सर्वोत्कृष्ट कुराको लागि अरू धेरै कुरा त्यागेको
जुलियस ओओ बेलोको वृत्तान्तमा आधारित
म ३२ वर्षसम्म आलाडेरा चर्चको सदस्य थिएँ।a म विश्वासद्वारा निवारण र प्रार्थनाद्वारा सबै समस्याहरूको समाधान तथा सबै बिरामी निको हुन्छ भन्ने विश्वास गर्थें। म दुखाइ कम गर्ने औषधीसमेत पनि कहिल्यै किन्दिनँथें। ती वर्षहरूमा मेरो परिवारको कसैलाई पनि अस्पतालमा भर्ना गरिनँ। मेरा छोराछोरीमध्ये कोही पनि बिरामी हुँदा दिनरात तिनीहरू निको नभएसम्म म प्रार्थना गर्थें। परमेश्वरले मेरा प्रार्थनाहरूको जवाफ दिनुका साथै आशिष् दिनुभएको जस्तो लाग्थ्यो।
म पश्चिमी नाइजेरियाको आकुरे शहरको सबैभन्दा प्रतिष्ठित सामाजिक क्लब इग्बे जाले-को सदस्य थिएँ। मेरा साथीहरू हाम्रो समुदायमा सबैभन्दा धनी र प्रभावशाली व्यक्तिहरू थिए। आकुरेको राजा, डेजे अक्सर मेरो घरमा आइरहन्थे।
मैले बहुविवाह गरेको थिएँ। त्यसैले मेरो छवटी स्वास्नीहरूका साथै थुप्रै रखौटीहरू पनि थिए। मेरो व्यापार फस्टाइरहेको थियो। सबै कुरा राम्रै चलिरहेको थियो। येशूले बताउनुभएको मोतीको उखानको व्यापारीले जस्तै मैले पनि एउटा यस्तो बहुमूल्य मोती भेटाएँ, जसको लागि मैले मेरा पाँच पत्नीहरू, मेरा रखौटीहरू, चर्च, सामाजिक क्लब र सांसारिक प्रतिष्ठा सबै त्यागें।—मत्ती १३:४५, ४६.
म कसरी आलाडेरा भएँ
मैले सन् १९३६ मा १३ वर्षको हुँदा पहिलो चोटि आलाडेराहरूबारे सुनें। गब्रिएल नाउँको एक साथीले मलाई यसो भने: “तिमी क्राइस्ट अपोस्टलिक चर्चमा गयौ भने परमेश्वरले बोलेको सुन्नेछौ।”
मैले सोधें, “परमेश्वरले कसरी बोल्नुहुन्छ?”
तिनले भने: “आऊ न, देखिहाल्छौ नि।”
परमेश्वरले बोल्नुभएको सुन्न म असाध्यै उत्सुक भएँ। त्यसैले म त्यस रात गब्रिएलसित चर्चमा गएँ। त्यो सानो भवन उपासकहरूले खचाखच भरिएको थियो। मण्डलीले यसरी गाउन थाल्यो: “हे मानिसहरू हो, आओ! येशू यहीं हुनुहुन्छ!”
