साँचो परमेश्वरको भय राख्नुका परिणामहरू
“म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्याउँछ।”—यशैया ४८:१७.
१. ईश्वरीय भय राखेको भए कस्ता विपत्तिहरूबाट जोगिन सकिन्थ्यो?
आदमले ईश्वरीय भय खेती गरेको भए आफ्नै अनन्त नाश गराउने र आफ्ना सन्ततिहरूका लागि हजारौं वर्षसम्म दुःखी तुल्याउने पापबाट बचाउन सक्नेथियो। यहोवाको भय राख्ने र उहाँलाई प्रेम गर्ने सल्लाह पुरातन इस्राएल राष्ट्रले पालन गरेको भए त्यो राष्ट्र नता बाबेलको दासत्वमा लगिनेथियो न परमेश्वरको पुत्रलाई इन्कार गरेर उहाँको रगतको दोषी हुनेथियो। अहिले वर्तमान समयमा संसारले परमेश्वरको भय राखेको भए सरकार तथा व्यापारहरूमा भ्रष्टाचार, हिंसा र लडाइँ हुनेथिएन।—हितोपदेश ३:७.
२. वरपरको परिस्थिति बावजूद हामीले किन यहोवाको भय खेती गर्नुपर्छ?
२ हामी वरपरको संसारले जेसुकै गरे तापनि हामी यहोवाका सेवकहरूले व्यक्तिविशेष, परिवार र मण्डलीको रूपमा साँचो परमेश्वरको भय खेती गर्नाले लाभ उठाउन सक्छौं। यो मोशाले इस्राएलको राष्ट्रलाई दिएको सम्झौटाअनुरूप छ: “हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यिनै हुन्—तिमीहरूले आफ्ना परमप्रभुको डर मान, उहाँका सबै मार्गमा हिंड़, उहाँलाई प्रेम गर, औ आफ्नो पूरा मन र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर। तिमीहरूको हितको लागि . . . परमप्रभुका आज्ञा . . . मान।” (व्यवस्था १०:१२, १३) साँचो परमेश्वर, यहोवाको भय राख्दा हामीले पाउने केही आशिष्हरू के के हुन्?
बुद्धि—सुनभन्दा बहुमूल्य
३. (क) हामीले पाउन सक्ने सर्वोत्तम लाभ के हो? (ख) भजनसंग्रह १११:१० को अर्थ के हो?
३ प्रमुख लाभ साँचो बुद्धि हो। भजनसंग्रह १११:१० यो घोषणा गर्छ: “परमप्रभुको भयनै ज्ञानको शुरू हो।” त्यसको अर्थ के हो? समस्याहरू समाधान गर्न, खतरा पन्छाउन र केही खास लक्ष्यहरू प्राप्त गर्न सफलतापूर्वक ज्ञान चलाउन सक्ने क्षमता बुद्धि हो। यसमा स्वस्थकर न्याय समावेश छ। त्यस्तो बुद्धिको सुरुआत अर्थात् आधारभूत भाग यहोवाको भय हो। किन? किनभने सम्पूर्ण सृष्टि उहाँको हातको कार्य हो। त्यो उहाँमा निर्भर छ। उहाँले मानवजातिलाई स्वेच्छा दिनुभयो तर उहाँको डोऱ्याइबिना सफलतापूर्वक आफ्ना पाइलाहरू चाल्ने क्षमता भने तिनीहरूलाई दिनुभएन। (यहोशू २४:१५; यर्मिया १०:२३) जीवनका यी आधारभूत तथ्यहरूलाई हामीले मूल्यांकन गऱ्यौं र त्यहीअनुरूप जीवन बितायौं भने मात्र हामीले चिरस्थायी सफलता प्राप्त गर्न सक्छौं। परमेश्वरको इच्छा पूरा हुनेछ र विश्वासीलाई इनाम दिने उहाँको प्रतिज्ञा तथा क्षमता निश्चित छ भनी यहोवाको ज्ञानले हामीलाई अटल दृढता दिन सक्छ। तब मात्र ईश्वरीय भयले हामीलाई बुद्धिमानीपूर्वक कदम चाल्न प्रेरित गर्नेछ।—हितोपदेश ३:२१-२६; हिब्रू ११:६.
