भ्रष्टाचाररहित संसारको प्रतिज्ञा
भ्रष्टाचारले समाजका सबै वर्गलाई असर गरेको छ। सरकार, विज्ञान, खेलकुद, धर्म होस् या व्यापार, लाग्छ हर क्षेत्रमा भ्रष्टाचार नियन्त्रणबाहिर भइसकेको छ।
भ्रष्टाचार काण्डका निराशाजनक खबरहरू संसारभरि सुनिन्छन्। मानिसहरूको हित गर्न वाचा बाँध्ने थुप्रै मानिसहरूले घूस र कमिशन खाएर आफ्नै स्वार्थ सिद्ध गरिरहेको भन्डाफोर भएको छ। तथाकथित श्वेत अपराध अनियन्त्रित रूपले बढ्दैछ। आफ्ना पेशागत क्षेत्रहरूमा गम्भीर नैतिक नियम उल्लंघन तथा अपराध गर्ने उच्च समाज अथवा सर्वसम्पन्न परिवारहरूका मानिसहरू झन् झन् बढ्दैछन्।
“कुनै ठूलो खरिद वा विकास कार्यहरूलाई पारित गर्न वरिष्ठ अधिकृत, मन्त्री र प्रायः राष्ट्राध्यक्षहरूले समेत घूस र कमिशन खोज्ने प्रचलन आज देखिन्छ।” एउटा युरोपेली पत्रिकाले “महाभ्रष्टाचार” भनी वर्णन गरेको यस्तो समस्याप्रति आज चिन्ता बढ्दैछ। बेलाइती पत्रिका दि इकोनोमिस्ट-अनुसार एउटा देशमा “दुइ वर्ष लामो प्रहरी अनुसन्धान र दिनहुँजसो हुने गिरफ्तारीका घटनाहरूले समेत महाभ्रष्टाचारीहरूलाई निरुत्साहित तुल्याउन सकेन।”
यस्तो व्यापक भ्रष्टाचारले गर्दा आज भरोसायोग्य कोही छैन भनी अधिकांश मानिसहरू महसुस गर्छन्। तिनीहरूका अनुभूति बाइबल लेखक दाऊदका अनुभूतिहरूजस्तै छन्: “तिनीहरू सबै एकातिर लागेका छन्। तिनीहरू जम्मै एकैचोटि फोहरी [भ्रष्ट, न्युव] भएका छन्। असल गर्ने कोही पनि छैन। अहँ, एउटै पनि छैन।”—भजन १४:३.
व्यापक भ्रष्टाचारको वास्तविकतासित तपाईं कसरी जुझ्नुहुन्छ? अधिकांश मानिसहरू त्यसतर्फ कुनै ध्यान दिंदैनन्। तर भ्रष्टाचारलाई बेवास्ता गरे तापनि त्यसले तपाईंलाई पिरोल्न छोड्दैन। कसरी?
भ्रष्टाचारले तपाईंलाई असर गर्छ
उच्चस्तरका साथै सानो क्षेत्रमा हुने भ्रष्टाचारले दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि गर्छ, वस्तुको गुणस्तर खस्काउँछ र जागिर अनि तलब घटाउँछ। उदाहरणको लागि, डकैती र चोरीका एकमुष्ट घटनाहरूमा हुने नोक्सानीभन्दा अरूको सम्पत्ति हडप्ने र जालसाजीजस्ता अपराधहरूमा कम्तीमा दश गुना बढी नोक्सान हुने अनुमान गरिएको छ। द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका-अनुसार (१९९२) “संयुक्त राज्यका ठूला व्यापार अथवा कम्पनीहरूसित सम्बन्धित अपराधहरूमा वर्षेनी २,००,००,००,००,००० अमेरिकी डलर अर्थात् नियोजित अपराधहरूमा भन्दा तीन गुना बढी नोक्सान हुने अनुमान गरिएको छ।” सोही स्रोतले के भन्छ भने, त्यसका असरहरू सजिलै पत्ता लगाउन नसकिए तापनि “त्यस्ता अपराधहरूले कामदार, उपभोक्ता अनि वातावरणको सुरक्षामा विकराल असर पार्छ।”
भ्रष्टाचारको दुःखदायी परिणामहरूले राजा सुलेमानका यी शब्दहरू स्मरण गराउँछ: “मैले संसारमा अत्याचारका सबै कामहरू देखें र विचार गरें। अत्याचारमा परेकाहरूको आँसु मैले देखें, औ मैले के देखें भने तिनीहरूलाई सान्त्वना दिने कोही हुँदैन रहेछ। अत्याचारीहरूको पक्षमा शक्ति थियो, तर अत्याचारमा परेकाहरूको पक्षमा भएर साटो लिने कोही थिए[न]।”—उपदेशक ४:१.
