के सपनाहरूले भविष्यबारे बताउनसक्छन्?
पुरातन समयदेखि नै मानिसजातिले सपनाहरूप्रति तीव्र चासो राख्दै आएका छन्। मिश्रीहरूले सपनाको सविस्तार अर्थ खोल्ने पुस्तकहरू तयार पारेका थिए। र बेबिलोनीहरूले सपनाको अर्थ खोल्ने मानिसहरू राखेका थिए। युनानीहरूको परम्पराअनुसार बिरामीहरूलाई अस्क्लेपियसका धार्मिक स्थलहरूमा सुताइन्थ्यो ताकि तिनीहरूले सपनामा स्वास्थ्यसम्बन्धी निर्देशनहरू प्राप्त गर्न सकोस्। हाम्रो सामान्य युगको दोस्रो शताब्दीमा आर्टेमेडोरसले सपना संकेतहरूको अर्थ खोलेर पुस्तक प्रकाशित गरे। त्यसपछि प्रकाशित अरू थुप्रै त्यस्ता पुस्तकहरू तिनकै त्यस पुस्तकमा आधारित छन्। सपनाहरूको अर्थ खोल्न आजसम्म धेरै प्रयासहरू गरिएका छन् तर के सपनाहरूले साँच्चै भावी घटनाहरूप्रति अन्तरदृष्टि राख्छन्?
सपनाहरूले भविष्यबारे महत्त्व राख्ने हो भने ती सर्वोच्च शक्तिद्वारा प्रभावित भएको हुनुपर्नेछ। परमेश्वरले त्यही शक्ति प्रदान गर्नुभएका थुप्रै घटनाहरू हामी बाइबलमा पाउँछौं। उहाँले आफ्ना सेवकहरूलगायत उहाँको उपासना नगर्ने केही व्यक्तिहरूलाई पनि भविष्यसूचक सपनाहरू दिनुभयो। वास्तवमा, अय्यूब ३३:१४-१६ ले भन्छ: “परमेश्वर . . . बोल्नुहुन्छ . . . सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्त निद्रामा परेका हुन्छन्, जब तिनीहरू आफ्ना ओछ्यानमा सुतेका हुनुहुन्छ, तब परमेश्वरले तिनीहरूलाई सुन्नलाउनुहुन्छ।”
परमेश्वरले यस कुरालाई सामान्य युगभन्दा १,७०० वर्षअघि यूसुफको समयका मिश्री फिरऊनमाथि कार्यान्वयन गर्नुभयो। फिरऊनले देखेको सपना उत्पत्ति ४१:१-७ मा पाइन्छ। र पद २५ देखि ३२ मा यूसुफले ‘मिश्र देशभरि जताततै सात वर्षसम्म ठूलो सहकाल हुनेछ’ र त्यसपछि सात वर्षसम्म अनिकाल पर्नेछ भनेर अगमवाणी गर्दै सपनाको अर्थ खोल्छन्। यूसुफले फिरऊनलाई बताए: “आफूले गर्नलाग्नुभएको कार्य फिरऊनलाई परमेश्वरले देखाउनुभएको हो।” (उत्पत्ति ४१:२८) त्यो सपना भविष्यसूचक थियो र साँच्चै पूरा भयो।
बेबिलोनीहरूको प्रतिष्ठित राजामाथि पनि यस्तै घटना भयो। नबूकदनेसरलाई आफूले देखेको सपनाले असाध्यै विचलित पारेको थियो तर तिनले त्यो सपना सम्झनै सकेनन्। तसर्थ, तिनले त्यो सपना बताउन र त्यसको अर्थ खोल्न बिजुवाहरूलाई बोलाए। तिनीहरूको लागि राजाको यस निवेदनलाई पूरा गर्न असम्भव थियो।—दानियल २:१-११.