४, ५. (क) एक जवान मानिसलाई विश्वविद्यालयको शिक्षाले किन साँचो बुद्धि प्रदान गर्न सकेन? (ख) यस मानिस र तिनकी पत्नीले पछि कसरी साँचो बुद्धि आर्जन गरे अनि यसले तिनीहरूको जीवनमा कस्ता परिवर्तनहरू ल्यायो?
४ एउटा उदाहरणलाई विचार गर्नुहोस्। केही दशकअघि एक जवान क्यानाडास्थित सास्काट्चेवान विश्वविद्यालयमा अध्ययनरत थिए। तिनको पाठ्यक्रममा जीवविज्ञान पनि समावेश थियो र तिनलाई विकासवाद सिकाइयो। स्नातकपछि तिनले परमाणु विज्ञानसम्बन्धी विशेष अध्ययन गरे र टोरोन्टो विश्वविद्यालयमा आफ्नो अध्ययन कायम गर्न छात्रवृत्ति प्राप्त गरे। अध्ययन गर्दै जाँदा तिनले परमाणु संरचनाहरूमा व्यवस्थित रचनाको अद्भुत प्रमाण भेट्टाए। तर तिनलाई कसैले पनि यी प्रश्नहरूको जवाफ दिएन: यी सबै कसले बनायो? कहिले? र किन? यी प्रश्नहरूको जवाफबिना के तिनले युद्धमा अन्तर्ग्रस्त तत्कालीन संसारमा आफ्नो ज्ञान बुद्धिमानीपूर्वक चलाउन सक्थे? तिनलाई कुन कुराले डोऱ्याउने थियो? राष्ट्रवाद? भौतिकवादी इनामहरूको इच्छा? वास्तवमा, के तिनले साँचो बुद्धि आर्जन गरेका थिए?
५ स्नातक उपाधि प्राप्त गरेको थोरै समयपश्चात् त्यो जवान मानिस र तिनकी पत्नीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। परमेश्वरको आफ्नै वचनद्वारा पहिले नपाएका जवाफहरू तिनीहरूले पाउन थाले। तिनीहरूले सृष्टिकर्त्ता यहोवा परमेश्वरलाई चिने। लाल समुद्रमा मोशा अनि बाबेलमा दानियल र तिनका सहचरहरूबारे सिक्दै जाँदा तिनीहरूले मानिसको होइन तर परमेश्वरको भय राख्न सिके। (प्रस्थान १४:१०-३१; दानियल ३:८-३०) त्यस्तो ईश्वरीय भयका साथै यहोवाप्रति साँचो प्रेमले तिनीहरूलाई उत्प्रेरित गर्न थाल्यो। चाँडै तिनीहरूको सम्पूर्ण जीवन परिवर्तन हुन थाल्यो। जीवविज्ञानमा जसका कामकुराहरू तिनले सिकेका थिए यस जवानले आखिरमा उहाँलाई चिने। भौतिकशास्त्र अध्ययन गर्दा जसको बुद्धि झल्किएको थियो उहाँलाई चिन्न थाले। आफ्ना सहमानवहरूलाई खतम गर्ने उपकरणहरू उत्पादन गर्न आफ्नो ज्ञान प्रयोग गर्नुको साटो तिनी र तिनकी पत्नीले परमेश्वर तथा छिमेकीहरूलाई प्रेम गर्न अरूलाई सिकाउन चाहन्थे। परमेश्वरको राज्यको प्रचारकहरूको हैसियतमा तिनीहरू पूर्ण-समय सेवामा भर्ती भए। पछि तिनीहरू वाचटावर बाइबल स्कूल अफ गिलियडमा भर्ना भए र मिसनरीहरूको रूपमा पठाइए।
६. हामीसित यहोवाको भयमा गडेको बुद्धि छ भने हामीले कस्ता प्रकारका अदूरदर्शी अभिलाषाहरू पछ्याउने छैनौं र के गरिरहेका हुनेछौं?
६ निस्सन्देह, सबै मिसनरी हुन सक्दैनन्। तर हामी सबैले यहोवाको भयमा जरा गाडिएको बुद्धिको आनन्द उठाउन सक्छौं। हामीले त्यस्तो बुद्धि खेती गऱ्यौं भने जीवनको अर्थ के हो भनी अनुमान मात्र लगाउने दर्शनहरू उत्सुकतापूर्वक ग्रहण गरिरहेका हुनेछैनौं। हामीलाई अनन्त जीवन दिन सक्ने जीवनको स्रोत अर्थात् यहोवा परमेश्वरद्वारा उत्प्रेरित बाइबलको अध्ययनबाट सिकेका कुराहरू हामीले प्रयोग गरिरहेका हुनेछौं। (भजनसंग्रह ३६:९; कलस्सी २:८) ह्रास भइरहेको व्यापारिक व्यवस्थापनको दास हुनुको साटो परमेश्वरसित हाम्रो सम्बन्धलाई सर्वप्रथम स्थानमा राख्नुको साथै यहोवाको सल्लाह पालन गर्दै भोजन र वस्त्रमा सन्तुष्ट भइरहेका हुनेछौं। (१ तिमोथी ६:८-१२) यस संसारमा सुसम्पन्न हुनुमा हाम्रो भविष्य निर्भर भएझैं व्यवहार नगरेर हामी यहोवाको वचनले भनेको यस कुरामाथि विश्वास राख्नेछौं। त्यहाँ भनिएको छ, संसार तथा यसका अभिलाषाहरू बितेर जानेछन् र परमेश्वरको इच्छाबमोजिम गर्ने सधैंभरि रहिरहन्छ।—१ यूहन्ना २:१७.
७. (क) मोलहरूप्रति सन्तुलित दृष्टिकोण राख्न हितोपदेश १६:१६ ले कसरी मदत गर्छ? (ख) हाम्रो जीवनमा परमेश्वरको इच्छालाई केन्द्रबिन्दु बनाउँदा कस्ता आशिष्हरू प्राप्त हुन्छन्?
७ सत्यतापूर्वक यसो भनेर हितोपदेश १६:१६ ले हामीलाई प्रोत्साहन दिन्छ: “बुद्धि प्राप्त गर्नु [यहोवाको भयसँगै सुरु हुने बुद्धि] सुनभन्दा पनि असल हो, औ विचार-शक्ति छान्नु निखुर चाँदीभन्दा असल हो।” त्यसको ज्ञान र समझ-शक्तिले परमेश्वरको इच्छालाई हाम्रो जीवनको केन्द्रबिन्दु बनाउन प्रेरित गर्नेछ। मानव इतिहासको यस समयावधिमा आफ्ना साक्षीहरूलाई परमेश्वरले कुन काम अह्राउनुभएको छ? उहाँको राज्यबारे प्रचार गर्ने र सोझा हृदय भएका व्यक्तिहरूलाई येशू ख्रीष्टका साँचो चेलाहरू हुन मदत दिने। (मत्ती २४:१४; २८:१९, २०) साँचो सन्तुष्टि र अधिक आनन्द दिने काम यही हो। त्यसकारण बाइबलले यसप्रकार पुष्टि दिनुमा ठोस कारण छ: “बुद्धि पाउने र समझ-शक्ति प्राप्त गर्ने मानिस सुखी हुन्छ।”—हितोपदेश ३:१३.
गलत कार्यबाट सुरक्षा
८. (क) परमेश्वरको भय राख्नाले हुने दोस्रो लाभ बताउनुहोस्। (ख) हामी कुन खराब कुराबाट जोगाइएका छौं? (ग) ईश्वरीय भय कसरी उत्प्रेरणादायी जोडदार शक्ति साबित हुन्छ?
८ परमेश्वरको भय राख्नुको दोस्रो फाइदा यसले हामीलाई खराब काम गर्नबाट जोगाउँछ। परमेश्वरप्रति गहिरो आदर राख्ने व्यक्तिहरूले के असल र के खराब, त्यसको आफै निर्णय गर्दैनन्। परमेश्वरले असल भन्नुहुने कुराहरूलाई तिनीहरू खराब ठान्दैनन्। नता परमेश्वरले खराब भन्नुहुने कुराहरू राम्रो होला भन्ठान्छन्। (भजनसंग्रह ३७:१, २७; यशैया ५:२०, २१) यसबाहेक, ईश्वरीय भयद्वारा उत्प्रेरित व्यक्ति यहोवाले असल र खराब भन्नुभएका कुराहरू थाहा पाउँदैमा चित्त बुझाएर बस्दैन। जे यहोवाले प्रेम गर्नुहुन्छ त्यसैलाई उसले प्रेम गर्छ र जे यहोवाले घृणा गर्नुहुन्छ त्यसैलाई घृणा गर्छ। फलस्वरूप ऊ परमेश्वरको स्तरअनुरूप चल्छ। तसर्थ हितोपदेश १६:६ मा भनिएझैं “परमप्रभुको भयले मानिसहरूलाई खराब कामबाट फर्काउँछ।” आफ्नै शक्तिले गर्न नसक्ने कुराहरू प्राप्त गर्न त्यस्तो ईश्वरीय भय शक्तिशाली उत्प्रेरक हुन सक्छ।
९. परमेश्वरलाई दुःखी नतुल्याउने बलियो इच्छाले मेक्सिकोकी एउटी स्त्रीलाई कसरी प्रभावित गऱ्यो र यसका कस्ता परिणामहरू भए?