त्यसो भए के भ्रष्टाचारसमक्ष घुँडा टेक्ने? के त्यो अवश्यम्भावी कुरा हो? भ्रष्टाचाररहित संसार के सपना मात्र हो त? खुशीको कुरा, त्यो सपना मात्र होइन! अन्याय र अधर्म चाँडै हटाइनेछ भनेर बाइबलले हामीलाई सिकाउँछ।
बाइबलले हामीलाई के बताउँछ
एउटा शक्तिशाली स्वर्गदूतले परमेश्वरको विद्रोह गरेर प्रथम मानव दम्पतीलाई आफ्नो दलमा सामेल हुन फुस्लाएपछि भ्रष्टाचार सुरु भयो भनेर बाइबलले बताउँछ। (उत्पत्ति ३:१-६) तिनीहरूको पापी मार्गको कुनै राम्रो नतिजा निस्केन। बरु, यहोवा परमेश्वरको विरुद्ध पाप गरेदेखि आदम र हव्वाले भ्रष्टाचारका नराम्रा नतिजाहरू भोग्न थाले। तिनीहरूको शरीर क्षीण हुँदै अवश्यम्भावी मृत्युमा टुंगियो। (उत्पत्ति ३:१६-१९) त्यहाँदेखि यता इतिहासमा घूसखोरी, छल र जालसाजीका प्रशस्त उदाहरणहरू पाइन्छन्। यद्यपि, अधिकांश अपराधीहरू दण्डदेखि उम्कन्छन् जस्तो देखिन्छ।
सामान्य अपराधीहरू विपरीत भ्रष्टाचारी प्रशासक र राजनीतिज्ञहरू विरलै जेलमा थुनिन्छन् वा अन्यायोपार्जित धनको क्षतिपूर्ति तिर्छन्। गोप्य ढंगमा लिएको घूस, कमिशन र नाफाले गर्दा उच्च तहमा हुने भ्रष्टाचारको भन्डाफोर गर्न प्रायः गाह्रो हुन्छ। तर त्यसो भन्दैमा भ्रष्टाचाररहित संसार सपनाको कुरा मात्र हो भन्नु मिल्दैन।
मानिसको सृष्टिकर्ता, यहोवा परमेश्वरले भ्रष्टाचारदेखि बचाउनुहुनेछ। भ्रष्टाचारको एक मात्र समाधान, ईश्वरीय हस्तक्षेप हो। किन? किनभने मानवजातिको अदृश्य शत्रु, शैतान अर्थात् दियाबलले मानवजातिलाई भर्माउन छोडेको छैन। पहिलो यूहन्ना ५:१९ मा उल्लेख भएझैं “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” वास्तवमा अदण्डित भ्रष्टाचारको बिगबिगीका लागि अरू के नै जिम्मेवार हुनसक्छ र?
मानव मात्रले जतिसुकै प्रयत्न गरे तापनि शैतान अनि त्यसका प्रेतहरूलाई जित्न सकिंदैन। ईश्वरीय हस्तक्षेपले मात्र आज्ञाकारी मानवजातिलाई “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रता[को]” ग्यारेन्टी दिनसक्छ। (रोमी ८:२१) मानवजातिलाई फेरि कहिल्यै भर्माउन नसकोस् भन्ने हेतुले शैतानमाथि चाँडै नै प्रतिबन्ध लगाइनेछ भनेर यहोवाले प्रतिज्ञा गर्नुहुन्छ। (प्रकाश २०:३) तर त्यतिञ्जेल, यदि परमेश्वरको भ्रष्टाचाररहित नयाँ संसारमा बाँच्न चाहन्छौं भने, हामीले यो संसारको भ्रष्ट तौर-तरिकाहरूलाई इन्कार गर्नैपर्छ।
मानिसहरू परिवर्तन हुनसक्छन्
येशू ख्रीष्टको समयमा शक्ति दुरुपयोग अनि सहमानवहरूमाथि दमन गर्ने मानिसहरू थिए। उदाहरणको लागि, महसुल उठाउनेहरू भ्रष्टाचारका लागि कुख्यात थिए। परमेश्वरको यस्तो सुस्पष्ट नियमको बावजूद तिनीहरूले त्यसो गरिरहेका थिए: “घूस नखाओ, किनकि घूसले मानिसहरूलाई अन्धा तुल्याउँछ, र निरपराधको कुरालाई उल्टाइदिन्छ।” (प्रस्थान २३:८) महसुल उठाउनेका हाकिम, जक्कैले आफूले गलत आरोप लगाएर पैसा धुत्ने गरेको स्वीकारे। तर येशूले विस्तृत सामाजिक सुधारको प्रवर्धन गर्नुको साटो मानिसहरूलाई पश्चात्ताप गरेर आफ्ना भ्रष्ट चाल-चलनहरू त्याग्न आग्रह गर्नुभयो। फलस्वरूप मत्ती र जक्कैजस्ता महसुल उठाउने कुख्यात भ्रष्टाचारीहरूले आफ्नो पुरानो जीवनशैली त्यागे।—मत्ती ४:१७; ९:९-१३; लूका १९:१-१०.
त्यस्तैगरि आज बेइमान कामहरूमा लाग्ने मानिसहरूले ‘परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको नयाँ मानिसलाई धारण गरेर’ भ्रष्टाचारलाई इन्कार गर्नसक्छन्। (एफिसी ४:२४) इमान्दारीपूर्वक कर तिर्नु वा शंकास्पद योजनाहरूमा भाग लिन छोड्नु सजिलो नहोला। तैपनि त्यसबाट हुने लाभ कठिनभन्दा कठिन प्रयत्नको योग्य छ।
अरूको हितप्रति चिन्तित हुने मानिसहरू यो भ्रष्ट संसारअनुसार चल्दैनन्। त्यसैकारण तिनीहरू आफ्नो मनमा शान्ति अनुभव गर्छन्। गलत काममा पक्रिएला भन्ने डर तिनीहरूमा हुँदैन। बरु, सफा अन्तस्करणको आनन्द उठाउँछन्। तिनीहरू अगमवक्ता दानियलबारे बाइबलमा दिइएको उदाहरण अनुकरण गर्छन्। उच्च पदाधिकारीहरू निरन्तर दानियलको विरुद्धमा केही निहुँ खोज्थे भनेर बाइबलको विवरणले बताउँछ। “तर तिनी आफ्नो जिम्मेवारीमा बेइमान नभएकोले गर्दा तिनीहरूले तिनको कर्त्तव्यमा वेपरवाही तथा बेइमानी [भेट्टाएनन्]।”—दानियल ६:४.
यहोवाको प्रतिज्ञा
यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ, “पापीले भुल काम गरेर बूढ़ेसकालसम्मै बाँचे तापनि परमेश्वरसँग डराउनेहरूलाई असलै हुनेछ भनी मलाई थाह छ। परमेश्वरप्रतिको तिनीहरूको भयले यो कुरा पक्का गराउँछ, तर दुष्ट मानिसलाई भलो हुनेछैन। त्यो दीर्घायु पनि हुनेछैन। परमेश्वरसँग नडराउने मानिस ता केवल छाया मात्र हो।”—उपदेशक ८:१२, १३.
हामीलाई दुःखी बनाउने भ्रष्टाचार नहुँदा हामी साँच्चै सुखको श्वास फेर्नसक्नेछौं! भ्रष्टाचाररहित संसारमा सधैंभरि बाँच्न पाउनु कति ठूलो आशिष्को कुरा! यो असम्भव कुरा होइन। किनभने “अनन्त जीवनको आशामा, जोकि कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले अघि सनातनदेखि प्रतिज्ञा गर्नुभएको छ” भनी बाइबलले बताउँछ। (तितस १:२) यदि तपाईं भ्रष्टाचारलाई घृणा, धार्मिकतालाई प्रेम गर्नुहुन्छ भने भ्रष्टाचाररहित संसारबारे परमेश्वरको प्रतिज्ञा पूरा भएको देख्न पाउने धेरै सम्भावना छ।
[पृष्ठ ४-मा भएको चित्र]
सरकार अनि व्यापारिक परिधिमा भ्रष्टाचार व्यापक छ
[पृष्ठ ५-मा भएको चित्र]
लोक पदाधिकारीहरूसितको लेनदेनलाई प्रायः भ्रष्टाचारले असर गर्छ