यही भजनको बेला अर्को एक जना यसरी चिच्यायो: “पवित्र आत्मा तल ओर्लिनुहोस्!” एक जनाले घण्टी बजायो र मण्डली शान्त भयो। त्यसपछि एक स्त्री अर्थ न बर्थले बरबराउन थालिन्। तिनी अकस्मात् यसरी कराइन्: “हे मानिसहरू हो, परमेश्वरको सन्देश सुन! परमेश्वरले यसो भन्नुभएको छ: ‘शिकारीहरूले मानिसहरू नमारून् भनेर प्रार्थना गर!’ ” त्यहाँको वातावरण उत्तेजित थियो।
परमेश्वरले त्यस स्त्री मार्फत कुरा गर्नुभएको हो भनी मलाई विश्वास लाग्यो। त्यसैले क्राइस्ट अपोस्टलिक चर्चको सदस्यको रूपमा मैले त्यसको अर्को सालमा बप्तिस्मा लिएँ।
यहोवाका साक्षीहरूसित सबैभन्दा पहिलो भेट
सन् १९५१ मा मैले अडेडेजे बोबोये नाउँ गरेको साक्षीसित एउटा प्रहरीधरहरा लिएको थिएँ। पत्रिका चाखलाग्दो थियो त्यसैले ग्राहक बनें र नियमित तवरमा पढ्न थालें। सन् १९५२ मा आडो इकेटे भन्ने ठाउँमा यहोवाका साक्षीहरूको चार दिने जिल्ला अधिवेशनमा उपस्थित भएँ।
त्यस अधिवेशनबाट म प्रभावित भएँ। यहोवाको साक्षी बन्नेबारे गम्भीरतापूर्वक विचार गरें तर पछि फेरि वास्तै गरिनँ। समस्या के थियो भने, मेरा तीन पत्नी र एक रखौटी थिए। एक जना पत्नी मात्र राखेर बस्ने कुरा मलाई असम्भवै लाग्थ्यो।
आकुरेमा फर्केपछि मैले अडेडेजेलाई मकहाँ नआउनू भनें र प्रहरीधरहरा-को ग्राहक आवेदन नवीकरण पनि गरिनँ। चर्चमा म एकदम सक्रिय हुन थालें। म यस्तो तर्क गर्थें, अरू कुरा जेसुकै होस्, म क्राइस्ट अपोस्टलिक चर्चको सदस्य भएदेखि परमेश्वरले मलाई आशिष् दिनुभएको छ। मैले तीन जना पत्नीहरू विवाह गरेर थुप्रै बच्चाहरू जन्माएको थिएँ। आफ्नै घर बनाएको थिएँ। कहिल्यै अस्पतालमा भर्ना हुनुपरेको थिएन। परमेश्वरले मेरा प्रार्थनाहरूको जवाफ दिइरहनुभएकै छ, त्यसैले धर्म परिवर्तन किन गर्ने?
प्रतिष्ठाको साथसाथै निराशाको वृद्धि
चर्चलाई धेरै रकम चन्दास्वरूप दिन थालें। चाँडै तिनीहरूले मलाई चर्चको धर्मगुरु बनाए। अतः, चर्चका गोप्य कुराहरू पनि थाह पाउन थालें। त्यहाँ जे जे देखें, त्यसले मलाई अन्योलमा पाऱ्यो। पादरी तथा “भविष्यवक्ताहरूलाई” रुपियाँपैसा मन पर्थ्यो र तिनीहरूको त्यस्तो लोभ देखेर म खिन्न भएँ।
उदाहरणका लागि, मार्च, १९६७ मा मेरा पत्नीहरूद्वारा तीन छोराछोरी जन्मिए। चर्चमा बालकको नाउँ राख्ने प्रचलन थियो। त्यसकारण मैले उपहारस्वरूप भोजको तयारीमा पादरीको निम्ति माछा, कागतीको सर्बत र चिसो पेयपदार्थहरू लगें।
उक्त समारोहको दिनमा पादरीले चर्चमा भेला भएका सबैको अगाडि यसो भने: “चर्चका धनी मानिसहरूदेखि म तीन छक परेको छु। तिनीहरू नाउँ राख्ने उत्सव धुमधामसँग मनाउन चाहन्छन् अनि ल्याउने बेलामा चाहिं खालि चिसो पेयपदार्थ र माछा ल्याउँछन्। न मासु! न बोका! कल्पना गर्नुहोस्! कयिनले भेटीको रूपमा परमेश्वरलाई ठूलो तरुल चढाएको थियो तरै पनि परमेश्वरले स्वीकार्नुभएन किनभने त्यसमा रगत थिएन। परमेश्वर रगत भएका चीजबीजहरू मन पराउनुहुन्छ। हाबिलले जनावर ल्याए र उहाँले स्वीकार्नुभयो।”
त्यत्तिकैमा म रीसले चुर हुँदै त्यहाँबाट फन्किएर निस्किएँ। यद्यपि चर्च धाउन भने छाडिनँ। तर जमघट र क्लबका सभाहरू धाउन बढ्तै समय बिताउन थालें। कहिलेकाहीं राज्यभवनमा सभाहरू धाउँथे र प्रहरीधरहरा-को ग्राहक बन्नको निम्ति फेरि नवीकरण पनि गरें। तथापि, म अझै यहोवाको साक्षी हुन तयार थिइनँ।
यहोवाको सेवा गर्ने निर्णय
सन् १९६८ मा मेरो जीवनले अर्कै मोड लियो। एक दिन, यहोवाका साक्षीहरूले मलावीमा पाएको क्रूर सतावटबारे प्रहरीधरहरा-को एउटा लेख पढ्न थालें। त्यस लेखमा एक १५ वर्षीया केटीले आफ्नो विश्वासको सम्झौता गर्न इन्कार गरेकीले तिनलाई रूखमा बाँधेर छ चोटिसम्म बलात्कार गरिएको विवरण थियो। म त झसंग भएर पढ्नै सकिनँ तर त्यसबारे भने सोचिरहें। मेरो चर्चमा कुनै पनि केटीले त्यस्तो प्रकारको विश्वास देखाउने छैन भन्नेबारे सोच्न थालें। त्यही साँझ मैले पुनः सोही पृष्ठ पढें।
मैले गम्भीरतापूर्वक बाइबल अध्ययन गर्न थालें। ज्ञान हासिल गर्दै जाँदा चर्चले हामीलाई कत्तिको भ्रममा पारेको रहेछ भन्ने कुरा मैले बुझें। पुरातन समयमा जस्तै हाम्रा पादरीहरूले “महा अपराध” गरिरहेका थिए। (होशे ६:९) येशूले यस्ता झूटा अगमवक्ताहरू विरुद्ध पनि चेताउनी दिनुभएको थियो! (मत्ती २४:२४) तिनीहरूका दर्शन र शक्तिशाली कार्यहरूमा मेरो विश्वास हरायो। मैले आफू झूटो धर्मबाट अलग भएर अरूलाई पनि मदत दिने अठोट गरें।
मलाई चर्चमै राख्न गरिएका प्रयासहरू
चर्चका धर्मगुरुहरूले जब म चर्च छोड्न कटिबद्ध भएको बुझे, तब चर्चमै रहिरहन मसित बिन्ती गर्न प्रतिनिधिमण्डलै पठाए। तिनीहरू महत्त्वपूर्ण आयस्रोत गुमाउन चाहँदैनथे। तिनीहरूले मलाई आकुरेस्थित क्राइस्ट अपोस्टलिक चर्चहरूमध्ये एउटाको बाबा इग्बे अर्थात् संरक्षक बनाउने प्रस्ताव राखे।
मैले अस्वीकार गरें र यसको कारण पनि बताएँ। मैले भनें, “चर्चले हामीलाई अहिलेसम्म सत्य कुरा बताएको रहेनछ। सबै असल मानिसहरू स्वर्ग जान्छन् भनी तिनीहरू भन्छन्। तर मैले बाइबलमा जम्मा १,४४,००० जना मात्र स्वर्ग जान्छन् भनेर पढेको छु र यसबारे म विश्वस्त छु। अरू धर्मी मानिसहरूले यसै पृथ्वीमा प्रमोदवनमा जीवन बिताउने छन्।”—मत्ती ५:५; प्रकाश १४:१, ३.
चर्चको पास्टरले मेरा पत्नीहरूलाई मेरो विरुद्ध भड्काउने कोसिस गरे। मेरो घरमा यहोवाका साक्षीहरूलाई आउन नदिनू भनी तिनीहरूलाई भने। एउटी पत्नीले त मेरो खानामा विष पनि हालिदिइन्। मेरा दुइटी पत्नीहरूले चर्चमा देखेको दर्शनबारे चेताउनी दिए। मैले चर्च छोडेमा म मर्नेछु भनी त्यस दर्शनले देखाएको थियो। यसको बावजूद मैले मेरा पत्नीहरूलाई साक्षी दिइरहें र मसँगै सभाहरूमा धाउन निमन्त्रणा पनि दिएँ। मैले भनें, “तिमीहरूले त्यहाँ अरू पतिहरू पाउनेछौ।” तथापि, तिनीहरू कसैले पनि चासो देखाएनन् र मलाई निरुत्साहित गर्न प्रयास गरि नै रहे।
फेब्रुअरी २, १९७० मा नजीकैको पल्लो गाउँबाट फर्किंदा त घर खाली थियो। मेरा सबै पत्नीहरू छोराछोरीलाई लिएर घर छोडेर हिंडेका रहेछन्।
एउटी पत्नीसित मात्रै बस्ने
‘अब भने आफ्नो वैवाहिक जीवन ठीक बाटोमा लगाउनसक्छु,’ भनेर मैले सोचें। मेरी जेठी पत्नी ज्यानेटलाई घर आउन आग्रह गरें। तिनी राजी भइन्। तथापि तिनको माइतीले यसको कडा विरोध गऱ्यो। मैले ज्यानेटलाई घर बोलाएको कुरा मेरा अरू पत्नीहरूले थाह पाएपछि तिनीहरू ज्यानेटको माइतीमा गएर तिनलाई पिट्न खोजे। अनि तिनको परिवारले मलाई डाके।
त्यहाँ लगभग ८० जना मानिसहरू भेला भएका थिए। त्यस परिवारको मूली ज्यानेटको काकाले मलाई यसो भन्नुभयो: “तपाईं हाम्री छोरीलाई पुनः विवाह गर्न चाहनुहुन्छ भने तपाईंले अरू पत्नीहरूलाई पनि बोलाउनुपर्छ। तर तपाईं आफ्नो नयाँ धर्ममा नै लागेर एक जना पत्नीसित मात्र बस्न चाहनुहुन्छ भने अर्कै केटी खोज्नुहोस्। तपाईंले ज्यानेटलाई लग्नुभयो भने तपाईंका अरू पत्नीहरूले उसलाई मार्नेछन् र हामी आफ्नो छोरी मरेको हेर्न चाहदैनौं।”
निकै बेर कुरा गरेपछि मेरो ससुरालीले म एक जना पत्नी मात्र राख्न कटिबद्ध भएको बुझ्यो। तिनीहरूले बल्ल मेरो कुरा माने। काकाले भन्नुभयो: “तपाईंको पत्नी हामी तपाईंबाट खोस्न चाहदैनौं। तपाईं उसलाई लिएर जान सक्नुहुन्छ।”
मे २१, १९७० मा ज्यानेट र म कानुनी रूपमा विवाहित भयौं। त्यसको नौ दिनपछि मैले यहोवाको साक्षीको रूपमा बप्तिस्मा लिएँ। त्यही वर्षको डिसेम्बर महिनामा ज्यानेटले पनि बप्तिस्मा लिइन्।
यहोवाको आशिष्को आनन्द उठाउँदै
मेरो पहिलेको चर्चका सदस्यहरूले यदि म यहोवाको साक्षी भएँ भने तिमी मर्नेछौ भनेका थिए। झन्डै ३० वर्षअघिको कुरा हो त्यो। म अहिले मरिहालें भने पनि के म यहोवाको साक्षी भएकोले मरेको भनेर भन्न सकिन्छ र? मेरी पत्नी अहिले मरिन् भने के कसैले तिनी यहोवाको साक्षी भएकीले मरेकी भन्नसक्छ र?
मेरा १७ जना छोराछोरीलाई सत्यको मार्ग देखाउन निकै प्रयास गरेको छु। म साक्षी हुँदा तिनीहरूमध्ये धेरै जना वयस्क भइसकेका थिए तैपनि तिनीहरूलाई बाइबल अध्ययन गर्न प्रोत्साहित गरें र सभा तथा अधिवेशनहरूमा लगें। पाँच जना छोराछोरीले यहोवाको सेवा गरिरहेको देख्न पाउनु पनि मेरो लागि ठूलो आनन्दको कुरा हो। एक जना छोरा मसँगै मण्डलीको प्राचीनको हैसियतमा सेवा गर्छ। अर्को एक जना चाहिं नजीकैको मण्डलीमा सेवकाई सेवक छ। मेरो अर्को दुइ छोराछोरीले नियमित अग्रगामी गरिरहेका छन्।
अतीतलाई सम्झँदा यहोवाले मलाई उहाँको सेवक बन्न देखाउनुभएको करुणा देखेर म आश्चर्यचकित हुन्छु। येशूका शब्दहरू कत्ति सत्य छन्: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन”!—यूहन्ना ६:४४.
[फुटनोट]
a यो योरूबा शब्द हो। यसको अर्थ हो, “प्रार्थना गर्ने व्यक्ति।” यसले आध्यात्मिक निवारणमा विश्वास राख्ने अफ्रिकी चर्चको सदस्यलाई बुझाउँछ।