परमेश्वरले नै राजालाई सपना दिनुभएकोले सपना प्रकट गर्न र त्यसको अर्थ खोल्न उहाँले भविष्यवक्ता दानियललाई सक्षम पार्नुभयो। दानियल २:१९ ले भन्छ: “तब राती दर्शनमा दानियललाई त्यो रहस्य प्रकट गरियो।” दानियलले त्यस सपनाको लागि परमेश्वरलाई श्रेय दिंदै यसो भने: “‘महाराजले सोध्नुभएको कुरो कुनै ज्ञानी पुरुष, मंत्र-तंत्र जान्नेहरू, जादूगर र ज्योतिषीहरूले बताउनसक्तैनन्, स्वर्गमा एक ईश्वर हुनुहुन्छ, औ अन्तका दिनमा के के हुनेछन् सो उहाँलेनै महाराज नबूकदनेसरलाई बताइदिनु भएको छ।’”—दानियल २:२७, २८.
समय समयमा परमेश्वरले आफ्ना जनहरूलाई सपना मार्फत निर्देशनहरू दिनुभयो। अरू समयमा चाहिं ईश्वरीय अनुग्रहको आश्वासन वा कसरी उहाँले तिनीहरूलाई सहयोग गरिरहनुभएको छ भनेर बुझ्ने मदत दिनुभयो। याकूबको सन्दर्भमा भन्ने हो भने, परमेश्वरले तिनलाई अनुमोदन गर्नुभएको कुरा सपना मार्फत प्रकट गर्नुभयो।—उत्पत्ति ४८:३, ४.
येशूको धर्मपिता यूसुफले मरियम गर्भवती भएकी थाह पाएपछि सम्बन्ध बिच्छेद गर्ने निर्णय गरे। तर त्यसो नगर्न तिनले सपनामा निर्देशनहरू पाए। मत्ती १:२० ले यसो भन्छ: “‘तर जब उनले यी कुरा विचार गर्दै थिए, हेर, सपनामा परमप्रभुका एउटा दूतले उनलाई यसो भनेर दर्शन दिए, ‘ए यूसुफ, दाऊदको छोरो, तिम्री पत्नी मरियमलाई तिमीकहाँ ल्याउनालाई नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाटकै हुनुहुन्छ।’” पछि, तिनले सपनामा यस्तो चेताउनी पाए: “परमप्रभुका एउटा दूतले सपनामा यूसुफकहाँ देखा परेर यसो भने, ‘उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्र देशमा भागिहाल।’”—मत्ती २:१३.
सपनाहरू जुन परमेश्वरबाटका होइनन्
यो साँचो हो, जो मानिसहरू परमेश्वरका जन थिएनन्, तिनीहरूबीच सपनाको अर्थ खोल्ने प्रचलन नै थियो। र त्यसले के देखाउँछ भने, सामान्य सपनाहरूले भविष्य प्रकट गर्छन् भनेर भरोसा गर्न सकिंदैन। परमेश्वरका भविष्यवक्ता यर्मियाको समयमा झूटा भविष्यवक्ताहरूले यसो भन्दैथिए: “मैले सपना देखेको छु, मैले सपना देखेको छु।” (यर्मिया २३:२५) परमेश्वर तिनीहरू मार्फत बोल्दैहुनुहुन्छ भनेर मानिसहरूलाई बहकाउमा पार्ने मनसाय तिनीहरूको थियो। यी स्वप्नदर्शीहरूबारे यसो भन्न यर्मिया प्रेरित भए: “किनभने सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूका बीचमा हुने तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्र गर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्, औ तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यान नदेऊ, किनभने तिनीहरूले तिमीहरूलाई मेरो नाउँमा कहेका अगमवाणी झूटा हो। . . . परमप्रभु भन्नुहुन्छ।’”—यर्मिया २९:८, ९.
