (उत्पत्ति ६:१-३) शैतान पनि त्यहाँ थियो किनभने सा. यु. १९१४ मा राज्य स्थापना नभएसम्म त्यो स्वर्गबाट फालिने थिएन। (प्रकाश १२:१-१२) अय्यूबको समयमा शैतानले महत्त्वपूर्ण विवाद खडा गर्ने थियो। सारा प्राणीहरूमाथि यहोवाको सार्वभौमिकताको औचित्यबारे शैतानले प्रश्‍न खडा गर्न लागेको थियो।

६ यहोवाले प्रश्‍न गर्नुभयो: “तँ के गर्दै थिइस्‌?” शैतानले जवाफ दियो: “पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।” (अय्यूब १:७) यसको अर्थ, त्यसले कसैलाई झम्टेर नाश गर्न खोज्दै हिंडिरहेको थियो। (१ पत्रुस ५:८, ९) प्रेमले उत्प्रेरित हुँदै कसैले पनि परमेश्‍वरको आज्ञा पूर्णतया पालन गर्दैन भन्‍ने कुरा यहोवाको सेवा गरिरहेका उपासकहरूको निष्ठा भङ्‌ग गरेर शैतानले प्रमाणित गर्न खोज्नेथियो। यस विवादलाई ध्यानमा राख्दै यहोवाले शैतानलाई यो प्रश्‍न गर्नुभयो: “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्‌? परमेश्‍वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने पृथ्वीमा त्योजस्तै निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस तैंले कोही पाउनेछैनस्‌।” (अय्यूब १:८) अय्यूबले ईश्‍वरीय स्तरअनुरूप जीवन बिताएकोले आफ्नो असिद्धताको लागि तिनले केही छुट पाएका थिए। (भजनसंग्रह १०३:१०-१४) तर शैतानले प्रत्युत्तर दियो: “परमेश्‍वरको डर राख्ने के अय्यूबको खास कारण छैन? के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष्‌ दिनुभएको छ, औ तिनका गाई-वस्तुहरु अनगन्ती बढ़ेका छन्‌।” (अय्यूब १:९, १०) यहोवाको स्थान र गुणहरूका लागि कसैले पनि उहाँलाई प्रेम अथवा उपासना गर्दैन बरु आफ्नो सेवा गराउन उहाँले आफ्ना प्राणीहरूलाई बाध्य तुल्याउनुहुन्छ भनी शैतानले यहोवाको निन्दा गऱ्‍यो। अय्यूबले प्रेमको खातिर नभई स्वार्थी लाभको लागि परमेश्‍वरको सेवा गरे भनी शैतानले आरोप लगायो।

शैतानले आक्रमण गर्छ!

७ शैतानले भने: “तर आफ्नो हात पसारेर तिनका सबैचीज छुनुहोस्‌, र तिनले तपाईंलाई तपाईंकै मुखको सामने सराप्नेछन्‌।” त्यस्तो अपमानजनक चुनौतीप्रति परमेश्‍वरले कस्तो प्रतिक्रिया देखाउनु हुनेथियो? यहोवाले भन्‍नुभयो: “हुन्छ, त्यस्तै होस्‌। त्यसकहाँ जे जत्ति छन्‌ सबै तेरै हातमा भयो। केवल अय्यूबको शरीरलाई चाहिं नछो।” अय्यूबका सारा सम्पत्तिमाथि आशिष्‌, बढोत्तरी र सुरक्षा छ भनी दियाबलले भनेको थियो। अय्यूबको शरीरमाथि असर नपर्ने गरी परमेश्‍वरले तिनलाई सतावट भोग्न दिनु हुनेथियो। खराबी गर्न कम्मर कसेर शैतान सभा छोडेर गयो।—अय्यूब १:११, १२.

