फ्रान्सको अविस्मरणीय घटना
“यहोवा शहर चाहिंदैन!” लेखिएका पोस्टरहरू शहरभरि प्रदर्शित गरियो। एउटा विरोधी समूहको यस्तो आह्वान थियो, “यहोवा परियोजना विरुद्ध एक होऔं।” वास्तवमा, यो विवादबारे समाचारपत्रमा सयौं लेखहरू छापिएको हुनाले जनसाधारणले यसबारे थाह पाए। अर्जीपत्रहरूमा दस्तखत गरियो अनि स्थानीय डाँकपेटीहरूमा उक्त परियोजनाबारे उल्लेख गरिएका पाँच लाखभन्दा बढी पर्चाहरूको ओइरो लाग्यो। उत्तरी फ्रान्समा अन्यथा शान्त रहने लुभिया शहरलाई यसरी झकझकाउने यो परियोजना के थियो? त्यो थियो, यहोवाका साक्षीहरूको नयाँ शाखा कार्यालय र आवासगृहको प्रस्तावित निर्माणकार्य।
बढाउने त यहोवा नै हुनुहुन्छ
फ्रान्समा यहोवाका साक्षीहरूको क्रियाकलाप १९ औं शताब्दीको अन्ततिर सुरु भएको हो। बाइबल साहित्यको प्रथम डिपो दक्षिणी फ्रान्सको बोभिनमा सन् १९०५ मा खोलियो र १९१९ देखि पेरिसमा सानो अफिस परिचालन हुन थालेको थियो। त्यसै शहरमा १९३० मा शाखा कार्यालय आधिकारिक तवरले खोलियो। अर्को वर्ष, उक्त कार्यालयमा काम गर्नेहरू उत्तरी पेरिसको आंग्गानलाबनमा अवस्थित बेथेल आवासगृहमा बस्न थाले। दोस्रो विश्वयुद्धपछि बेथेल परिवार फेरि पेरिसमा सऱ्यो। अनि १९५९ मा शाखा कार्यालय बुलोन बीयाकुरको पाँच तल्ले भवनमा सारियो, जुन ठाउँ पेरिसको पश्चिमी सीमामा पर्थ्यो।
राज्य प्रचार कार्यको विस्तारले गर्दा १९७३ मा मुद्रण र ढुवानी विभागलाई पेरिसदेखि १०० किलोमिटर टाढा लुभियामा सारियो जबकि अफिस चाहिं बुलोन बीयाकुरमै रह्यो। तथापि, १९७८ र १९८५ मा थप भवनहरू बनाइए पनि फ्रान्समा प्रकाशकहरूको संख्या बढेकोले लुभियाका बेथेल भवनहरूले पुगेन। तसर्थ, थप भवनहरू बनाएर एकै ठाउँमा बेथेल परिवारलाई राख्ने निर्णय गरियो। यही परियोजना मानिसहरूको आँखामा कसिंगर भएको कुरा सुरुमा चर्चा गरिएको हो। यस्तो विरोधको बावजूद छापाखानादेखि ठीक डेढ किलोमिटर पर जग्गा पाइयो। छ वर्षे कडा मेहनतको फलस्वरूप अन्ततः २३ वर्षको बिछोडपछि अगस्त १९९६ मा सम्पूर्ण बेथेल परिवार लुभियामा एउटै छानामुनि बस्न पुगे।
त्यसैले, नोभेम्बर १५, १९९७ आइतबारको दिन १,१८७ जना हर्षित मानिसहरूको त्यो खुसीयाली जमघट साह्रै रमाहटपूर्ण थियो। त्यस जमघटमा फ्रान्स बेथेल परिवारका ३०० सदस्य र अन्य ४२ शाखा कार्यालयका ३२९ प्रतिनिधिहरू समावेश थिए। त्यो भीड त्यहाँ परिचालक निकायका सदस्य भाइ लोयड ब्यारीले दिने समर्पण भाषण सुन्न एकत्रित थियो। तथापि, फ्रान्सभरि यहोवाका साक्षीहरूको विरोध र संचार माध्यम मार्फत लगातार निन्दा भइरहेको बेला यो समर्पण हुँदैथियो। यस कुरालाई ध्यानमा राख्दा फ्रान्सका सबै साक्षीहरूले यो विजय उत्सव मनाउनुपर्छ भन्ने महसुस गरियो। नभन्दै, नोभेम्बर १६, आइतबारको दिन उत्तरी पेरिसको भीलपान्ट प्रदर्शनी केन्द्रमा “ख्रीष्टको प्रेममा रहिरहनुहोस्” विषयक विशेष सभाको आयोजना गरियो। फ्रान्सभरिका यहोवाका साक्षीहरूलगायत बेल्जियम र स्वीटजरल्याण्डका फ्रान्सेलीभाषीहरू अनि जर्मनी, नेदरल्याण्ड, बेलाइत तथा लग्जम्बर्गका मण्डलीहरूलाई निम्त्याइयो।
ऐतिहासिक जमघट
त्यो जमघटको तयारी छ महिनाअघि थालियो। तर, समर्पणको ठीक दुई हप्ताअघि फ्रान्सका ट्रक चालकहरूले मूल सडकहरू र इन्धनको आपूर्ति रोकेर हडताल गरे। के समयमै मेच र अन्य सामानहरू ल्याउन सकिएला? सडक बन्द भएकोले भाइहरू आउलान् के त? खुसीको कुरा, हप्ता दिनभित्रै हडताल सिद्धियो र फेरि सडकहरू खुले। समर्पण सप्ताहन्तअघि शुक्रबारको साँझ ३८ वटा ट्रकले ८४,००० मेचहरू उक्त अवसरको लागि भाडामा लिइएका दुइटा ठूलठूला भवनमा पुऱ्याए। मेचहरू राख्न, मञ्च बनाउन, ध्वनि यन्त्र तथा नौवटा बडेमानको भिडियो स्क्रीनहरू जडान गर्न ८०० भन्दा धेरै भाइबहिनीहरूले रात फर्लङ्ग काटेर शनिबार बिहान साढे नौ बजेसम्म काम गरे।
आइतबार बिहान ६.०० बजे भवनका ढोकाहरू खोलिएपछि मानिसहरू भित्र पस्न थाले। भाडामा लिइएका जम्मा १७ वटा रेलले १३,००० भन्दा बढी साक्षीहरूलाई उक्त राजधानीमा ल्याइपुऱ्याए। ती यात्रुहरूलाई स्वागत गर्न र झुन्ड झुन्ड बनाएर अधिवेशन भवनमा लैजान दुई सयभन्दा बढी स्थानीय भाइबहिनीहरू रेलवे स्टेसनमा हाजिर थिए। यो मायालु प्रबन्धले “सुरक्षा र सौहार्द महसुस” गरायो भनेर एउटी बहिनीले भनिन्।
अरू चाहिं हवाईजहाज वा कारबाट पेरिस आए। तथापि, अधिकांश मानिसहरू ९५३ वटा बसहरूमा र पेरिसभित्रका साक्षीहरू आमसवारीसाधनबाट त्यस प्रदर्शनी केन्द्रमा आए। थुप्रैले रातभर यात्रा गरेका थिए भने कोही कोही बिहान सबेरै घरबाट निस्केका थिए। तर जमघटमा उपस्थित हुनपाउने उमंग तिनीहरूमा प्रस्टै देखिन्थ्यो। वर्षौंदेखि भेट नभएका मित्रहरू उल्लासपूर्ण अभिवादन र स्नेही आलिंगनमा बाँधिए। देश देशका रंगीचंगी पहिरनहरूले प्रसन्न भीडमाझ अन्तरराष्ट्रिय सुगन्ध छरेको थियो। निस्सन्देह, केही असाधारण कुरा हुनलागेको छाँट देखिन्थ्यो।
बिहान १०.०० बजे कार्यक्रम सुरु हुने बेलासम्म त एउटै सिट खाली थिएन। अझै, सयौं मानिसहरू छिन छिनमा आइरहेका थिए। चारैतिर हँसिलो अनुहार मात्र देखिन्थ्यो। हजारौं खडाको खडै रहे वा सिमन्टीको भुइँमा बसे। यस सम्मेलनको शीर्षकअनुरूप मनोवृत्ति देखाउँदै थुप्रै जवानहरू वृद्धजनहरूलाई बसाउन आफू उभे। एक दम्पतीले यसो लेखे, “चिन्दै नचिनेका तर मायालु भाइबहिनीहरूलाई आफ्नो सिट दिन पाउँदा कत्ति आनन्द!” थुप्रैले यस्तो आत्मत्यागी मनोभाव देखाए: “आफूले शुक्रबार रातभर मिलाएर राखेका मेचहरूको छेउमा दिनभरि उभियौं। तर उपस्थित हुँदा मात्रै पनि हामी यहोवाप्रतिको कृतज्ञताले ओतप्रोत भयौं।”
थकान वा असुविधाको बावजूद प्रतिनिधिहरूले अन्य देशका रिपोर्ट अनि परिचालक निकायका सदस्य लोयड ब्यारी र डानियल सिड्लिकका भाषणहरू एकाग्रचित्त भएर सुने। भाइ ब्यारीले “यहोवाले शक्ति बढाइदिनुहुन्छ” विषयलाई प्रस्ट पारे र यहोवाले विभिन्न परिक्षाहरूको बावजूद कसरी आफ्ना जनहरूलाई वृद्धि गराउनुभएर आशिष् दिनुभएको छ भनेर सजीव चित्रण गरे। भाइ सिड्लिकको भाषणको शीर्षक थियो, “ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर यहोवा हुनुहुन्छ!” यहोवाका साक्षीहरूले त्यतिखेर भोगिरहेका विरोधलाई हेर्दा ती दुवै भाषण साँच्चै समयानुकूल थिए। बाह्य कुराहरूमा नभई यहोवासितको सम्बन्ध र जीवनप्रतिको दृष्टिकोणमा साँचो आनन्द निर्भर छ भनेर भाइ सिड्लिकले देखाए। “के तपाईंहरू आनन्दित हुनुहुन्छ?” भनेर तिनले श्रोतागणलाई सोध्दा करतलध्वनि गुञ्जिएको थियो।
“खुसी लुटिएकी” एक बहिनीले पछि लेखिन्: “आनन्द पाउनसक्ने रहेछु भनेर मैले एकाएक महसुस गरें। मैले गलत ढंगमा खुसी बटुल्ने कोसिस गरिरहेकी रहेछु। अनि मैले कसरी परिवर्तन गर्नुपर्छ भनेर यहोवाले यस भाषण मार्फत मलाई सिकाउनुभयो।” अर्को भाइले यस्तो उद्गार व्यक्त गरे: “अबदेखि म यहोवाको हृदय खुसी पार्न मेहनत गर्न चाहन्छु। मभित्रको खुसी हर्ने कुनै कुरालाई पनि म सहनेछैनँ।”
सभाको अन्ततिर सभाध्यक्षले ९५,८८८ जना उपस्थित भएको घोषणा गर्दा गजबकै उमंग छाएको थियो। फ्रान्समा यहोवाका साक्षीहरूको यति ठूलो जमघट अघि कहिल्यै भएको थिएन!
थुप्रैले हर्षको आँसु बगाउँदै समापन गीत गाए। अनि समापन प्रार्थनापछि भाइहरू हर्ष र बिछोडको आँसु झार्दै आ-आफ्नो घरतिर प्रस्थान गरे। त्यस जमघटमा देखिएको स्नेही र मित्रैलो वातावरणले छाप नपारी छोडेन। प्रतिनिधिहरूले देखाएका मनोवृत्तिबारे थुप्रै बस चालकहरूले राम्रा टिप्पणी गरे। सुव्यवस्थित प्रबन्ध देखेर पनि तिनीहरू प्रभावित भए जुन प्रबन्धले गर्दा ९५३ वटा बस त्यो प्रदर्शनी केन्द्रबाट निस्कँदा समेत ट्राफिक जाम भएन! रेलवे र सार्वजनिक यातायातका कर्मचारीहरूले पनि प्रतिनिधिहरूका आचरणको धेरै सराहना गरे। धेरै राम्रा छलफलहरू भए र असल साक्षी दिइयो।
“मरुभूमिको सेपिलो जमिन”
प्रेरित पावलले सँगी मसीहीहरूलाई यसरी आग्रह गरे: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। . . . दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढ़ता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) स्पष्टतया, एक जना बहिनीको दृष्टिमा यो विशेष सभा सबैका लागि ठूलो प्रोत्साहनको स्रोत अर्थात् “मरुभूमिको सेपिलो जमिन” थियो। टोगो शाखा कार्यालयका भाइहरूले लेखे, “हामी तागतवार, प्रोत्साहित, बलिया हुनुका साथै यहोवाको सेवामा पहिलेभन्दा धेरै आनन्दित हुन कटिबद्ध भयौं।” एक परिभ्रमण निरीक्षकको टिप्पणी थियो, “उदासीहरू रमाउँदै घर फर्के।” अर्को परिभ्रमण निरीक्षकले भने, “भाइहरूले नयाँ उमंग र बल पाए।” एक दम्पती यस्तो लेख्न उत्प्रेरित भए, “यहोवाको संगठनसित कहिल्यै यत्तिको घनिष्ठ महसुस गरेका थिएनौं।”
भजनरचयिताले यस्तो घोषणा गरे, “मेरो खुट्टाले सम्म ठाउँमा टेक्छ, समुदायहरूमा म परमप्रभुको प्रशंसा गर्नेछु।” (भजन २६:१२) यस्ता मसीही जमघटहरूले हामी सबैलाई विघ्नबाधाहरूबीच पुनः आध्यात्मिक आधार पाउन पक्कै पनि सक्षम बनाउँछन्। एक बहिनी पुष्टि दिन्छिन्, “चाहे जस्तोसुकै सतावट किन नआओस्, यी असाधारण क्षणहरू हाम्रो हृदयको पानामा कोरिएका छन् र सतावटको बेला हामीलाई सान्त्वना दिन सधैं त्यहाँ हुनेछन्।” त्यस्तैगरि, एक परिभ्रमण अध्यक्षले लेखे: “प्रमोदवनको यो पूर्वाभासले हामीलाई कठिन घडीको सामना गर्न मदत गर्नेछ।”
भजन ९६:७ आग्रह गर्छ, “हे विभिन्न जातिका मानिस हो, परमप्रभुलाई, परमप्रभुलाई नै महिमा र शक्ति देओ।” निस्सन्देह, फ्रान्सको नयाँ शाखा कार्यालयको समर्पण यहोवाको उल्लेखनीय विजय हो। त्यस्तो संकल्पित र व्यापक विरोधसामु उहाँले मात्र उक्त परियोजनालाई साकार पार्न सक्नुहुन्थ्यो। फ्रान्समा यहोवाका साक्षीहरू ‘ख्रीष्टको प्रेममा रहन’ र ‘आफ्नो ज्योति चम्काउन’ पहिलेभन्दा झन् बढी कटिबद्ध छन्। (यूहन्ना १५:९; मत्ती ५:१६) त्यो समर्पण कार्यक्रममा उपस्थित हुने सबैले भजनरचयिताले जस्तै बिना हिचकिचाहट यस्तो महसुस गरे: “यो परमप्रभुबाट भएको हो। यो हाम्रो दृष्टिमा गजबको छ।”—भजन ११८:२३.
[पृष्ठ २६-मा भएको चित्र]
लोयड ब्यारी
[पृष्ठ २६-मा भएको चित्र]
डानियल सिड्लिक
[पृष्ठ २६-मा भएको चित्र]
भीलपान्ट प्रदर्शन केन्द्रमा आयोजित विशेष कार्यक्रममा ९५,८८८ जना उपस्थित भए
[पृष्ठ २८-मा भएको चित्र]
भाषण सुन्न हजारौं उभे वा भुइँमा बसे