इस्राएली इतिहासका महत्त्वपूर्ण चाडहरू
“जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुनेछ, त्यहाँ [ “वर्षको,” NW] तीनपल्ट तिमीहरूका सबै पुरुष उहाँको सामने देखा परून् . . . परमप्रभुको सामने तिनीहरू रित्तो हात नआऊन्।”—व्यवस्था १६:१६.
१. बाइबल समयका चाडहरूबारे के भन्न सकिन्छ?
चाड भन्नेबित्तिकै तपाईंको मनमा के आउँछ? पुरातन समयका केही चाडहरू विलासिता तथा अनैतिकताको चिनारी थिए। वर्तमान समयका कुनै कुनै चाडहरूबारे पनि त्यसै भन्न सकिन्छ। तर परमेश्वरले इस्राएललाई दिनुभएको व्यवस्थामा उल्लिखित चाडहरू बेग्लै प्रकारका थिए। ती चाड रमाइला अवसर मात्र नभई “पवित्र महा-सभा” पनि थिए।—लेवी २३:२.
२. (क) इस्राएली पुरुषहरूले वर्षको तीनचोटि के गर्नुपर्थ्यो? (ख) व्यवस्था १६:१६ मा प्रयोग गरिएको “चाड” शब्दको अर्थ के हो?
२ विश्वासी इस्राएली पुरुष तथा तिनीहरूका परिवार ‘परमप्रभु परमेश्वरले छान्नुभएको ठाउँ’ अर्थात् यरूशलेमको यात्रा गर्न एकदमै रमाइलो मान्थे र तीन महान् चाडहरूका लागि उदारचित्तले चन्दा दिन्थे। (व्यवस्था १६:१६) पुरानो नियम शब्द अध्ययन-ले (अंग्रेजी) व्यवस्था १६:१६ मा “चाड” अनुवाद गरिएको हिब्रू शब्दलाई “परमेश्वरको अनुग्रह पाएको प्रमाणस्वरूप बलिदानहरू चढाउनुका साथै भोजभतेर गरिने . . . महान् आनन्दको अवसर” भनी परिभाषित गरेको छ।a
महान् चाडहरूको महत्त्व
३. तीनवटा वार्षिक चाडले कस्ता आशिष्हरूको स्मरण गरायो?
३ इस्राएलीहरूको समाज कृषिप्रधान भएको हुँदा तिनीहरू वर्षाको निम्ति परमेश्वरमा भर पर्थे। मोशालाई दिइएको व्यवस्था अन्तर्गत मनाइने तीन महान् चाडहरू बसन्त ऋतुको सुरुतिरको जौ कटनी, बसन्त ऋतुको अन्ततिरको गहुँ कटनी तथा ग्रीष्म ऋतुको अन्ततिरको अन्य अन्नबाली कटनीको समयमा पर्थे। यी ठूलो रमाहटका समय हुनुका साथै जलचक्र सँभाल्नुहुने तथा उर्वर भूमिको सृजनहारप्रति धन्यवाद चढाउने अवसरहरू थिए। तर यी चाडहरूको महत्त्व यतिमै सीमित थिएन।—व्यवस्था ११:११-१४.
४. कुन ऐतिहासिक घटनाको सम्झनामा पहिलो चाड मनाइएको थियो?
४ प्रथम चाड पुरातन बाइबल पात्रोको पहिलो महिना अर्थात् नीसान १५ देखि २१ सम्म पर्थ्यो, जुन हाम्रो समयमा मार्च महिनाको अन्ततिर वा अप्रिलको सुरुतिर पर्छ। यसलाई अखमीरे रोटीको चाड भनिन्थ्यो र नीसान १४ को लगत्तैपछि पर्ने हुनाले यसलाई “निस्तारको चाड” पनि भनिन्थ्यो। (लूका २:४१; लेवी २३:५, ६) यो चाडले इस्राएललाई मिश्रको पीडाबाट पाएको छुटकाराको स्मरण गराउँथ्यो। त्यसैकारण, अखमीरे रोटीलाई “कष्टको रोटी” भनिन्थ्यो। (व्यवस्था १६:३) मिश्रबाट निस्केर आउँदा असाध्यै हतार गर्नुपरेको हुँदा पीठोमा खमीर हालेर त्यसलाई फुल्न दिनसमेत नभ्याएको घटनाको स्मरण गराउँथ्यो। (प्रस्थान १२:३४) यो चाडको बेला कुनै पनि इस्राएलीको घरमा खमीरे रोटी राख्न पाइँदैनथ्यो। प्रवासीलगायत अरू कसैले खमीरे रोटी खाएको खण्डमा मृत्युदण्ड दिइन्थ्यो।—प्रस्थान १२:१९.