८ छिट्टै शैतानी प्रहार सुरु भयो। अय्यूबको एक दासले उनलाई यो कुखबर सुनायो: “गोरुहरू जोतिरहेका र गधाहरू तिनीहरूका नजीकै चरिरहेका बेला शबाईहरूले गोठालाहरूलाई आक्रमण गरेर मारे, र ती सबै लगे। औ तपाईंलाई समाचार दिन म एउटै मात्र उम्कें।” (अय्यूब १:१३-१५) अय्यूबको सम्पत्तिबाट सुरक्षा हटाइएको थियो। त्यसको तुरुन्तैपश्‍चात्‌ प्रत्यक्ष पैशाचिक शक्‍तिको प्रयोग भयो किनभने अर्को दासले यसप्रकार रिपोर्ट गऱ्‍यो: “परमेश्‍वरको अग्नि स्वर्गबाट झरेर भेड़ाहरू र गोठालाहरूलाई भस्म पार्‌यो।” (अय्यूब १:१६) परमेश्‍वर आफैले आफ्नो सेवकमाथि त्यस्तो विपत्ति ल्याएको जस्तो देखाउनु कस्तो पैशाचिक कार्य थियो! चट्याङ्‌ग स्वर्गबाटै आउने हुनाले यहोवालाई सजिलैसित दोष लगाउन सकिन्थ्यो तर वास्तवमा आगोको स्रोत दियाबल थियो।

९ शैतानले आफ्नो प्रहारलाई अघि बढाउँदै लाँदा कल्दीहरूका तीन दलले नोकरहरूलाई तरवारले मारेर ऊँटहरू लगे भनी अर्को दासले बताए। (अय्यूब १:१७) यसप्रकार अय्यूबले आर्थिक क्षति भोग्नु परे तापनि यसले परमेश्‍वरसित तिनको सम्बन्धलाई बिगारेन। यहोवाप्रति तपाईंको निष्ठालाई नटुटाइकन के तपाईं ठूलो आर्थिक क्षति सहन सक्नुहुन्छ?

महान विपत्तिले प्रहार गर्छ

१० अय्यूबमाथि प्रहार गर्न दियाबललाई अझै पुगेको थिएन। अझै अर्को दासले भन्यो: “तपाईंका छोरा-छोरीहरू आफ्ना जेठा दाज्यूको घरमा खान-पीन गर्दै थिए। त्यसै बेला मरूभूमिबाट अचानक आँधी-बेह्री आएर घरको चारै कुनामा हान्यो, र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मार्‌यो। औ समाचार दिन म एउटा मात्र उम्कें।” (अय्यूब १:१८, १९) गलत जानकारी पाएको व्यक्‍तिले त्यो बतास पनि ‘परमेश्‍वरकै कार्य’ थियो भनी भन्‍न सक्छ। तर पैशाचिक शक्‍तिले अय्यूबको सबैभन्दा संवेदनशील भावनामा आक्रमण गरेको थियो।

११ शोक सन्तप्त अय्यूबले ‘आफ्नो लूगा च्याते, कपाल खौरे, र भूइँमा घोप्टो परेर दण्डवत्‌ गरे।’ तर तिनका शब्दहरू सुन्‍नुहोस्‌: “परमप्रभुले दिनुभयो, औ परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्‌।” थप विवरणले यसो भन्छ: “यी सबै कुरामा अय्यूबले पाप गरेनन्‌। तिनले परमेश्‍वरलाई अन्यायको दोष पनि लगाएनन्‌।” (अय्यूब १:२०-२२) शैतान पुनः एक पटक पराजित भयो। परमेश्‍वरका सेवकहरूको हैसियतमा हामीले पनि शोक र दुःख भोग्नुपऱ्‍यो भने के गर्ने? अय्यूबझैं निष्ठा पालन गरेर धीरज धारण गर्न यहोवाप्रति निःस्वार्थ भक्‍ति र भरोसाले हामीलाई मदत दिन सक्छ। अभिषिक्‍त जनहरू र पार्थिव आशा भएका सहचरहरूले अय्यूबको धीरजको यस विवरणबाट सान्त्वना र बल प्राप्त गर्न सक्छन्‌।

विवाद चर्किंदै जान्छ

१२ छिट्टै स्वर्गमा यहोवाले अर्को सभा बोलाउनुभयो। निस्सन्तान, दरिद्र अय्यूबलाई हेर्दा परमेश्‍वरले नै दुःख दिनुभएको जस्तो देखिन्थ्यो तर तिनको निष्ठा मजबूत थियो। निस्सन्देह, परमेश्‍वर र अय्यूब विरूद्ध आफूले लगाएका आरोपहरू झूटा थिए भनी शैतानले मानी लिने थिएन। विवाद टुङ्‌ग्‌याउन यहोवाले दियाबललाई चलाउनुहुँदा ‘परमेश्‍वरका छोराहरू’ ले तर्कवितर्कहरू सुन्‍नेथिए।

१३ शैतानको लेखा लिंदै यहोवाले सोध्नुभयो: “तँ के गर्दै थिइस्‌?” जवाफ के थियो? “पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।” अझै आफ्नो निष्ठा कायम गरिरहेका निर्दोष, सोझो र परमेश्‍वरसँग डराउने सेवक, अय्यूबतिर यहोवाले पुनः ध्यानाकर्षण गर्नुभयो। दियाबलले जवाफ दिए: “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र? आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुर्‌याउनुभए तिनले तपाईंको मुखकै सामने तपाईंलाई सराप्नेछन्‌।” अतः परमेश्‍वरले भन्‍नुभयो: “हुन्छ, त्यस्तै होस्‌। त्यो तेरो हातमा छ। त्यसको ज्यान चाहिं छोड़िदे।” (अय्यूब २:२-६) यहोवाले सम्पूर्ण तवरमा आफ्नो सुरक्षा हटाइसक्नु भएको छैन भन्‍ने सङ्‌केत दिंदै अय्यूबको शरीरलाई हानि पुऱ्‍याउने अनुमति शैतानले माग्यो। दियाबलले अय्यूबलाई मार्न भने पाउनेछैन; शारीरिक बिमारीले तिनलाई पीडित तुल्याउनेछ र तिनका गुप्त पापहरूका लागि परमेश्‍वरले सजाय दिइरहनुभएको जस्तो देखिनेथियो भनी शैतानलाई थाहा थियो।

१४ सभापछि पैशाचिक आनन्दका साथ शैतान अघि बढ्यो। त्यसले अय्यूबको “टाउकोदेखि पैतालासम्म खटिरा उब्जाइदियो।” खरानीमा बसेर खपटाको टुक्राले जीऊ कन्याउँदा अय्यूबले कस्तो अचाक्ली दुःख भोगे होलान्‌! (अय्यूब २:७, ८) यस्तो अचाक्ली पीडादायी, वीभत्स, अपमानजनक रोगबाट तिनलाई कुनै पनि मानव चिकित्सकले निको पार्न सक्दैनथियो। किनभने त्यो शैतानी शक्‍तिबाट भएको थियो। अय्यूबको बिमारीलाई केवल यहोवाले निको पार्न सक्नुहुन्थ्यो। तपाईं परमेश्‍वरका रोगी सेवक हुनुहुन्छ भने परमेश्‍वरले तपाईंलाई सहन मदत दिन सक्नुहुन्छ र रोगमुक्‍त नयाँ संसारमा जीवन दिन सक्नुहुन्छ भनी कहिल्यै नबिर्सनुहोस्‌।—भजनसंग्रह ४१:१-३; यशैया ३३:२४.

१५ अन्तमा, अय्यूबकी पत्नीले भनिन्‌: “के तपाईं आफ्नो निष्ठामा अझै अड़िनै रहनुहुन्छ? परमेश्‍वरलाई सरापेर मरे असल हुन्छ।” “निष्ठा” ले निष्खोट भक्‍तिलाई सङ्‌केत गर्छ र परमेश्‍वरलाई सराप्न लगाउन तिनले व्यङ्‌ग्‌यात्मक ढङ्‌गमा अय्यूबलाई भनिरहेकी हुन सक्छ। तर तिनले जवाफ दिए: “तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्छौ। परमेश्‍वरबाट सुख चाहिं भोगेर हामीले दुःख नभोग्नू र?” शैतानको यो षडयन्त्र पनि सफल हुन सकेन किनभने हामी यसो लेखिएको पाउँछौं: “यी सबै कुरामा अय्यूबको मुखबाट एउटै पापको कुरा निस्केन।” (अय्यूब २:९, १०) मानी लिनुहोस्‌, मसीही लक्ष्यहरू प्राप्त गर्न हामी बेफ्वाँकमा दौडधूप गरिरहेका छौं भनी परिवारका विरोधी सदस्यहरूले भन्लान्‌ र यहोवालाई त्याग्न हामीलाई आग्रह गर्लान्‌। अय्यूबजस्तै हामी त्यस्तो परीक्षा सहन सक्छौं किनभने हामी यहोवालाई प्रेम गर्छौं र उहाँको पवित्र नाउँको प्रशंसा गर्ने इच्छा राख्छौं।—भजनसंग्रह १४५:१, २; हिब्रू १३:१५.

