राज्य उद्घोषकहरूका रिपोर्ट
आयरलैन्डमा बाइबल सत्य निरन्तर प्रचार गरिन्छ
आयरलैन्डको सुरम्य देश हालका वर्षहरूमा घोर अशान्तिको घेरामा परेको छ। त्यति नै खेर आइरलैन्डवासीहरूले यहोवाका साक्षीहरूद्वारा सुनाइएको आशापूर्ण बाइबल सन्देशलाई सहर्ष स्वीकारेका छन्। आयरलैन्डबाट प्राप्त निम्न अनुभवहरूले यस कुराको पुष्टि दिन्छन्।
▪ डब्लिनमा यहोवाको एक साक्षी र तिनकी सानी छोरी ढोका-ढोकाको प्रचार-कार्य गरिरहेका थिए। तिनीहरूले केथी नाउँकी स्त्रीलाई भेटे। र तिनी आफ्ना थुप्रै बच्चाहरूसित एकदमै व्यस्त थिइन्। त्यस साक्षीको सानी छोरी भर्खर प्रचार गर्न सिक्दै थिइन्। आफ्नी त्यस छोरीले संक्षेपमा सन्देश सुनाउँछिन्, सुन्नुहुन्छ कि भनेर तिनले त्यस स्त्रीलाई सोधे। केथीले सुन्न चाहिन्। त्यस सानी केटीले सुस्पष्ट र विचारपूर्ण प्रस्तुति गरिन्। त्यस बालिकाको प्रत्यक्ष निष्कपटता र आदरभावले केथी प्रभावित भइन् र बाइबल पर्चा स्वीकारिन्।
पछि केथीले तिनलाई भेट्न आउने सानी आगन्तुकको राम्रो तयारी र आचरणबारे सोचिन्। तिनले भनिन्, “आफूप्रति ध्यानकेन्द्रित नगरी यस्तो चासोपूर्ण सन्देश प्रस्तुत गर्नसक्ने त्यस सानी केटीदेखि म प्रभावित भएँ। फेरि यहोवाका साक्षीहरू मलाई भेट्न आएमा तिनीहरूको कुरा सुन्ने निर्णय मैले गरें।”
त्यसैबीच, केथी बसाइँ सरेर कर्क र केरी प्रान्तहरूको सिमाना नजीक दक्षिणपश्चिम आइरलैन्डको सानो शहरमा बस्न थालिन्। त्यसको केही दिनपश्चात् यहोवाका साक्षीहरू तिनको ढोकामा आइपुगे र तिनले तिनीहरूलाई भित्र बोलाइन्। तिनले नियमित बाइबल अध्ययन स्वीकारिन् र अहिले थुप्रै बच्चाहरू लिएर मण्डलीका सभाहरू धाइरहेकी छिन्। तिनीसित सुसमाचार बाँड्ने त्यस सानी केटीले देखाएको साँचो चासोप्रति केथी कृतज्ञ छिन्।
▪ तुल्लामोर इलाकामा साक्षीहरूले जीन नाउँकी एक स्त्रीसित सात वर्षभन्दा धेरै समयसम्म बाइबलबारे छलफल गरेका थिए। कहिलेकाहीं तिनले चासो देखाएर साहित्य लिन्थिन्। तर कुनै बेला तिनको चासो हराउँथ्यो। एक दिन फ्रान्सेस नाउँकी साक्षी र तिनकी मित्र जीनलाई भेट्न जाँदा जीन तिनीहरूको कुरा सुन्ने अवस्थामा थिइनन्। त्यस साक्षी बताउँछिन्, “त्यसैले हामीले कुरा गर्दा तिनी असाध्यै रिसाइन्। अन्ततः तिनले हामीलाई गइहाल्ने आदेश दिइन् र ढोका ड्याम्म थुनिन्।”
फेरि तिनलाई भेट्नु त त्यस्तै व्यवहार निम्त्याउनु मात्रै पो हो कि भनेर फ्रान्सेस सोचमग्न भईन्। ‘हाम्रो सन्देशप्रति तिनको कुनै चासो छैन भने तिनलाई भेट्नु कुनै हालतमा पनि ठीक होइन’ भनेर फ्रान्सेसले सोचिन्। तथापि, त्यसबारे तिनले आफ्नो पति थोमसलाई बताए र तिनी निकै आशावादी थिए। अर्को पटक तिनीहरू त्यस इलाकामा छँदा जीनलाई पुनः भेटे। तिनले मित्रैलो व्यवहार गरिन् अनि प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू लिइन्। त्यसपछिको भेट पनि अघिल्ला भेटहरूजस्तै रमाइलो भएको थियो। थोमस र फ्रान्सेसले तिनीसित नियमित गृह बाइबल अध्ययन थाले।
किन त्यस्तो परिवर्तन? जीनले साक्षीहरूसित अति अभद्र व्यवहार गरेकी बेला तिनी भर्खरै सुत्केरी भएर अस्पतालबाट आएकी थिएँ भनेर तिनले बताइन्। त्यस नवजात शिशुलाई स्तनपान गराइरहेकी र ठूलो बच्चालाई खानेकुरा खुवाउनु परेकोले तिनी रातमा डेढ घण्टा जति मात्र सुत्न पाएकी रहिछ। तिनी भन्छिन्, “मलाई धर्मबारे कुरा गर्न बिल्कुलै चासो छैन भनेर अन्तिम कुरा भन्न चाहन्थें।”
त्यसको दुइ महिनाभित्र जीनले मण्डलीका सबै सभाहरू धाउन थालिन् र चार महिनाभित्र क्षेत्र सेवकाईमा भाग लिन थालिन्। बाइबल अध्ययन थालेको दश महिनापछि तिनले बप्तिस्मा लिइन्। अहिले आफ्नै अनुभवले जीनलाई सेवकाईमा मदत पुऱ्याइरहेको छ। तिनी बताउँछिन्: “अशिष्ट व्यक्ति भेटेमा म अझ समझदार हुने चेष्टा गर्छु। म सधैं यस कुरालाई ध्यानमा राख्छु। हुनसक्छ, अर्को चोटि आउँदा समयको गतिसितै परिस्थिति बदलिएला; त्यस व्यक्तिको अवस्था ठीक रहला र सन्देश स्वीकार्लान्।”