५. दोस्रो चाडले कुन सुअवसरलाई स्मरण गराएको हुनुपर्छ र त्यो रमाहटमा को को समावेश थिए?
५ दोस्रो चाड नीसान १६ को सात हप्तापछि (४९ दिनपछि) पर्थ्यो र तेस्रो महिना, सिभानको छैठौं दिनमा पर्थ्यो अर्थात् मे महिनाको अन्ततिर पर्छ। (लेवी २३:१५, १६) यसलाई साताहरूका चाड (येशूको समयमा यसलाई पेन्तिकोस पनि भनिन्थ्यो जसको युनानी अर्थ हो, “पचासौं”) र यो समय इस्राएलको सीनै पर्वतमा व्यवस्थाको करारमा बाँधिएको समयमा पर्थ्यो। (प्रस्थान १९:१, २) यो चाडको बेला विश्वासी इस्राएलीहरूले परमेश्वरको पवित्र जातिको रूपमा छुट्टिन पाएको सुअवसरलाई स्मरण गर्थे होलान्। तिनीहरू परमेश्वरका विशेष जाति भएकाले परमेश्वरको व्यवस्था पालन गर्नुपर्थ्यो। जस्तै, दीनदुःखीहरूप्रति दयामाया देखाउने ताकि तिनीहरूले पनि चाड मनाउनसक्थे।—लेवी २३:२२; व्यवस्था १६:१०-१२.
६. तेस्रो चाडले परमेश्वरका जनहरूलाई कुन अनुभवको स्मरण गरायो?
६ यी तीन महान् चाडहरूमध्ये अन्तिमलाई बाली भित्र्याउने चाड वा झुप्रोबासको चाड भनिन्थ्यो। यो सातौं महिना, तिस्री वा इथानिमको १५ औं दिनदेखि २१ औं दिनसम्म पर्थ्यो जुन अक्टोबर महिनाको सुरुतिर पर्छ। (लेवी २३:३४) यो समयमा परमेश्वरका जनहरू आफ्नो घरबाहिर वा घरको छानामा रूखका हाँगा तथा पातहरूले बनाएका अस्थायी छाप्राहरूमा (झुप्रोहरू) बस्थे। यसले तिनीहरूलाई मिश्रदेखि प्रतिज्ञा गरिएको देशसम्मको ४० वर्ष लामो यात्रा स्मरण गराउँथ्यो। त्यतिबेला त्यस राष्ट्रले दैनिक खाँचोहरूको पूर्तिको लागि परमेश्वरमा भर पर्न सिक्नुपरेको थियो।—लेवी २३:४२, ४३; व्यवस्था ८:१५, १६.
७. पुरातन इस्राएलका चाडहरूको पुनरावलोकन गरेर हामी कस्तो लाभ उठाउँछौं?
७ आउनुहोस्, परमेश्वरका पुरातन जनहरूको इतिहासमा महत्त्वपूर्ण साबित भएका केही चाडहरू पुनरावलोकन गरौं। यो आज हाम्रोलागि प्रोत्साहनजनक हुनुपर्ने हो किनभने हामीलाई पनि नियमित तवरमा प्रत्येक हप्ता र वर्षको तीनपल्ट ठूलठूला सम्मेलन तथा अधिवेशनहरूमा भेला हुन आमन्त्रित गरिएको छ।—हिब्रू १०:२४, २५.
दाऊद वंशीय राजाहरूको समयमा
८. (क) राजा सुलेमानको समयमा कुन ऐतिहासिक चाड मनाइयो? (ख) प्रतिरूपक झुप्रोबासको चाडको कस्तो महान् चरमोत्कर्षको हामी प्रतीक्षा गर्नसक्छौं?
८ दाऊदको छोरा राजा सुलेमानको समयमा झुप्रोबासको चाडको बेला एउटा ऐतिहासिक चाड मनाइएको थियो। झुप्रोबासको चाड तथा मन्दिर समर्पणको लागि “एक ठूलो समुदाय” प्रतिज्ञा गरिएको देशको चारै कुनाबाट भेला भए। (२ इतिहास ७:८) चाड मनाइसकेपछि सुलेमानले भेला भएका मानिसहरूलाई बिदा गरे र तिनीहरूले “राजालाई आशिष दिए, औ परमप्रभुको दास दाऊद र आफ्नो प्रजा इस्राएललाई दिनुभएका सबै उन्नतिको निम्ति खुशी र मनमा हर्षित हुँदै आफ्नो आफ्नो घर गए।” (१ राजा ८:६६) निस्सन्देह, यो एउटा महत्त्वपूर्ण चाड थियो। आज, परमेश्वरका जनहरू महान् सुलेमान येशू ख्रीष्टको हजार वर्षीय शासनको अन्तमा हुने प्रतीकात्मक झुप्रोबासको चाडको महान् चरमोत्कर्षको प्रतीक्षा गर्छन्। (प्रकाश २०:३, ७-१०, १४, १५) त्यतिबेला, पृथ्वीको चारै कुनाका मानिसहरू अर्थात् पुनरुत्थान भएका तथा आरमागेडोनबाट बचेका मानिसहरूले संयुक्त रूपमा यहोवा परमेश्वरको उपासना गर्नेछन्।—जकरिया १४:१६.
९-११. (क) राजा हिजकियाहको समयमा कुन घटनापछि एउटा उल्लेखनीय चाड मनाइयो? (ख) उत्तरी दश कुल राज्यका थुप्रै व्यक्तिहरूले कस्तो नमुना बसाले र यसले आज हामीलाई कुन कुराको स्मरण गराउँछ?
९ बाइबलमा वर्णन गरिएको अर्को उल्लेखनीय चाड दुष्ट राजा आहाजको शासनपछि मनाइएको थियो। तिनले मन्दिर बन्द गरेर यहूदाको राज्यलाई धर्मत्यागी बनाएका थिए। आहाजका उत्तराधिकारी असल राजा हिजकियाह थिए। आफ्नो शासनको प्रथम वर्ष अर्थात् २५ वर्षको उमेरमा हिजकियाहले पुनर्स्थापना तथा सुधारको महान् अभियान सुरु गरे। तिनले तुरुन्तै मन्दिरमा प्रवेश खुला गरेर जीर्णोद्धारको प्रबन्ध मिलाए। त्यसपछि, राजाले उत्तरको वैरी इस्राएलको दश कुल राज्यमा बसिरहेका इस्राएलीहरूलाई निस्तारको चाड तथा अखमीरे रोटीको चाड मनाउन आउनू भन्ने निम्तो दिंदै चिठीहरू पठाए। सँगी इस्राएलीहरूले गिल्ला गरे तापनि थुप्रै आए।—२ इतिहास ३०:१, १०, ११, १८.
१० परिणाम कस्तो भयो? बाइबल यसो भन्छ: “अनि यरूशलेममा उपस्थित भएका इस्राएलीहरूले सात दिनसम्म ठूलो रमाहटको साथ अखमीरे रोटीको चाड़ मनाए। औ लेवीहरू र पूजाहारीहरूले नथामिकनै बाजाहरूका साथ दिनहुँ खूब जोशसँग परमप्रभुको प्रशंसा गरे।” (२ इतिहास ३०:२१) सतावटहरूको बावजूद अधिवेशनहरूमा उपस्थित हुने तथा लामो यात्रा गर्ने अहिलेका परमेश्वरका जनहरूका निम्ति ती इस्राएलीहरूले कस्तो राम्रो नमुना बसाले!
११ उदाहरणका लागि, पोल्याण्डमा १९८९ मा सम्पन्न तीनवटा “ईश्वरीय भक्ति” जिल्ला अधिवेशनहरूलाई नै विचार गरौं न। त्यहाँ उपस्थित १,६६,५१८ मध्ये पहिलेको सोभियत संघ तथा अन्य पूर्वी युरोपेली देशबाट आएको विशाल जनसमूह थियो जहाँ यहोवाका साक्षीहरूको गतिविधिमा रोक लगाइएको थियो। यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरूb (अंग्रेजी) पुस्तक यसो भन्छ, “यी अधिवेशनमा उपस्थित हुने कतिपय व्यक्तिहरू यसअघि यति ठूलो समूहमा कहिल्यै भेला भएका थिएनन् किनभने तिनीहरू केवल १५/२० जनाको समूहमा मात्र भेला हुने गर्थे। रंगशालामा भेला भएका हजारौं मानिसहरू देख्दा, तिनीहरूसित एक साथ प्रार्थना गर्दा र यहोवाको प्रशंसाका गीतहरू गाउन सोरमा सोर थप्दा तिनीहरूको हृदय मूल्यांकनले ओतप्रोत भयो।”—पृष्ठ २७९.
१२. राजा योशियाहको शासनकालमा कुन घटनापछि उल्लेखनीय चाड मनाइयो?
१२ हिजकियाहको मृत्युपछि राजा मनश्शे तथा आमोनको शासनकालमा यहूदाका बासिन्दाहरूले फेरि झूटो उपासना गर्न थाले। त्यसपछि, अर्का असल राजा योशियाहको शासन सुरु भयो। तिनले कलिलो उमेरमै निडरतापूर्वक साँचो उपासना पुनर्स्थापित गरे। योशियाहले २५ वर्षको उमेरमा मन्दिर मर्मत गर्ने आदेश दिए। (२ इतिहास ३४:८) मर्मतकार्य हुने क्रममा मोशाले लेखेको व्यवस्था मन्दिरमा भेटियो। परमेश्वरको व्यवस्थामा लेखिएको कुरा पढेपछि राजा योशियाहको मनमा गहिरो छाप पऱ्यो र तिनले सम्पूर्ण मानिसहरूको अगाडि त्यो पढेर सुनाउने प्रबन्ध मिलाए। (२ इतिहास ३४:१४, ३०) त्यसपछि, व्यवस्थामा लेखिएअनुसार तिनले निस्तार चाड मनाउने चाँजोपाँजो मिलाए। उक्त अवसरको लागि उदार भई चन्दा दिएर पनि राजाले राम्रो नमुना बसाले। त्यसको परिणाम बाइबल यसो भन्छ: “शमूएल अगमवक्ताको समयदेखि यसो यस प्रकार निस्तार-चाड़ इस्राएलमा कहिल्यै मनाएको थिएन।”—२ इतिहास ३५:७, १७, १८.
१३. हिजकियाह र योशियाहको समयमा मनाइएका चाडहरूले आज हामीलाई कुन कुराको स्मरण गराउँछ?
१३ हिजकियाह तथा योशियाहले गरेका सुधारहरू १९१४ मा येशू ख्रीष्ट गद्दीनसिन हुनुभएदेखि साँचो मसीहीहरूमाझ भएको साँचो उपासनाको अद्भुत पुनर्स्थापनासित मिल्दोजुल्दो छ। विशेषगरि, योशियाहको सुधारकार्यजस्तै आधुनिक समयको पुनर्स्थापना परमेश्वरको वचनमा लेखिएका कुराहरूमा आधारित छन्। अनि हिजकियाह र योशियाहको दिनमा जस्तै आधुनिक समयको पुनर्स्थापनाको चिनारी सम्मेलन तथा अधिवेशनहरू भएका छन् जहाँ बाइबल भविष्यवाणीका रोमाञ्चकारी विवरण तथा बाइबल सिद्धान्तहरूको सामयिक उपयोग प्रस्तुत गरिन्छ। यी निर्देशनमूलक अवसरहरूको आनन्दलाई बप्तिस्मा लिनेहरूको ठूलो संख्याले अझ बढाएको छ। हिजकियाह र योशियाहको समयका पश्चात्तापी इस्राएलीहरूजस्तै भर्खरै बप्तिस्मा लिएका व्यक्तिहरूले मसीहीजगत् तथा शैतानको बाँकी संसारका दुष्ट प्रचलनहरू त्यागेका छन्। सन् १९९७ मा पवित्र परमेश्वर यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिन ३,७५,००० भन्दा बढी अर्थात् प्रति दिन औसतन १,००० भन्दा धेरैले बप्तिस्मा लिए।
निर्वासनपछि
१४. सा.यु.पू. ५३७ को उल्लेखनीय चाड मनाउनुअघि कुन घटना भयो?
१४ योशियाहको मृत्युपछि यहूदा राष्ट्र पतित झूटो उपासनामा पुनः फस्यो। अन्ततः सा.यु.पू. ६०७ मा यहोवाले यरूशलेम विरुद्ध बेबिलोनी सेना उठाउनुभएर आफ्ना जनहरूलाई दण्ड दिनुभयो। यरूशलेम शहर तथा त्यसको मन्दिर विनाश भयो र भूमि उजाड भयो। त्यसपछि, यहूदीहरू ७० वर्षसम्म बेबिलोनको दासत्वमा परे। त्यसपछि परमेश्वरले पश्चात्तापी यहूदी शेषजनलाई पुनर्स्थापित गर्नुभयो र यिनीहरू प्रतिज्ञा गरिएको देशमा साँचो उपासना सुरु गर्न फर्के। भताभुंग भएको यरूशलेम शहरमा तिनीहरू सा.यु.पू. ५३७ को सातौं महिनामा आइपुगे। पुग्ने बित्तिकै तिनीहरूले व्यवस्थाको करारमा उल्लेख गरिएअनुसार नियमित तवरमा दिनहुँ बलिदानहरू चढाउनको लागि वेदी तयार पारे। यो सकिने बित्तिकै त्यहाँ अर्को ऐतिहासिक चाड हुन लागेको थियो। त्यसपछि “तिनीहरूले तोकिएअनुसार झुप्रो-बासको चाड़ मनाए।”—एज्रा ३:१-४.
१५. पुनर्स्थापित शेष जनहरूले सा.यु.पू. ५३७ मा कुन काम गर्नुपरेको थियो र १९१९ को अवस्था पनि कसरी त्यो जस्तै थियो?
१५ निर्वासनबाट फर्केका यी जनहरूले एउटा ठूलो काम गर्नुपरेको थियो अर्थात् परमेश्वरको मन्दिर तथा यरूशलेम र त्यसका पर्खालहरू पुननिर्माण गर्ने। डाही छिमेकीहरूले घोर विरोध गरे। मन्दिर निर्माण भएको समय “क्षुद्र हिसाबले भएको शुरू” थियो। (जकरिया ४:१०) यो अवस्था १९१९ का विश्वासी अभिषिक्त मसीहीहरूको जस्तै थियो। त्यस स्मरणीय वर्षमा तिनीहरू महान् बेबिलोन अर्थात् झूटो धर्मको विश्व साम्राज्यको आध्यात्मिक दासत्वबाट मुक्त भएका थिए। तिनीहरूको संख्या केही हजार मात्र थियो र तिनीहरूले वैरी संसारको सामना गर्नुपऱ्यो। के परमेश्वरका शत्रुहरूले साँचो उपासनालाई अघि बढ्नदेखि रोक्न सक्नेथियो? त्यो प्रश्नको जवाफले हिब्रू धर्मशास्त्रमा लिपिबद्ध दुइटा अन्तिम चाडहरूको स्मरण गराउँछ।
१६. सा.यु.पू. ५१५ को चाडको उल्लेखनीय पक्ष के थियो?
१६ अन्ततः वसन्त ऋतुमा मनाइने नीसानको चाड सुरु हुनै लागेको बेला सा.यु.पू. ५१५ को अडार महिनामा मन्दिरको पुनर्निमाण सकियो। बाइबल यसो भन्छ: “तिनीहरूले रमाहटसाथ सात दिनसम्म अखमीरे रोटीको चाड़ धूमधामसित मनाए। किनभने अश्शूरका राजाको मन बद्लिगरिदिएर परमप्रभुले तिनीहरूलाई आनन्दित तुल्याउनुभएको थियो। परमेश्वर इस्राएलका परमेश्वरको भवनको काममा तिनीहरूलाई अश्शूरका राजाले प्रोत्साहन दिए।”—एज्रा ६:२२.
१७, १८. (क) सा.यु.पू. ४५५ को उल्लेखनीय चाड के थियो? (ख) कुन अर्थमा आज हामी पनि त्यस्तै अवस्थामा छौं?
१७ साठी वर्षपछि सा.यु.पू. ४५५ मा अर्को महत्त्वपूर्ण घडी आइपुग्यो। त्यो साल मनाइएको झुप्रोबास चाडको बेला यरूशलेमका पर्खालहरूको पुनर्निमाण गर्न सिद्धियो। बाइबल यसो भन्छ: “कैदबाट आएका सबै समुदायले छाप्रो बनाएर तिनमा बसे। नूनका छोरा यहोशूको पालादेखि त्यस दिनसम्म यो काम इस्राएलीहरूले गरेका थिएनन्। औ त्यहाँ असाध्य ठूलो रमाहट भयो।”—नहेम्याह ८:१७.
१८ घोर विरोधको बावजूद परमेश्वरको साँचो उपासनाको कस्तो स्मरणीय पुनर्स्थापना! आज पनि परिस्थिति त्यस्तै छ। सतावट तथा विरोधको बावजूद परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने महान् कार्य पृथ्वीको कुनाकाप्चासम्म पुगेको छ र परमेश्वरको न्याय सन्देश चारैतिर सुनाइँदैछ। (मत्ती २४:१४) एक लाख चवालीस हजार अभिषिक्त जनहरूमा अन्तिम छाप लगाउने काम पूरा हुनै लागेको छ। अभिषिक्त जनहरूसित “एकै बगाल[मा]” सामेल गर्न सारा संसारबाट सँगी “अरू भेडा” पचास लाखभन्दा बढी जम्मा गरिएका छन्। (यूहन्ना १०:१६; प्रकाश ७:३, ९, १०) झुप्रोबासको चाडको भविष्यसूचक विवरणको कस्तो अद्भुत पूर्ति! अनि यो जम्मा गर्ने काम नयाँ संसारमा पनि चलिरहनेछ जब पुनरुत्थान भएका लाखौंलाई यस प्रतिरूपक झुप्रोबासको चाड मनाउन निमन्त्रणा दिइनेछ।—जकरिया १४:१६-१९.
सा.यु. प्रथम शताब्दीमा
१९. कुन कुराले गर्दा सा.यु. ३२ को झुप्रोबासको चाड उल्लेखनीय भयो?
१९ बाइबलमा लिपिबद्ध सबैभन्दा उल्लेखनीय चाड निस्सन्देह परमेश्वरको पुत्र येशू ख्रीष्ट उपस्थित हुनुभएका चाडहरू थिए। उदाहरणका लागि, सा.यु. ३२ मा येशू उपस्थित हुनुभएको झुप्रोबासको (अथवा डेराबास) चाडलाई लिनुहोस्। त्यतिबेला उहाँले महत्त्वपूर्ण सत्य कुराहरू सिकाउनुभयो र आफ्नो शिक्षालाई समर्थन गर्न हिब्रू धर्मशास्त्रबाट उद्धरण गर्नुभयो। (यूहन्ना ७:२, १४, ३७-३९) यो चाड मनाउँदा सधैं मन्दिरको भित्री चोकमा चारवटा ठूलठूला सामदान बाल्ने चलन थियो। यसले गर्दा रातभरि नै चाडमा रमाइलो गर्न सकिन्थ्यो। स्पष्टतः येशूले यी ठूलठूला बत्तीहरूलाई देखाउँदै यसो भन्नुभयो: “म संसारको ज्योति हुँ, मपछि लाग्ने अँध्यारोमा हिंड़डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”—यूहन्ना ८:१२.
२०. सा.यु. ३३ को निस्तार किन उल्लेखनीय थियो?
२० अब पालो आएको थियो, उल्लेखनीय साल सा.यु. ३३ को निस्तार तथा अखमीरे रोटीको चाडको। त्यो निस्तार चाडको दिन येशू आफ्ना शत्रुहरूको हातबाट मारिनुभयो र “संसारको पाप उठाइलैजाने” प्रतिरूपक निस्तार चाडको थुमा हुनुभयो। (यूहन्ना १:२९; १ कोरिन्थी ५:७) तीन दिनपछि नीसान १६ मा परमेश्वरले येशूलाई अमर आत्मिक शरीरमा पुनरुत्थान गर्नुभयो। यो व्यवस्थामा उल्लेख गरिएअनुसार जौ कटनीको पहिलो फल चढाउने समयमै पऱ्यो। यसप्रकार, पुनरुत्थान हुनुभएको येशू ख्रीष्ट “मर्नेहरूमा पहिलो फल भएर . . . बिउँतनु[भयो]।”—१ कोरिन्थी १५:२०.
२१. सा.यु. ३३ पेन्तिकोसमा के भयो?
२१ साँच्चै उल्लेखनीय चाड सा.यु. ३३ पेन्तिकोसमा मनाइएको थियो। यो दिन येशूका १२० जना चेलाहरूलगायत थुप्रै जन्मजात यहूदी तथा पछि यहूदी मत स्वीकारेकाहरू यरूशलेममा भेला भएका थिए। चाड मनाइरहेको बेला पुनरुत्थान हुनुभएको प्रभु येशू ख्रीष्टले १२० जनामाथि परमेश्वरको पवित्र आत्मा खन्याउनुभयो। (प्रेरित १:१५; २:१-४, ३३) यसप्रकार, तिनीहरू अभिषिक्त भए र येशू ख्रीष्टले मध्यस्थ गर्नुभएको नयाँ करारद्वारा परमेश्वरको छानिएको जाति भए। त्यो चाडमा यहूदी मुख्य पूजाहारीले परमेश्वरलाई गहुँ कटनीको पहिलो उब्जनीबाट तयार पारिएको दुइटा अखमीरे रोटी चढाउँथे। (लेवी २३:१५-१७) यी अखमीरे रोटीले १,४४,००० असिद्ध मानवहरूको चित्रण गर्छ जसलाई येशूले “परमेश्वरको निम्ति किन्नुभयो” जसले ‘राज्य र पूजाहारी भएर’ “पृथ्वीमाथि राज्य गर्छन्।” (प्रकाश ५:९, १०; १४:१, ३) यी स्वर्गीय शासकहरू पापी मानिसजातिको दुइटा हाँगा अर्थात् यहूदी तथा अन्यजातिहरूबाट छानिनुलाई पनि दुइटा अखमीरे रोटीले चित्रण गरेको हुनसक्छ।
२२. (क) मसीहीहरू किन व्यवस्थाको करारका चाडहरू मनाउँदैनन्? (ख) यसपछिको लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?
२२ सा.यु. ३३ पेन्तिकोसमा नयाँ करार सक्रिय हुन थाल्नुको अर्थ परमेश्वरको नजरमा पुरानो व्यवस्थाको करार कुनै मूल्यको थिएन। (२ कोरिन्थी ३:१४; हिब्रू ९:१५; १०:१६) तथापि, यसको अर्थ अभिषिक्त मसीहीहरूमाथि कुनै व्यवस्था लागू हुँदैन भनेको होइन। तिनीहरूले येशू ख्रीष्टले सिकाउनुभएको र तिनीहरूको हृदयमा लेखिएको ईश्वरीय व्यवस्था मान्नुपर्छ। (गलाती ६:२) तसर्थ, यी तीनवटा वार्षिक चाडहरू पुरानो व्यवस्थाको करार अन्तर्गत पर्ने हुँदा मसीहीहरूले ती चाडहरू नमनाएका हुन्। (कलस्सी २:१६, १७) तैपनि, ती चाड तथा उपासनाको लागि भेला हुने अन्य जमघटहरूप्रति परमेश्वरका मसीहीपूर्व सेवकहरूको मनोवृत्तिबाट हामी अझ थुप्रै कुराहरू सिक्नसक्छौं। यसपछिको लेखमा हामी केही उदाहरणहरू छलफल गर्नेछौं र त्यसले हामीलाई पक्कै पनि मसीही सभाहरूमा नियमित तवरमा उपस्थित हुनुपर्ने खाँचोको मूल्यांकन गर्न उत्प्रेरित गर्नेछ।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित धर्मशास्त्रमाथि अन्तरदृष्टि (अंग्रेजी) खण्ड १, पृष्ठ ८२०, स्तम्भ १, अनुच्छेद १ र ३ मा “चाड” शीर्षकमुनि पनि हेर्नुहोस्।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
पुनरावलोकनका लागि प्रश्नहरू
◻ इस्राएलका तीन महान् चाडहरूको उद्देश्य के थियो?
◻ हिजकियाह तथा योशियाहको समयका चाडहरूको विशेषता के थियो?
◻ सा.यु.पू. ४५५ मा कुन उल्लेखनीय चाड मनाइयो र यो हाम्रोलागि किन प्रोत्साहनजनक कुरा हो?
◻ सा.यु. ३३ को निस्तार तथा पेन्तिकोसको महत्त्व के थियो?
[पृष्ठ १२-मा भएको पेटी]
चाडबाट अहिले हामीले सिक्नसक्ने पाठ
येशूले अर्पण गर्नुभएको पाप प्रायश्चितको बलिदानबाट सधैंभरि लाभ उठाउने हो भने अखमीरे रोटीको चाडले चित्रण गरेअनुरूप जीवन बिताउनुपर्छ। यी अभिषिक्त मसीहीहरूले दुष्ट संसारबाट छुटकारा पाएको तथा येशूको बलिदानद्वारा पापको दासत्वबाट मुक्त भएको प्रतिरूपक चाडको आनन्दमय चाड हो। (गलाती १:४; कलस्सी १:१३, १४) यो चाड सात दिनसम्म मनाइन्थ्यो र बाइबलमा सातले आध्यात्मिक पूर्णतालाई देखाउँछ। यस प्रतिरूपक चाड पृथ्वीमा अभिषिक्त मसीही मण्डली होऊञ्जेलसम्म रहन्छ र “निष्कपटता तथा सत्यता” साथ मनाउनैपर्छ। त्यसको अर्थ हो, प्रतीकात्मक खमीरदेखि सधैं होसियार हुनुपर्छ। बाइबलमा खमीरले भ्रष्ट शिक्षा, कपट तथा खराबीको चित्रण गर्छ। यहोवाका साँचो उपासकहरूले त्यस्तो खमीरलाई घृणा गरेर त्यस्ता कुप्रभावहरूबाट आफ्नो जीवनलाई भ्रष्ट नपार्नुका साथै मसीही मण्डलीको शुद्धतालाई जोगाउनुपर्छ।—१ कोरिन्थी ५:६-८; मत्ती १६:६, १२.
[पृष्ठ ९-मा भएको चित्र]
येशू पुनरुत्थान हुनुभएको दिन अर्थात् नीसान १६ का दिन हरेक वर्ष जौ कटनीको पहिलो बालीको बिटा चढाइन्थ्यो
[पृष्ठ १०-मा भएको चित्र]
येशूले आफूलाई “संसारको ज्योति भन्नुहुँदा” चाडमा बालिने बत्तीहरूलाई संकेत गरिरहनुभएको हुनसक्छ