तीन अहङ्‌कारी कपटीहरू

१६ तीन “मित्रहरू” अय्यूबलाई नाउँ मात्रको सान्त्वना दिन आए, जुन शैतानको अर्को षडयन्त्र साबित भयो। तीमध्ये एक एलीपज थिए, सम्भवतः एसाव मार्फत अब्राहामको वंशज। एलीपजले सर्वप्रथम बोल्ने मौका पाए किनभने शायद तिनी जेठो थिए। अर्को बिल्दद, अब्राहामका छोरा कतूरा मार्फत शूहको वंशज। तेस्रो, सोपर, आफ्नो परिवार अथवा बासस्थानको परिचय दिन नमाती कहलिएका शायद उत्तरपूर्वी अरेबियाको बासिन्दा। (अय्यूब २:११; उत्पत्ति २५:१, २; ३६:४, ११) आज यहोवाका साक्षीहरूलाई परमेश्‍वर त्याग्न लगाउन प्रयास गर्नेहरूले झैं आफूमाथि थुपारिएका आरोपहरू स्वीकारेर अय्यूबलाई आफ्नो निष्ठा तोड्‌न लगाउन यी तीनलाई शैतानले डोऱ्‍याएका थिए।

१७ रुँदै, आफ्नो लुगा च्यात्दै र टाउको भुईंमा लडिबुडि गर्दै यी तीनले दयाको ठूलो तमाशा देखाए। तर सान्त्वनाको एक शब्द पनि नबोलिकन तिनीहरू अय्यूबसित सात दिन सात रात बसे! (अय्यूब २:१२, १३; लूका १८:१०-१४) यी तीन अहङ्‌कारी कपटीहरू यति आध्यात्मिकताविहीन थिए, तिनीहरूसित यहोवा र उहाँका प्रतिज्ञाहरूबारे बताउने सान्त्वनादायी केही कुरै थिएन। यद्यपि, तिनीहरू गलत निष्कर्षमा पुगिरहेका थिए र रीतिभाँतिअनुसार आम शोक मनाउन सिद्धिनेबित्तिकै अय्यूबको विरूद्धमा बोल्न तयार भइरहेका थिए। चाखलाग्दो कुरा, सात दिने मौनता समाप्त हुनुअघि जवान एलीहू वार्तालाप सुन्‍न सकिने ठाउँ नजीक आएर बसिसकेका थिए।

१८ अन्ततः अय्यूबले आफ्नो मौनता भङ्‌ग गरे। आफूलाई भेट्‌न आएका यी तीन मित्रबाट कुनै सान्त्वना नपाएपछि तिनले आफू जन्मेको दिनलाई धिक्कारे र तिनको दयनीय जीवन किन लामो पारियो भनेर सोच्न थाले। अहिले निस्सहाय, शोक सन्तप्त र असाध्यै बिरामी हुनाले मरणअघि पुनः आनन्द प्राप्त होला कि भनेर सोच्न समेत नसोची मर्न चाहे। तर अय्यूबलाई मरणान्त अवस्थासम्म परमेश्‍वरले हानि पुऱ्‍याउन दिनु हुनेथिएन।—अय्यूब ३:१-२६.

अय्यूबका वादीहरूले आक्रमण गर्छन्‌

१९ अय्यूबको निष्ठाको थप जाँच गरिएको तीन चरणीय विवादमा एलीपजले सर्वप्रथम बोले। आफ्नो प्रथम वक्‍तव्यमा एलीपजले प्रश्‍न गरे: “सोझो मानिसले कहाँ कष्ट पाएको तपाईंले देख्नुभएको छ?” परमेश्‍वरको दण्ड योग्य केही दुष्ट काम अय्यूबले गरेको हुनुपर्छ भन्‍ने निष्कर्षमा उनी पुगे। (अय्यूब अध्याय ४, ५) दोस्रो वक्‍तव्यमा एलीपजले अय्यूबको बुद्धिलाई खिसी गर्दै प्रश्‍न गरे: “हामीले नजानेका कुरा तपाईं के जान्‍नुहुन्छ?” अय्यूबले आफूलाई सर्वशक्‍तिमानभन्दा उत्तम देखाउन खोजिरहेका थिए भन्‍ने सङ्‌केत एलीपजले दिए। दोस्रो आक्रमणको अन्तमा उनले अय्यूबलाई धर्मत्याग, घुसखोर र छलको दोषी ठहराए। (अय्यूब अध्याय १५) अन्तिम वक्‍तव्यमा एलीपजले अय्यूबलाई अर्काको सम्पत्ति हडपेको, खाँचोमा परेकाहरूलाई रोटी पानी नदिएको र विधवा अनि अनाथहरूलाई दमन गरेकोजस्ता थुप्रै झूटा अपराधहरूको दोषी ठहराए।—अय्यूब अध्याय २२.

२० प्रत्येक तीन चरणीय विवादको दोस्रो वक्‍ता बिल्ददले एलीपजकै विषयवस्तुमा कुरा अघि बढाए। बिल्ददका वक्‍तव्यहरू छोटो तर कटु थिए। अय्यूबका छोराछोरीहरूले गल्ती गरेकोले मृत्यु योग्य छन्‌ भन्‍ने आरोप समेत उनले लगाए। दोषपूर्ण तर्क गर्दै उनले यो उदाहरण चलाए: पानी नभएको ठाउँमा काँस-नर्कट सुकेर गएजस्तै “परमेश्‍वरलाई बिर्सनेको दशा पनि त्यस्तै हुन्छ।” यो भनाइ सत्य हो तर यो अय्यूबको सन्दर्भमा लागू हुँदैन। (अय्यूब अध्याय ८) अय्यूबमाथि आइपरेका दुःखहरू त दुष्टमाथि आइपर्छन्‌ भनी बिल्ददले भने। (अय्यूब अध्याय १८) मानिस केवल “कीरा” र “गडेउँलो” हुनाले परमेश्‍वर सामु अशुद्ध छ भनी बिल्ददले आफ्नो तेस्रो छोटो वक्‍तव्यमा तर्क गरे।—अय्यूब अध्याय २५.

२१ विवादमा तेस्रौं वक्‍ता शोपर थिए। साधारणतः, उनका तर्कहरू एलीपज र बिल्ददका जस्तै थिए। शोपरले अय्यूबलाई दुष्टताको दोषी ठहराए र पापी कामहरूदेखि अलग बस्न आग्रह गरे। (अय्यूब अध्याय ११, २०) दोस्रो चरणको विवादपछि शोपरले बोल्न छाडे। तेस्रो चरणमा उनीसित बोल्ने केही कुरा बाँकि नै थिएन। तर सम्पूर्ण विवादभरि अय्यूबले साहसीपूर्वक आफ्ना वादीहरूलाई जवाफ दिए। जस्तै, एक चोटि तिनले यसो भने: “तपाईंहरू ता सबै हरेक कुरामा यसो भन्दै व्यर्थका सान्त्वना दिनेहरू मात्र हुनुहुन्छ, के वाहियात कुराको अन्त हुनेछैन?”—अय्यूब १६:२, ३.

हामी धैर्य धारण गर्न सक्छौं

२२ अय्यूबले जस्तै हामीले एकै चोटि धेरै परीक्षाहरू सामना गर्नु पर्ने हुन सक्छ र हाम्रो निष्ठा भङ्‌ग गराउन शैतानले निराशा अनि अन्य कारणहरू प्रयोग गर्न सक्छ। आर्थिक समस्या परिरहेको छ भने त्यसले हामीलाई यहोवाको विरोध गर्न लगाउन सक्छ। प्रिय जनको मृत्यु भएको छ अथवा आफू अस्वस्थ भयौं भने परमेश्‍वरमाथि दोष थोपार्न शैतानले उस्काउन सक्छ। अय्यूबका साथीहरूले जस्तै केहीले हामीमाथि झूटो आरोप पनि लगाउलान्‌। भाइ म्याकमिलनले सङ्‌केत गरेझैं शैतानले ‘हामीलाई खेद्‌न सक्छ’ तर हामी धीरज धारण गर्न सक्छौं।

२३ हामीले अहिलेसम्म देखेअनुसार अय्यूबले विभिन्‍न परीक्षाहरू सहिरहेका थिए। तर के तिनले सकिनसकी सहिरहेका थिए? के वास्तवमा तिनको आत्मा चूर्ण भएको थियो? अय्यूबले सारा आशा मारेका थिए कि थिएनन्‌, अब हामी हेरौं। (w94 11/1)

तपाईंले कस्तो जवाफ दिनुहुनेछ?

◻ अय्यूबको समयमा शैतानले कुन ठूलो विवाद खडा गऱ्‍यो?

◻ कुन ढङ्‌गमा अय्यूबलाई चरम-सीमासम्म परीक्षा गरिएको थियो?

◻ अय्यूबका तीन “मित्रहरू” ले तिनलाई कस्तो आरोप लगाए?

◻ अय्यूबलाई झैं यहोवाप्रति हाम्रो निष्ठा शैतानले कसरी भङ्‌ग गराउन सक्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

१. आफ्ना परीक्षाहरूबारे एक वृद्ध मसीहीले के भने?

२, ३. अय्यूब को थिए?

४. (क) सतावट भोगिरहेका मसीहीहरूले अय्यूबलाई किन मनमा राख्नुपर्छ? (ख) अय्यूबको सम्बन्धमा हामी कस्ता प्रश्‍नहरूमाथि ध्यान दिनेछौं?

५. स्वर्गमा घटिरहेको कुन घटना अय्यूबलाई थाहै थिएन?

६. शैतानले के गर्न खोजिरहेको थियो र त्यसले परमेश्‍वरको निन्दा कसरी गऱ्‍यो?

७. कुन ढङ्‌गमा दियाबलले परमेश्‍वरलाई चुनौती दियो र यहोवाले कस्तो प्रत्युत्तर दिनुभयो?

८. (क) अय्यूबले कस्ता आर्थिक नोक्सानीहरू भोगे? (ख) “परमेश्‍वरको अग्नि” को तथ्य कुरा के थियो?

९. आर्थिक क्षतिले परमेश्‍वरसित अय्यूबको सम्बन्धमा कस्तो असर पाऱ्‍यो?

१०, ११. (क) अय्यूबका दश छोराछोरीहरूलाई के भयो? (ख) अय्यूबका छोराछोरीहरूको दुःखदायी मृत्युपश्‍चात्‌ तिनले परमेश्‍वरलाई कुन दृष्टिकोणले हेरे?

१२, १३. स्वर्गमा भएको अर्को सभामा शैतानले कुन कुराको लागि आग्रह गऱ्‍यो र परमेश्‍वरले कस्तो प्रत्युत्तर दिनुभयो?

१४. शैतानले अय्यूबमाथि कस्तो प्रहार गऱ्‍यो र तिनलाई किन कोही मानवले छुटकारा दिन सक्दैनथ्यो?

१५. अय्यूबकी पत्नीले तिनलाई के गर्ने आग्रह गरिन्‌ र तिनको प्रतिक्रिया कस्तो थियो?

१६. सान्त्वना दिने नाउँमा अय्यूबकहाँ को आए तर शैतानले तिनीहरूलाई कसरी चलाए?

१७. ती तीन आगन्तुकहरूले के गरे र सात दिन सात रातसम्म तिनीहरूले के गरेनन्‌?

१८. अय्यूब किन मर्न चाहे?

१९. कुन कुन कुराहरूमा एलीपजले अय्यूबमाथि झूटो आरोप लगाए?

२०. बिल्ददले अय्यूबमाथि कस्तो प्रकारको आक्रमण गरे?

२१. शोपरले अय्यूबलाई कुन कुराको दोष लगाए?

२२, २३. (क) अय्यूबलाई झैं यहोवा परमेश्‍वरप्रति हाम्रो निष्ठालाई दियाबलले कसरी भङ्‌ग गराउन सक्छ? (ख) अय्यूबले थुप्रै परीक्षाहरू सहिरहेको भए तापनि तिनको मनोवृत्तिबारे हामी कस्ता प्रश्‍न गर्न सक्छौं?

[पृष्ठ १७-मा भएको चित्र]

ए. एच. म्याकमिलन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने