प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ६/१५ pp. २४-२७
  • हिमालभन्दा अग्लो पहाड चढ्‌ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हिमालभन्दा अग्लो पहाड चढ्‌ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • नेपाल—पहाडहरूको राज्य
  • साना सुरुआतहरू
  • कठिनाइहरूका बावजूद विस्तार
  • अहिलेको नेपाल
  • हिमालभन्दा अग्लो पहाड चढ्‌नुहोस्‌
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ६/१५ pp. २४-२७

हिमालभन्दा अग्लो पहाड चढ्‌ने

हिमालहरू! तपाईं यी शब्दहरू सुन्‍नुहुँदा के कल्पना गर्नुहुन्छ? तूफानी बतास चल्ने भयानक, हिउँचुलीहरू? संसारको सबैभन्दा अग्लो शिखरमा पुगेको विजयाभास? हामीमध्ये धेरैको निम्ति हिमालहरूका देश, नेपालमा अवस्थित सगरमाथा आरोहण गर्नु सम्भव नहोला। यद्यपि, आज नेपालका धेरै मानिसहरूले हिमालहरूभन्दा अग्लो पहाड चढिरहेका छन्‌! यो महान्‌ पहाडको यात्राबारे जानकारी लिनुअघि आउनुहोस्‌, सानो तर सुन्दर राज्य, नेपाललाई हेरौं।

नेपाल—पहाडहरूको राज्य

नेपाल अधिराज्य अनौठौ छ किनभने यो आज संसारमा बाँकी रहेका राजतन्त्रहरूमध्ये एक हो र साथै यो धर्म-निरपेक्ष देश नभई धार्मिक राज्य हो। नेपाल, विश्‍वको एक मात्र हिन्दू राज्य हो। यहाँका दुइ करोड बासिन्दाहरूमध्ये अधिकांश हिन्दूहरू हुन्‌। तथापि, यहाँ विभिन्‍न जाति-प्रजातिका मानिसहरू छन्‌। उत्तरी पहाडी क्षेत्रका मानिसहरू तिब्बती-बर्मेली मूलका छन्‌ र दक्षिणी भागमा मुख्यतः भारतीय-आर्य पृष्ठभूमिका मानिसहरू छन्‌। नेपालको औपचारिक भाषा नेपाली हो र ६० प्रतिशत मानिसहरूको मातृभाषा पनि यही हो। बाँकी मानिसहरूले १८ भन्दा बढी जातीय भाषाहरू बोल्छन्‌।

नेपाल झन्डै आयात आकारको छ र यसको लम्बाइ पूर्वदेखि पश्‍चिमसम्म ८८० किलोमिटर तथा चौडाइ उत्तरदेखि दक्षिणसम्म २०० किलोमिटर छ। उत्तरी सिमानामा भयावह हिमालहरू छन्‌ र ८,८८४ मिटर उचाइ भएको विश्‍वको सबैभन्दा अग्लो हिमाल, सगरमाथालगायत ८,००० मिटरभन्दा अग्ला आठवटा हिउँचुलीहरू पनि त्यसै क्षेत्रमा पर्छन्‌। मध्य नेपालमा होचा पहाड, ताल तथा उपत्यकाहरू छन्‌। दक्षिणको भारतीय सीमा नजीक उर्वरा तराई क्षेत्र छ। यो नेपालको प्रमुख कृषि क्षेत्र हो।

राजधानी काठमाडौं मध्य भागमा अवस्थित छ र यो पर्यटकहरूको निम्ति साँच्चै मोहक ठाउँ हो। नेपालमा वैभवशाली पहाडहरू हुँदो हवाई यात्रा, वन्यजन्तु आरक्षहरूको साथै स्थानीय दृश्‍यावलोकन केन्द्रहरू प्रशस्त छन्‌। धर्मले नेपालका मानिसहरूको जीवनमा ठूलो भूमिका खेल्ने हुँदा यसलाई कहिलेकाहीं देवताहरूको देश पनि भनिन्छ। संसारभरिका लाखौं मानि- सहरू हिमालहरूभन्दा अग्लो “पहाडमा” चढ्‌नुको एउटा कारण धर्म पनि हो।

