आमाबाबु हो—आफ्ना छोराछोरीको रक्षा गर्नुहोस्!
नाइजेरियाको एउटा माध्यमिक विद्यालयमा एउटी केटी यौन अनैतिकताको लागि कुख्यात थिइन्। तिनी आफ्ना केटी साथीहरूसँग यौन विषयमा कुराकानी गर्न मन पराउँथिन्। गर्भ तुहाउने सन्दर्भमा तिनका सल्लाहहरूमध्ये एउटा थियो, कडा बियरमा सुर्ती घोलेर पिउने। अश्लील पत्रपत्रिकाबाट लिइएका तिनका कथाहरूले तिनका थुप्रै सहपाठीहरूलाई मन्त्रमुग्ध पार्थ्यो। कोही कोही यौनसम्बन्ध राख्न उक्सिए र एउटी त गर्भवती पनि भइन्। गर्भपात गर्न तिनले कडा बियरमा सुर्ती घोलेर खाइन्। केही घण्टामै तिनले रगत बान्ता गर्न थालिन्। केही दिनपछि अस्पतालमा तिनको मृत्यु भयो।
आज संसारमा थुप्रै युवाहरू यौनबारे मात्रै कुरा गर्छन् जसले गर्दा लहैलहैमा लाग्नेहरूको जीवन बर्बाद हुन्छ। जवानहरूले आफ्नो रक्षा गर्ने सही ज्ञानको निम्ति कोसँग मदत माग्नुपर्छ? ईश्वरीय भय राख्ने आमाबाबुसित मदत माग्नसके कत्ति बेस हुन्थ्यो जसले छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्ने जिम्मेवारी पाएका छन्।—एफिसी ६:४.
यौन शिक्षाप्रति अफ्रिकी मनोवृत्ति
संसारभरि थुप्रै आमाबाबुलाई आफ्नो छोराछोरीसित यौनबारे कुरा गर्न अप्ठ्यारो लाग्छ। यो विशेषगरि अफ्रिकामा साँचो साबित भएको छ। सियरा लियोनका डोनाल्ड नाउँ भएका एक पिता यस्तो टिप्पणी गर्छन्: “बच्चाहरूसित यौनबारे कहिल्यै पनि चर्चा गरिंदैन। त्यो अफ्रिकी चलनै होइन।” कन्फिडेन्ट नाउँ गरेकी एक नाइजेरियाली स्त्री यसरी सहमति जनाउँछिन्: “मेरा आमाबाबुले यौन भनेको खुलेआम कुरा गर्न नहुने विषय हो भन्नुहुन्छ। हाम्रो संस्कृतिले यस विषयमा कुरा गर्नु आपत्तिजनक ठान्छ।”
केही अफ्रिकी संस्कृतिहरूमा यौनसित सम्बन्धित पुरुष जननेन्द्रिय, वीर्य वा महिनावारी जस्ता शब्दहरू उच्चारण गर्नु पनि अश्लील ठानिन्छ। एक मसीही आमाले आफ्नी छोरीलाई “यौन” शब्द उच्चारण गर्नसमेत निषेध गरिन् तर “व्यभिचार” शब्द चाहिं चलाउन सक्थिन्। तर त्यसको विपरीत परमेश्वरको वचन बाइबलले यौन र यौन अंगहरूबारे खुलस्त ढंगमा बताएको छ। (उत्पत्ति १७:११; १८:११; ३०:१६, १७; लेवी १५:२) यसको उद्देश्य घात पुऱ्याउनु वा उत्तेजित गर्नु होइन तर परमेश्वरका जनहरूलाई जोगाउनु र निर्देशन दिनु हो।—२ तिमोथी ३:१६.
संस्कृतिले निषेध गर्नुबाहेक यौनबारे कुरा गर्न पछि हट्ने अर्को कारणबारे एक नाइजेरियाली बुबा यसो भन्छन्: “मैले छोराछोरीसित यौनबारे कुरा गरें भने तिनीहरू यौन अनैतिकतामा फस्न अग्रसर हुनसक्छन्।” तर के यौनबारे मर्यादापूर्ण ढंगमा बाइबल आधारित जानकारी बताउँदा बच्चाहरूलाई यौनसम्बन्ध राख्न प्रोत्साहित गर्छ? अहँ, गर्दैन। वास्तवमा भन्ने हो भने कुनै युवामा जति ज्ञानको कमी हुन्छ, तिनी त्यति नै धेरै यौन अनैतिकतामा फस्ने सम्भावना हुन्छ। “[सही ज्ञानमा आधारित] बुद्धि रक्षाको निम्ति हो” भनी बाइबलले बताउँछ।—उपदेशक ७:१२ NW.
येशूको उखानमा बुद्धिमान् मानिसले पछि आउनसक्ने आँधीबारे विचार गरेर चट्टानमाथि घर बनाए भने मूर्ख मानिसले आफ्नो घर बालुवामाथि बनायो र उसले क्षति भोग्नुपऱ्यो। (मत्ती ७:२४-२७) त्यसरी नै बुद्धिमान् आमाबाबुले आफ्ना छोराछोरीले यस संसारको छाडा यौन स्तरहरूअनुरूप चल्ने दबाब महसुस गर्नेछन् भन्ने कुरा बुझ्दै तिनीहरूलाई सही ज्ञान र समझ दिएर दरिलो बनाउँछन् जसले बच्चाहरूलाई दृढ रहन मदत दिन्छन्।
थुप्रै आमाबाबुले छोराछोरीसित यौनबारे किन छलफल गर्दैनन् भन्नेबारे थप कारण एक अफ्रिकी स्त्री बताउँछिन्: “मेरा आमाबाबु यहोवाका साक्षीहरू भए तापनि म जवान छँदा यौनबारे कहिल्यै कुरा गर्नुभएन। त्यसैले अहिले मैले पनि आफ्ना छोराछोरीसित यसबारे कुरा गर्नुपर्ने खाँचो नै देख्दिनँ।” तथापि, १०/२० वर्षअघिका युवाहरूले भन्दा अहिलेका युवाहरूले अत्यन्तै बढी दबाब सहनुपर्छ। यो छक्कलाग्दो कुरा होइन। “आखिरी दिनमा . . . खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्” भनेर परमेश्वरको वचनले भविष्यवाणी गरेको थियो।—२ तिमोथी ३:१, १३.
थुप्रै छोराछोरी आमाबाबुसित यसबारे कुरा गर्न हिचकिचाउँदा वा असमर्थ हुँदा समस्यामाथि समस्या थपिन्छ। स-साना विषयहरूमा पनि दुइतर्फी वार्तालाप गर्ने त्यति बानी हुँदैन। उन्नाइस वर्षीय युवा यसरी दुःख पोखाउँछन्: “म आमाबाबुसित कुनै कुराबारे पनि छलफल गर्दिनँ। म र मेरा बुबाबीच खुलस्त वार्तालाप गर्ने बानी नै छैन। उहाँलाई वास्तै छैन।”
यौनसम्बन्धी प्रश्न गर्दा नराम्रो नतिजा होला भन्ने डर युवाहरूलाई लाग्नसक्छ। एक १६ वर्षीया केटीले यसो भनिन्: “यौन समस्याहरूबारे कुरा गर्दा आमाबाबुले देखाउनुहुने प्रतिक्रिया सम्झँदा नै मलाई उहाँहरूसित कुरा गर्न मन लाग्दैन। केही समयअघि मेरो दिदीले आमालाई यौनसित सम्बन्धित केही प्रश्नहरू सोध्नुभएको थियो। आमाले दिदीको प्रश्नको जवाफ दिनुको सट्टा उल्टा दिदीलाई शंका गर्न थाल्नुभयो। बेला बेलामा आमाले मलाई बोलाएर दिदीका गतिविधिहरूबारे सोध्नुहुन्थ्यो र कहिलेकाहीं त दिदीको नैतिकताबारे छेडपेचसमेत गर्नुहुन्थ्यो। म आमाको माया गुमाउन चाहन्नँ त्यसैले उहाँलाई आफ्ना समस्याहरूको सुइँको समेत दिन्नँ।”
किन निर्देशन दिने?
आफ्ना छोराछोरीलाई यौन विषयमा ठीक मात्रामा निर्देशन दिनु उचित मात्र नभई दयालु कुरा पनि हो। आमाबाबुले छोराछोरीलाई यौनबारे सिकाएनन् भने अरूले सिकाउँछन् तर त्यो अक्सर आमाबाबुले सोचेभन्दा चाँडो र त्यसमाथि पनि ईश्वरीय स्तरहरूअनुरूप हुँदैन। एक १३ वर्षीया केटी व्यभिचारमा फसिन् किनभने तिनलाई एक जना स्कूलको साथीले भनेकी थिइन् यदि तिनले कुमारीत्व गुमाइनन् भने भविष्यमा असह्य पीडा भोग्नेछिन्। “तिम्रो योनि ढाक्ने झिल्ली कैंचीले काटिदिन्छन्” भनी तिनलाई बताइयो। यो कुरा किन तिनकी मसीही आमालाई नबताएको त भनेर सोध्दा वयस्कहरूसित त्यस्तो विषयबारे कुरै गरिंदैन भन्ने जवाफ यस केटीले दिइन्।
एक नाइजेरियाली केटी भन्छिन्: “मेरा स्कूलका साथीहरूले यौन एउटा यस्तो कुरा हो जसमा सबै सामान्य मानिसहरूले भाग लिनुपर्छ भनेर विश्वास दिलाउन खोजे। मैले अहिले यौनसम्बन्ध राखिनँ भने २१ वर्ष पुग्दा बिरामी हुन थाल्नेछु र यसले मेरो स्त्रीत्वमा नै असाध्यै नराम्रो असर पार्नेछ भनेर तिनीहरूले भने। तसर्थ, यस्तो भयानक नतिजा भोग्नबाट बच्न विवाहअघि यौनसम्बन्ध राख्नु राम्रो हो भनी तिनीहरूले भने।”
आमाबाबुसित उनको खुलस्त कुराकानी गर्ने बानी भएको हुँदा घरमा सिकेको कुरासित नमिलेको थाह पाइहालिन्। “सधैं जस्तो घर गएर मैले स्कूलमा सुनेको कुरा आमालाई बेलीबिस्तार सुनाएँ।” तिनकी आमाले त्यस गलत जानकारीको खण्डन गर्न सकिन्।—हितोपदेश १४:१५ तुलना गर्नुहोस्।
यौन विषयमा ईश्वरीय बुद्धि प्राप्त गर्न चाहिंदो ज्ञान छोराछोरीलाई दिंदा आमाबाबुले तिनीहरूलाई खतरनाक परिस्थितिहरूका साथै तिनीहरूलाई बिगार्न खोज्ने मानिसहरू चिन्न सुसज्जित पार्छन्। तिनीहरू यौनजन्य रोगहरू तथा नचहँदा नचाहँदै गर्भवती हुने समस्याहरूदेखि जोगिन्छन्। यसो गर्दा आत्म-सम्मान र अरूबाट तिनीहरूले कमाउने आदरमा पनि योगदान पुग्छ। गलत धारणा तथा फिक्रीहरूबाट पनि मुक्ति पाइन्छ। यसले उचित यौनसम्बन्धप्रति सकारात्मक मनोवृत्ति राख्न पनि मदत गर्छ जसले गर्दा पछि विवाह गरेको खण्डमा पनि आनन्दित परिवार बसाल्न सकिन्छ। यसले परमेश्वरबाट अनुमोदन प्राप्त सम्बन्ध कायम राख्न पनि मदत गर्नसक्छ। अनि बच्चाहरूले तिनीहरूप्रति देखाइएको मायालु चिन्ताले गर्दा आफ्नो आमाबाबुलाई अझ बढी आदर र प्रेम गर्न उत्प्रेरित हुनसक्छन्।
खुलस्त कुराकानी गर्ने
आमाबाबुले आफ्ना छोराछोरीहरूलाई तिनीहरूको आवश्यकताअनुसार सल्लाह दिनको निम्ति दुईतर्फी कुराकानी गर्नुपर्छ। आमाबाबुलाई आफ्नो बच्चाको मन अनि हृदयको कुरा थाह छैन भने असल सल्लाह पनि बेकार हुनसक्छ। यो त कुनै एक जना डाक्टरले बिरामीको रोगबारे थाहै नपाई औषधी दिएझैं हुनेछ। प्रभावकारी सल्लाहकार हुन आमाबाबुले आफ्नो बच्चाको मनको कुरा र उनका भावनाहरू बुझ्नुपर्छ। आफ्ना बच्चाहरूले सामना गरिरहेका दबाब तथा समस्याहरू थाह पाउनुपर्छ र तिनीहरूभित्र गुम्सिरहेका प्रश्नहरू बुझ्नुपर्छ। “सुन्नालाई छिट्टो, बोल्नालाई ढीलो” हुन बच्चाहरूको कुरा ध्यान दिएर सुन्नु महत्त्वपूर्ण छ।—याकूब १:१९; हितोपदेश १२:१८; उपदेशक ७:८.
बच्चाहरूसित घनिष्ठ सम्बन्ध खेती गर्नुका साथै त्यस्तो सम्बन्ध कायम राख्न समय, धीरज र प्रयत्नको खाँचो पर्छ। यस्तो सम्बन्ध भएमा बच्चाहरूले आफ्ना भित्री भावनाहरू पनि कुनै धकबिना बताउनसक्छन्। यस्तो घनिष्ठ सम्बन्ध कायम गर्नसक्दा कत्ति राम्रो हुनेछ! पश्चिम अफ्रिकामा पाँच छोराछोरीका बुबा यसो भन्छन्: “म बुबा र मित्र दुवै हुँ। बच्चाहरूले यौनलगायत सबै विषयहरूबारे मसित खुलस्त कुराकानी गर्छन्। छोरीहरूले समेत आफ्नो मनको कुरा पोख्छन्। समय लिएर तिनीहरूको समस्याबारे छलफल गर्छौं। तिनीहरूले आफ्नो सुख पनि मसित बाँड्छन्।”
तिनकी एउटी छोरी बोला यसो भन्छिन्: “बुबासित म केही कुरा पनि लुकाउँदिन। बुबा विचारशील र समानुभूतिशील हुनुहुन्छ। उहाँले हामीलाई कुनै गल्ती गर्दा समेत तर्साउने वा क्रूर व्यवहार गर्ने गर्नुहुन्न। रिसले पड्कनुको साटो त्यसलाई विश्लेषण गरेर हामीले के गर्नुपर्ने थियो वा के गर्नु हुँदैन थियो, बताई दिनुहुन्छ। उहाँले हामीलाई सल्लाह दिनुहुँदा अक्सर युवावस्था (अंग्रेजी) वा पारिवारिक आनन्द पुस्तक चलाउनुहुन्छ।”a
सम्भव भएसम्म आमाबाबुले आफ्ना छोराछोरीसित कलिलै उमेरदेखि यौनबारे कुरा गर्नु बेस हुन्छ। यसले गर्दा किशोरावस्थाका ती कठिन घडीहरूमा पनि छलफल जारी राख्न सजिलो हुन्छ। बच्चै छँदादेखि छलफल गर्ने गरेको छैन भने पछि छलफल सुरु गर्न अलि अप्ठ्यारो हुनसक्छ तर गर्नै नसकिने चाहिं होइन। पाँच छोराछोरीका आमाले यसो भनिन्: “पछि मलाई र बच्चाहरूलाई अप्ठ्यारो नहोस् भनेर मैले तिनीहरूसित सानैदेखि कुरा गर्न थालें।” बच्चाको हित खतरामा भएकोले त्यस्तो कदम चाल्नु अत्यन्तै उपयुक्त छ।
सुरक्षित तथा आनन्दित
छोराछोरीलाई सुरक्षित राख्न मायालु ढंगमा ज्ञान दिन गरिएको प्रयासको तिनीहरू मूल्यांकन गर्छन्। यहोवाका केही अफ्रिकी साक्षीहरूको टिप्पणीलाई विचार गर्नुहोस्:
चौबीस वर्षीया मोजीसोला यसो भन्छिन्: “म आमाप्रति सदैव कृतज्ञ रहनेछु। ठीक समयमा उहाँले मलाई चाहिंदो यौन शिक्षा दिनुभयो। पहिला उहाँले त्यसबारे कुरा गर्नुहुँदा अप्ठ्यारो त लाग्थ्यो तर अहिले आमाले मेरै भलाइको निम्ति गर्नुभएको हो भनेर बुझेकी छु।”
इनिओबोङ अझ यसो भन्छिन्: “आमाले मलाई दिनुभएको यौन शिक्षाको निम्ति म सधैं आभारी हुनेछु। असल स्त्री हुनको निम्ति यो अत्यन्तै महत्त्वपूर्ण सहायक भएको छ। भविष्यमा मेरो आफ्नो बच्चालाई पनि आफूले सिकेकी सबै कुराहरू सिकाउने निर्णय गरेकी छु।”
उन्नाइस वर्षीय कुन्ले भन्छन्: “सांसारिक स्त्रीहरूबाट अनैतिक यौनसम्बन्ध राख्ने दबाब सामना गर्न मेरा आमाबाबुले मलाई मदत दिनुभएको छ। उहाँहरूले मलाई प्रशिक्षण नदिनुभएको भए म सजिलै अनैतिकतामा फस्नसक्थें। उहाँहरूको म सधैं मूल्यांकन गर्नेछु।”
क्रिस्टियाना भन्छिन्: “आमासित यौनसम्बन्धी छलफलबाट मैले धेरै लाभ उठाएकी छु। म घातक रोगहरू तथा नचाहिंदो गर्भघारणबाट बचेकी छु साथै मेरा भाइबहिनीहरूको अगाडि असल नमुना बसाल्न सफल भएकी छु। मैले अन्य मानिसहरूबाट आदर कमाउन सकेकी छु र भविष्यमा मेरा पतिले पनि आदर गर्नेछन्। अझ महत्त्वपूर्ण त, यहोवा परमेश्वरको आज्ञा पालन गरेकीले उहाँसित मेरो सम्बन्ध राम्रो छ।”
माथि उल्लिखित बोला भन्छिन्: “मेरो एउटी सहपाठीले मलाई यौन भनेको विवाहप्रति वचनबद्ध नभई आनन्द उठाउने कुरा हो भन्थिन्। तिनको लागि त्यो मोज गर्ने एउटा साधन थियो। तथापि, गर्भवती हुँदा र हामीसँगै स्कूलको प्रवेशिका परीक्षा दिन नपाउँदा यो रमाइलो कुरा होइन रहेछ भनेर तिनले थाह पाइन्। मलाई डोऱ्याउने असल पिता नभएको भए मेरो हालत पनि त्यस्तै हुन्थ्यो होला।”
यस यौन लिप्त संसारमा “मुक्तिको निम्ति . . . बुद्धिमान” हुन मसीही आमाबाबुले आफ्ना छोराछोरीलाई प्रशिक्षण दिनु कस्तो आशिष्! (२ तिमोथी ३:१५) बाइबल आधारित निर्देशन बहुमूल्य हारजस्तै हो जसले बच्चाहरूलाई परमेश्वरको नजरमा सिंगार्छ र सुन्दर बनाउँछ। (हितोपदेश १:८, ९) एकातिर त्यसले बच्चाहरूलाई सुरक्षित गर्छ भने अर्कोतिर आमाबाबुले गहिरो सन्तुष्टिको सास फेर्नसक्छन्। सधैं खुलस्त कुराकानी गर्ने बानी कायम राख्न प्रयास गर्ने एक अफ्रिकी बुबा यसो भन्छन्: “हामीले मनोशान्ति पाएका छौं। यहोवालाई मनपर्ने कुरा के हो भनी हाम्रा छोराछोरीलाई थाह छ भनेर हामी ढुक्क छौं। बाहिरका मानिसहरूले तिनीहरूलाई बहकाउन सक्नेछैनन्। परिवारलाई आघात पुऱ्याउने कुरा तिनीहरूले गर्नेछैनन् भनी हामी पूर्ण विश्वस्त छौं। हाम्रो भरोसालाई तिनीहरूले नलत्याएकोमा म यहोवाप्रति आभारी छु।”
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ १०-मा भएको चित्र]
आमाबाबुबाट बाइबल आधारित जानकारी पाएका मसीही युवाहरूले अन्य युवाहरूले बताउने बांगोटेढो जानकारीको खण्डन गर्नसक्छन्