९ एक व्यक्तिमा ईश्वरीय भय भर्खर मात्र उब्जन थालेको छ भने पछि आफूले पछुताउनु पर्ने केही कुराहरू गर्नदेखि अलग बस्न त्यसले उसलाई सुदृढ पार्न सक्छ। उदाहरणको लागि, मेक्सिकोकी एउटी गर्भवती महिलाले यहोवाको एक साक्षीलाई गर्भपातबारे सोधिन्। साक्षीले त्यस स्त्रीलाई थुप्रै शास्त्रपदहरू पढेर सुनाइन् र यसरी तर्क गरिन्: “सृष्टिकर्त्ताको निम्ति गर्भका बच्चाहरूलगायत सबैको जीवन असाध्यै महत्त्वपूर्ण छ।” (प्रस्थान २१:२२, २३; भजन १३९:१३-१६) उनको बच्चा असामान्य हुन सक्छ भनी चिकित्सा परीक्षणहरूले संकेत गरेका थिए। तर अहिले, परमेश्वरको वचनमा आफूले पढेका कुराहरूद्वारा उत्प्रेरित हुँदै त्यस स्त्रीले बच्चा जन्माउने निर्णय गरिन्। उनलाई पुनः जाँच्न डाक्टरले इन्कार गरे र उनको पतिले पनि उनलाई छाड्ने धम्की दिए तर उनी दृढ रहिन्। समयमा उनले सामान्य, स्वस्थ र राम्री बच्ची जन्माइन्। कृतज्ञताले प्रेरित भई उनले साक्षीहरूलाई खोजिन् र तिनीहरूसित उनले परमेश्वरको वचन अध्ययन गर्न थालिन्। एक वर्षभित्र उनी र उनको पतिले बप्तिस्मा लिए। केही वर्षपश्चात् एउटा जिल्ला सम्मेलनमा त्यस प्रथम साक्षी भेट्न पाउँदा उनीहरू हर्षित भए र आफ्ना चार वर्षीय राम्री छोरी तिनलाई चिनाइन्। परमेश्वरप्रति उचित आदर र उहाँलाई दुःखी नतुल्याउने बलियो इच्छाले निश्चय नै एक व्यक्तिको जीवनमा प्रभावकारी असर पार्न सक्छ।
१०. कस्ता खराब कार्यहरूबाट मुक्त हुन ईश्वरीय भयले मानिसहरूलाई सुदृढ पार्न सक्छ?
१० थुप्रै प्रकारका गलत कार्यहरू गर्नदेखि ईश्वरीय भयले हामीलाई सुदृढ पार्छ। (२ कोरिन्थी ७:१) उचित ढंगमा यसको खेती गर्नाले यसले आफू स्वयं र परमेश्वरलाई मात्र थाहा हुने गुप्त पापहरू गर्नबाट पनि रोक्न सक्छ। मद्यपान र लागू पदार्थको दुर्व्यवहारको दासत्वबाट मुक्त हुन यसले मदत दिन सक्छ। पहिले लागू पदार्थको दुर्व्यसनी भइसकेका दक्षिण अफ्रिकाको एक व्यक्तिले यसो भने: “परमेश्वरबारे ज्ञान लिंदै जाँदा मैले उहाँको चित्त नदुखाउने वा उहाँलाई दुःखी नतुल्याउने भय विकास गर्न थालें। उहाँले हेरिरहनुहुन्छ भनी मलाई थाहा थियो र उहाँको नजरमा अनुमोदित हुने तृष्णा गर्थें। आफूसित भएका सबै लागू पदार्थहरू शौचालयमा फ्याँकिदिन म प्रेरित भएँ।” यसप्रकार ईश्वरीय भयले हजारौं व्यक्तिहरूलाई मदत पुऱ्याएको छ।—हितोपदेश ५:२१; १५:३.
मानिसदेखि डराउनुबाट सुरक्षा
११. कुन सामान्य पासोबाट यहोवाको स्वस्थकर भयले हामीलाई जोगाउन सक्छ?
११ परमेश्वरप्रति स्वस्थकर भयले हामीलाई मानिसको भयबाट जोगाउँछ। कुनै न कुनै हदसम्म अधिकांश व्यक्तिहरू मानिसको भयले पीडित हुन्छन्। गेतसमनीको बगैंचामा येशू ख्रीष्टलाई सिपाहीहरूले पक्रँदा उहाँका चेलाहरू समेत भागेका थिए। पछि, मुख्य पूजाहारीको चोकमा मानिसको भयले गर्दा आफ्नो सन्तुलन गुमाएर पत्रुसले आफू येशूको चेला भनी चिनाउन र येशूलाई चिन्न समेत इन्कार गरे। (मर्कूस १४:४८-५०, ६६-७२; यूहन्ना १८:१५-२७) तर आफ्नो आध्यात्मिक सन्तुलन पुनः प्राप्त गर्न प्रेरितहरूलाई मदत दिइयो। अर्कोतिर, राजा यहोयाकिमको शासनकालमा शमायाहको पुत्र ऊरियाह भयले यति ग्रस्त भए, यहोवाको पूजाहारीको हैसियतमा उनले आफ्नो सेवा परित्याग गरे र देशबाट भागे। तर उनी पक्राउमा परे र मारिए।—यर्मिया २६:२०-२३.
१२. (क) मानिसको भयबाट जोगिन हितोपदेश २९:२५ ले कस्तो सुरक्षा इंकित गर्छ? (ख) परमेश्वरमाथि भरोसा कसरी बढ्दै जान्छ?
१२ मानिसको भयमाथि विजय प्राप्त गर्न कुन कुराले मदत दिन सक्छ? “मानिसको डर त्यसको निम्ति पासो हो” भनी चेतावनी दिइसकेपछि हितोपदेश २९:२५ ले अझै यसो भन्छ: “परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित हुन्छ।” यहोवामाथि भरोसा यसको कुञ्जी हो। त्यस्तो भरोसा ज्ञान र अनुभवमा निर्भर हुन्छ। यहोवाको वचन अध्ययन गर्दा उहाँको मार्गको औचित्यको प्रमाण हामी पाउँछौं। उहाँको विश्वसनीयता, उहाँका प्रतिज्ञाहरूको निश्चितता (पुनरुत्थानको आशासमेत), उहाँको प्रेम र सर्वशक्तिबारे परिचित हुन्छौं। त्यो ज्ञानअनुरूप यहोवाको डोऱ्याइमा काम गरेर उहाँले चेतावनी दिनुभएका कुराहरू दृढतापूर्वक इन्कार गऱ्यौं भने हामीले उहाँको मायालु प्रेम र विश्वसनीयताको प्रत्यक्षतः अनुभव गर्न थाल्छौं। उहाँको इच्छा पूरा गर्न उहाँको शक्ति क्रियाशील छ भनी हामीले व्यक्तिगत तवरमा प्रमाणहरू पाउँछौं। उहाँमाथि हाम्रो आत्म-विश्वास साथै उहाँप्रति हाम्रो प्रेम र उहाँलाई दुःखी नतुल्याउने हाम्रो साँचो इच्छा बढ्छ। त्यस्तो भरोसाको ठोस आधार हुन्छ। यसले मानिसको भय विरुद्ध प्रतिरोधको काम गर्छ।
१३. हाम्रो कार्यस्थल, घर र स्कूलमा ईश्वरीय भयले हामीलाई कसरी मदत पुऱ्याउन सक्छ?
१३ बेइमान व्यापारिक कामहरूमा भागिदार हुन इन्कार गर्दा मालिकले जागिरबाट निकालिदिने धम्की दिए तापनि ईश्वरीय भयको साथै यहोवामाथि भरोसाले हामीलाई सही कुरा गर्न दृढ बनाउनेछ। (तुलना गर्नुहोस् मीका ६:११, १२) विश्वासमा नभएका परिवारका सदस्यहरूबाट विरोध आइपर्दा पनि साँचो उपासनामा लागिरहन हजारौं मसीहीहरूलाई त्यस्तो ईश्वरीय भयले मदत गर्नेछ। स्कूल जाने जवानहरूलाई आफू यहोवाको साक्षी हुँ भनी चिनाउन यसले साहस प्रदान गर्छ र बाइबलका स्तरहरूको खिल्ली उडाउने सहपाठीहरूको सामना गर्न पनि यसले सुदृढ पार्छ। तसर्थ, एक किशोरी साक्षीले यसो भनिन्: “सांसारिक जवानहरूले के सोच्छन्, त्यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण त यहोवाले के सोच्नुहुन्छ त्यो हो।”
१४. आफ्नो जीवन खतरामा पर्दा पनि यहोवाका सेवकहरू कसरी विजयी हुन सक्छन्?
१४ आफ्नो जीवन खतरामा पर्दा पनि यहोवाका मार्गहरू दृढतापूर्वक पक्रिरहन त्यही विश्वासले साँचो मसीहीहरूलाई सुदृढ पार्छ। संसारबाट सतावटको अपेक्षा गर्नुपर्छ भनी तिनीहरूलाई थाहा छ। प्रेरितहरू पिटिए र येशू ख्रीष्टले समेत दुष्ट मानिसहरूबाट पिटाइ खानुभयो अनि मारिनुभयो भनी तिनीहरूले बुझेका छन्। (मर्कूस १४:६५; १५:१५-३९; प्रेरित ५:४०; तुलना गर्नुहोस् दानियल ३:१६-१८) तर यहोवाले तिनीहरूलाई सहने मदत दिनुहुनेछ; परमेश्वरको मदतले तिनीहरू विजयी हुन सक्छन्; विश्वासीहरूलाई उहाँले अवश्य इनाम दिनुहुनेछ र आवश्यक भएमा पुनरुत्थानद्वारा नयाँ संसारमा जीवन प्राप्त हुन सक्छ भनी उहाँका जनहरू पूर्णतया विश्वस्त छन्। उहाँलाई मन नपर्ने कुराहरू नगर्न ईश्वरीय भयको साथै परमेश्वरप्रतिको प्रेमले तिनीहरूमाथि जोडदार ढंगमा उत्प्रेरित गर्छ।
१५. नाजी यातना शिविरहरूमा आफ्नो निष्ठा कायम गर्न यहोवाका साक्षीहरूलाई कुन कुराले मदत गऱ्यो?
१५ सन् १९३० र १९४० को दशकतिर नाजी यातना शिविरहरूका सन्तापहरू सहन यही उत्प्रेरणाले यहोवाका साक्षीहरूलाई मदत गऱ्यो। लूका १२:४, ५ मा पाइने येशूको सल्लाहलाई तिनीहरूले हृदयंगम गरे: “ए मेरा मित्र हो, म तिमीहरूलाई भन्दछु, ‘जसले शरीरलाई मार्दछन् तर त्यसपछि अरू बढ़ी केही गर्नसक्तैनन् तिनीहरूसँग नडराओ। तर कोसँग डराउनुपर्छ, म तिमीहरूलाई जनाउ दिनेछु, तिनैसँग डराउनु पर्दछ जोसँग मारिसकेपछि नरकमा [गेहन्ना, न्युव] हाल्ने शक्ति छ। म तिमीहरूलाई भन्दछु, तिनीदेखिनै डराओ।” तसर्थ, शाक्सनहाउसेन यातना शिविरमा भएका साक्षी गुस्ताभ औश्नरले पछि यसप्रकार लेखे: ‘एसएस सिपाहीहरूले अगस्ट डिक्मानलाई गोली हाने र हाम्रो विश्वास परित्याग गर्ने कागजपत्रमा हस्ताक्षर नगरे हामी सबैलाई मार्ने धम्की दिए। हामी कसैले हस्ताक्षर गरेनौं। हामीलाई गोलीभन्दा यहोवालाई दुःखी तुल्याउने बढी डर थियो।’ मानिसको भयले सम्झौता गर्न लगाउँछ तर परमेश्वरको भयले सही कुरा गर्न दृढ बनाउँछ।
जीवनको सुरक्षा
१६. जलप्रलय नआउन्जेल दशकौं दशकसम्म सही मार्ग कायम गर्न नूहलाई कुन कुराले मदत गऱ्यो, र तिनी तथा तिनको परिवारको निम्ति परिणाम कस्तो भयो?
१६ जलप्रलयपूर्व संसारको आखिरी दिनसम्म नूह जीवित थिए। मानिसहरूको खराबीले गर्दा त्यस दुष्ट संसारलाई यहोवाले नाश गर्ने निर्णय गरिसक्नुभएको थियो। तर त्यसबीच हिंसा, घृणित अनैतिकता र दैवीय इच्छाप्रति बेवास्ताले भरपूर संसारमा नूह बाँचिरहेका थिए। नूहले धार्मिकताको प्रचार गर्नुको बावजूद पनि “जलप्रलय आएर सबलाई स्वात्त नलगुञ्जेल तिनीहरूले थाहै” पाएनन्। (मत्ती २४:३९) यद्यपि, परमेश्वरले नूहसमक्ष राखिदिनुभएको कामबाट तिनी पछि हटेनन्। “नूहले त्यसै गरे—परमेश्वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।” (उत्पत्ति ६:२२) जलप्रलय नआउन्जेल वर्षौंसम्म सही मार्ग कायम गरिरहन नूहलाई कुन कुराले मदत दियो? हिब्रू ११:७ ले यसको जवाफ दिन्छ: “विश्वासैबाट त्यस बेलासम्म नदेखिएका कुरामा परमेश्वरबाट जनाउ पाएपछि . . . नूहले [ईश्वरीय भय देखाए, न्युव]।” परिणामस्वरूप तिनी, तिनकी पत्नी र छोरा तथा बुहारीहरू जलप्रलयबाट बाँचे।
१७. (क) अरू मानिसहरूले जेसुकै गरे तापनि हामीले के गर्नु पर्ने हो? (ख) यहोवाको भय राख्नेहरू किन साँच्चै आनन्दित जन हुन्?
१७ धेरै तरिकामा हामी नूहको जस्तै समयमा बाँचिरहेका छौं। (लूका १७:२६, २७) पुनः हामीलाई एउटा चेतावनी दिइएको छ। बीच आकाशमा उडिरहेको स्वर्गदूतले सारा राष्ट्र र जातिका मानिसहरूलाई “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ” भनी आग्रह गरिरहेको छ भनी प्रकाश १४:६, ७ ले बताउँछ। तपाईं वरपरको संसारले जेसुकै गरे तापनि यी शब्दहरू पालन गर्नुहोस् र अरूलाई पनि त्यो निमन्त्रणा दिनुहोस्। नूहले जस्तै विश्वासको काम गर्नुहोस् र ईश्वरीय भय देखाउनुहोस्। त्यसो गर्दा तपाईं र अरू थुप्रैको ज्यान जोगिन सक्छ। साँचो परमेश्वरको भय राख्ने व्यक्तिहरूले पाउने लाभहरूबारे सोच्दा प्रेरित भजनरचयितासितको गीतमा सहमत हुन्छौं, जसले यसरी गाए: “त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ, र उहाँका आज्ञाहरूमा प्रसन्न हुन्छ।”—भजनसंग्रह ११२:१.
तपाईंले कसरी जवाफ दिनुहुनेछ?
◻ साँचो परमेश्वरको भय राख्नाले हुने केही उल्लेखनीय लाभहरू के के हुन्?
◻ ईश्वरीय भयमा जरा गाडेको बुद्धिले हामीलाई कसरी सुरक्षा प्रदान गर्छ?
◻ ईश्वरीय भयले हामीलाई किन खराबीबाट अलग राख्छ?
◻ मानिसको भयबाट ईश्वरीय भयले हामीलाई कसरी सुरक्षित पार्छ?
◻ हाम्रा भावी प्रत्याशाहरूमाथि ईश्वरीय भयले कस्तो असर पार्छ?
[पृष्ठ १६, १७-मा भएको चित्र]
“त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ, र उहाँका आज्ञाहरूमा प्रसन्न हुन्छ।”—भजनसंग्रह ११२:१.