लगभग २,७०० वर्षअघि हिब्रू अगमवक्‍ता यशैया यो भविष्यवाणी गर्न प्रेरित भएका थिए “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। . . . जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्‍नेछन्‌, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर . . . जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं।” (यशैया २:२, ३) यहाँ ब्रम्हाण्डको सृष्टिकर्ता तथा सार्वभौमसत्ताधारी, यहोवाको शुद्ध उपासनालाई पहाडसित तुलना गरिएको छ र यो अन्य सबै प्रकारका पहाडसरह उपासनाभन्दा उच्च छ। सत्यका भोका मानिसहरूलाई यहोवाका तौरतरिकाहरूबारे सिक्न मदत दिने यो विश्‍वव्यापी शैक्षिक कार्यक्रमको विषय हो। नेपालमा यो काम कसरी सुरु भयो?

साना सुरुआतहरू

दोस्रो विश्‍व-युद्धताका बेलाइती सेनामा सेवारत एक सिपाहीले साँचो धर्म खोजिरहेका थिए। उनका आमा-बाबु नेपाली मूलका हिन्दू भए तापनि धर्म-परिवर्तन गरेर क्याथोलिक भएका थिए। हुर्कंदै जाँदा उनले मूर्तिपूजाका व्यर्थताहरू देखे अनि नरकको धर्मसिद्धान्तजस्ता शिक्षाहरू इन्कार गरेर प्रोटेस्टेन्ट चर्चका विश्‍वासहरू जाँच्न थाले। तर उनको चित्त बुझेन।

तत्कालीन रंगून, बर्मामा जापानीहरूको हातमा कैदी बनाइएका यस सिपाहीले आफू श्रम शिविरको कष्टबाट उम्केर साँचो उपासनाको खोज कायम गर्न सकोस्‌ भनेर प्रार्थना गर्न थाले। पछि, उनी आफ्ना बन्दीहरूको हातबाट भाग्न सफल भए र एक शिक्षकले उनलाई मदत गरे। तिनकै घरमा उनले जे. एफ. रदरफोर्डद्वारा लिखित ह्वेर आर द डेड? (मृतकहरू कहाँ छन्‌?) पुस्तिका भेटाए। यसमा सत्यको आभास पाएकोले रंगूनमा सन्‌ १९४७ मा उनीकहाँ यहोवाका साक्षीहरू आउँदा अध्ययन गर्न इच्छुक भए। त्यसको केही महिनाभित्र उनले बप्तिस्मा लिए र त्यसपछि उनकी जवान पत्नीले पनि बप्तिस्मा लिइन्‌। तिनीहरूले भारत फर्केर उत्तरपूर्वी पहाडी क्षेत्र कालिम्पोंगमा बसोबास गर्ने निर्णय गरे। यहीं तिनीहरूका दुइ छोरा-छोरीहरू जन्मिए अनि शिक्षादीक्षा पाए। सन्‌ १९७० मार्च महिनामा तिनीहरू काठमाडौंमा बसाइँ सरे।

नेपालको संविधानले धर्मपरिवर्तनलाई निषेध गरेको थियो। कसैले तथाकथित विदेशी धर्म प्रवर्धन गरिरहेको भेटिएमा सात वर्ष कैद र त्यस्तो धर्ममा सामेल हुने व्यक्‍तिलाई ठूलो जरिवानासहित तीन वर्ष कैद सजाय दिइन्थ्यो। अतः होशियारीसाथ प्रचार-कार्य गर्नुपर्थ्यो। घर-घरको सेवकाई गर्दा एउटा घरमा प्रचार गरिन्थ्यो अनि त्यो इलाका छोडेर अर्कै इलाकाको घरमा प्रचार गरिन्थ्यो। स्पष्ट छ, सुसमाचार फैलाउन अनौपचारिक साक्षी-कार्य निकै प्रभावकारी साबित भयो।

प्रगति निकै सुस्त थियो। एक करोड जनसंख्या भएको क्षेत्र निरुत्साहजनक देखिन्थ्यो। यस एकलो परिवारले साथी, चिनजान, मालिक तथा संगी कर्मचारीहरूलाई साक्षी दिंदा सत्यको बीउ रोपिन थालियो। तिनीहरूले आफ्नो घरमा नियमित तवरमा सभाहरू सञ्चालन गरे र जिज्ञासुहरूलाई आमन्त्रित गरे। अन्ततः लगातार रोपाइँ र सिंचन गर्दा चार वर्षपछि मार्च १९७४ मा नेपालको प्रथम फल प्राप्त भयो। अनि त्यो फल अप्रत्याशित स्रोतबाट थियो!