ती झूटा अगमवक्ताहरू “मंत्र-तंत्र गर्नेहरू” थिए। अतः तिनीहरूका सपनाहरू मानिसहरूलाई धोका दिन दुष्ट आत्मिक शक्तिहरूद्वारा प्रभावित भएका हुनसक्थे। यही कुरा जकरिया १०:२ मा यसरी देखाइएको छ: “तेराफिम देवताले व्यर्थका कुरा बोल्छ, र मंत्र-तंत्र खेलाउनेहरूले झूटा दर्शन देख्छन्, सपना देख्नेहरू झूटा सपना कहन्छन्।”
दियाबल प्रमुख ठगाहा हो। यर्मिया र जकरियाको समयका झूटा भविष्यवक्ताहरूले दर्शन र सपनाहरू मार्फत परमेश्वर तिनीहरूसित बोल्नुभएको छ भनेर दाबी गर्थे। त्यसरी नै शैतानले हजारौं वर्षदेखि धार्मिक नेताहरूलाई त्यही झूट दाबी गर्न लगाइरहेको छ। त्यस्ता व्यक्तिहरूको सम्बन्धमा प्रेरित बाइबल लेखक यहूदाले प्रथम शताब्दीका मसीहीहरूलाई यसो लेखे: “कुनै कुनै मानिसहरू गुप्त रूपले भित्र घुसेका छन्, जो प्राचीन कालदेखि त्यसै दण्डको निम्ति ठहरिएका अधर्मी मानिसहरू हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई लुच्च्याइँमा फिराएर हाम्रा अद्वितीय स्वामी र प्रभु, येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।” तिनको भनाइअनुसार ती मानिसहरू “सपना देख्ने” भनौंदाहरू थिए।—यहूदा ४, ८.
दाबीहरू जाँच्नुहोस्
कुनै व्यक्तिले परमेश्वर तिनीसित बोल्नुभएको वा भावी घटनाहरूबारे तिनका सपनाहरू पूरा भएको दाबी गर्लान्। यद्यपि, तिनलाई विश्वास गर्न र अन्धाधुन्ध तिनको पछि दौडन त्यति कारण यथेष्ट छैन। व्यवस्था १३:१-३, ५ मा इस्राएलीहरूका लागि लेखिएका यी निर्देशनहरूलाई ध्यान दिनुहोस्: “तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्वप्न-दर्शी चमत्कार देखाउन तत्पर हुन्छ, र त्यो देखाएर तिमीहरूलाई कहिल्यै नजानेका ‘अन्य देवताहरूका पछि लागौं र तिनीहरूको पूजा गरौं’ भनी भन्दा तिमीहरूले त्यस अगमवक्ता वा स्वप्नदर्शीका कुरा नसुन्नू। . . . तर त्यो अगमवक्ता वा स्वप्न-दर्शीलाई मार्नू।” परमेश्वरले आफ्ना जनहरूको वफादारी जाँच गर्न यस्ता व्यक्तिहरूलाई झूट बोल्ने अनुमति दिनुहुन्छ।
असामान्य शक्ति भएका स्वप्नदर्शीहरूका दाबीहरूलाई अन्धाधुन्ध विश्वास गर्नुको साटो “सारा संसारलाई ठग्ने” अदृश्य प्रमुख ठगाहाको धोकाबाट बच्न तिनीहरूका दाबीहरू जाँच्नु नै हाम्रोनिम्ति बुद्धिमत्तापूर्ण कार्य हो। (प्रकाश १२:९) तर भरपर्दो ढंगमा तिनीहरूलाई कसरी जाँच्न सकिन्छ त?
परमेश्वरको लिखित वचन हामीलाई सत्यतिर डोऱ्याउने ईश्वरीय निर्देशन हो। यस सन्दर्भमा येशू ख्रीष्टले यसरी भन्नुभयो: “तपाईंको वचन सत्य हो।” (यूहन्ना १७:१७) तसर्थ, हामीलाई १ यूहन्ना ४:१ मा यस्तो चेताउनी दिइएको छ: “हे प्रिय हो, जुनसुकै आत्माको पत्यार नगर, तर परमेश्वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्किआएका छन्।” तिनीहरूका दाबीहरू, दर्शनहरू र कार्यहरूलाई होशियारीसाथ बाइबलसित दाँज्दा ती सबै विरोधाभासपूर्ण हुनेछन्। परमेश्वरको वचन सत्यको प्रमाण हो।
के स्वप्नदर्शीले वास्तवमा तंत्रमंत्र वा अन्य प्रेतवादी प्रचलनहरू प्रयोग गरेर विशेष ज्ञानको दाबी गरिरहेका छन्? त्यसो हो भने, परमेश्वरको वचनले तिनको भर्त्सना गर्छ। “भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने, अथवा बिजुवा, झाँक्री तिमीहरूका बीचमा कोही नहोस्। यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो।”—व्यवस्था १८:१०-१२.
स्वप्नदर्शीले आफूसित प्राण छ र त्यो मर्दैन भनेर दाबी गर्छन् भने तिनले परमेश्वरको वचनको विरोध गरिरहेका हुन्छन्। परमेश्वरको वचनले त्यसबारे यसरी स्पष्टसित बताउँछ: “जुन प्राणीले पाप गर्छ त्यही मर्छ।” (इजकिएल १८:४) के तिनले आफूलाई ठूलो तुल्याएर व्यक्तिगत मान्यता दिइरहेका छन्? मत्ती २३:१२ ले यसरी सावधान गराउँछ: “जसले आफूलाई ठूलो तुल्याउँछ, त्यो होच्याइनेछ।” अनि प्रेरित २०:३० ले मसीहीहरूलाई यस्तो चेताउनी दिन्छ: “तपाईंहरू आफैमध्ये पनि कुनै कुनै, मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि लैजानालाई खड़ा हुनुहुनेछन्।”
के तिनले हिंसात्मक कार्यहरूको समर्थन गर्छन्? गर्छन् भने, याकूब ३:१७, १८ मा तिनको यसरी भर्त्सना गरिएको छ: “जुन ज्ञान माथिबाट आउँछ, पहिले ता त्यो पवित्र, त्यसपछि मिलापी, कोमल, मृदुभाव, दया र बढ़िया फलले भरिएको, औ पक्षपातरहित र कपट- रहित हुन्छ, औ मेल-मिलाप खोज्नेहरूका निम्ति धर्मको फल मिलापमै रोपिन्छ।” के तिनले संसारमा राजनैतिक अख्तियार वा प्रभाव जमाउन खोज्छन्? खोज्छन् भने, परमेश्वरको वचनले तिनको यसरी घोर निन्दा गर्छ: “जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।” यसरी बाइबलले झूटको पर्दाफास गर्छ।—याकूब ४:४.
कुनै व्यक्ति परिवारको सदस्य वा मित्रबारे सम्भवतः चिन्तित भएका छन् भने तिनले त्यस व्यक्तिको मृत्यु भएको सपना देख्छन्। सपनाअनुसार साँच्चै त्यस व्यक्तिको मृत्यु हुँदैमा त्यो सपना भविष्यसूचक थियो भनेर प्रमाणित हुँदैन। यस्ता सबै सपनाहरू साँचो जस्तो देखिए तापनि सयौं सपनाहरू वास्तविक साबित हुँदैनन्।
बितेका समयमा परमेश्वरको वचन लेखिंदै गर्दा उहाँले भविष्यसूचक घटनाहरू प्रकट गर्न र निर्देशनहरू दिन सपनाहरूको प्रयोग गर्नुभए तापनि अहिले त्यसो गर्न उहाँलाई जरुरत छैन। त्यस लिखित वचनमा मानिसजातिलाई अहिले परमेश्वरबाट चाहिने सबै निर्देशनहरू समावेश छन् र भविष्यसम्बन्धी एक हजारभन्दा धेरै वर्षसम्मका घटनाहरूबारे यसमा भविष्यवाणीहरू छन्। (२ तिमोथी ३:१६, १७) तसर्थ, हाम्रा सपनाहरू भावी घटनाहरूबारे परमेश्वरबाट आएका संकेतहरू होइनन् तर मानसिक स्वास्थ्य कायम गर्न मस्तिष्कका अत्यावश्यक कार्यहरू हुन् भनेर हामी विश्वस्त हुनसक्छौं।
[पृष्ठ ७-मा भएको चित्र]
फिरऊनको सपनाले भावी घटनालाई देखाएझैं परमेश्वरको वचनले हाम्रो भविष्यबारे प्रकाश पार्छ