प्रकाशकले प्रचार-कार्यको दौडान एक धनाढ्यसित कुरा गरे। तिनी राजपरिवारका एक सदस्यका सचिव थिए। त्यस मानिसले भने, “मेरो छोरासित कुरा गर्नुहोस्‌।” तिनको छोरा बाइबल अध्ययन गर्न राजी भए। केही समयपछि तिनले आफ्नो जागिर परिवर्तन गरे किनभने तिनी जुवा घरमा काम गर्थे। तिनको पिता भक्‍त, हिन्दू भएकोले विरोध गरे तापनि यस जवान मानिस यहोवाको पक्षमा खडा भए। त्यसको परिणाम? पछि तिनको पिताले विरोध गर्न छाडे र तिनका केही नातेदारहरूले बाइबलको सत्यलाई स्वीकारे। तिनी अहिले मसीही मण्डलीमा प्राचीनको हैसियतमा सेवारत छन्‌।

आध्यात्मिक तवरमा बलियो रहन र भेला हुन नछोड भन्‍ने शास्त्रीय आज्ञा पालन गर्न काठमाडौंको यस सानो समूहले निजी घरमा नियमित तवरमा सभा सञ्चालन गर्थ्यो। तर भाइहरू धेरैजसो ठूला सम्मेलनहरूमा भेला हुन भने सकेनन्‌। औकात भएकाहरू पहाडी क्षेत्र हुँदै लामो र महँगो यात्रा गरेर भारतका सम्मेलनहरूमा उपस्थित हुन्थे।

सभाहरू सञ्चालन गरिने घरमा सम्पूर्ण जिल्ला अधिवेशनको कार्यक्रम प्रस्तुत गरिंदा त्यो कति आनन्दमय अवसर थियो! यसो कल्पना गर्नुहोस्‌, भारत शाखा कार्यालयको एक सदस्यलगायत चार भाइहरूले सम्पूर्ण कार्यक्रम सञ्चालन गरे! बाइबल नाटकसमेत प्रस्तुत गरियो। तर कसरी? भारतमा नाटकको पोशाक लगाएर पूर्वाभ्यास गर्ने क्रममा स्लाइडहरू खिचिएका थिए। नेपालमा नाटक प्रस्तुत गर्दा टेपमा भरिएको संवाद सँगसँगै यी स्लाइडहरू देखाइयो। दर्शकहरूले साह्रै मन पराए। भीड कति ठूलो थियो? पूरापूर अठाह्र जना!

प्रचार-कार्यमा विदेशी साक्षीहरूको सहयोग सीमित थियो। मिसनरी कार्य गर्ने त कुरै थिएन र विदेशीहरूले अन्य जागिर पाउनु त्यति सजिलो थिएन। तथापि, दुइ भारतीय साक्षीहरूले बेग्लाबेग्लै समयमा यहाँ जागिर पाए र काठमाडौंमा निकै वर्ष बिताएर नवस्थापित मण्डलीलाई सुदृढ पार्न मदत दिए। सन्‌ १९७६ सम्म नेपालमा १७ राज्य प्रकाशकहरू थिए। सन्‌ १९८५ मा भाइहरूले आफ्नै राज्य भवन निर्माण गरे। राज्य भवनको निर्माणपश्‍चात्‌ वार्षिक जिल्ला अधिवेशनलगायत अन्य सम्मेलनहरू नियमित तवरमा यहीं सम्पन्‍न हुन थाल्यो। यस दुर्गम, पहाडी क्षेत्रमा यो भवन साँच्चै साँचो उपासनाको केन्द्र थियो।

कठिनाइहरूका बावजूद विस्तार

यहाँ सुरु-सुरुतिर निकै होशियारीसाथ प्रचार-कार्य गरिएको हुँदा अधिकृतहरूको त्यति ध्यानाकर्षण भएको थिएन। तर सन्‌ १९८४ को अन्ततिर प्रतिबन्धहरू लगाइन थालियो। एक भाइ र तीन बहिनीहरूलाई गिरफ्तार गरेर चार दिनसम्म हिरासतमा राखियो। अनि क्रियाकलाप बन्द गर्ने चेताउनी दिएर तिनीहरू छाडिए। एउटा गाउँमा बाइबल अध्ययन गरिरहेको अवस्थामा नौ जना गिरफ्तार गरिए। त्यसमध्ये छ जना ४३ दिनसम्म थुनिए। अन्य थुप्रै पटक पक्राउका घटनाहरू भए तर कुनै कानुनी कदम उठाइएन।

हालै सन्‌ १९८९ मा एउटा मण्डली पुस्तक अध्ययन समूहका सबैलाई गिरफ्तार गरियो र तीन दिनसम्म थुनेर छाडियो। हामीहरू अब उप्रान्त प्रचार गर्नेछैनौं भनेर कागतमा दस्तखत गर्ने आदेश तिनीहरूलाई कहिलेकाहीं दिइन्थ्यो। तिनीहरूले इन्कार गरे। पुनः प्रचार गरेको भेटाएमा प्रतिकूल परिणामहरू भोग्न इच्छुक छन्‌ भन्‍ने कागजातमा हस्ताक्षर गरिसकेपछि मात्र केहीलाई छाडियो।

भाइहरूले त्यस्ता कठिनाइहरूको बावजूद जोसका साथ सुसमाचार प्रचार गरे। उदाहरणको लागि, सरकारी हस्तक्षेप भएको एक वर्षपछि सन्‌ १९८५ मा प्रचार-कार्यमा २१ प्रतिशत वृद्धि भयो। शुद्ध उपासनाबारे अरूसित कुरा गर्न यहाँका ३५ प्रकाशकहरूले हरेक महिना औसतन २० घण्टा बिताए।

समय बित्दै जाँदा नेपालमा राजनैतिक परिवर्तनहरू हुन थाले। यहोवाका साक्षीहरू खतरा रहेनछन्‌ भनेर सरकारी अधिकृतहरूले बुझ्न थाले। वास्तवमा, बाइबल आधारित शैक्षिक कार्यले मानिसहरूलाई उत्तम नागरिकहरू बन्‍न लाभकारी, उत्थानवर्धक प्रभाव पारेको थियो। यहोवाका उपासकहरू हुन चाहिने आधारभूत आवश्‍यकताहरू इमान्दारी, मेहनत र धर्मी नैतिक आचरण रहेछ भनी अधिकृतहरूले थाह पाए।

एउटी भक्‍तालु हिन्दू स्त्री साक्षी भइन्‌ र उनले रक्‍तक्षेपण गर्न इन्कार गर्दा साक्षीहरूबारे असल प्रचार-प्रसार भयो। उनको दृढ, जानकारीमूलक अडान देखेर चिकित्सकहरू छक्क परे। यस स्त्रीलाई पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाले सत्य सिक्न मदत पुऱ्‍यायो। उनले परिवारबाट विरोध र गिल्लाको बावजूद सन्‌ १९९० मा ७० वर्षको उमेरमा बप्तिस्मा लिइन्‌। पछि, उनको खुट्टा भाँचियो र अन्य रोगहरूले पनि पीडित भए तापनि ठूलो शल्यक्रिया गर्नुपऱ्‍यो। रगत लिनको निम्ति चिकित्सक तथा नातेदारहरूले दिएको दबाबलाई उनले दुइ हप्तासम्म विरोध गरिरहनुपऱ्‍यो। अन्ततः चिकित्सकहरूले रगतबिना सफलतापूर्वक शल्यक्रिया गरे। धेरै हिंडडुल गर्न नसके तापनि यस विश्‍वासी बहिनी हरेक बिहान आफ्नो घरको ढोकामा बस्छिन्‌ र आफूसँगै बसेर आनन्ददायी सुसमाचार सुन्‍न बटुवाहरूलाई आमन्त्रित गर्छिन्‌।

अहिलेको नेपाल

अहिले नेपालको अवस्था कस्तो छ? संसारभरिका भाइहरूले जस्तै यहाँ यहोवाका साक्षीहरूले पनि उपासना गर्ने स्वतन्त्रता पाएका छन्‌। एक दुइ जना प्रतीकात्मक पर्वतारोहीहरूले साँचो उपासनाको पहाड आरोहण गरेदेखि अहिले थुप्रै मानिसहरूले ‘आऊ, यहोवाको पर्वतमा जाऔं’ भनेका छन्‌। सन्‌ १९८९ सम्ममा प्रत्येक महिना औसतन ४३ जनाले प्रचार-कार्यमा भाग लिइरहेका थिए र त्यो वर्ष ख्रीष्टको स्मरणार्थ उत्सवमा २०४ उपस्थित भए।

यसपश्‍चात्‌, प्रतिज्ञा गरिएअनुसार यहोवाले सत्य खोज्नेहरूलाई आफ्नो भवनमा जम्मा गर्ने काम तीव्र पार्नुभयो। (यशैया ६०:२२) केही समयअघि काठमाडौंमा अर्को मण्डलीको स्थापना भयो र अहिले राजधानीबाहिर दुइटा पृथक समूहहरू छन्‌। अप्रिल १९९४ मा १५३ मसीहीहरूले प्रचार क्रियाकलापमा भाग लिइरहेको अभिलेख प्राप्त भयो—त्यो पाँच वर्षभन्दा कम समयभित्र ३५० प्रतिशत वृद्धि थियो! तिनीहरूले जिज्ञासुहरूसित ३८६ गृह बाइबल अध्ययनहरू सञ्चालन गरे। सन्‌ १९९४ को स्मरणार्थ उत्सवमा ५८० व्यक्‍तिको उत्साहजनक उपस्थिति थियो। विशेष सम्मेलन दिनमा ६३५ जनाले भवन खचाखच भरियो र त्यसमध्ये २० जनाले बप्तिस्मा लिए। अतः यहोवाका साक्षीहरूले संसारभरि आनन्द उठाइरहेको महान्‌ वृद्धि सानो नेपालमा पनि भइरहेको छ।

हालैका वर्षहरूमा नेपाली भाषामा उत्पादन हुने साहित्यहरूमा निकै वृद्धि भएको छ र यसले नम्र व्यक्‍तिहरूलाई दह्रोसित सत्य पक्रिराख्न मदत पुऱ्‍याएको छ। अनुवाद प्रविधि र कम्प्युटरको प्रयोग गर्न भारतको शाखा कार्यालयमा प्रशिक्षित अनुवादकहरू अहिले काठमाडौंमा पूर्ण-समय कार्यरत छन्‌। विस्तार कार्यको लागि पूर्ण सुसज्जित नेपालका ईश्‍वरतान्त्रिक पर्वतारोहीहरू अघि बढिरहेका छन्‌!

हिमालभन्दा अग्लो पहाड चढ्‌नुहोस्‌

तपाईंले पनि हिमालभन्दा अग्लो पहाड आरोहण गर्ने आनन्द उठाउन सक्नुहुन्छ। त्यसो गर्दा तपाईं नेपालको मात्र होइन तर “सबै कुलको र मानिसको, र भाषा भाषाहरूको” लाखौं मानिसहरूसित सामेल हुनुहुनेछ। (प्रकाश ७:९) तिनीहरूको साथमा तपाईं नेपालका वैभवशाली पहाडहरूको सृष्टिकर्ताबाट प्रशिक्षित हुन पाउनुको आनन्द उठाउन सक्नुहुन्छ। सृष्टिकर्ताले “निर्णय” गर्नुभएको तपाईंले देख्नुहुनेछ र सफा तथा सुन्दर पारिएको पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउने प्रत्याशा राख्न सक्नुहुनेछ।—यशैया २:४.

[पृष्ठ २४-मा भएको नक्सा]

(ढाँचा मीलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

काठमाडौं

सगरमाथा

[पृष्ठ २५-मा भएको चित्र]

काठमाडौंमा राज्य भवनबाहिर

[पृष्ठ २६-मा भएको चित्र]

बाइबल अध्ययनद्वारा धेरै नेपालीहरू लाभान्वित भएका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने